डोटीमा शव फेला

धनगढी : डोटीमा एक जनाको शव फुला परेको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ स्थित सिद्ध बाबा मन्दिर नजिक खोलामा पुरुषको शव फेला परेको हो। वडा अध्यक्ष जगत बहादुर मल्लका अनुसार शनिवार साँझ नाम, ठेगाना वतन नखुलेका पुरुषको शव फेला परेको छ।

जङ्गलमा घाँस काट्न गएका स्थानीय महिलाले  शव देखेपछि खबर गरेका थिए। वडा सदस्य र स्थानीय प्रहरी घटना गएका थिए।

 

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, धनगढीका युवकको मृत्यु

धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।

सोमवार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०१०१०प३८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका पछाडी सवार धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा बुधवार मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

 

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ लिटिल बुद्ध स्कुल नजिकबाट ०.४२ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित भीमदत्त-३ बस्ने ३१ वर्षीय संजय थापासहित तीन जना मंगलवार साँझ पक्राउ परेका हुन्।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेलापारी पक्राउ गरेको जनाएको छ।

उनीहरुले प्रयोग गरेका नेपाली नम्बर प्लेटको सुदूरपश्चिम प्रदेश  ०२००४ प १८५५ र भारतीय नम्बर प्लेट यू के ओ ३ बी १८१३ नम्बरको मोटरसाईकलसहित तीनै जनालाई संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

धनगढीमा एक घरबाट ३ लाख नगदसहित ८ तोला सुन चोरी

धनगढीः कैलालीको धनगढीमा एक घरबाट चोरी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर-४ तारानगरमा एक घरबाट सुनका गरगहना ८ तोला, तिन लाख नगद, ४ तोला चादीका सामाग्री चोरी भएको हो।

पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरमा चोरी भएको जनाइएको छ। सपरिवार बुधवार पुजाका लागि डोटी गएका थिए। धनगढी घरमा आईतवार पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिए।

चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरेर लगेको घरधनी बानियाले जानकारी दिए। सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीको निवेदन दर्ता गर्ने उनले बताए।

 

सेती अस्पतालको एम्बुलेन्स दुर्घटना

धनगढीः सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ।

बिहीवार बिहान ४ बजे सदूरपश्चिम प्रदेश ०१००१० प २५७२ नम्बरको मोटरसाइकल र बा १ झ ८७९९ नम्बरको सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स एक आपसमा ठोकिदा दुर्घटना भएको हो।

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक मोहन्याल  गाउँपालिका वडा नम्बर-१ बसन्तगडाका २५ वर्षीय गणेश घर्तिमगर घाईते भएको ट्रफिक प्रहरी अत्तरियाले जनाएको छ। अस्पतालको एम्बुलेन्स बिरामी बोकेर नेपालगन्ज जाँदै गर्दा बर्दगोरिया गाउँपालिका वडा नम्बर-२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाईते मगरको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बौनियाका बरिस्ठ सई राजु शाहले बताए। एम्बुलेन्स र एम्बुलेन्स चालक गोविन्द प्रसाद दहाल बौनिया प्रहरीको नियन्त्रणमा रहेका छन्।

बर्दियाको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु, एक जना घाइते

बर्दिया: बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो।

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बझाङमा स्थानीयलाई पेस्तोल पट्काउन दिने प्रहरी असई निलम्बित

बझाङ: बझाङमा नियम विपरीत स्थानीयलाई पेस्तोल पट्काउन दिने एक प्रहरी असई पदबाट निलम्बित भएका छन्। जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा स्थानीयलाई आफ्नो साथमा भएको पेस्तोल पट्काउन दिने असई पुस्कल चन्दलाई शुक्रवार पदबाट निलम्बन गरिएको हो।

निलम्बित असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेराका पुर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामिलाई रमाइलोको लागि आफ्नो पेस्तोल पट्काउन दिएका थिए। खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको उक्त विषयलाई सञ्चारमाध्यमहरुले मंसिर ७ गते बाहिर ल्याएका हुन्।

घटना घटेको एक महिना भएपनि अनविज्ञ रहेको बझाङ प्रहरीले उक्त कुरा थाहा पाएपछि अनुसन्धान सुरु गरेको थियोे। अनुसन्धान पश्चात् घटनामा संलग्न असईलाई तत्काल पदबाट निलम्बन गरेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरत बहादुर शाहले बताए।

 

कञ्चनपुरको शुक्लाफाँटामा महिलामाथि चक्कु प्रहार

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटामा महिलामाथि चक्कु प्रहार गरिएको छ। शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ स्थित शान्तिपुरमा सोमबार विहान घर नजिकै ४८ वर्षीया जानकी देवी भण्डारीमाथि चक्कु प्रहार भएको हो।

बाटोमा हिँडिरहेको बेला उनको पिठ्युमा चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाले बताए। उनको झलारीमा उपचार हुन नसकेपछि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको छ।

भण्डारीको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। चक्कु प्रहार गर्ने सोही ठाउँका ५५ वर्षीय मंगल बोहरा फरार रहेका छन्। उनको खोजिकार्य भइरहेको प्रहरी निरीक्षक थापाले बताए।

कैलालीमा एक युवकमाथि खुकुरी प्रहार

धनगढीः कैलालीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुर पिपलचौतारा नजिकै सोही ठाउँ बस्ने २१ वर्षीय निसान थापामगरमाथि धारिलो हतियार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले थापामगरमाथि खुकुरी प्रहार गर्ने लम्कीकै २२ वर्षीय अमित मयालको समूह(ग्याङ) रहेको बताए। उनीहरुले थापामगरमाथि पछाडिबाट खुकुरी प्रहार गरेको बताउदै डीएसपी चन्दले बाँया हातको औला काटिएको र दाँया काँधमा समान्य चोट रहेको बताए।

उनको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने मयाल समूह फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडीः बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

दशरथचन्द नगरपालिका–५ कुमाली बस्ने ४५ वर्षीय नरेश जोशी सोही नगरपालिका–५ मुल्याभिटो काठोमा आइतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कैलालीको गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढीः कैलालीको गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–५ गेटीका २८ वर्षीय नबिन चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्।
शुक्रबार साँझ इलाका प्रहरी कार्यालय मालाखेती र गेटा चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले चौधरीको घरबाट लागूऔषध बरामद गरी पक्राउ गरेको जनाइएको छ।

विशेष सूचनाको आधारमा चौधरीको घरमा खानतलासी गर्दा ४ ग्राम २७० मिलिग्राम लागूऔषध र डिजिटल तराजु बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

 

हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –७ शान्तिपुरस्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला परेको छ ।

सोही वडाका ६३ वर्षीया नारुदेवी जोशी (नन्दादेवी) को शव फेला परेको हो । हिजो मध्याह्न घाँसका लागि स्याउला लिन जङ्गल जानुभएकी जोशी घर नफर्केपछि खोजतलास गर्ने क्रममा हत्या गरिएको अवस्थामा आज बिहान ४ बजेतिर शव फेला परेको वडाध्यक्ष प्रताप धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाको प्रकृति हेर्दा वृद्धाले लगाउनुभएकाे सुनको गहना लुटपाटका लागि हत्या भएको जस्तो देखिएको छ । वृद्धाले लगाउनुभएको एक तोलाको मुन्द्रा, दुई आनाको तिलहरी, दुई आनाको नथियालगायत गरी डेढ तोलाको गरगहना लुटेर लगिएको छ ।

“नाक रक्ताम्य पारेर गहना लुटिएको छ” वडाध्यक्ष धामीले भन्नुभयो, “सुनको गहना लुट्नकै लागि वृद्धाको हत्या गरेर जङ्गलमा फालिएको हुनसक्छ” उहाँले भन्नुभयो ।