


बैतडी, वैशाख १९ गते । बैतडी जिल्लामा हालसम्म २० हजार ८३ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन्। स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालका अनुसार यी परिवारका ५२ हजार सदस्यले स्वास्थ्य बिमाको सुविधा लिइरहेका छन्।
स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका सबै दस वटा स्थानीय तहमा समन्वय समिति गठन गर्ने कार्य भइरहेको छ। दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकामा यसअघि नै यस्ता समिति बनिसकेका छन् भने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पनि समिति गठनको प्रक्रिया अगाडि बढेको छ। सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्षको संयोजकत्वमा यी समितिहरू गठन हुने प्रावधान छ।
बडालले बताएअनुसार स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकलाई सहज सेवा प्रदान गर्न र आम नागरिकको पहुँच बढाउन स्थानीय तहमा समन्वय समिति गठन गर्न लागिएको हो। स्वास्थ्य बिमामा सहभागी हुँदा पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि १ लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सक्नेछन्। यो सुविधा निरन्तर पाउनका लागि प्रत्येक वर्ष बिमा नवीकरण गर्नुपर्ने हुन्छ। पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले थप प्रत्येक सदस्यका लागि ७ सय रुपैयाँ प्रिमियम तिर्नुपर्ने र प्रति सदस्य थप २० हजार रुपैयाँ बराबरको उपचार सेवा प्राप्त गर्न सक्नेछन्। यसअघि बिमा गरेको तीन महिनापछि मात्रै सेवा सुरु हुने प्रावधान रहेकामा अबदेखि भने बिमा लगत्तै सेवा उपलब्ध हुने भएको छ।
बैतडीमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर स्वास्थ्य केन्द्र मेलौलीबाट स्वास्थ्य बिमाका बिरामीले सेवा लिन सक्ने व्यवस्था गरिएको छ। जिल्लामै तीन ठाउँबाट सेवा प्रवाह भएपछि दुर्गम क्षेत्रका नागरिकलाई उपचारका लागि सहज भएको छ। पाटन नगरपालिका ६ का लालसिंह विष्टले २०७६ सालदेखि स्वास्थ्य बिमामा आबद्ध रहेको र पाँच जनासम्मको परिवारको उपचार सहजै गर्न सकिने भएकाले यो कार्यक्रम प्रभावकारी रहेको बताए।
पञ्चेश्वर गाउँपालिका ३ का कालु जोशीले गरिब तथा विपन्न नागरिकका लागि स्वास्थ्य बिमा अत्यन्तै उपयोगी भएको र पैसा नभएको अवस्थामा पनि ढुक्क भएर उपचार गर्न पाइने भएकाले खुसी लागेको बताए। दशरथचन्द नगरपालिका ६ का नारायणदत्त जोशीले रोजगारी नभएका, एकल महिला र आर्थिक अभावका कारण उपचार गर्न नसक्नेहरूका लागि स्वास्थ्य बिमा ठूलो सहारा बनेको विचार व्यक्त गरे।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी