ई-घोडाघोडी खबर

२४ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • डेढ वर्षदेखि हवाई उडान बन्द, १६ करोडका संरचना प्रयोगविहीन

    डेढ वर्षदेखि हवाई उडान बन्द, १६ करोडका संरचना प्रयोगविहीन
    Spread the love

    सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द भएको छ । उडान बन्द हुँदा १६ करोड रुपियाँ खर्च गरेर बनेका विमानस्थल र टर्मिनल भवन लगायतका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् ।

    तीन वर्ष अघि ११ करोड रुपियाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाई रहेको विमानस्थल  कालोपत्रे  गरिएको थियो । तयपछि पाँच करोड खर्च गरेर टर्मिनल भवनसमेत गरी यहाँ राज्यको १६ करोड रुपियाँ खर्च भएको छ ।

    धनगढी–बैतडी–धनगढी १७ मिनेट हवाई दूरीमा समिट एयरले चार हजार रुपियाँ भाडा लिएर उडान भर्दै आएकोमा २०७७ चैत १० गते यहाँ अन्तिम पटक उडान भएको  थियो । हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामी समस्यामा परेका छन् ।

    विमानस्थल कालोपत्रे हुँदा सुखी भएका बैतडीवासी उडान बन्द हुँदा निराश भएका छन् भने राज्यको करोडौँ रकम खेर गएको स्थानीय वसन्त विष्टले बताउनुभयो । सरकारले हवाई सेवा सुचारु गर्न सरकारी एयरलाइन्सलाई जिम्मेवारी दिनुपर्ने उहाँले बताउनुभयो ।

    नागरिक उड्डयन प्राधिकरणले स्थापना गरेको यहाँको कार्यालय समेत बन्द छ । प्राधिकरणले खटाएका कर्मचारी कृष्णदत्त भट्ट सरुवा भएर अन्यत्र गएपछि पूर्णरूपमा ठप्प नै भएको हो । यता पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले निजी क्षेत्रका हवाई कम्पनीले महँगो भाडा लिएर सातामा एक पटक मात्र उडान भर्दा यात्रु अभाव भएकाले उडान बन्द गरेको बताउनुभयो । नियमित सेवा दिन भाडादर कम गरेर सातामा तीन पटक उडान गर्नुपर्ने र नेपाल विमान एयरलाइन्सले तत्काल सेवा विस्तार गर्नुपर्ने माग उहाँले राख्नुभयो । नेताहरूको जनतामा चुनावी नारा बनाएकाले यसलाई पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    २०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला २०५२ देखि बन्द थियो । विमानस्थल कालोपत्रे भएपछि डेढ वर्षअघि हप्ताको एक दिन बैतडी–धनगढी उडान भए पनि पनि पछिल्लो डेढ वर्षदेखि हवाई उडान ठप्प भएको छ ।हवाई उडान बन्द हुँदा दुर्घटनामा परेका व्यक्तिको आकस्मिक उद्धार गर्न कठिनाइ हुने गरेको छ ।
    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी