


दोधारा चाँदनी (कञ्चनपुर), असोज २ – दसैँ नजिकिँदै गर्दा जहाँ प्रायः नेपालीहरू घर फर्किन व्यस्त हुन्छन्, त्यहाँ सुदूरपश्चिमका धेरै नेपाली भने बाध्यताले भारततर्फ रोजगारी खोज्न गइरहेका छन्।
विगतमा गड्डाचौकी नाकाबाट दैनिक हजारौँ नेपालीहरू घर फर्किने क्रम देखिन्थ्यो। तर यसपटक भने फर्किनेभन्दा भारत जानेहरूको संख्या बढी भएको सीमामा खटिएका सुरक्षाकर्मीहरू बताउँछन्। विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका समेत भारत गइरहेका छन्।
डोटी जोरायल–२ का करण थापा परिवारसहित हिमाञ्चल प्रदेश जान लागेका छन्। उनले भने, “साँझ–बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दसैँ हुन्छ? पैसा कमाएर तिहारमा घर फर्किन्छु।”
डोटी बाजिलेकका २५ सदस्यीय परिवार समेत सिमला रोजगारीका लागि गएको छ। मीनादेवी थापाले भनिन्, “हाल सिमलामा स्याउ टिप्ने काम पाइन्छ, उतै कमाएको पैसाले तिहार मनाउने योजना छ।”
यस्तै, बलबहादुर थापा पनि बाध्यताले परिवारसहित भारततर्फ लागेका छन्। “पैसा नभई दसैँ चल्दैन, एक महिना मजदुरी गरेर तिहारमा फर्किने सोच छ,” उनले बताए।
कैलालीका कृष्ण सेरलाले विद्यालय बिदा भएका कारण भारततर्फ गइरहेको बताए। “बुबाआमा उतै हुनुहुन्छ, म पनि उनीहरूकै साथमा जान लागेको हुँ,” उनले भने।
गरिबी र रोजगारीको अभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका सयौँ नागरिक चाडपर्वको मुखमा पनि भारत रोजगारीकै लागि निर्भर रहनुपर्ने अवस्था यथावत छ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी