घोडाघोडी (कैलाली), चैत २२ गते । पर्यटन प्रवर्धनका नाममा पूर्वाधार विकास तथा सर्वसाधारणको बाक्लो चहलपहलका कारण सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्य र स्वरूप नासिँदै गएको छ ।
यसले पर्यावरणमा पनि असर पारिरहेको विज्ञको भनाइ छ । रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल जैविक विविधताले महत्वपूर्ण भए पनि अव्यवस्थित पूर्वाधार तथा विकास निर्माणले प्राकृतिक स्वरूप बदलिएको छ ।
जैविक विविधताविद् सुजन श्रेष्ठ पर्यटन प्रवर्धनका नाममा विकासका पूर्वाधार निर्माण गरिँदा तालको प्राकृतिक सुन्दरता नै नासिएको बताउनुहुन्छ । तालको छेउछाउमा कङक्रिट निर्मित विश्रामस्थल, भ्युटावर र बाटो निर्माण गरिएका छन् ।
यस किसिमको निर्माण कार्यले प्राकृतिक सुन्दरतालाई बिगार्नुका साथै मानिसको भिडभाड, होहल्लाले चराचुरुङ्गी वासस्थान सार्न बाध्य हुने गरेको भनाइ उहाँको छ ।
चराविद् डा. हेमसागर बराल घोडाघोडी सिमसार क्षेत्रबाट स्थानीयले अप्रत्यक्ष रूपमा पारस्थितिक सेवाका रूपमा स्वच्छ हावापानी, प्रचुर मात्रामा भूमिगत पानी पाउने गरेको बताउनुहुन्छ । यस्ता सम्पदा शान्त, सफा र सुन्दर हुन आवश्यक छ ।
डा. बराल भन्नुहुन्छ, “पर्यटन विकासको नाममा सिमसार क्षेत्र बिगार्ने गरी योजना ल्याउनेले प्राकृतिक सौन्दर्य र यसको महत्व बुझेन । विकास गर्ने होडबाजी र पैसा कमाउने उद्देश्य राखेर प्राकृतिक सम्पदा नै विगार्ने काम गर्नु हुँदैन ।”
“यसले जैविक विविधतामा ह्रास आएको छ,” उहाँ थप्नुभयो, “कङक्रिटजन्य संरचना बनाएर तालको सुन्दरतालाई बिगार्नु हुँदैन, शान्त र चराचुरुङ्गी रमाउने वातावरणमा असर पार्नु हुँदैन तर पनि अब त्यो अवस्था रहेन ।”
सन् १९९२ मा चरा गणनाका लागि पहिलो पटक घोडाघोडी पुग्नुभएका डा. बरालले विगत सम्झँदै भन्नुभयो, “त्यतिखेर देखिएका चरा अहिले घोडाघोडीबाट लोप भइसकेछन् ।”
सन् १९९ मा १४० प्रजातिका चरा गणना गरेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार पछि थपिँदै गएर थपिने प्रजातिको सङ्ख्या बढे पनि प्रजातिभित्रको सङ्ख्या घट्नु भनेको लोपोन्मुख अवस्थामा पुग्नु हो ।
घोडाघोडी क्षेत्रमा पहिला देखिने नकटाहाँस, भुँडीफोर, गरुडलगायतका चरा हराइसकेका छन् । कतिपय लोपोन्मुख अवस्थामा रहेको जानकारी दिँदै उहाँले सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको सङ्ख्यासमेत प्रत्येक वर्ष घट्दै गइरहेको उल्लेख गर्नुभयो ।
देशभरका अन्य स्थानमा रहेका प्राकृतिक तालहरूको अवस्था पनि घोडाघोडीको जस्तै छ । यस्ता सम्पदा क्षेत्रमा संरचना निर्माणसँगै बाक्लो भिडका कारण होहल्ला, फोहोर, वनभोजलगायत विभिन्न कारणले असर पार्ने गरेको जनाइएको छ ।
वनभोजका नाममा चर्को आवाजमा गीत बजाएर नाचगान गर्दा पनि चराचुरुङ्गीलाई असर पर्ने चराविद् बताउँछन् । अनावश्यक कोलाहलले रैथाने चराचुरुङ्गी बस्नु त टाढाको कुरा, शान्त र एकान्त खोज्दै जाने मानिससमेत बस्ने अवस्था नहुने गरेको छ ।
सङ्घीय सरकारको मातहातमा रहेको घोडाघोडी सिमसार क्षेत्रको रेखदेख र संरक्षणमा स्थानीय र प्रदेश सरकार पनि उत्तिकै जिम्मेवारी रहेको जानकारहरू बताउँछन् ।
सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्य नबिगार्ने गरी काम गर्न राष्ट्रिय निकुञ्ज विभागले बेला बेलामा निरीक्षण गर्नुपर्ने चराविद् बरालको सुझाव छ । अन्य देशका सिमसार क्षेत्रमा हिँड्ने बाटो परम्परागत नै हुन्छ, जैविक विविधता बिगार्नु हुँदैन भन्ने मान्यता छ ।
पानी भरिभराउ हुने प्राकृतिक तालमा स्थानीयले माछापालन गर्न थालेपछि पानीको स्रोत सुक्न थालेको चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताउनुभयो । पानीको स्रोत मासिँदै गएपछि पानीमा रमाउने जलचर प्राणी मासिँदै गएको बताइएको छ ।
घोडाघोडी ताल क्षेत्र पछिल्लो समय पर्यटन विकासका नाममा अन्धाधुन्ध संरचना निर्माणका कार्य भए पनि सिमसार संरक्षणका विषयमा भने कसैको चासो नगएको स्थानीय संरक्षणकर्मी मैना ढकालले बताउनुभयो ।
सिमसारको अवस्थाबारे अध्ययन
रामसार जानकारी अद्यावधिक कार्यका लागि नेपाल सरकारले खटाएको विज्ञ समूहले घोडाघोडीको सिमसार क्षेत्रको अवस्थाबारे अध्ययन गरेको छ । अद्यावधिक कार्य समूहका टोली प्रमुख झमक कार्कीले यहाँको जैविक विविधता, पर्यापर्यटन, आयआर्जन, पानीको स्रोत, बाह्य मिचाहा प्रजातिका विषयमा स्थलगत अध्ययन अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाउने बताउनुभयो ।
उहाँले घोडाघोडी ताल रामसार सूचीमा सूचीकृत हुँदाको जानकारी अद्यावधिक गर्न २९६ बुँदामा जानकारी सङ्कलन गरेर दुई महिनाभित्र सरकारलाई बुझाउने बताउनुभयो ।
अद्यावधिकका लागि प्राडा रोशा रावत, जैविक विविधताविद् सुजन श्रेष्ठ, पवित्रा सुब्बालगायतको समूह घोडाघोडी पुगेको थियो । घोडाघोडी ताल सन् २००३ मा रामसार सूचीमा सूचीकृत भएको हो । यस तालको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ । रामसार सूचीमा सूचीकृत हुँदा तालको क्षेत्रमा ठुला तर कम गहिरो तालसमेत गरेर ठुलासाना गरी २० वटा तालतलैयालाई समेटेको पाइन्छ । यहाँ सङ्कटापन्न प्रजाति जस्तै, कछुवा, ओत, गोही, हाँस र अन्य स्तनधारी पनि पाइन्छन् ।
तालमा ४५० प्रजातिका वनस्पति, २९ प्रजातिका माछा, ३२ प्रजातिका पुतली, एक प्रजातिका गोही, सात प्रजाति सरिसृप, १४० प्रजातिका रैथाने र घुमन्ते चरा रहेको उल्लेख गरिएको छ । ४८० प्रजातिका चरा पाइने जनाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घका हिरूलाल डङ्गौराले चरा संरक्षणका लागि सिमसार क्षेत्र संरक्षण र व्यवस्थापन अत्यावश्यक भएको बताउनुहुन्छ । यहाँको सिमसारको स्वरूप, मिचाहा झारको प्रकोप, चोरीसिकार र मौसम परिवर्तनले समस्या पारेको भनाइ उहाँको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी