बेलौरी (कञ्चनपुर), असार ३१ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मजगाउँ विमानस्थल निर्माण कार्य ७५ प्रतिशत निर्माण कार्य पूरा भएको छ । नेपाली सेनाले उपयोगमा ल्याएको निकुञ्ज प्रवेशद्वारसम्मको रत्न वाटिकाको जमिन विमानस्थलका लागि छोडेपछि निर्माण कार्यले तीव्रता पाएको हो ।




मजगाउँ विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले विमानस्थलको एक हजार पाँच सय मिटर धावनमार्गमध्ये एक हजार ४५० मिटर कालोपत्रेको काम पूरा भएको बताउनुभयो । यसअघि ९८० मिटर पुरानो विमानस्थलको क्षेत्रमा धावनमार्ग निर्माणको काम सकिए पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको नेपाली सेनाले मातहतको जमिन उपलब्ध नगराउँदा विमानस्थल निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो ।
सहमतिपछि सेनाको ३३० मिटर रत्न वाटिकाको जमिन र १५० मिटर सेनाको खेल मैदानको क्षेत्र प्राप्त गरेपछि धावनमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख ओझाले बताउनुभयो ।

तर १५० मिटर खेल मैदानको ७५/७५ मिटर दायाँबायाँ धावनमार्ग कालोपत्रेको कामका लागि रुख बिरुवा काट्नुपर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) को प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । आगामी तीन महिनामा इआए तयार गरेर रुख काट्ने अनुमति पाएसँगै धावनमार्ग कालोपत्रेको कार्य सकिने छ । जसका लागि प्रक्रिया अगाडि बढाइएको आयोजना प्रमुख ओझाले बताउनुभयो ।




विमानस्थल निर्माणका लागि आगामी पुस २४ गतेसम्म दोस्रो पटक म्याद थप गरेर निर्माण कार्य अगाडि बढाइए पनि महँगाई र बिटुमिन अभावका कारण कालोपत्रेको काममा ढिलाइ भएको जनाइएको छ । निर्माण कम्पनीले महँगाइका कारण बिटुमिन पाउन मुस्किल भएको भन्दै निवेदन दिएकाले त्यसमा सरकारको समेत ध्यानाकर्षण गराइएको आयोजना प्रमुख ओझाले बताउनुभयो ।
विसं ०७८ माघमा तीन वर्षभित्र काम सक्ने गरेर विमानस्थल निर्माणका लागि ४५ करोड ६६ लाख २४ हजारमा कान्छाराम केएस उमा एन्ड कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । हालसम्म ३६ करोड बराबरको काम पूरा भएको जनाइएको छ ।
विमानस्थल निर्माणका लागि दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत लगानी रहेको छ । हालसम्म सुदूरपश्चिम प्रदेश सरकारले पहिलो चरणमा नौ करोड ७५ लाख उपलब्ध गराएको छ, भने दोधारा चाँदनी नगरपालिकाले एक करोड ६७ लाख तथा भीमदत्त नगरपालिकाले प्रगति अनुसार, बजेट उपलब्ध गराउँदै आएको जनाइएको छ ।
मजगाउँ विमानस्थल पुनः सञ्चालन समितिले निर्माणाधीन विमानस्थलको धावनमार्ग हुँदै लगिएको विद्युत्का तार हटाउन माग गरेको छ । सोमबार नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै सङ्घर्ष समितिले धावनमार्ग भएर लगिएको विद्युत् लाइनका कारण परीक्षण उडानमा समस्या भएको भन्दै हटाउन माग गरेको हो ।










