


सुदूरपश्चिम प्रदेशमा डेंगुबाट चार जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार डोटीका एक र कैलालीका तीन जनाको मृत्यु भएको हो। डेंगु संक्रमितहरुको तथ्याँक अद्यावधिक नभएकाले पनि मृतकको संख्या कम देखिएको हुन सक्ने अनुमान गरिएको छ।
लामखुट्टेको टोकाइबाट हुने डेंगु गर्मी र बर्सातको समयमा हुने भएकाले बिरामीको संख्या बढ्दै गएको निर्देशनालयले जनाएको छ। प्राविधिक सहजीकरण, किट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएका छन्। कैलाली र कञ्चनपुरमा बढी हुने डेंगुको संक्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको हो। निर्देशनालयको तथ्यांकले पहाडी जिल्लामा पनि डेंगुको जोखिम अझ बढी हरेको देखिएको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको निर्देशनालयले बताएको छ।
बर्सातमा दैनिक रूपमा डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु संक्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। डेंगु भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण देखापर्ने गर्दछन्। यसका साथै गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने गरेको चिकित्सकहरुले बताएका छन्।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी