हराए मादल सँगै घन्किने तिजका भाका

इन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), १० भदौ/
कुनै समय थियो, जब तीजको रौनक गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै सुरु हुन्थ्यो । दिदीबहिनीहरू आँगनमा जम्मा भएर वर्षभरिका दुःख, वेदना र भोगाइलाई गीत मार्फत गाउँदै मादलको तालमा नाचेर मन हल्का गर्थे । दिनभरि काम अनि साँझ पर्नासाथ भेला हुने महिलाहरूले मादल बजाएर तिजका भाका गाउने चलन थियो । ती गीतहरू केवल रमाइलोका लागि मात्र नभई मनका पीडा, व्यथा पोख्ने माध्यम बन्थे ।
६१ वर्षीय कैलालीको घोडाघोडी नगरपालिका ८ की पार्वती देवी खत्री पुराना दिन सम्झिनुहुन्छ । उहाँ भन्नुहुन्छ, रोपाई सकिने बित्तिकै साउनको महिना बाट नै गाँउमा मादल घन्किन थाल्थे । सबै जम्मा भएर महिना दिनसम्म नाचगान गरिन्थ्यो । अब त ती सबै हराउँदै गए ।
६३ वर्षीय तोला देवी बिष्टको पनि सम्झना उस्तै छ । उहाँ भन्नुहुन्छ, “पहिले तिजमा महिलाले आफ्ना पीडा पोख्थे । गीत गाउने माध्यम नै हाम्रो आवाज थियो । अहिलेका गीत त भड्किला हुँदै गएका छन्, मनको बोझ बिसाउने ठाउँ हराएको जस्तो लाग्छ ।”
तर, आज समय फेरिएको छ । मादलको स्थान डिजे र आधुनिक सङ्गीतले लिएको छ । मनका बह पोख्ने मौलिक भाकाहरू भड्किलो र व्यावसायिक गीतहरूको भीडमा हराउँदै गएको कैलाली जिल्ला समन्वय प्रमुख टिका चौधरी भुल बताउनुहुन्छ ।
पुराना पुस्ताका लागि तीज केवल नाचगान र रमाइलो मात्र थिएन, यो महिलाहरूका लागि आफ्ना भावना व्यक्त गर्ने महत्त्वपूर्ण पर्व थियो । विवाहपछि घरपरिवार र समाजबाट भोगेका पिडा, माइतीको सम्झना जस्ता विषयहरू तीज गीतका मुख्य विषयवस्तु हुन्थे ।
६५ वर्षीय मैती बुढाथोकी आफ्नो पालाको तीज सम्झँदै भन्नुहुन्छ, “माइत जान पनि तीज नै कुर्नुपथ्र्यो, त्यसमाथि लिन नआए जान पाइँदैनथ्यो । मादल मुजुराजस्ता परम्परागत बाजाहरूको तालमा गाइने यी गीतहरूमा भावनात्मक गहिराइ र मौलिकता थियो । अब त मादलको भाका सुनिन नै मुस्किल पर्छ, बुढाथोकिले भन्नुभयो ।

आधुनिकताको प्रभावः हराउँदै मादलको घिन्ताङ

पछिल्ला केही वर्षयता तीज गीतको स्वरूपमा ठुलो परिवर्तन आएको छ । आधुनिक सङ्गीत, भड्किलो भिडियो र व्यावसायिकताको होडमा तीजका मौलिक भाकाहरू ओझेलमा परेका छन् । भड्किलो खालका दुई अर्थ लाग्ने शब्दहरूको प्रयोग बढेको पाइन्छ, जसले गर्दा पुराना पुस्ताका मौलिक तिज गीतहरू हराउँदै गएको घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलिया कुमारी चौधरी बताउनुहुन्छ ।
चौधरीले भन्नुभयो, मादल बजाएर तिजका भाका गाउँदै नाच्ने त कहिले कसो मात्रै देखिन्छ । अहिले त ति सबै कुराहरु लोप हुदै गएका छन् ।
तीजको मौलिकता हराउँदै जाँदा यसको सबैभन्दा ठुलो असर मादलजस्ता परम्परागत बाजाहरूमा परेको छ । कुनै समय तीजको पर्याय मानिने मादल आजकाल गाउँघरमा समेत कमै सुनिन्छ । आधुनिक र डिजिटल बाजाको प्रयोग बढेसँगै मादल बजाउने चलन पनि हराउँदै गएको छ । यसले एकातिर सांस्कृतिक पहिचानलाई कमजोर बनाइरहेको छ भने अर्कोतिर मादल बनाउने र बजाउने पेसामा संलग्नहरूलाई समेत असर पारेको छ । डिजेका कारण व्यवसायमा असर पुगेको लम्की चुहा नगरपालिका–३ का मादल व्यवसायी तीर्थ वादी बताउनुहुन्छ । “तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो”, उहाँले भन्नुभयो, “मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले मादल बेच्न निकै गाह्रो पर्छ ।”
तीर्थ भन्नुहुन्छ, “डिजेले मादल लोप भइसकेको छ जसले गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको छ मादल बनाएर राखेको छु बिक्री हुँदैन ।”

मौलिकता जोगाउने प्रयास

तीज गीतमा बढ्दो विकृति र मौलिकता हराउँदै गइरहेको बेला यसलाई जोगाउने प्रयास पनि भइरहेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाले मौलिक तीज गीत प्रतियोगिता आयोजना गरेर परम्परागत भाका र संस्कृति जोगाउने प्रयास गरेको छ । अघिल्लो बर्ष पनि आयोजना गरेको पालिकाले यस बर्ष सोमवार तिज प्रतियोगताको आयोजना गरेको हो । यस्ता प्रतियोगिताहरूले पुराना भाकाहरूलाई नयाँ पुस्तासम्म पुग्न मद्दत गर्ने र तीजको वास्तविक मर्मलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्क रावत बताउनुहुन्छ ।
तीज पर्वको सांस्कृतिक महत्वलाई जोगाइराख्नु सबैको दायित्व रहेको बताउँदै नगर प्रमुख रावतले भन्नुभयो, आधुनिकतालाई आत्मसाथ गर्दा आफ्नो मौलिकता र पहिचानलाई बिर्सन हुँदैन । मादलको ताल र मनका बह पोख्ने तीजका भाकाहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्, यी हाम्रो समाज, संस्कृति र इतिहासका जीवन्त अभिलेख पनि हुन् । यिनको संरक्षण गर्नु भनेको हाम्रो आफ्नै पहिचानको संरक्षण गर्नु हो रावतले भन्नुभयो ।
केही दिनअघि पनि घोडाघोडी महिला सञ्जालले मौलिक तीज मिलन कार्यक्रमको आयोजना गरेको थियो । घोडाघोडी मन्दिर नजिक महिलाहरू जम्मा भएर मादल बजाएर तीज गीत गाउँदै रमाइलो गरेको सञ्जालका अध्यक्ष रमा आचार्यले बताउनुभयो । “तीजको मौलिकता हराउँदै गएको छ”,उहाँले भन्नुभयो, “सुखदुख साट्ने तीज अहिले भड्किलो हुँदै गएको छ, यसलाई जोगाउनका लागि तीज मिलन कार्यक्रम गरेका हौँ ।”

 

 

पर्यटन प्रर्बद्धनका लागि पदयात्रा प्रतियोगिता ः प्रथमलाई एक लाख पुरस्कार

ईन्द्रा कुमारी केसी
घोडाघोडी(कैलाली),१८ वैशाख/
पर्यटन प्रर्बद्धनका लागि कैलालीमा चिसापानी धुलिकोट पदयात्रा प्रतियोगिताको आयोजना गरिएको छ । नवलसिंह रावल फाउण्डेसनको आयोजनामा प्रतियोगीता सम्पन्न गरिएको हो । प्रतियोगिताको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नु भएको थियो ।

बिहानी पखको सूर्योदय हेर्नका लागि निकै मनमोहक मानिने कैलालीको मोहन्याल गाउँपालिका स्थित राजकाडाले पछिल्लो समय पर्यटकलाई तानिरहेको छ । मालिका मन्दिर,धुलिकोट दरबार त्यस क्षेत्रको ऐतिहासिक धरोहर हुन । राजकाडाबाट हेर्दा कर्णाली नदि पनि निकै सुन्दर र मनमोहक देखिन्छ । ती पर्यटकीय क्षेत्रको संरक्षण सम्र्बद्धन र प्रबद्र्धनका लागि बिहिवार चिसापानी धुलिकोट पदयात्रा प्रतियोगिताको आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले बताउनु भयो ।

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने लम्किचुहा ३ स्थित चिसापानी बाट पदयात्रा सुरु भई मोहन्याल गाउँपालिकाको धुलिकोटमा पुगी सम्पन्न गरिएको थियो ।
कार्यक्रममा बोल्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले पर्यटन प्रबद्र्धनका लागि गरिएको पदयात्रा ऐतिहासिक रहेको बताउनु भयो । पदयात्रा प्रतियोगिताले सरकारी क्षेत्र, निजी क्षेत्र र स्थानीयहरू मिलेर पर्यटन विकासमा अगाडि बढेको सन्देश दिएको पाण्डेले बताउनु भयो ।
पाण्डेले भन्नु भयो, पर्यटन प्रबद्र्धनका लागि निजी लगानी आवश्यक छ । निजी क्षेत्रले पर्यटनका पूर्वाधारहरू बनाउँछ धेरै मानिसले रोजगारी पाउँछन् अर्थतन्त्रको चलायमान हुन्छ । यो बाटोमा सुदूरपश्चिम अघि बढेको छ ।

केही दिन अघि सो क्षेत्रमा केबलकारको पनि उद्घाटन भएको बताउँदै मन्त्री पाण्डेले भन्नु भयो,धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको महोन्याल गाउँपालिकाको राजकाडा स्थित मालिका मन्दिरलाई पनि बडिमालिका मन्दिर सँग जोड्न सकिन्छ ।


प्रतियोगितामा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, सुदूरपश्चिमको कैलाली, डोटी, अछाम, बाजुरा, दार्चुला लगायतका जिल्लाका जनप्रनिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई समापन गर्दै फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलले पर्यटन प्रवद्र्धनका लागि गरिएको पदयात्रा प्रतियोगिता पहिलो पटक भएको बताउनु भयो । उहाँले भन्नुभयो,हामी सफल भएका छौ आगामी दिनमा पनि विभिन्न कार्यहरू गर्नेछौ ।

चिसापानी देखि धुलिकोट सम्मको ७ किलोमिटर पदयात्रा प्रतियोगितामा पुरुष तर्फ प्रथम मोहोन्याल गाउँपालिका ५ का वडा सदस्य दिनेश बहादुर सार्की, दुतिय ढकारी गाउँपालिका ६ का सदस्य नवराज नेपाली, तृतीय रामारोशन गाउँपालिकाका वडा ५ का सदस्य दल बहादुर रोकाया हुनु भएको छ ।
महिला तर्फ प्रथम मोहन्याल गाउँपालिका ३ का वडा सदस्य नानी दमाई, दुतिय लम्की चुहा ८ का वडा सदस्य दुर्गा देवी जोशी, तृतीय लम्किचुहा नगरपालिका प्रमुख सुशीला शाही हुनु भएको छ । प्रथम,दुतिय र तृतीयलाई क्रमशः नगद एक लाख,पचास हजार र पच्चिस हजार पुरस्कार प्रदान गरिएको छ ।

टाउको दुखाइले मेडिकल गएका शाहीको मृत्यु ,उपचारमा खटिएका ल्याब असिस्टेन्ट फरार

घोडाघोडी(कैलाली),१५ वैशाख/
कैलालीमा सामान्य टाउको दुखाइले मेडिकल गएको युवाको मृत्यु भएको छ । सोमबार बिहान नजिकैको दहित मेडिकलमा टाउको दुख्यो भनेर उपचारका लागि गएका घोडाघोडी ८ का ३३ वर्षीय नीरज बहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक रमेश अवस्थिले जानकारी दिनु भएको छ । शाहीलाई मेडिकलका ल्याब असिस्टेन्ट महावीर चौधरीले एउटा सिरिन्ज दिएका थिए ।


मेडिकलमा सँगै उपचार गराई रहनुभएका प्रत्यक्षदर्शी खडक बहादुर साउँदले सिरिन्ज दिएको केही मिनेटमै शाहीको मृत्यु भएको बताउनुभयो ।
साउँदका अनुसार, उहाँ पनि झाडापखालाको उपचार गराई रहनु भएको थियो । उपचारको क्रममा ल्याब असिस्टेन्ट चौधरीले निरजलाई सिरिन्ज लगाउनु भयो । सिरिन्ज लगाए लगत्तै नीरजको मुखबाट फिँज निस्कन थाल्यो । अवस्था गम्भीर देखिएपछि ल्याब असिस्टेन्ट चौधरीले कृत्रिम श्वास दिने प्रयास गरे, तर केही समयमै नीरजको मृत्यु भयो ।
मृतकका ससुरा रामबहादुर शाहीले बताएअनुसार, बिहान घरबाट निस्कँदा निरजले टाउको दुखेको भन्दै आफैँ मोटरसाइकल चलाएर मेडिकल गएका थिए । तर केही समयमै ज्वाइँको मृत्यु भएको खबर आयो, जुन विश्वास गर्नसमेत कठिन लागेको शाहीको भनाई छ ।
सो क्षेत्रका बासिन्दाहरु उपचारका लागि दहित मेडिकलमै जाने गर्दछन । उपचारमा संलग्न ल्याब असिस्टेन्ट चौधरी घटनापछि फरार रहेका छन् । मेडिकल सञ्चालक भने कामको सिलसिलामा बाहिर थिए । घटनाबारे थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक अवस्थिले बताउनु भयो ।

पुरा भयो पक्की घरमा बस्ने मुक्त कमैयाको सपना

ईन्द्रा कुमारी केसी
घोडाघोडी(कैलाली),१६ मंसिर/
खरले छाएको साँघुरो घरमा जीवनका थुप्रै वर्ष बिताउनुभएकी कैलाली बर्दगोरिया गाउँपालिका–४ दनुवाफाटा शिविरकी सीतादेवी थारूको हातमा अहिले पक्की घरको साँचो छ । उहाँ भन्नुहुन्छ, “यसरी पक्की घरमा बस्नु त सपनामात्र थियो, पूरा हुन्छ भन्ने कहिल्यै सोचेकै थिइनँ ।”
पक्की घरमा बस्न नपाउँदै थारुका सासू, ससुरा बित्नुभयो । “हामीले पनि पक्की घरमा बस्न पाउँदैनौँ कि जस्तो लागेको थियो । तर सपना पूरा भयो”, खुसी हुँदै उहाँले भन्नुभयो । बर्खाको समयमा सर्पको डरसँगै खाने अन्न पानीले भिज्ने हैरानी खेप्नुपरेको उल्लेख गर्र्दै थारु भन्नुहुन्छ, “अब ती समस्या हटेर जानेछन् ।”
सीता जस्तै सोही ठाउँकी राजकुमारी डगौरा पनि खुसी हुनुहुन्छ । “पक्की घर पाउँदा सपना जस्तै लागेको छ, यस्तो घर बनाउने त सपना पनि देखेको थिइनँ, तर आज सरकारले पूरा गरिदिएको छ”, उहाँले भन्नुभयो ।
घरको दैनिकी गुजार्दा गुजार्दै चार वर्ष पहिले राजकुमारीका श्रीमान् बित्नुभयो । “मजदुरी गरेर घर चलाउने गर्थेँ, छोराहरू पनि सानै उमेरमा पढ्न छाडेर कमाउन थाले, यस्तो पक्की घर बनाउन त खै कहिले पो सकिन्थ्यो । घर खर्च चलाउन पनि सकस भइरहेका बेला नयाँ घरमा बस्ने सपना परै थियो”, डगौरा भन्नुहुन्छ ।
सरकारले नयाँ घर दिएपछि डगौरालाई नयाँ जीवन पाएझैँ महसुस भएको छ । पक्की घर पाउँदा सुरज डगौरा पनि मक्ख हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुरानो घरमा पानी जम्थ्यो, सर्पको पनि त्यस्तै डर थियो । पक्की घरमा बस्ने सपना पूरा भयो, धन्यवाद छ सरकारलाई ।”
कैलालीको बर्दगोरिया–४ दनुवाफाटाका १२ मुक्तकमैया परिवार नयाँ पक्की घर पाएपछि खुसी छन् ।

गाउँपालिकाको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्कलगायतको साझेदारीमा १२ नयाँ घर निर्माण गरिएका हुन् । उक्त बस्तीमा ३२ घर मुक्तकमैया छन् । तर पहिलो चरणमा १२ मात्र सुरक्षित आवास निर्माण गरिएका हुन् । बाँकी रहेकाको पनि घर निर्माणका लागि समन्वय भइरहेको बर्दगोरियाका अध्यक्ष कर्ण कुँवरले बताउनुभयो ।
“तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीलाई बर्दगोरिया गाउँपालिकामा एक सय घर बनाइदिन आग्रह गरेका थियाँै, तर १२ वटामात्र घर बने, बाँकी रहेकाको पनि घर बन्ने आशा गरेका छाँै”, उहाँले भन्नुभयो ।
दानुवाफाटा शिविरका १२ घर निर्माणका लागि रु ८० लाख ९४ हजार खर्च भएको छ । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु ३७ लाख ३३ हजार, ह्याबिट्याट फर ह्युमिनिटी र राष्ट्रिय दलित नेटवर्कले रु २७ लाख ७७ हजार खर्च गरेका छन् भने स्थानीय लाभग्राहीले रु १५ लाख ८४ हजारबराबरको श्रमदान गरेका छन् । प्रतिघर रु छ लाख ७४ हजार लागत रहेको बताइएको छ ।