ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • थारू बस्तीमा सिकलसेलका बिरामी बढ्दै

    थारू बस्तीमा सिकलसेलका बिरामी बढ्दै
    Spread the love

    धनगढी समाचारदाता

    धनगढी, असार ८ गते । थारू समुदायको बाहुल्य रहेको कैलालीमा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ६६५ पुगेको छ ।

    सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय उपचार गराउन आउने सिकलसेलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिकलसेल एनिमिया थारू समुदायमा देखा परेको वंशाणुगत रोग हो ।

    उपचार गराउन आउनेमा कैलारी गाउँपालिकाका सबैभन्दा बढी १५४ जना रहेको अस्पतालले जानकारी दिएको छ । यसै गरी धनगढी उपमहानगरपालिकाका १४७, गोदावरी नगरपालिकाका ६४, गौरीगङ्गा नगरपालिकाका ५४, घोडाघोडी नगरपालिकाका ३७ जना रहेका अस्पतालका सिकलसेल स्रोतव्यक्ति गौरी जोशीले जानकारी दिनुभयो ।

    लम्कीचुहाका २१, टीकापुरका ३३, भजनी नगरपालिकाका ३९ जना, बर्दगोरियाका ४५, जानकीका ४७ र जोशीपुर गाउँपालिकाका ४३ सिकलसेल बिरामीले सेती प्रादेशिक अस्पतालबाट उपचार गराइरहेका जनाइएको छ ।

    सरकारले सिकलसेल परीक्षण र उपचार निःशुल्क गरे पनि अलग्गै उपचार कक्षको व्यवस्था हुन नसक्दा बिरामीले समस्या भोग्दै आएको जोशीले बताउनुभयो । यसै गरी कञ्चनपुरमा २६४ जना सिकलसेल एनिमियाका बिरामी रहेको अस्पतालले जानकारी दिएको छ ।

    कञ्चनपुरको भीमदत्त नगरपालिकामा २०, बेलौरीमा ८८, पुनर्बासमा २३, कृष्णपुर नगरपालिकामा ५६ जना र लालझाडी गाउँपालिकामा २४ जना सिकलसेलका बिरामी रहेका छन् । यस्तै बेलडाँडी गाउँपालिकामा २१, शुक्लाफाँटा नगरपालिकामा १४ र वेदकोट नगरपालिकामा १४ जना बिरामी रहेको जनाइएको छ ।

    नेपाल सरकारले सिकलसेल एनिमियाका बिरामीको उपचारको व्यवस्था नीतिगत रूपमा गरेको छ । सिकलसेल एनिमिया भएकाले एक लाख रुपियाँ बराबरको निःशुल्क उपचार सेवा पाउँदै आएका छन् ।

    सिकलसेलको परीक्षण र उपचार निःशुल्क रहेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शेरबहादुर कमरले बताउनुभयो । सिकलसेल लागेका व्यक्तिमा शरीर, हाडजोर्नी दुख्ने, रक्तअल्पता, रिँगटा लाग्ने, शरीर कमजोर हुनेलगायतका स्वास्थ्य समस्या देखिने गरेका छन् ।

    सिकलसेल पोजेटिभ दम्पतीबाट जन्मिने ९९ प्रतिशत बच्चालाई सिकलसेल रोग लाग्न सक्ने भएकाले सिकलसेलको जन्मकुण्डली हेरेर मात्रै विवाह हुनुपर्नेमा डा. कमरले जोड दिनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी