अविनाश चौधरी




धनगढी, असार २८ गते । खेतीपातीमा रमाउने भूमिपुत्र थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक छाएको छ। रोपाइँको काम सकिएपछि शारीरिक पुनर्ताजगीका लागि यस समुदायका मानिसले हर्डहुवा उत्सव मनाइरहेका हुन्।
घामपानी र हिलोमाटोसँग जुधेर खेतीपातीको काम गर्ने र काम सकिएपछि गाउँभरिका कृषक परिवारले सामूहिक रूपमा हर्डहुवा मनाउने रैथाने चलन रहेको छ। विभिन्न गाउँमा अनुकूलता अनुसार फरक-फरक समयमा हर्डहुवा मनाउने गरिएको छ। हर्डहुवामा खास गरेर बङ्गुर वा सुँगुरको मासु, माछा, खरिया, फुलौरी र गेडागुडी लगायतका थारू परिकार बनाई परिवार तथा आफन्त मिलेर सामूहिक रूपमा खाने गरिन्छ। यसैगरी, आफ्ना इष्टमित्रलाई समेत आमन्त्रण गरेर खानपान गर्दै रमाउने चलन छ।

कैलारी गाउँपालिका–५, बैजपुरकी कविता चौधरीले महिना दिनसम्म रोपाइँ गर्दा भएको थकान मेटाउनका लागि एउटा उत्सवका रूपमा हर्डहुवा मनाउने गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “किसान परिवारले वर्षाभरि घामपानी नभनी रुखोसुखो खाँदै खेतीपातीको काम गर्छौँ। लसुनको चटनी र भात खाएर पनि रोपाइँको काम गरिन्छ। त्यसकारण वर्षाभरिको थकान मेटाउनका लागि एक दिन रमाउँदै मिठोमसिनो खाने चलन रहेको हो।”




स्थानीयवासीका अनुसार हर्डहुवाको दिन बिहानै गाउँमा सुँगुरको मासु तयार पारिन्छ। गाउँका सबै परिवारले आ–आफ्नो आवश्यकता अनुसार मासु खरिद गर्छन्। त्यसपछि त्यसको सेकुवा र तरकारी लगायतका परिकार बनाएर खाने र रमाउने गरिन्छ। खेतीपाती सकेर हलो र जुवा धुने कार्य भएपछि खुसी साट्न पनि हर्डहुवा खाने गरिएको धनगढीका चक्र चौधरीको भनाइ छ।
थारू समुदायका अग्रजहरूका अनुसार बर्खे खेतीपाती जोखिमपूर्ण मानिन्छ। सर्प र बिच्छीको जोखिम मोलेर रोपाइँको काम गर्नुपर्ने हुन्छ। त्यति मात्र होइन, आवश्यकता पर्दा राति पनि खेतमा पानी हाल्ने र रोपाइँ गर्ने कार्य हुन्छ। यसरी राम्रोसँग आरामसमेत नगरी कडा परिश्रम गर्दा शरीर कमजोर हुने तथा हातखुट्टालाई हिलोमाटोले खाने भएकाले खेतीपातीको काम सकिएपछि हलोजुवा र कृषि औजार धोएको उपलक्ष्यमा हर्डहुवा खाने गरिएको जानकारी उहाँहरूले दिनुभयो।










