


ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), २५ कार्तिक/
कैलालीको बौनियाँमा हुन लागेको प्रदेशव्यापी अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । बर्दगोरीया स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा मंसिर २ गतेदेखि सुरु हुने प्रतियोगिताको ट्रफी मंगलवार एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष प्रमोद मल्लले विद्यालय तहबाटै खेलकुदको संस्कृति विकास गर्न सकिए मात्र अनुशासित, स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न सकिने बताउनुभयो । उहाँका अनुसार खेलकुदले युवाहरूलाई लागूपदार्थको दुव्र्यसनबाट टाढा राख्ने मात्र होइन, आपसी सहयोग, सहकार्य र सामूहिक भावना विकास गर्न पनि सहयोग पु¥याउँछ ।
मल्लले खेलकुदलाई शिक्षा प्रणालीसँग जोडेर अघि बढाउन सके देशभरका विद्यार्थीहरूमा प्रतिस्पर्धा, नेतृत्व र आत्मविश्वासको भावना जाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय तहमै अवसर पाउने विद्यार्थीहरू भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी बन्न सक्छन्, त्यसैले हामी यो अभियानलाई निरन्तरता दिइरहेका छौं ।”
बर्दगोरीया स्पोट्र्स एण्ड इभेन्ट्सले यसअघि पनि निरन्तर तीन वर्षदेखि खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो वर्ष “मुख्यमन्त्री पालिका स्तरीय कैलाली जिल्ला–व्यापी फुटबल प्रतियोगिता” आयोजना गरिएको थियो भने दोस्रो वर्ष “विद्यालय स्तरीय जिल्ला–व्यापी छात्र–छात्रा फुटबल प्रतियोगिता” सम्पन्न गरिएको थियो । यस वर्ष भने आयोजकले प्रतियोगितालाई विस्तार गर्दै प्रदेशस्तरमा लैजाने निर्णय गरेको छ, जसमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी हुनेछन् । आयोजकका अनुसार ३२ वटा छात्र टिम र १६ वटा छात्रा टिम प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ८५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्रितीय हुने टिमले ४३ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
त्यसैगरी, उत्कृष्ट खेलाडीलाई ८ हजार पाँच सय रुपैयाँ पुरस्कार दिइनेछ । बढी गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार पाँच सय रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिनेछ ।
अध्यक्ष मल्लका अनुसार खेलकुद केवल प्रतिस्पर्धा नभई समाजमा एकता र अनुशासनको सन्देश दिने माध्यम पनि हो । उहाँले आगामी वर्षहरूमा प्रतियोगितालाई राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालयबाट सुरु भएको यो अभियानले खेलकुदप्रति नयाँ पुस्तामा लगाव र जिम्मेवारी दुवै जगाउनेछ । हाम्रो उद्देश्य खेलकुदमार्फत युवाहरूमा सकारात्मक सोच, स्वस्थ जीवनशैली र नेतृत्व क्षमताको विकास गर्नु हो ।”

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी