


कञ्चनपुर – गएरातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ काे रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताउनुभयो ।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ काे पटराखल्लाका १५ घर डुबानमा परेका छन् । भीमदत्त–११ भुजेलामा पनि ५ घर डुबानमा परेका छन् ।
‘दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन्, उनीहरूलाई नजिककैको विद्यालयमा राखिएको छ’, डीएसपी बाेहराले भन्नुभयाे, डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।’
पटराखल्लाका ५५ जना, उनीहरूका सरसामान र चौपायासमेत नजिकैको जमुना आधारभूत विद्यालयमा राखिएको उहाँले बताउनुभयो ।
महाकालीमा बढ्यो जलस्तर
अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे गाडी आवागमन रोक लगाएको छ । डीएसपी बोहराले नदीमा पानीको सतह बढेर १ लाख ४० हजार २ सय ५० क्युसेक पुगेको बताउनुभयो ।
नदीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको छ ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी