

मङ्गलसेन, असोज ३० गते
शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट योगदान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अछामले २२ जना प्रहरी कर्मचारीलाई नगदसहित पुरस्कृत गरेको छ। ६९ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरी कर्मचारीलाई सम्मान गरिएको हो।
प्रहरी निरीक्षक जय पार्कीले दिएको जानकारी अनुसार पुरस्कृत हुनेहरूमा ११ जना प्रहरी जवान, चार जना प्रहरी हवल्दार, तीन जना प्रहरी सहायक हवल्दार, दुई जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी वरिष्ठ हवल्दार र एक जना कार्यालय सहयोगी रहेका छन्। उनीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।
यसै अवसरमा मङ्गलसेन नगरपालिका–१४ का सुरत सोडारी, मैपति सोडारी र शेरबहादुर कठायतलाई अस्थायी प्रहरी पोष्ट कालागाउँलाई निःशुल्क ६ रोपनी जग्गा उपलब्ध गराएबापत सम्मानित गरिएको छ।
प्रहरी दिवसको अवसरमा भलिबल, टेबलटेनिस र ब्याडमिन्टन प्रतियोगिताहरूको समेत आयोजना गरिएको थियो। ती खेलमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रहरी कर्मचारीहरूलाई पनि पुरस्कार प्रदान गरिएको छ।
शुभकामना मन्तव्यका क्रममा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले अछाम प्रहरीले न्यून स्रोतसाधन र तलबमा पनि उत्कृष्ट काम गरेको भन्दै पारिश्रमिक वृद्धिमा जोड दिनुभयो। साथै, उहाँले समाजको विकास र प्रविधिको प्रयोगसँगै नयाँ चुनौती उत्पन्न भएकोले सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व प्रहरी कर्मचारी, पत्रकार र सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरूले प्रहरीमा स्रोतसाधनको अभाव भएकाले यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरा उठाएका थिए।
प्रहरी दिवसको यो अवसरले प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न र शान्ति सुरक्षामा अझ प्रभावकारी काम गर्न उत्प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी