धनगढी, ७ माघ । कैलालीको कैलारी गाउँपालिकाले विद्यालयमा जाडो बिदा दिएको छ । चिसोका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्य समस्या देखा पर्न थालेपछि पालिकाहरुले कार्यपालिकाको बैठकबाट निर्णय गरेर विद्यालयमा बिदा दिएका हुन् ।
गाउँपालिकाको आइतबार गरेको निर्णयले माघ ८ गते देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको हो ।
यस अघि भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले पनि जाडो बिदा दिएका थिए । भनजी नगरपालिकाले माघ ५ देखि ८ गतेसम्म र जोशीपुर गाउँपालिकाले माघ ७ देखि ९ गतेसम्म तीन दिन विद्यालयमा जाडो बिदा दिएको छ ।
कैलालीसहित पश्चिम तराईमा शीतलहर–हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि घाम नलाग्दा यहाँको न्यूनतम तापक्रम कम हुँदैगएको छ । जसका कारण अत्यधिक जाडो भइ जनजीवन प्रभावित भएको हो । चिसोका कारण बालबालिका, वृद्धवृद्धा, दैनिक ज्यालादारीमा काम गरेर गुजारा गर्ने मजदुरलगायत विपन्न समुदायका व्यक्ति बढी प्रभावित भएका छन् ।
चिसोले गर्दा विद्यार्थीलाई विद्यालय जान समस्या हुनुका साथै मान्छेको नियमित कामकाजमा बाधा भइरहेको छ । विद्यार्थी पर्याप्त बाक्लो कपडा नलगाई विद्यालय पोशाक लगाएर मात्र विद्यालय जाँदा उनीहरुको स्वास्थ्यमा समस्या भइरहेको छ ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247