ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली),२७ साउन
कैलालीका नदीमा जलस्तर उचाइमा पुगेपछि डल्फिनहरू फेरि देखा पर्न थालेका छन्। जिल्लाको टीकापुर नगरपालिका–६, ७, ८ र भजनी नगरपालिका–३, ५, ७, ८ का नदी किनारमा डल्फिनहरू देखिएको डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले जनाएका छन्।
श्रेष्ठकाअनुसार मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीहरूमा डल्फिनको उपस्थिति देखिएको हो। यहाँ वयस्क, माउ डल्फिनसँगै साना डल्फिन पनि देखिन थालेका छन्। श्रेष्ठले भने, “भारत र नेपालका विभिन्न नदी क्षेत्रबाट कर्णालीका सहायक नदीमा मानसून अवधिभर डल्फिनहरू आश्रय लिन्छन्। यसरी तीन महिनाभन्दा बढी समयसम्म डल्फिनहरू यहाँ बस्छन्। मानसून समाप्त भएपछि डल्फिनहरू पुनः कर्णाली नदीमा फर्कन्छन्।”
यी नदी क्षेत्रहरूमा डल्फिनको मुख्य आहारा माछा, घोँगी, र लेऊ जस्ता तत्वहरूको प्रचुरता भएकाले हरेक वर्ष डल्फिनहरू यहाँ आउने गर्छन् भन्ने विशेषज्ञहरूले बताएका छन्। शुद्ध जल, प्रचुर आहारा, र दोभानहरूको अधिकता भएकाले यी क्षेत्रहरूमा डल्फिनहरू आकर्षित हुने गरेको संरक्षणकर्मी श्रेष्ठले बताए। यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातका डल्फिन पाइन्छन्, जुन नेपालसँगै भारत, पाकिस्तान, र बङ्गलादेशमा मात्र पाइन्छ।
डल्फिनहरूको उपस्थिति बढेसँगै पर्यटकहरू पनि तिनलाई अवलोकन गर्न दिनहुँजसो यस क्षेत्रमा आउने गरेका छन्। संरक्षणकर्मी भोजराज ढुंगानाले हरेक वर्षायाममा डल्फिनहरूको आगमनसँगै पर्यटकको चहलपहल पनि बढ्ने गरेको बताए। उनका अनुसार डल्फिन अवलोकन गर्न आन्तरिक पर्यटक मात्र होइन, भारत, चीन, थाइल्यान्ड, जापान, अमेरिका लगायतका अन्य देशका नागरिक पनि यहाँ आउने गर्छन्।
पर्यावरण पर्यटनका दृष्टिले महत्त्वपूर्ण मानिएको यस क्षेत्रमा डल्फिन संरक्षणका लागि विविध कार्यहरू भइरहेका छन्। विश्व वन्यजन्तु कोष, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, तराई भूपरिधि कार्यक्रम ताल, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, र डिभिजन वन कार्यालय पहलमानपुरले संरक्षणका काम गरिरहेका छन्।
यसका साथै, टिकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि संरक्षणको क्षेत्रमा काम गरिरहेका छन्। यहाँ चारपटक डल्फिन महोत्सवसमेत आयोजना भइसकेको छ।
डल्फिनसँगै अन्य जीवजन्तु तथा चराचुरुङ्गीको अध्ययन र अनुसन्धानलाई जोड्न सकेमा पर्यावरण पर्यटनका लागि अझ राम्रो हुने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले बताए। यसका लागि डिभिजन वन कार्यालयले पनि संरक्षणका कार्यक्रमहरू गरिरहेको उनले जानकारी दिए।
[inline_related_posts title=”You Might Be Interested In” title_align=”left” style=”list” number=”6″ align=”none” ids=”” by=”categories” orderby=”rand” order=”DESC” hide_thumb=”no” thumb_right=”no” views=”no” date=”yes” grid_columns=”2″ post_type=”” tax=””]
सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइले पनि यस क्षेत्रमा विकासका लागि कार्यक्रम गर्ने जनाएको छ। अवलोकन गर्न आउने पर्यटकका लागि आवासीय घर, होमस्टे सञ्चालनका लागि आवश्यक तयारी भइरहेको इकाइका निमित्त प्रमुख डबल बोहराले जानकारी दिए।
कर्णालीमा विसं २०५४ मा पहिलोपटक डल्फिन देखिएको थियो। स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे) ले पहिलोपटक डल्फिन देखेपछि यसको प्रचारप्रसार गरेका थिए। डल्फिन संरक्षक श्रेष्ठले आफूले यहाँ पहिलोपटक डल्फिन देखेपछि यसको प्रचारप्रसार तथा संरक्षणका लागि जुटेको स्मरण गरे।
डल्फिन पहिलोपटक देखिएपछि यसको प्रचारप्रसार र संरक्षणको प्रयास सुरु गरियो, तर धेरै चुनौतीहरू सामना गर्नुपर्यो। विस्तारै यसको महत्त्व बुझाउँदै जाँदा स्थानीय समुदाय नै संरक्षण अभियानमा सक्रिय रूपमा संलग्न भए। अहिले प्रायः सबै संरक्षणमा सचेत भएका छन्।
मनसुनको समयमा मात्र देखिने डल्फिन गत डिसेम्बर २२ मा पनि यहाँ देखिएका थिए। रानी जमरा कुलरीया सिँचाइ आयोजनाको पानी पथरैया नदीमा मिसाउँदा हिउँदमा नै डल्फिन देखिएको सचिव श्रेष्ठले बताए।
“हिउँदमा हुने पानीमा थप चार फिट पानी बढाउन सके डल्फिन हेर्न वर्षायाम पर्खिनु पर्दैन भन्ने पुष्टि भइसकेको छ। योजनाबद्ध रूपमा केही काम गर्न सके यहाँको पर्यटन विकासमा थप टेवा पुग्ने सम्भावना छ,” श्रेष्ठले भने। यसका लागि डल्फिन संरक्षण गर्ने भन्दै सरकारले बनाएको कार्ययोजना कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी