About Teku Chhetri

टेकु क्षेत्री घोडाघोडी खबरका संवाददाता हुन्। उनले विविध विषयमा कलम चलाउछन्।

दार्चुलाको मार्मा गाउँपालिकामा जिप दुर्घटना, एक जनाको मृत्यु

दार्चुला, कात्तिक ७ गते । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेत भन्ने ठाउँमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार बिहान लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी धनी ३४ वर्षीय करबिर सिंह ठगुन्ना गाडीको बिच सिटमा बेहोस अवस्थामा फेला परेको र उद्धार गरी स्वास्थ चौकी पठाइएको वडाअध्यक्ष धिरेन्द्र धामीले बताउनुभयो । प्रहरीका अनुसार गाडी सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो ।

यता स्थानीयहरूले बेहोस अवस्थामा भेटिएका ठगुन्नाको मृत्यु भइसकेको बताएका छन् । जिप कसले चलाएको हो र कसरी दुर्घटना भयो भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ ।

चालकको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय लटिनाथका प्रनानी जंगबहादुर चन्दले बताउनुभयो ।

दिपावली सुरु भएसँगै खाली हुँदै गाउँबस्ती

बाजुरा, कात्तिक १ गते । बाजुरामा दसैँको बेला प्रदेशीले भरिभराउ भएका गाउँ दिपावली सुरु भएसँगै खाली हुन थालेका छन् ।दसैँ मनाउँन गाउँमा फर्किएका प्रदेशीहरु फेरि भारतमा आफ्नो रोजगारी छुट्ने डरले धमाधम जान थालेपछि फेरि गाउँ खाली हुन थालेका हुन् ।

गाउँमा गरी खाने केही विकल्प नभएपछि भोको पेट पाल्नकै लागि आफूहरु भारततर्फ लागेको उनीहरुको भनाइ छ । भारतमा रोजगारी गर्दै आउनुभएको बुढीगङ्गा नगरपालिकाका स्थानीय दलबहादुर नेपालीले केही दिनको छुट्टी लिएर दसैँ मनाउन गाउँ फर्किएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दसैँ बनाइयो दिपावली पनि मनाएर जाने सोच त थियो । तर के गर्ने उता छुट्टी लिएको समय सकियो । मालिकले पनि तुरुन्त आउनु भनेपछि अहिले मुखमै आएको दिपावली छोडेर फेरि भारतमा जान बाध्य भएको छु ।’’

उच्च शिक्षा हासिल गरेपनि गाउँमा रोगारी पाइँदै । यहाँ अन्य गरी खाने केही उपाय छैन । छोरा छोरीको पढाई खर्च र परिवार पार्न गाउँ छोडेर विदेशीनु परेको नेपालीले बताउनुभयो ।

बाजुराका अधिकाशं स्थानीयहरुको भारतकै भरमा घरमा गुजारा चल्छ । यहाँका युवा युवतीहरु प्राय घरमा बालबच्चा छोडेर नौकरी गर्न भारतमै जाने गर्छन् ।

पहिला कात्तिक मङ्सिरमा गहुँ र असारमा धान कोदो खेती लगाउँने समय गाउँ आउने र त्यसपछि फेरि उनीहरु कामको खोजीका लागि भारतका विभिन्न ठाउँमा जाने गथ्र्ये ।

तर अहिले स्थानीयहरुको खेतीपातीमा खासै चाँसो छैन । भारु नोटको मोहले उनीहरु यसो चाँडपर्वका लागि गाउँ आउने त्यसपछि फेरि भारतमै जाने गर्दछन् ।

यहाँका अधिकाशं स्थानीय माघमा माघि चैत वैशाखमा वीसु र असोज कात्तिकमा दसैँ तिहार मनाउँन मात्र गाउँमा फर्किने गर्दछन् ।

हुन त गाउँमै रोजगारीका धेरै सम्भावना छन् । खेती लगाउँ भने पनि गाउँमा प्रसस्त जमिन छ । तर त्यो जमिनमा खेती गर्नका लागि सिँचाइ सुविधा छैन ।

यो अवस्थालाई यहाँका स्थानीय सरकारले मध्यनजर गरिदिएको भए स्थानीयले यसरी गाउँ छोडेर अर्कोको देशमा काम गर्न जानु पर्ने अवस्था हुने थिएन ।

यता असोजदेखि कात्तिकसम्म गाउँमा प्रदेशीले भरिभराउ हुन्छ । त्यसपछि मङ्सिर लाग्छ सबै फेरि कामको खोजीमा भारत जान सुरु भएपछि गाउँ खाली हुन्छन् ।

अहिले जिल्लाका अधिकांश गाउँबस्ती पहिरोले तहस नहस पार्दै गएका कारण अहिले यहाँका गाउँ बस्ती रितिँदै गएका हुन् । जिल्लाका बूढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमुल, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बूढीनन्दा नगरपालिका लगायतका अधिकांश गाउँबस्ती दिपावली अगावै खाली हुन थालेका छन् ।

नेपालको २०७८ सालको जनगणना अनुसार बाजुरामा २८ हजार ६४ घरधुरी छन् । त्यसै गरी यहाँको एक लाख ३८ हजार ५२३ जनसङ्ख्या रहेको छ ।

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, ९ घाइते

घोडाघोडी(कैलाली), कात्तिक २ गते । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

बर्दगोरिया गाउँपालिका-४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुहा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहका अनुसार दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका नौ जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि लम्की स्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

बर्दियामा तीन किलो ९९० ग्राम सालकको खपटासहित एक जना पक्राउ

गुलरिया (बर्दिया), असोज १० – बर्दियामा तीन किलो ९९० ग्राम तामे सालकको खपटा सहित एक व्यक्ति पक्राउ परेका छन्। गुलरिया नगरपालिका–५ बालापुरका ४७ वर्षीय किशोरीलाल थारूलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनको घरमा छापा मारेर पक्राउ गरेको हो।

थारूको घरमा लुकाइ राखिएको सालकको खपटा बरामद भएपछि उनलाई नियन्त्रणमा लिइ आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय बर्दियामा बुझाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका नायव उपरीक्षक (डीएसपी) देवेन्द्रकुमार मल्लका अनुसार बरामद गरिएको खपटा तामे सालकको रहेको पुष्टी भएको छ।

नेपालमा पाइने तामे सालकलाई सङ्कटापन्न प्रजातिमा र कालो सालकलाई अति सङ्कटापन्न प्रजातिको सूचीमा राखिएको छ। यस्ता सालक तथा खपटाको अवैध कारोबार अन्तर्राष्ट्रिय बजारमा हुने गरेको छ। वन्यजन्तुको संरक्षणका लागि नेपालमा सालकको खपटा राख्न, ओसारपसार गर्न वा किनबेच गर्न कानूनले निषेध गरेको छ।

रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढीमा सडकमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित सडक किनारमा रोकिएको सुपप्र ०१००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर जोराले दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय अनिस सिंह र पछाडि सवार १९ वर्षीय गणेश कुँवरको मृत्यु भएको बताउनुभयो ।

उहाँले गम्भीर अवस्थामा उद्धार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएकोमा दुवै जनाको उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

ट्रक र चालक चुरे गाउँपालिका ३ बस्ने २९ वर्षीय प्रकाश सिंहलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

दुई सय ९३ कैदीबन्दी कैलाली कारागार फर्के

धनगढी, असोज ६ गते । कैलाली कारागारबाट फरार भएका २९३ कैदीबन्दी कारागार फर्केका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भागेका उनीहरु फर्कने क्रम जारी रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।

धेरैजसो कैदीबन्दी आफैँ फर्केर आएको र केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको जेलर चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो । थप अरु कैदीबन्दी पनि सम्पर्क आइसकेको उहाँको भनाइ छ ।

सापकोटाका अनुसार ३३ महिलासहित २९३ कैदीबन्दी कारागार फर्किसकेका छन् । फर्केकामध्ये तीन जना कैद भुक्तान गरेर छुटेका छन् । बाँकी रहेको २९० जनामध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको जेलर सापकोटाले बताउनुभयो ।

जेनजी आन्दोलनको क्रममा कारागारबाट ६६० जना कैदीबन्दी दिउँसो र बाँकी रहेकामध्ये छ जना राति फरार भएका थिए । कारागारमा रहेका ६६७ मध्ये एक जना कैदीबन्दी मात्रै नभागेको कारागार प्रशासनले जानकारी दिएको छ । भागेकामध्ये १७ भारतीयसहित ३७३ कैदीबन्दी अझै फरार रहेका जनाइएको छ ।

कञ्चनपुर कारागारबाट फरारमध्ये २८१ कैदीबन्दी फर्किए, अझै १९३ जना सम्पर्कबाहिर

कञ्चनपुर, असोज २ गते । कञ्चनपुर कारागारबाट फरार भएकामध्ये २८१ कैदीबन्दी फर्किएका छन् । बुधबार दिउँसोसम्म कञ्चनपुर कारागारमा सो सङ्ख्यामा कैदीबन्दी फर्किएका हुन् । गत साता मङ्गलबार साँझ आन्दोलनकारीले कारागारको ताला तोडेर कैदीलाई बाहिर निकालेपछि फरार रहेकामध्ये २७५ कैदी आफैँ कारागारमा फिर्ता भएका छन् भने २४ कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर ल्याएको कारागार प्रशासनले जनाएको छ ।

कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीका अनुसार, बुधबारसम्म २७५ कैदीबन्दी इमानदारितापूर्वक कारागारमा आफैँ फिर्ता भएका छन् । २४ जना कैदीलाई प्रहरीको टोलीले जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरेर ल्याएको निमित्त जेलर जोशीले बताउनुभयो । कञ्चनपुर कारागारमा गत मङ्गलबारसम्म ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये बुधबारसम्म पाँच कैदी कैद भुक्तान गरेर घर फर्किएका छन् । आन्दोलनका कारण कारागारबाट निस्केका पाँच कैदी कारागार फर्किएर कैद भुक्तान गरेर घर गएका निमित्त जेलर जोशीले बताउनुभयो ।

कारागारबाट निस्किएका भारतीय कैदी भने सम्पर्कबाहिर रहेको कारागार प्रशासनले जनाएको छ । कारागारको सम्पर्कमा रहेका १० भारतीय कैदीबन्दी कारागार फिर्ता भएका छन् भने १८ भारतीय कैदीबन्दी अझै फरार रहेको निमित्त जेलर जोशीले बताउनुभयो ।

यसै गरी कञ्चनपुर कारागारमा २६ महिला कैदीबन्दी रहेकोमा १४ जना फर्किएका छन् भने १२ महिला कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ । कञ्चनपुर कारागारमा कैद भुक्तान गरिरहेका १९३ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ । फरार रहेका कैदीबन्दीलाई फिर्ता ल्याउन प्रयास गरिरहेको निमित्त जेलर जोशीले बताउनुभयो ।

दसैँको मुखमा सुदूरपश्चिमबाट भारततर्फ रोजगारीको लर्को

दोधारा चाँदनी (कञ्चनपुर), असोज २ – दसैँ नजिकिँदै गर्दा जहाँ प्रायः नेपालीहरू घर फर्किन व्यस्त हुन्छन्, त्यहाँ सुदूरपश्चिमका धेरै नेपाली भने बाध्यताले भारततर्फ रोजगारी खोज्न गइरहेका छन्।

विगतमा गड्डाचौकी नाकाबाट दैनिक हजारौँ नेपालीहरू घर फर्किने क्रम देखिन्थ्यो। तर यसपटक भने फर्किनेभन्दा भारत जानेहरूको संख्या बढी भएको सीमामा खटिएका सुरक्षाकर्मीहरू बताउँछन्। विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका समेत भारत गइरहेका छन्।

डोटी जोरायल–२ का करण थापा परिवारसहित हिमाञ्चल प्रदेश जान लागेका छन्। उनले भने, “साँझ–बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दसैँ हुन्छ? पैसा कमाएर तिहारमा घर फर्किन्छु।”

डोटी बाजिलेकका २५ सदस्यीय परिवार समेत सिमला रोजगारीका लागि गएको छ। मीनादेवी थापाले भनिन्, “हाल सिमलामा स्याउ टिप्ने काम पाइन्छ, उतै कमाएको पैसाले तिहार मनाउने योजना छ।”

यस्तै, बलबहादुर थापा पनि बाध्यताले परिवारसहित भारततर्फ लागेका छन्। “पैसा नभई दसैँ चल्दैन, एक महिना मजदुरी गरेर तिहारमा फर्किने सोच छ,” उनले बताए।

कैलालीका कृष्ण सेरलाले विद्यालय बिदा भएका कारण भारततर्फ गइरहेको बताए। “बुबाआमा उतै हुनुहुन्छ, म पनि उनीहरूकै साथमा जान लागेको हुँ,” उनले भने।

गरिबी र रोजगारीको अभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका सयौँ नागरिक चाडपर्वको मुखमा पनि भारत रोजगारीकै लागि निर्भर रहनुपर्ने अवस्था यथावत छ।

मालपोत र नापीको सम्पूर्ण सेवा सुरु हुन अझै एक हप्ता लाग्ने

धनगढीः जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी भएको मालोपत कार्यालय र नापी कार्यालय धनगढीको सम्पूर्ण सेवा सुरू हुन अझै एक हप्ता लाग्ने भएको हो। आगजनी र तोडफोड भएको यी दुबै कार्यालयको अहिले मर्मत चलिरहेको छ।

मालपोत कार्यालयको कोठा नम्बर १२ पूर्ण रुपले जलेकोले अहिले मर्मतको काम भइरहेको प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले बताए। उनले कार्यालयमा रङ लगाउने काम सकेर कोठा मर्मत गर्ने काम भइरहेको बताए।

मालपोत कार्यालयको वाइरिङ पूर्ण रुपमा जलेर नष्ट भएकाले तुरून्तै सेवा सुरू गर्न समस्या भएको हो। दुई तले कार्यालय भवनमा आगलागीका कारण वायरिङ जलेर नष्ट भएको हो।

प्रमुख मालपोत अधिकृत दौल्यालले विद्युत बिना सेवा दिन नसकिने भएकाले वायरिङ गर्दासम्म करिब एक हप्ता लाग्न सक्ने बताएका छन्। कार्यालयमा कम्प्युटर समेत जलेकाले कम्प्युटर प्राप्त हुना साथ सेवा सञ्चालनमा सहज हुने बताए। ‘हामीले अहिले रङ लगाउने काम सकेका छौँ। कोठा नम्बर १२ को मर्मत चलिरहेको छ,’ उनले भने, ‘वायरिङ गर्न बाँकी नै छ। वायरिङ गरेपछि सेवा सुरू गर्न सहज हुन्छ। सबै सेवा सुरू गर्न एक हप्ता लाग्न सक्छ।’

नापी कार्यालमा आंशिक सेवा सुरू
नापी कार्यालय धनगढीबाट भने आंशिक सेवा मात्रै सुरु भएको छ। कार्यालयको एक कोठमा आगजनी भएको थियो भने कम्प्युटर फुटाइएकाले सेवा सञ्चालनमा समस्यम भएको छ।

मालपोतको काम सुरू हुनासाथ नापीकाट दिइने सम्पूर्ण सेवा सुरू हुने प्रमुख मालपोत अधिकृत जनकराज भट्टले बताए। उनले नक्सा उतार र फिल्ड बुक उतारको काम भने सुरू भएको जानकारी दिए। ‘हामीले नक्सा र फिल्ड बुक उतारको काम गर्न थालेका छौँ। कर्यालयका सम्पूर्ण कम्प्युटर र उपकरणमा क्षति भएको छ भने मालपोतको सेवा समेत सुरू नभएकाले हामीले पनि सबै सेवा सुरू गर्न सकेका छैनौँ,’ उनले भने, ‘कम्प्युटर भयो र मालपोतको सेवा सुरू भयो भने हाम्रो कार्यालयको पनि सबै सेवा सुरू हुन्छन्।’

नापी र मालपोत कार्यालयका कम्प्युटर लगायतका उपकरणमा तोडफोड र आगजनी गरेर नष्ट भएका छन्। जसका कारण पनि सेवा सुचारू गर्न समस्या भएको अधिकारीहरूले बताएका छन्।

सञ्चालनमा नआउँदै कुरूप बन्यो सभागृह

धनगढी, असोज २ गते । करोडौँ खर्चेर बनाइएको आकर्षक धनगढी सभागृह सञ्चालनमा नआउँदै कुरूप बनेको छ । जेनजी समूहको आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि धनगढी उपमहानगरपालिका–८ मा रहेको धनगढी सभागृह कुरूप बनेको हो । तीन वर्षअगाडि नै निर्माण भएको यो सभागृह हालसम्म सञ्चालनमा आएको थिएन । आन्दोलनकारीबाट तोडफोड भएपछि सभागृह सञ्चालनको विषय थप अनिश्चित बनेको छ ।

आन्दोलनकारीले सभागृहको सिसादेखि लिएर भित्रको संरचना तोडफोड गरेको वडाध्यक्ष जुगराम चौधरीले बताउनुभयो । “सिसा त कतै बाँकी छैन”, उहाँले भन्नुभयो, “भित्र पनि तोडफोड गरिएको छ ।” सभागृहको सुरक्षामा खट्दै आएका निजी सुरक्षाकर्मीका अनुसार आन्दोलनकारीले सभागृहमा आगजनीसमेत गरेका थिए । उनीहरूले आगो लगाउँदा सभागृहको दुई वटा कुर्सी जलेको छ । आगो निभाइएकाले अन्यत्र क्षति हुन नपाएको निजी सुरक्षाकर्मीले बताएका छन् । आन्दोलनकारीलाई सम्झाइबुझाई गर्दा ठुलो क्षति हुनबाट जोगिएको उनीहरूको भनाइ छ ।

ठुला गोष्ठी, सेमिनार, कार्यक्रम आयोजना गर्र्ने उद्देश्यले सङ्घीय सरकारको ३२ करोड ६० लाख ८१ हजार रुपियाँ लगानीमा सभागृह बनाइएको हो । सभागृहको गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । एक बिघा जमिनमा बनेको सो सभागृह सञ्चालनका लागि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकिएको छ ।

सभागृहमा ७५३ जना अटाउने मुख्य सभा हल, दुई सय क्षमताको सानो सभा हल रहेको छ । सभागृहमा अन्डरग्राउन्ड पार्किङ रहेको छ । यसै गरी भिआइपी कक्ष, चेन्जिङ कक्ष पनि रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिरमा प्रदेश लगानी तथा विकास सम्मेलन यसै सभागृहमा गर्ने गरी तयारी अगाडि बढाएको थियो । तोडफोड भएको सभागृहको मुख्यमन्त्री कमलबहादुर शाहले अनुगमन गर्नुभएको छ ।

टीकापुरका एक युवक खैरो हिरोइनसहित पक्राउ

धनगढीः कैलालीको टीकापुरका एक युवक खैरो हिरोइनसहित पक्राउ परेका छन्।

जेनजी सहिदको सम्मानमा जेनजी मार्ग नामाकरण

धनगढी, असोज १ गते। कैलालीको धनगढी उपमहानगरपालिकाले जेनजी आन्दोलनका सहिदको सम्मानमा धनगढीको एक सडकलाई जेनजी मार्ग नामाकरण गर्ने भएको छ।

सो पालिकाले धनगढी उपमहानगरपालिका–१ स्थित पार्क चोकदेखि पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड छुने सडकलाई जेनजी मार्ग नामाकरण गर्ने भएको हो।त्यसका लागि जेनजी मार्ग नामाकरण गर्ने सम्बन्धी प्रस्ताव कार्यपालिका बैठकमा लगिने नगर प्रमुख गोपाल हमालले बताउनुभयो।

हमालले पार्क क्षेत्रको सडकलाई जेनजी मार्ग नाम प्रयोग गर्न पनि नगरवासीलाई आग्रह गर्नुभएको छ।

उहाँले परिवर्तन, न्याय र अधिकारका लागि जेनजी आन्दोलनमा आफ्नो अमूल्य जीवन समर्पण गर्ने सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदको साहस सबैका लागि प्रेरणाको स्रोत रहेको बताउनुभएको छ।