ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • जाडो छल्न घोडाघोडी आइपुगे आगन्तुक चरा

    जाडो छल्न घोडाघोडी आइपुगे आगन्तुक चरा
    Spread the love

    नेपालको पहिलो चरा आरक्ष कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल भएको छ ।

    जाडो छल्नका लागि हजारौ किलोमिटर यात्रा गरेर विभिन्न प्रजातिका आगन्तुक चरा घोडाघोडीमा आइपुगेका छन् । साइबेरिया लगायत उत्तरी क्षेत्रमा चिसो बढेपछि त्यहाँबाट विभिन्न प्रजातिका हाँस सहित अन्य जलपन्छी विश्वरामसार क्षेत्रमा सूचीकृत घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा आइपुगेका हुन ।

    आगन्तुक चराहरु सुनजुरे हाँस, कैलेटाउको हाँस, मालक हाँस, कालीजुरे हाँस, श्वेताँखीभौं, बेल्चाठूँडे हाँस, खडखडे हाँस घोडाघोडीमा रमाइ रहेका छन् । यसैगरी, सिन्दुरे हाँस, हरियो टाउको हाँस, सुईरो पुच्छ्रे हाँस, विजुलागैरी हाँस, डुबुल्की चरा, सिउरे डुबुल्की चरा, ठुलो जलेवा पनि उत्तरी क्षेत्रबाट अस्थायी बसाइँसराइँ गरेर घोडाघोडी आइपुगेका छन् ।

    जाडो छल्नका लागि कैलाली आइपुगेका यी चराहरु घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा छ महिनासम्म अस्थायी रुपमा बसोबास गर्ने चराविद हिरुलाल डङ्गौराले बताए । ‘साइबेरियासहित उत्तरी क्षेत्रमा अत्यधिक चिसो भएपछि हिउँदे आगन्तुक चरा जाडो छल्न घोडाघोडीसहित कैलालीको विभिन्न सिमसारमा आइपुग्ने गर्छन । ति चराहरुको बसोबास हिउँद अवधिभरि यतै हुने गर्दछ’ उनले भने ।

    हाँस प्रजातिका हिउँदे आगन्तुक चरा छ हजारभन्दा बढी किलोमिटर दूरी पार गरेर साइबेरियाबाट कैलाली आएका हुन । यी जलपक्षी यहाँ आउने क्रममा विभिन्न ठाउँमा बस्दै आइपुग्ने गरेका जनाइएको छ ।

    यसैगरी, चीन, तिब्बततिर प्रजनन् गर्ने ठूलो जलेवा जाडो यामभरी यहाँका सिमसारमा रमाउने गर्दछन् ।

    घोडाघोडीसहित नकरोड, महादेवा, लौकाहा-भौकाहा, चिरैयाँ, कोइलही, सोनियाँ-रुपियाँ, जम्नेह्टा, घोडतालसहित कणर्ालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रगातिका हिउँदे आगन्तुक चरा देखिने गरेको जनाइएको छ । अक्टोबरदेखि आएका आगन्तुक जलपन्छी मार्चतिर पुनः पुरानै ठाउँतिर फर्कने गरेको बताइन्छ ।

    पछिल्लो समय कैलालीमा चरा प्रजातिको संख्या थपिदैं गएको छ । तर, बसोबास स्थानको विनाश, सिमसार क्षेत्र मासिँदै जानु, चराको शिकार, कृषिमा बढ्दो विषादीको प्रयोग लगायतका कारणले संरक्षणमा चुनौती बढिरहेको छ ।

    प्राकृतिक तालतलैयासहित सिमसार क्षेत्रको प्राकृतिक अवस्था बिग्रिने गरी भइरहेको दोहनले चराचुरुङ्गीलाई असर गरिरहेको संरक्षणकर्मीहरु बताउँछन् ।

    प्राकृतिक ताल तलैयाको प्राकृतिक स्वरुप र पारस्थितिकीय प्रणाली नबिग्रिने गरी सदुपयोग र व्यवस्थापन गर्न आवश्यक रहेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए ।

    कैलालीको घोडाघोडीमा ७० र भजनी नगरपालिकास्थित पुरैना तालमा ७४ प्रजातिको जलपन्छी पाइएको अभिलेख छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी