कञ्चनपुर, असार ३२ गते । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका –१० फगिरे चौराहाका ४२ वर्षीया पारु सुनार मृत फेला पर्नुभएको छ । बिहीबार बिहान घरमा सुनार मृत फेला पर्नुभएको हो ।

स्थानीयका अनुसार बुधवार राति घरमै मदिरा सेवन गरेर उहाँ र उहाँका श्रीमान् ४५ वर्षीय रनबहादुर सुनारबिच आपसी झगडा भएको थियो । मदिरा सेवन गरेका दुवैबिच भएको विवादका क्रममा लाठी प्रहारबाट श्रीमती पारु घाइते हुनुभएको इलाका प्रहरी कार्यालय दोधाराले जनाएको छ ।

पारु घाइते भएपछि उहाँका श्रीमान् रनबहादुर बेहोस भएपछि दुवैको उपचारका लागि दोधारा चाँदनी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि दुवै जनालाई महाकाली अस्पतालमा पठाउन लगाइएकोमा परिवारका सदस्यले भने राति नै घरमा लगेका थिए ।

थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिनुपर्नेमा घरमा राखिदा ४२ वर्षीया पारु  बिहीबार बिहान ८ः५० बजेको समयमा मृत फेला पर्नुभएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

परिवारमा सँगै बसेर मदिरा सेवन गर्दैआएका उनीहरूबिच अनावश्यक विषयमा विवाद भएपछि घटनाले हिंसाको रुपलिएको हुन सक्ने प्रहरीको आँकलन छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले सुनार मृत फेला परेको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।

मृतकको टाउको र शरीरमा चोट देखिएको प्रनाउ रावतले बताउनुभयो । मृतकको शव पोस्टमार्टमका लागि दोधारा चाँदनी अस्पतालमा राखिएको छ । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक जगतसाह मगरको कमान्डमा सात जनाको टोली खटाइ मृतकका श्रीमान् रन बहादुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।