धनगढी —सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान गरेका छन् । दुई दिनको समय दिएर मंगलबार दाबी पेस गर्न १६८ (२) अनुसार नै पुनः आह्वान गरेका हुन् ।
मंगलबार पुनः आह्वान गर्दा एउटै दलका दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ दाबीका लागि वैशाख ६ गते बेलुका ५ बजेसम्म दाबी पेस गर्न भनिएको छ
एकीकृत समाजवादी, कांग्रेस र राप्रपाको समर्थन जुटाएर मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीपक्षधर प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बहुमत सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए ।
अर्कोतिर एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदसहित नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठपक्षधर सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका थिए । एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको ‘विद्रोही कदम’ले केन्द्रीय सत्ता गठबन्धनमै हलचल आएको थियो । त्यसपछि सत्तारुढ दलका शीर्ष नेताहरूबीच मंगलबार सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन सहमत भएपछि एकीकृत समाजवादीले चौधरीका लागि गरेको समर्थनबाट पछि हटेको हो ।