ई-घोडाघोडी खबर

२७ कार्तिक २०८२, बिहीबार

  • Mohrain Tours and Travels
  • कञ्चनपुर कारागारबाट फरारमध्ये २८१ कैदीबन्दी फर्किए, अझै १९३ जना सम्पर्कबाहिर

    कञ्चनपुर कारागारबाट फरारमध्ये २८१ कैदीबन्दी फर्किए, अझै १९३ जना सम्पर्कबाहिर
    Spread the love

    कञ्चनपुर, असोज २ गते । कञ्चनपुर कारागारबाट फरार भएकामध्ये २८१ कैदीबन्दी फर्किएका छन् । बुधबार दिउँसोसम्म कञ्चनपुर कारागारमा सो सङ्ख्यामा कैदीबन्दी फर्किएका हुन् । गत साता मङ्गलबार साँझ आन्दोलनकारीले कारागारको ताला तोडेर कैदीलाई बाहिर निकालेपछि फरार रहेकामध्ये २७५ कैदी आफैँ कारागारमा फिर्ता भएका छन् भने २४ कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर ल्याएको कारागार प्रशासनले जनाएको छ ।

    कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीका अनुसार, बुधबारसम्म २७५ कैदीबन्दी इमानदारितापूर्वक कारागारमा आफैँ फिर्ता भएका छन् । २४ जना कैदीलाई प्रहरीको टोलीले जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरेर ल्याएको निमित्त जेलर जोशीले बताउनुभयो । कञ्चनपुर कारागारमा गत मङ्गलबारसम्म ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये बुधबारसम्म पाँच कैदी कैद भुक्तान गरेर घर फर्किएका छन् । आन्दोलनका कारण कारागारबाट निस्केका पाँच कैदी कारागार फर्किएर कैद भुक्तान गरेर घर गएका निमित्त जेलर जोशीले बताउनुभयो ।

    कारागारबाट निस्किएका भारतीय कैदी भने सम्पर्कबाहिर रहेको कारागार प्रशासनले जनाएको छ । कारागारको सम्पर्कमा रहेका १० भारतीय कैदीबन्दी कारागार फिर्ता भएका छन् भने १८ भारतीय कैदीबन्दी अझै फरार रहेको निमित्त जेलर जोशीले बताउनुभयो ।

    यसै गरी कञ्चनपुर कारागारमा २६ महिला कैदीबन्दी रहेकोमा १४ जना फर्किएका छन् भने १२ महिला कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ । कञ्चनपुर कारागारमा कैद भुक्तान गरिरहेका १९३ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ । फरार रहेका कैदीबन्दीलाई फिर्ता ल्याउन प्रयास गरिरहेको निमित्त जेलर जोशीले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी