नवनिर्मित विद्यालय भवनको कक्षाकोठामा निर्माण व्यवसायीले लगाएको ताला डेढ वर्षपछि खुलेको छ । कक्षाकोठाको अभावमा खुला चौरमा पठनपाठन गर्दै आएका विद्यार्थी बिरामी पर्न थालेपछि पञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा ताला खोलेको हो ।
सो गाउँपालिकाको वडा नम्बर १ शेरीस्थित गडदेव आधारभूत विद्यालयको ३६ लाख रुपियाँ लागतको चारकोठे भवनमा ७९ लाख रुपियाँ खर्च भएको भन्दै भवन निर्माण समितिका अध्यक्ष केशवसिंह घटालले ताला लगाउनुभएको थियो ।
विद्यालयमा लगाइएको ताला प्रहरीको सहयोगमा शनिबार खोलिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । ताला खोलेर विद्यालय व्यवस्थापन समिति भङ्ग गर्दै प्रधानाध्यापकलाई स्पष्टीकरण सोध्ने निर्णय भएको उहाँले बताउनुभयो ।
विद्यालयको पुरानो भवन पहिरोमा पुरिएपछि आर्थिक वर्ष २०७८/७९ को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रुपियाँ लागतमा उक्त भवन निर्माण गर्न सम्झौता गरिएको थियो । भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भए पनि व्यवस्थापन समितिले भवनको जिम्मा स्थानीय युवा केशवसिंह घटाललाई दिएको हो ।
कोरोनाका कारण निर्माण सामग्री महँगो भएकाले ३६ लाख रुपियाँको चारकोठे भवनको लागत ५८ लाख रुपियाँ पु¥याएर भुक्तानी दिँदा पनि निर्माण समितिका अध्यक्ष घटालले भुक्तानी नलगेको गाउँपालिकाका इन्जिनियर घनश्याम मौनीले बताउनुभयो ।
भवन निर्माणमा संलग्न निर्माणकर्ता घटालले ७९ लाख रुपियाँ दाबी गर्दै आउनुभएको जानकारी उहाँले दिनुभयो । इन्जिनियर मौनीले भन्नुभयो, “भवन धेरै राम्रो बनेको छ तर ७९ लाख रुपियाँ कसरी भुक्तानी दिने ? प्राविधिक दृष्टिकोणले ५८ लाख रुपियाँभन्दा बढी भुक्तानी दिन मिल्दैन ।”
भवन निर्माणमा संलग्न घटालले कोरोनाका बेला छड, सिमेन्ट र तेलको मूल्य आकासिएकाले भवन निर्माण गर्दा ७९ लाख रुपियाँ खर्च भएको दाबी गर्नुभयो । उहाँले २० प्रतिशत जनश्रमदान गर्नुपर्ने योजनामा उल्लेख भए पनि ज्यालादारीमा काम गराउँदा लागत बढेको बताउनुभयो ।
उहाँले ब्याजमा ऋण निकालेर विद्यालयको भवन बनाए पनि प्राविधिक मूल्याङ्कन नभएको बताउनुभयो । डेढ वर्षसम्म भवनमा ताला लगाउँदा विद्यार्थी घाम र झरीमा खुला चौरमा पढ्न बाध्य थिए ।
भवनमा लागेको ताला खोल्न गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, नेपाल प्रहरी र सशस्त्र प्रहरी पञ्चेश्वर–१, शेरी पुगेका थिए । ताला खोल्न लगाउँदै गाउँपालिका अध्यक्ष चन्दले भन्नुभयो, “यहाँका जनताले स्थानीय सरकार नभएको अनुभूति गरे । कसैलाई भ्रम नहोस् पञ्चेश्वरमा स्थानीय सरकार छ । जुनसुकै बहानामा पनि विद्यालयलाई बन्धक बनाउन मिल्दैन । आज ताला खोलिएको छ । फेरि ताला लगाउने काम भयो भने कानुनी कारबाही अघि बढाउँछौँ ।”
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी