गर्मी बढेसँगै सुदूरपश्चिममा विद्युत जाने क्रम बढेको छ। गर्मीसँगै विद्युतको माग पनि बढ्ने गरेकाले लोड धान्न नसक्दा विद्युत जाने गरेको हो।
गर्मीमा विद्युतको खपत बढ्ने भएकाले भोल्टेज कम हुँदा बेलाबेला लाइन ट्रीप हुने गरेको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख इन्जिनियर जङ्गबहादुर चन्दले बताए। “गर्मीमा विजुलीको खपत बढ्छ त्यसैले लाइन अकस्मात जान्छ,” उनले भने, “लाइन जाने कारण भोल्टेज कम भएर हो।”
हिँउदमा सुदूरपश्चिममा दैनिक २५ देखि ३० मेगावाट विद्युत खपत हुने गरेको छ भने गर्मीमा खपत बढेर दैनिक ७५ देखि ८० मेगावाट पुग्ने गरेको छ। तीन चार वर्ष अगाडि धनगढीको माग १० मेगावाट थियो भने अहिले दैनिक खपत बढेर १८ मेगावाट पुगेको छ। सुदूरपश्चिममा विद्युतीय संरचना र लाइन पूरानो भएकाले प्रशारण लाइनमा समस्या देखिने गरेकाले पटकपटक लाइन जाने गरेको चन्दले बताए। “विद्युत लाइन र संरचना पूराना छन्। जसले गर्दा पनि तार खस्ने, फ्युज जाने जस्ता समस्या देखा परिरहन्छ्न्,” उनले भने, “पूरै लाइन अपग्रेड नगर्दासम्म लाइन बन्द हुने समस्या भइरहने हो।”
धनगढीमा ३३ केभी लाइनबाट विद्युत् आपूर्ति भईरहेको छ। यो लाइनमा तार पुरानो हुँदा टुट्ने समस्या छ भने पोल होचा हुँदा रुखका हाँगाको कारण पनि बत्ती जाने गरेको छ। सुदूरपश्चिममको लाइन तथा विद्युतीय संरचानामा पूरै सुधार गर्न सकिए अकस्मात विद्युत जाने समस्या हल हुने बताइएको छ। तर बजेट अभावका कारण सबै लाइन अपग्रेड गर्न नसकिदा लाइनमा बेलाबेला समस्या देखिने गरेको प्रदेश प्रमुख चन्दले बताए।
धनगढीमा विद्युत जाने समस्या ३३ केभीको नयाँ लाइन निर्माण भएपछि कम हुने दाबी गरिएको छ। ६ लेन हुँदै बन्न लागेको नयाँ लाइनको काम एक महिनाभित्र सम्पन्न भए समस्या केही कम हुन सक्ने धनगढी वितरण केन्द्रले जनाएको छ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247