ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • तल्लो कर्णाली क्षेत्रमा पर्यटक चरा

    तल्लो कर्णाली क्षेत्रमा पर्यटक चरा
    Spread the love

     फिरन्ते तथा पर्यटक चराको चिरबिरले कर्णाली नदीको तल्लो तटीय क्षेत्र गुल्जार बनेको छ । जाडो छल्न आएका पाहुना चराका कारण कैलाली र बर्दियाको सीमा क्षेत्रमा रहेको तल्लो कर्णाली क्षेत्र गुल्जार बनेको हो ।

    नेपालको उत्तरी क्षेत्र साइबेरिया, मङ्गोलिया, उत्तरी चीन र रसियालगायतका देशबाट विभिन्न प्रजातिका जलपन्छी चरा यहाँ आइपुगेका छन् । जाडो छल्न आएका पाहुना जलपन्छीका कारण कर्णाली नदीको तल्लो तटीय क्षेत्रको रौनकता थपिएको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो ।

    “कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका जलपन्छी हिउँदमा रमाउन आएका हुन्,” उहाँले भन्नुभयो । तल्लो कर्णालीमा कल हाँस, खरखरे हाँस, सुनजुरे हाँस, जुरे डुबुल्की चरा, ठुलो जलेवा, जखेवालगायत आगन्तुक जलपन्छीको चहलपहल रहेको जनाइएको छ । उत्तरी क्षेत्रमा अत्यधिक चिसो भएपछि जाडो छल्नका लागि यीसहित विभिन्न प्रजातिका जलपन्छी कम जाडो हुने क्षेत्रको जलाशयमा रमाउन आउने गरेका छन् । अहिले कैलाली, कञ्चनपुरमा रहेको नदी र तालतलैयामा पर्यटक चरा रमाइरहेका छन् ।

    यस वर्ष तल्लो कर्णालीमा कल हाँस हालसम्मकै ठूलो सङ्ख्यामा आएका छन् । जाडो छल्नका लागि ७८ वटा कल हाँस कर्णाली नदीको तल्ली तटीय क्षेत्रमा आएको अभिलेख छ ।

    कल हाँसको यो सङ्ख्या सन् २००६ पछि यताकै सबैभन्दा बढी रहेको चराविद् डङ्गौराको भनाइ छ । यसअघि एक जोडीसम्म कल हाँस देखिने गरेका थिए । यो प्रजातिको चरा कञ्चनपुरको बेलौरीस्थित पुरैनी तालमा बढी आउने गरेका छन् । गत वर्ष यो तालमा तीन सयको हाराहारीमा कल हाँस आएका थिए । अक्टोबरतिर आइपुगेका आगन्तुक जलपन्छी करिब छ महिना यहाँ बिताउने गरेका छन् । मार्चतिर पुरानै थातथलोतिर फर्कने गरेको जनाइएको छ । घाँसे मैदानसहितको नदी तटीय क्षेत्रलगायत उपयुक्त बसोबास रहेका कारण तल्लो कर्णाली क्षेत्रमा हरेक वर्ष हिउँदमा आगन्तुक चराको चिरबिर बढी रहने गरेको चराविद् डङ्गौराको भनाइ छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी