ई-घोडाघोडी खबर

११ आश्विन २०८२, शनिबार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरमा देखिएको जनावर चितुवा हुनसक्ने निष्कर्ष, बाघ खोजी टोली रित्तो हात फिर्ता

    कञ्चनपुरमा देखिएको जनावर चितुवा हुनसक्ने निष्कर्ष, बाघ खोजी टोली रित्तो हात फिर्ता
    Spread the love

    भवानीदत्त भट्ट

    कञ्चनपुर, साउन १६ गते । कञ्चनपुरमा बाघको खोजीका लागि निस्किएको हात्तीसहितको टोली बेलौरीबाट फिर्ता भएको छ । बुधबार साँझदेखि बाघको खोजीमा निस्किएको तीन हात्तीसहितको टोली शुक्रबार दिउँसो रित्तो हात फिर्ता भएको हो ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जिल्लास्थित बेलौरी नगरपालिका-९ आदर्श नगर र प्रगतिटोलमा देखिएको बाघको खोजीका लागि तीन हात्तीसहितको टोली परिचालन गरेको थियो । खोजीका लागि ‘रुपकली’ नामक पोथी हात्ती र दुई वटा भाले हात्ती (लव प्रसाद र सिद्ध प्रसाद) गरी तीन हात्तीसहितको टोली बेलौरी पठाइएको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो । हात्तीसहितको टोलीले प्रगति टोल र आदर्शनगर हुँदै नजिकको उखुबारीमा दुई दिनसम्म खोजी गरेको थियो ।

    बाघको कुनै सङ्केत समेत फेला नपरेपछि शुक्रबार उक्त क्षेत्रमा चितुवा हुनसक्ने भन्दै टोली फिर्ता बोलाइएको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

    बेलौरी नगरपालिका–९ का वडाअध्यक्ष किसनसिंह रानाले यस क्षेत्रमा देखिने चितुवा, बाघले स्थानीय त्रसित बनेका बताउनुभयो । बाघको खोजीका लागि आएको टोली पनि फिर्ता भएको बताउनु हुँदै अध्यक्ष रानाले जनावरबाट सुरक्षित रहन समय–समयमा वडा कार्यालयले सूचना नै जारी गरेर जनचेतना फैलाउँदै आएको बताउनुभयो ।

    यसअघि गत असार पहिलो साता स्थानीय शङ्कर भट्टको गोठमै पसेर चितुवाले बाख्रा मारेको थियो । मङ्गलबार दिउँसो वडा नम्बर–९ स्थित आदर्शनगर र प्रगति टोलमा–२ डमरुसहित बाघ देखापरेको थियो । स्थानीयले बाघ देखेपछि शुक्लाफाँटा निकुञ्जको कार्यालयलाई खबर गरेका थिए ।

    बुधबार साँझ बेलडाँडीमा बास बसेको हात्तीसहितको टोली बिहीबार राति बेलौरी नगरपालिका-९ कुण्डास्थित वैजनाथ मध्यवर्ती उपभोक्ता सामुदायिक वनमा बास बसेको थियो । स्थानीय, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा जनप्रतिनिधि सँगै बाघ देखिएको क्षेत्र र वरिपरिको क्षेत्रमा हात्ती लगेर खोजी गरिए पनि नभेट्टाएको टोलीमा सहभागी निकुञ्जका पञ्च चिकित्सक आभास श्रेष्ठले बताउनुभयो ।

    शुक्रबार दिउँसो स्थानीय जनप्रतिनिधि, सशस्त्र प्रहरी, जनपद प्रहरीबिच भएको छलफलका क्रममा यस क्षेत्रमा चितुवा हुनसक्ने आशङ्का गरिएको उहाँले बताउनुभयो । चितुवाले मानवीय क्षति नगर्ने र घरपालुवा, बाख्रा कुकुरमा आक्रमण गर्ने भएकाले सुरक्षित रहन आग्रह गरिएको उहाँले बताउनुभयो । तर खोजीका क्रममा केही पनि नभेट्टिएपछि चितुवा हुनसक्ने निष्कर्षसहित टोली निकुञ्जको कार्यालयमा फिर्ता भएको उहाँले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी