धनगढी, कैलाली — धनगढी उपमहानगरपालिका–१६ मा अवस्थित थारु समुदायद्वारा सञ्चालित भादा होमस्टे नेपालकै उत्कृष्ट होमस्टेमा चयन भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको तारा गाउँ विकास समितिले सोमबार आयोजित एक कार्यक्रममार्फत भादा होमस्टेलाई उत्कृष्ट होमस्टे घोषित गर्दै एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो।






तारा गाउँ विकास समितिले देशभरका होमस्टेहरूलाई प्रतिस्पर्धाका लागि आवेदन मागेको थियो। प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि भादा होमस्टेलाई उत्कृष्टको रूपमा चयन गरिएको होमस्टे महासंघ सुदूरपश्चिमका अध्यक्ष दिनेश दहितले जानकारी दिए।

उक्त घोषणासँगै भादामा सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे कार्यशाला गोष्ठी समेत सम्पन्न भएको छ। गोष्ठीको समापन अवसरमा समितिका अध्यक्ष सुरेशराज जोशी र नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीले पुरस्कार हस्तान्तरण गरेका थिए।
प्रतिस्पर्धामा बर्दियाको डल्ला होमस्टेले दोस्रो स्थान हासिल गर्दै जैविकमार्ग होमस्टेको रूपमा ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो। काठमाडौको हाँडि गाउँ होमस्टे तेस्रो स्थानमा रही ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मानित भएको छ।








