


गौरीगङ्गा नगरपालिका वडा नम्बर ६ का केशव साउँद मङ्गलबार बिहान ११ बजे सेती अस्पतालको कोभिड स्वाव संकलन केन्द्र अगाडि भेटिए। उनले कोभिड परीक्षणका लागि स्वाव दिन चौथो पटक त्यहाँ पुगेको तर अझैसम्म स्वाव दिन नपाएको गुनासो गरेका छन्। उनले स्वाव दिनको लागि अस्पतालमा एक घण्टादेखि चक्कार काटी रहेको गुनासो समेत गरे। साउँदसँगै धनगढी–१२ जुगेडाका पदम शाही पनि एक घण्टादेखि अस्पतालको स्वाव संकलन केन्द्रमा कर्मचारीलाई कुरेर बसेका थिए।
डेङ्गुबाट पीडित छोरीको आइतबार स्वाव दिएको भए पनि मङ्गलबारसम्म रिपोर्ट नपाएको उनको गुनासो छ। ‘छोरीलाई डेङ्गु लागेकाले कोभिड परीक्षण गर्न आइतबार स्वाव दिएको थिएँ। आजसम्म रिपोर्ट पाएको छैन,’ उनले भने, ‘१८ नम्बर कोठाबाट रिपोर्ट ल्याउनुस् भनेर यता पठायो यहाँ कोही पनि छैनन्।
चरम लापरबाही छ सेतीमा।’ सेतीमा उपचार गराउन भनेर गोदावरीको मालाखेतीका शेरबहादुर बिक बिहान ९ बजे लाइनमा बसेका थिए। उनी अस्पताल पुग्दा दुई दर्जन बिरामी पहिले नै लाइन लागिसकेका थिए भने उनको पछाडि पनि लामो लाइन लागेको थियो।
यस्तै, मसुरियाका अमर भुल बिहान ७ बजे अस्पताल पुगेका थिए। सेतीमा टिकट काट्न, ओपिडीमा डाक्टर भेट्न, प्रयोगशालामा परीक्षणका लागि रगत, र पिसाबको नमुना दिन, रिपोर्ट माग्न, अल्ट्रासाउन्ड गराउन, त्यसको रिपोर्ट फेरि डाक्टरलाई देखाउन र अन्तमा औषधि खरिद गर्न लामो लाइन लाग्नुपर्ने शेरबहादुर र अमरको गुनासो छ। बिरामी भएर ठाउँ–ठाउँमा लाइन लाग्नुपर्दा निको हुनुभन्दा पनि थप बिरामी हुनुपर्ने अवस्था रहेको अस्पतालमा भेटिएका बिरामीको गुनासो छ।
हिजो ३ बजे डाक्टर गएकाले त्यसपछि प्राप्त गरेको ल्याव रिपोर्ट देखाउन लाइन बसेको अमरले बताए। मङ्गलबार सेतीमा भेटिएका अधिकांश बिरामीहरू पहाडी जिल्ला र कैलाली तथा कञ्चनपुरको ग्रामीण क्षेत्रबाट आएका थिए। सेतीमा स्वास्थ्य बिमा गराएका, आम्दानी कम भएका बिरामीको संख्या अधिक हुन्छ। तर, आर्थिक तथा सामाजिक रुपले पछाडि परेको समुदायको उपचारको गर्ने पहिलो रोजाईमा रहेको सेती अस्पतालमा आउन जति सजिलो छ उपचार पाउन भने त्यति नै कठिनाइ हुने गरेको छ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी