ई-घोडाघोडी खबर

३० भाद्र २०८१, आईतवार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिमका दुई पालिकाले सार्वजनिक सेवा ‘डिजिटलाइजेशन’मा जोड्दै

    सुदूरपश्चिमका दुई पालिकाले सार्वजनिक सेवा ‘डिजिटलाइजेशन’मा जोड्दै
    Spread the love

     विद्युतीकरण सुशासनको लागि क्षमता विकास कार्यक्रम अन्तर्गत सार्वजनिक सेवा डिजिटलाइजेशनमार्फत् लिने कार्य सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तहमा लागु गरिएको छ। जिआईजेटको सहयोगमा कैलालीको घोडाघोडी नगरपालिका र धनगढी उपमहानगरपालिकामा उक्त कार्य पहिलो पटक पाइलट कार्यक्रमको रूपमा सुरु गरिएको हो ।

    घोडाघोडी नगरपालिकाको वडा नम्बर १, २ र १० मा कार्यालय प्रयोजन र पब्लिक प्रयोजनको लागि मोबाइल एपबाट वडाबाट दिने सेवालाई चुस्तदुरुस्त छिटो छरितो बनाउने कार्यक्रमको उद्देश्य रहेको वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले बताउनुभयो ।

    वडाध्यक्ष ओझाले पाइलट प्रोजेक्टको रूपमा अहिले तीन वटा वडामा सुरु भएको डिजिटल भरपर्दो र लाभदायक कार्यक्रम प्रभावकारी बन्दै गएमा बिस्तारै अन्य वडामा समेत विस्तार गर्ने बताउनुभयो ।

    कार्यक्रमको प्राविधिक सहयोग पुर्याईरहेका जिआईजेटका कन्सल्टेनका अनुसार सार्वजनिक सेवाहरूको विद्युतीकरण कार्यक्रममा कार्यालय प्रयोजनका लागि डकुमेन्ट म्यानेजमेन्ट सिस्टमले कार्यालयका दर्ता चलानी पत्रहरूको स्क्यान गरेर अपलोड गर्न सकिनेछ । यसरी रेकर्ड राख्दा भनेको समयमा खोज्न र उपलब्ध गराउन सजिलोका साथै एकपटक राखेपछि पटक-पटक पत्रहरू खोजीराख्नुपर्ने झन्झटबाट मुक्त हुने भएको छ ।

    त्यसैगरी, इन्ट्रीग्रेट मोबाइल एप पब्लिक प्रयोजनका लागि हो । यसमार्फत वडा, नगरपालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी ,सर्वसाधारणले प्रयोग गर्न सक्छन् । अनलाईनमार्फत् विभिन्न सिफारिस लिन, जनप्रतिनिधि तथा कर्मचारीलाई छुट्टाछुट्टै गुनासो र सुझाव दिन र लिन मिल्ने व्यवस्था मोबाइल एपमा छ । त्यसैगरी, घर नम्बर कोड गरी गुगल म्यापमा सजिलै हेर्न मिल्ने व्यवस्था एपले गरेको छ । यो कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित वडामा स्थानीय डिजिटल सहजकर्ताहरूलाई तालिम दिएर जनचेतना जगाउने कार्य भइरहेको छ ।

    वडा नम्बर १ का डिजिटल सहजकर्ता सुभद्रा चौधरीले गुगलमा गएर एप डाउनलोड गरी सेवा लिन सकिने बताउनुभयो । उहाँले सुरुमा जनप्रतिनिधि कर्मचारीलाई यो कार्यक्रमका बारेमा तालिम दिएपछि अहिले कार्यक्रम लागु भएका वडाका टोलटोलमा डिजिटल सेवाका बारेमा जानकारी गराउने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले घरमै बसीबसी अनलाइनबाट विभिन्न फारम भरी पठाएमा वडा कार्यालयबाट सजिलै सिफारिस पाउन सकिने बताउनुभयो ।

    यसले गर्दा कार्यालयमा लामो समय पालो पर्खन नपर्ने काम छिटो छरितो हुने भएको छ । साथै कुनै गुनासो भएमा पनि सम्बन्धित व्यक्तिलाई सिधै म्यासेजमार्फत् गुनासो पठाउन सकिने एपमा सुविधा रहेको जनाइएको छ । २०७९ सालदेखि नेपालका ६ वटा पालिकामा पाईलेटिङ्को रूपमा यो कार्यक्रम लागु गरिएको जिआईजेटले जनाइएको छ ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247