ई-घोडाघोडी खबर

१८ मंसिर २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • पढाउँदै, ड्र्यागन फलाउँदै

    पढाउँदै, ड्र्यागन फलाउँदै
    Spread the love

    कैलालीको धनगढीस्थित एसपिए कलेजका उपप्रध्यापक कर्णबहादुर बोहराले ड्र्यागन फ्रुटको खेती गरी किसानका रूपमा आफूलाई उभ्याउनुभएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा १३ कट्ठा जग्गा भाडामा लिएर बोहराले ड्र्यागन फ्रुट खेती गर्नुभएको छ ।

    रोपेको २० महिनापछि ड्र्यागन फ्रुट फल्न थालेको छ । उहाँले भन्नुभयो, “मैले लगाएको ड्र्यागनको करिब दुई वर्ष पुगेको छ । अहिले फल लागिरहेको छ ।”अङ्ग्रेजी विषयको पूर्णकालीन अध्यापक बोहराको दिनभरि समय अध्यापनमा बित्ने गर्दछ । तर, कलेजबाट फर्केपछिको बाँकी समय भने बारीमा बितिरहेको छ । कलेजबाट फर्कने बित्तिकै सबै समय ड्र्यागन फ्रुटको स्याहारमा खर्चने गरेको बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “गरे हुन्छ है भन्ने कुरा मान्छेलाई देखाउनु पर्दछ । यस्ता कार्यले उनीहरू प्रेरित हुने गर्छन् ।”

    बारीमा प्रत्येक दिन देखिने परिवर्तनले बोहरालाई आनन्दित बनाउने गर्दछ । उहाँको यो कार्यमा परिवारको पनि साथ छ । आमाबुवा, श्रीमतीले काममा सघाउने गर्नुभएको छ । बोहराले ड्र्यागन फ्रुट खेतीमा अहिलेसम्म ६० लाख रुपियाँ जति खर्च गरिसक्नुभएको छ । अध्यापन क्षेत्रमा रही एक दशकसम्म कमाएको पैसा र अनुभव उहाँले ड्र्यागन खेतीमा खर्च गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “मैले यसमा कति लगानी गरेको छु भन्ने एउटा पाटो हो तर यसले दिने खुसी लाखौँको रहेको छ । जे चिजले खुसी दिन्छ, त्यो काम गर्नु पर्दछ ।”

    बोहराले गरेको ड्र्यागन फ्रुटको खेती हेर्नका लागि विद्यार्थीसमेत पुग्ने गरेका छन् । उहाँको बारीमा पुगेर उनीहरू यस्तै कार्यका लागि प्रेरित हुने गरेका छन् । विद्यार्थी पवित्रा ढुङ्गानाले भन्नुभयो, “सरले पढाउने कार्य र ड्र्यागन फ्रुट खेतीको काम दुइटै मिलाएर गरिरहनुभएको छ । यसले हामी विद्यार्थीलाई पनि उत्प्रेरित बनाएको छ ।”

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी