टीकापुर,असार २७ गते : नेपालको समृद्धिको मेरुदण्डः कृषि र युवा उद्यमशीलता नेपाल, जहाँ आकाश सँग ठोक्किने हिमाल छन्, जहाँ नदीहरू जीवन बगाउँछन्, जहाँ माटो सुगन्धित छ र जहाँ मानिसहरू श्रमशील छन, त्यही नेपाल आज विकासको यात्रामा अपुरो, अधुरो र अलमलिएको देखिन्छ। राष्ट्रको बहुसंख्यक जनसंख्या कृषि पेशामा संलग्न हुँदा पनि हाम्रो खेत बाँझो छ, उत्पादन कम छ, र खाद्यान्न विदेशबाट आयात गर्नुपरेको छ। अर्कोतर्फ, युवाशक्ति विदेश पलायनको लहरमा हराइरहेका छन्। यस्तो विकट परिस्थितिमा अबको बाटो प्रष्ट छ, यदि हामीले नेपाललाई आर्थिक, सामाजिक र संरचनात्मक रूपले बलियो बनाउन चाहन्छौं भने कृषिलाई व्यवसाय बनाउनु पर्छ र युवालाई नेतृत्वकर्ता बनाउनु पर्छ।
नेपालको समग्र विकासको अवस्था हेर्दा, अझै पनि हामी दक्षिण एसियाका धेरै देशहरूभन्दा पछि छौं। नेपालको प्रति व्यक्ति आय १४७१ अमेरिकी डलर मात्र छ भने बेरोजगारी दर ११% छ (NPC, 2023)। आर्थिक वृद्धिदर पनि अस्थिर र कृषि, पर्यटन तथा निर्माण क्षेत्रमा सीमित देखिन्छ। ग्रामीण क्षेत्रका जनतालाई अझै आधारभूत सेवामा पहुँच छैन, र अवसरको असमान वितरणले सामाजिक असन्तुलन बढाइरहेको छ। विकासको नक्सामा राजधानी केन्द्रित पूर्वाधार विकासको बाढी आएको छ तर गाउँका किसान अझै सिँचाइ, बीउ–बिजन, सडक र बजारको कमीले पिल्सिएका छन्। यस्तो अवस्था विकास होइन, दुःखको आधुनिकीकरण हो। त्यस्तै, उद्यमशीलताको अवस्था पनि चुनौतीपूर्ण छ। नेपालमा उद्यमशीलता अझै शैक्षिक संस्थाहरूमा व्यवस्थित रूपमा सिकाइने विषय होइन। अधिकांश युवाहरू उद्यम गर्न चाहन्छन् तर उनीहरूसँग न पूँजी छ र न त वातावरण। “Startup Nepal”, “National Youth Council”, “Rural Enterprise Programme” जस्ता पहलले आशा देखाएका छन्, तर यी प्रयास अझै सीमित छन्। ग्रामीण क्षेत्रमा उद्यमशीलता भन्ने कुरा अझै पनि जोखिम, असफलता र खर्चको पर्याय बनेको छ। जबसम्म हामी उद्यमशीलतालाई राष्ट्रिय शिक्षा, बजेट र नीतिमा प्राथमिकता दिँदैनौं, तबसम्म सानो प्रतिशत मात्र युवाले ‘साहस’ गरेर अगाडि बढ्नेछन्।
नेपालका युवाको अवस्था अझै मार्मिक छ। हामी गौरव गर्छौं ‘नेपाल युवाको देश हो’ भनेर। तर यही देशका युवा आज खेत–खलियान छाडेर कतार, मलेसिया, दुबई, कोरिया जान बाध्य छन्। रोजगारीको अभाव, अवसरको अनुपलब्धता, र व्यावसायिक प्रशिक्षणको कमीले गर्दा उनीहरू आफूभित्रको प्रतिभा गुमाएर श्रमिक बन्नुपरेको छ। ‘घरमै केही गर्छु’ भन्ने जोश बोकेर बाटो लाग्ने युवालाई बैंकले ऋण नदिने, समाजले हँसाउने, र नीतिले बाटो नदेखाउने अवस्था छ। दिनको १५ सय भन्दा बढी युवा विदेशिने यो मुलुक अबको दस वर्षमा कुन स्वरूपमा होला? यो प्रश्न केवल तथ्य होइन, भावनाको चिच्याहट हो। युवाले सम्भावना बोकेका छन्। उनीहरूमा प्रविधि बुझ्ने शक्ति छ, नवाचार गर्ने आँट छ, अनि समाज परिवर्तन गर्ने जोश छ। उनीहरूलाई समर्थनको खाँचो छ सही तालिम, सहुलियत ऋण, नीति, र प्रेरणा। आज यदि एउटा २२ वर्षे युवा आफ्नो गाउँमा ड्रिप इरिगेशन, बायोफ्लक, स्मार्ट एग्रो एप्स, वा जैविक तरकारी खेती सुरु गर्न चाहन्छ भने उसले सबैभन्दा पहिले बैंक, सरकारी कार्यालय, र समाजकै संकुचित सोचसँग लड्नुपर्छ। किनभने हामीकहाँ अझै पनि कृषिलाई ‘गरीबीको पेशा’ र व्यवसायलाई ‘धनीको खेल’ ठानिन्छ। अब प्रश्न उठ्छ के गर्नु आवश्यक छ ?
१. सरकारको कृषि तथा युवा उद्यमशिलता सम्बन्धी नीति सशक्त, पहुँचयोग्य र पारदर्शी हुनुपर्छ। “Youth Agribusiness Incubation Centre” हरेक प्रदेश, जिल्ला र पालिकामा खोलिनु पर्छ।
२. सहुलियत ब्याजमा कृषि र स्टार्टअप ऋण उपलब्ध गराउनुपर्नेछ। बैंकिङ प्रक्रियालाई सजिलो र डिजिटल बनाउनुपर्छ।
३. विद्यालय तहदेखि नै व्यावसायिक कृषि र उद्यमशीलताको शिक्षा अनिवार्य गरिनुपर्छ, जसले सोचाइमा परिवर्तन ल्याउँछ।
४. उत्पादन गरेको वस्तुको बजार सुनिश्चित हुनुपर्छ। युवाले उत्पादन मात्र होइन, ब्राण्डिङ, प्याकेजिङ र डिजिटल मार्केटिङमा प्रशिक्षण पाउनुपर्छ।
५. आधुनिक कृषि उपकरण, मोबाइल एप्स, डेटा विश्लेषण, र ICT आधारित समाधानहरू गाउँगाउँसम्म पुर्याउनुपर्छ।
६. सामुहिक खेतिमा जोडदिनुपर्छ।
७. कृषि हाएरिङ सेन्टरको स्थापना अपरिहार्य छ।
यसका अतिरिक्त, स्थानीय सरकार, सहकारी संस्था, गैरसरकारी निकाय र निजी क्षेत्र मिलेर एकीकृत युवा कृषि नीति कार्यान्वयन गर्नुपर्छ। युवालाई उपभोक्ताबाट उत्पादक बनाउने रणनीति निर्माण गर्नुपर्छ। अनि सरकारले उनीहरूलाई नेतृत्वमा ल्याउने वातावरण बनाउनुपर्छ। एक युवा जब कृषि उद्यममा लाग्छ, तब उ एकजना मात्र सफल हुँदैन उ आफूजस्तै अरु ५ जनालाई रोजगारी दिन सक्छ, समुदाय परिवर्तन गर्न सक्छ। अब माटो र मन जोड्ने समय हो अब हामीसँग बहाना छैन स्रोतसाधन छन्, सम्भावना छन्, र शक्ति पनि छ। अभाव छ त केवल संकल्प, समन्वय र स्पष्ट सोचको। नेपालले हरेक दिन अरबौं रुपैयाँको खाद्यान्न आयात गर्छ, जबकी ती वस्तुहरू उत्पादन गर्न हाम्रो माटो सक्षम छ। हामीले रोजगारी मागिरहेका युवालाई उद्यममा रूपान्तरण गर्न सकेनौं भने, नेपाल केवल रेमिट्यान्सले बाँच्ने देश बनिरहन्छ। हामीले जसरी आज हरेक वस्तु इम्पोर्ट गर्छौं, भोलि सपना, श्रम र सिप पनि आयात गर्नुपर्ने दिन आउला। हाम्रो खेत बाँझो छैन, केवल प्रेम छैन। हामि युवा बेरोजगार छैनौ, केवल अवसर छैन। र हाम्रो माटो गरीब छैन, केवल व्यवस्थापन छैन। आज आवश्यकता छ भने त्यो हो माटोको सुगन्ध र युवाको जोशलाई एउटै दिशामा उमार्ने।
कृषि अब हलो गोरुमा सीमित रहने बेला छैन। यो यन्त्र, ज्ञान, प्रविधि, नवाचार र नेतृत्वको खेल हो। अनि नेतृत्व अब ६० वर्षे होइन २५ वर्षे युवाको हुनुपर्छ। त्यसैले, अबको विकासको कथा माटो र मनको समागमले लेखिनुपर्छ जहाँ खेतले फूल फुलाउँछ, र युवाले सपना रोप्छ। अब यदि हामीले साथ दिएनौं भने, न त त्यो सपना उम्रिन्छ, न त त्यो फुल फुल्छ।
बसन्त बोहरा
BSc. agriculture, SoA, Tikapur, Kailali
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी