ई-घोडाघोडी खबर

३० भाद्र २०८१, आईतवार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिम सरकार मापदण्ड मिचेर अस्पताल चलाउँदै

    सुदूरपश्चिम सरकार मापदण्ड मिचेर अस्पताल चलाउँदै
    Spread the love

    सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य जनशक्तिको अभाव छ। सरकारबाट ५० शय्याको स्वीकृति पाएको सेतीमा दरबन्दीअनुसार जनशक्ति छैनन्। सेती अस्पताल सरकारले बनाएको मापदण्ड विपरीत सञ्चालन भइरहेको छ। प्रदेश सरकारले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड मिचेर अस्पताल चलाइरहेको छ। सेती प्रादेशिक अस्पताल अहिले ३२५ शय्यामा सञ्चालन भइरहेको छ। सरकारले ५० शय्याको मात्रै स्वीकृति दिएको छ।

    अन्यत्र कतै अभ्यासमा नरहेको व्यवस्थापन समितिले ७५ शय्या सञ्चालनको स्वीकृति दिएको छ। त्यसैअनुसार जनशक्ति पनि व्यवस्थापन गर्न खोजिएको छ। अस्पताल सञ्चालनको पुरानो मापदण्डअनुसार सेतीमा ५० शय्याका लागि १०६ जनाको दरबन्दी छ। तर, यो दरबन्दीमा पनि सबै जनशक्ति अस्पतालमा छैन।

    अस्पतालमा जनशक्तिको अभाव रहेकाले सेवा प्रवाहमा समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए। ‘सेती अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी आउने गर्छन्। तर, हामीसँग सिमित स्रोत साधन छ,’ उनले भने, ‘५० शय्याको स्वीकृत दरबन्दीमा ३२५ शय्या चलाउनु परेको छ। प्रदेश सरकारले नयाँ बजेटमा जनशक्तिको व्यवस्था नगरे धेरै जसो सेवा बन्द गर्नुपर्ने देखिएको छ।’

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को पहिलो संशोधन, २०७८ विपरीत सेती प्रादेशिक अस्पताल सञ्चालन भइरहेको छ। जनशक्ति व्यवस्थापन नगरी ५० शय्याको अस्पताललाई ३२५ शय्यामा चलाइएको छ। स्वीकृतिभन्दा २७५ शय्या बढी हुँदा पनि सबै बिरामीले उपचार पाउने अवस्था छैन। भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण अस्पतालमा गुणस्तरीय उपचार नपाएको गुनासो बिरामीहरूले गर्दै आएका छन्।
    जनशक्तिको अवस्था
    अहिले सञ्चालनमा रहेको शय्याको हिसाबले सेतीमा हरेक विभागमा दुईजना विशेषज्ञ चिकित्सकको दरबन्दी हुनुपर्ने हो। तर, अस्पतालमा स्थायी ८ जना मात्रै विषेशज्ञ चिकित्सक छन्। छात्रवृत्ति, कार्यक्रम तर्फका र संघीय सरकारबाट काजमा आएका गरेर ३८ जना विशेषज्ञ चिकित्सक कार्यरत छन्। मेडिकल अधिकृत प्रति एक सय शय्या बराबर २४ जनाको हिसाबले ३२५ शय्याका लागि ७८ जना हुनुपर्नेमा स्थायी दरबन्दीको एक जना मात्रै छन्।

    छात्रवृत्ति, करार, व्यवस्थापन समिति, ज्यालादारी र काजमा आएका सहित सेतीमा २९ जना मेडिकल अधिकृत कार्यरत छन्। सेतीको क्षमता विस्तार गर्न प्रदेश सरकारलाई २ सय शय्यामा स्तरविद्धिका लागि प्रस्ताव पठाइएको अस्पतालले जनाएको छ। तर, स्तरवृद्धिको प्रस्ताव मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अड्केको व्यवस्थापन समितिका अध्यक्ष शाहले बताए।

    ‘दुई सय शय्यामा अस्पतालको स्तरोन्नति गर्ने प्रस्ताव मुख्यमन्त्री कार्यालयमा गएको छ। हामीले दुई सय सय्याको दरबन्दी स्वीकृत गर्न पटकपटक आग्रह गरिरहेका छौ। तर, अहिलेसम्म प्रदेश सरकारले निर्णय गरेको छैन,’ उनले भने, ‘दुई सय शय्यामा अस्पताल चलाउने स्वीकृति नपाए अवस्था थेग्न नसकिने हुने छ।’ मापदण्डअनुसार सेतीमा सञ्चालित ३२५ शय्याका लागि नर्सिङ अधिकृत २६ जना हुनुपर्ने हो। तर, अस्पतालमा नर्सिङ अधिकृत तीन जना मात्रै छन्। नर्सिङ स्टाफको संख्या प्रति एक सय शय्याका लागि ४० जनाका दरले १३० जना हुनुपर्ने हो। तर, सेतीमा ९८ जना मात्रै नर्सिङ स्टाफ छन्।

    जसमध्ये १७ जना मात्रै स्थायी हुन्। करारमा नियुक्त नर्सिङ स्टाफ पढ्न जाने, विदेश जाने र कामको बोझ बढी भएको भन्दै छोड्ने गरेका हुन्छन्। यस्तै, अस्पतालमा  पारामेडिकल स्टाफ प्रति एक सय शय्या बराबर १२ जना हुनुपर्ने मापदण्डमा उल्लेख छ। जसअनुसार सेतीमा ३९ जना अहेव र हेल्थ असिस्टेन्ट हुनुपर्ने हो। तर, १६ जना मात्रै छन्।
    आकस्मिक कक्षमा बेहाल
    मापदण्डअनुसार अस्पतालमा सञ्चालित जम्मा शय्याको १० प्रतिशत शय्या आकस्मिक कक्षमा हुनुपर्छ। यो हिसाबले सेतीको आकस्मिक कक्षमा ३० भन्दा बढी शय्या हुनुपर्ने हो। तर, आकस्मिक कक्षमा १३ शय्या मात्रै छन्। आकस्मिक कक्षमा एक सिफ्टमा दुई जना मेडिकल अफिसर र चार जना नर्सिङ स्टाफ अनिवार्य हुनुपर्छ। तर, सेतीको आकस्मिक कक्षमा एक सिफ्टमा एक जना मेडिकल अफिसर र एक जना नर्सिङ स्टाफ मात्रै छन्।

    आकस्मिक कक्षमा मात्रै तीन सिफ्टमा काम गर्न १२ देखि १४ जना मेडिकल अफिसर र २४ जना नर्सिङ स्टाफ हुनुपर्ने हो। तर, सेतीको आकस्मिक कक्षमा ६ जना मेडिकल अफिसर र ७ जना नर्सिङ स्टाफ मात्रै छन्। बिरामीको चाप र सञ्चालित शय्यासँग  सेतीको विद्यमान जनशक्तिको अनुपातको तालमेल नै छैन। जसका कारण बिरामीले उपचार नपाउने, पालो कुर्नुपर्ने र अन्यत्र जानुपर्ने अवस्था छ।

    सेतीको आकस्मिक कक्षा एक शय्यामा तीन जनासम्म राखेर उपचार गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरूले बताएका छन्। आकस्मिक कक्षमा शय्या अभावकै कारण बिरामीका आफन्तबाट चिकित्सक र स्वास्थ्यकर्मीले दुव्र्यवहार खेप्नुपरेको समेत बताएका छन्। कहिलेकाही सिकिस्त बिरामी आउँदा कम सिकिस्तलाई अनुनय विनय गरेर बाहिस बस्न लगाएर उपचार गर्नुपर्ने अवस्था आउने गरेको आकस्मिक कक्षका चिकित्सकको भनाइ छ। सेतीको ग्यालरीमा समेत बेञ्च लगाएर उपचार गर्नुपर्ने अवस्था छ। सेतीको आकस्मिक कक्ष शय्या र जनशक्ति अभावले हरेक दिन अस्तव्यस्त हुने गरेको गुनासो गरिएको छ।
    सेवा बन्द हुने अवस्था 
    प्रदेश सरकारले यो वर्षको बजेमा जनशक्ति व्यवस्थापन नगरे धेरैजसो उपचार सेवा सेतीबाट फेज आउट हुने जोखिम रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाहले बताए। उनले अस्पतालमा सेवा थपिएका तर जनशक्ति ४० वर्ष अघिकै भएकाले अहिलेको आवश्यकता र अस्पतालको क्षमता बिच तालमेल नमिलेको बताए। जसले गर्दा बिरामीसँगै स्वास्थ्यकर्मीले पनि समस्या भोगिरहेका छन्।
    जनशक्ति व्यवस्थापनमा सरकारी मापदण्ड 
    तीन सय शय्याको अस्पतलका लागि सुशासन तथा व्यवस्थापनका लागि २४ जना जनशक्ति हुनुपर्ने व्यवस्था छ। जसमध्ये मेडिकल डाइरेक्टर अर्थात प्रमुख मेडिकल सुपरिटेन्डेन्ट  एक जना, मेट्रोन एक जना, अस्पताल व्यवस्थापक एक जना, आइटी अधिकृत दुई जना र सहायक तीन जना आवश्यक हुन्छन्।

    यस्तै, वायोमेडिकल इन्जिनियर २ जना र सहायक तीन जना, मेडिकल रेकर्डर अधिकृत दुई जना र सहायक ४ जनाको दरबन्दी हुनुपर्छ। तीन सय शय्याका लागि लेखा अधिकृत एक जना  र लेखापाल दुई जना, स्टोर किपर एक र रिसेप्सनिस्ट एक जना हुनुपर्ने मापदण्डमा उल्लेख छ। तर, सेतीमा सुशासन तथा व्यवस्थापनका लागि  १५ जना कर्मचारी मात्रै छन्।
    क्लिनिकल जनशक्ति पनि थोरै
    तीन सय शय्याको अस्पतालका लागि  क्लिनिकल सेवाका लागि आवश्यक पर्ने जनशक्ति पनि निकै कम छ। हरेक विभागमा विशेषज्ञ चिकित्सक दुई जना हुनुपर्छ तर सेतीमा सबै विभगमा विशेषज्ञ चिकित्सक छैनन्। अहिले सञ्चालित तीन सय शय्याका लागि जनरल फिजिसियन दुई, जनरल सर्जन दुई, प्रसुती रोग विशेषज्ञ दुई, बलरोग विशेषज्ञ दुई, एनेस्थेसियोलोजिस्ट दुई, अर्थोपेडिक सर्जन दुई, जनरल प्र्याक्टिस्नर एमडिजिपी दुई, डेन्टल सर्जन दुई, डर्माटोलोजिस्ट तथा भेनेरोलोजिस्ट दुई, मनोचिकित्सक एक जनाको दरबन्दी हुनुपर्ने हो।

    यस्तै, इएनटी सर्जन एक, प्याथोलोजिस्ट दुई, अपथल्मोलोजिस्ट एक र रेडियोलोजिस्ट दुई जना हुनुपर्ने मापदण्डमा उल्लेख छ। तीन सय शय्याको अस्पतालका लागि क्लिनिकल तर्फ ४३ किसिमका जनशक्ति अस्पतालमा अनिवार्य हुनुपर्ने प्रावधान छ। अस्पतालमा प्लास्टिक, रिकनस्ट्रक्टिभ,एस्थेटिक ह्यान्ड सर्जन आवश्यकताअनुसार हुनुपर्छ।

    यस्तै, नियोनाटोलोजिस्ट एक जना, क्रिटिकल केयर फिजिसियन एक जना, मेडिकल अधिकृत एक सय शय्या बराबर २४ जना, नर्सिङ सुपरभाइजर तीन जना, नर्सिङ अधिकृत एक सय शय्याका लागि ८ जनाका दरले हुनुपर्छ। तीन सय शय्याको अस्पतालमा एक सय शय्या बराबर ४० जना नर्सिङ स्टाफ हुनुपर्छ। वरिष्ठ औषधि व्यवस्थापक एक जना, फार्मेसी अधिकृत दुई जना र फार्मेसी सहायक  ५ जना हुनुपर्ने मापदण्डमा उल्लेख छ। यस्तै,एनेस्थिया सहायक प्रती एक सय शय्या बराबर ४ जना हुनुपर्छ।

    तीन सय शय्याको अस्पतालमा डेन्टल हाइजिनिस्ट दुई, डेन्टल सहायक दुई,  अप्टोमेट्रीस्ट एक र मेडिकल अप्ट्रोमेट्रीस्ट एक जना हुनुपर्छ। यस्तै, अप्थाल्मिक सहायक दुई, एमडी फोरेन्सिक मेडिसिन एक, मेडिको लिगल अफिसर दुई, फिजियोथेरापिस्ट एक, फिजियोथेरापी टेक्निसियन एक र फिजियोथेरापी सहायक दुई जना प्रती एक सय शय्याका लागि हुनुपर्ने व्यवस्था छ।

    यस्तै, तीन सय शय्याको अस्पतालमा सिनियर डाइटिसिन र डाइटिसियन एक÷एक जना हुनुपर्ने स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ मा उल्लेख गरिएको छ। अस्पतालको सेवा प्रभावकारी होस् भनेर सरकारले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ निर्माण गरेको छ। तर, प्रदेश सरकारले भने संघीय सरकारले निर्माण गरेको मापदण्ड मिचेर सेती अस्पताल चलाएको छ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247