ई-घोडाघोडी खबर

२२ जेष्ठ २०८३, शुक्रबार

  • Mohrain Tours and Travels
  • धनगढीमा ४५ दिने कुप्रथा न्यूनीकरण अभियान सम्पन्न

    धनगढीमा ४५ दिने कुप्रथा न्यूनीकरण अभियान सम्पन्न
    Spread the love

    कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा कुप्रथा र कुलत न्यूनीकरण गर्ने उद्देश्यले ४५ दिने अभियान सम्पन्न भएको छ। वडा कार्यालयले शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण, घरेलु मदिरा उत्पादन तथा बिक्री रोकथाम, घरेलु हिंसा अन्त्य, झै–झगडा न्यूनीकरण, बालविवाह र बहुविवाह उन्मूलन, सरसफाइ प्रवर्द्धन तथा अन्य सामाजिक विकृति नियन्त्रणका लागि यो अभियान सञ्चालन गरेको थियो। गत चैत ८ गते सुरु भएको यो अभियान शनिबार एक विशेष कार्यक्रमका बीच समापन भएको हो।

    सुदूरपश्चिम प्रदेशसभा सदस्य सन्तोष शर्मा थापाले समापन कार्यक्रमलाई सम्बोधन गर्दै अझै पनि छाउपडी प्रथा कायम रहनु दुःखद भएको बताउनुभयो। “यदि हामी आफैं परिवर्तनका लागि अग्रसर भएनौं भने देश र समाज बन्न सक्दैन,” उहाँले भन्नुभयो, “सबै मिलेर यस्ता कुरिती र कुसंस्कारहरूलाई रोक्नुपर्छ।”

    वडा अध्यक्ष शेरबहादुर महराले जानकारी दिनुभएअनुसार ४५ दिनसम्म वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र विभिन्न टोलवासीको सक्रिय सहभागितामा यो अभियान चलेको थियो। यस अवधिमा विभिन्न जनचेतनामूलक कार्यक्रम, घरदैलो अभियान, टोल सरसफाइ जस्ता गतिविधि सञ्चालन गरिएका थिए। “हामीले टोलवासीहरूलाई भेला गराई उहाँहरूका समस्या बुझ्यौं र त्यसै अनुसार यो अभियान अगाडि बढायौं,” उहाँले भन्नुभयो।

    अध्यक्ष महराले थप जानकारी दिँदै भन्नुभयो, “हामीले टोलटोलमा गएर जनचेतना फैलायौं। वडाका ६ वटा गाउँका सार्वजनिक क्षेत्रलाई धुम्रपान र मध्यपान निषेधित क्षेत्र घोषणा गरेका छौं। सरसफाइका लागि दुई दिने तालिम सञ्चालन गरी डस्टबिन वितरण गरेका छौं। साथै, छाउपडी प्रथाविरुद्ध जनचेतना फैलाउनाका साथै छाउगोठहरू पनि भत्काएका छौं।”

    उहाँले मनोरोग विशेषज्ञ चिकित्सकलाई बोलाएर लागुऔषधविरुद्ध सचेतना कार्यक्रम आयोजना गरिएको पनि जानकारी दिनुभयो। यस अभियानमा बजार अनुगमन गर्नुका साथै बालविवाह र बहुविवाहविरुद्ध पनि जनचेतना फैलाइएको थियो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी