बासस्थानको खोजी गर्दै दक्षिण भेगबाट कैलालीस्थित मोहना नदी बगरमा बथानका बथान पानीगौँथली आइपुगेका छन् । एक सातादेखि पानीगौँथली मोहना नदीको बलौटे बगरमा देखिएका छन् ।
भारतमा रहेको उत्तर प्रदेशस्थित घाँघरा, गङ्गा र शारदा जस्ता ठुला नदी बगरका रैथाने पानीगौँथली गर्मी याममा बसाइँ सरेर कैलालीको मोहना नदीमा आउने गरेका छन् । यो वर्ष छ हजार तीन सय पानीगौँथली मोहना नदीमा आएको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । यहाँ आउने पानीगौँथली चराको हरेक वर्ष गणना हुँदै आएको छ ।
वाइल्ड लाइफ फोटोग्राफर कुलराज चौधरीका अनुसार कैलारी गाउँपालिका–४ को भितरिया र वडा नं. ३ को खोनपुर क्षेत्रमा पानीगौँथली देखा परिरहेको छ । तथापि पानीगौँथली चरा केही रैथाने पनि छन् । उहाँले भन्नुभयो, “भारतको उत्तर प्रदेशमा रहेका ठुला नदीमा बाढीले बासस्थान बिगारेपछि उपयुक्त बसोबासको खोजीमा यी चरा दक्षिणबाट केही उत्तर बसाइँ सर्ने गर्छन् ।” नदी किनार र ससानो ढुङ्गामा पानीगौँथली चरा बस्ने गरेको जनाइएको छ । ती चराका लागि मोहना नदीमा बासस्थान राम्रो रहेको बताइएको छ । बासस्थान राम्रो रहेका कारण हरेक वर्ष यहाँ ठुलो सङ्ख्यामा पानीगौँथली चरा आउने गरेको डङ्गौराको भनाइ छ ।
ठुलो सङ्ख्यामा नदी किनारमा बस्ने पानीगाैँथलीले पानी माथि उड्ने किरालाई खाने गर्छन् । आहारा पर्याप्त मात्रामा पाइने ठाउँमा यो प्रजातिका चरा बस्न रुचाउने गरेको जनाइएको छ । बर्ड लाइफ इन्टरनेसनल, २०१३ का अनुसार नेपाल, भारतसहित पानीगौँथली अफगानिस्तान, बहराइन, बङ्गलादेश, भुटान, कम्बोडिया, चीन, इरान, मलेसिया, म्यान्मार, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड, युएई, भियतनाम, यमन, सिङ्गापुर, ओमानलगायतका देशमा पाइने गर्छन् ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी