बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिकाको खोजी गर्दै छ। कुपोषित बालबालिकाहरुको जेड स्कोरिङ विधिबाट खोजी गर्ने कार्य सुरु गरेको गाउँपालिकाले जनाएको छ। पालिकाका प्रत्येक वडाका हरेक घरधुरीमा पुगेर कुपोषित बालबालिकाहरुको खोजी गर्ने कार्य भइरहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए।

जन्मेको ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुको चेकजाँच गरेर कुपोषित भेटिएमा उनीहरुलाई उपचार ल्याउने गरिएको महराले बताए। स्वास्थ्य चेकजाँचका क्रममा कुपोषित भेटिएका बालबालिकाहरुलाई पोषिलो खानेकुरा खुवाउनका लागि अभिभावकहरुलाई जागरुक गर्ने गरिएको छ।

शीघ्र कुपोषित भएका बालबालिकाहरुलाई नजिकका स्वास्थ्य संस्थामा रहेका ओटीसी सेन्टरमा लगेर उपचार गर्ने, पोषिलो खानेकुरा आरयुटीएफ दिने र उपचारका लागि अन्यत्र लैजानुपर्ने भएमा रेफर गर्ने गरिएको महराले बताए। कुपोषित भएका बालबालिकाहरुको उपचारका लागि आर्थिक समस्या भएका परिवारलाई केही प्रोत्साहन गर्ने समेत पालिकाको नीति रहेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए। 

सुर्नया गाउँपालिकालाई कुपोषणरहित गाउँपालिका बनाउने अभियान अन्तर्गत कुपोषित बालबालिकाहरुको खोजी गर्ने कार्य भइरहेको हो। बालबालिका कुपोषित भएमा भोलिका दिनमा समस्या आउने भएकाले उनीहरुलाई समयमै पौष्टिक खाना र आवश्यक उपचारमा पहुँच पुगोस भनेर यो अभियान शुरु गरिएको हो। पालिकाका ८ ओटै वडामा यो अभियान सञ्चालन हुने बताइएको छ।