ई-घोडाघोडी खबर

११ आश्विन २०८२, शनिबार

  • Mohrain Tours and Travels
  • एसइईमा बैतडीका चार विद्यालयको नतिजा शून्य

    एसइईमा बैतडीका चार विद्यालयको नतिजा शून्य
    Spread the love

    केशवराज भट्ट
    वासुलिङ्ग (बैतडी), असार १८ गते ।
     माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा बैतडी जिल्लाका चार विद्यालयले निराशाजनक परिणाम दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार जिल्लाका १३३ सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्ये चार विद्यालयको नतिजा शून्य रहेको छ ।

    पुर्चौंडी नगरपालिकास्थित महादेव माध्यमिक विद्यालय त्रिकाली, शिवनाथ गाउँपालिकाको उदय माध्यमिक विद्यालय कफाडी, शिवपूर्ण माध्यमिक विद्यालय र दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत माध्यमिक विद्यालयको परीक्षाफल शून्य आएको हो । सरस्वती संस्कृत माविले अघिल्लो वर्ष पनि शून्य नतिजा हासिल गरेको थियो ।

    यस वर्ष जिल्लाबाट चार हजार ३०७ जना परीक्षार्थीले एसइईका लागि फारम भरेका थिए । तीमध्ये ८९ जना अनुपस्थित रहे भने चार हजार दुई सय १८ जना परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागी भएकामध्ये ५२.२९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

    शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले अघिल्लो वर्ष जिल्लाका १८ विद्यालयको नतिजा शून्य रहेकोमा यसपटक नतिजामा केही सुधार आएको बताउनुभयो । ‘‘अघिल्लो वर्षको तुलनामा यसपटक केही विद्यालयले सुधार गरेका छन्,’’ उहाँले भन्नुभयो, ‘‘यद्यपि चार विद्यालयको नतिजा शून्य आउनु शिक्षा क्षेत्रमा अझै चुनौती रहेको देखिन्छ ।’’

    शिक्षा क्षेत्रको समग्र सुधारका लागि स्थानीय तह, विद्यालय प्रशासन, अभिभावक तथा विद्यार्थीबिच थप समन्वय र सक्रियता आवश्यक देखिएको छ । संस्कृत शिक्षा प्रवाह गर्ने विद्यालयले समेत दोहोरो शून्य नतिजा ल्याएको प्रसङ्ग शिक्षा नीतिको पुनरवलोकन र विद्यालय सञ्चालनको अनुगमनमा जोड दिनुपर्ने सङ्केत हो ।

    विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा पहुँच, सिकाइ सुधार, शिक्षकको जिम्मेवारी तथा विद्यालय व्यवस्थापनको प्रभावकारितामाथि विशेष ध्यान नदिँदा यस्ता परिणाम दोहोरिन सक्छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी