


वेदकोट (कञ्चनपुर), कात्तिक ७ गते । वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ । त्यतिबेला उहाँलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो ।
नदीको छेउमै रहेको त्यो बस्तीमा बाढी पस्थ्यो । होचो भूभाग हुनाले डुबानका कारण जमिनमा उब्जाउ पनि हुँदैनथ्यो । आशापुरमा मुक्तकमैया बस्ती हो । वि.सं. २०५७ सालमा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई त्यहाँ जग्गा उपलब्ध गराएको थियो ।
हाल मुक्तकमैया बस्ती आशापुरको मुहार फेरिएको छ । “वर्षा याममा बाढी पसेर कटान र डुबान हुन्थ्यो । जमिनमा उब्जाउ नै नभएर दैनिक हातमुख जोर्न समस्या थियो,” डगौँराले भन्नुभयो, “पछि नदी किनारमा तटबन्ध निर्माण भयो। जमिनमा माटो भरेपछि उब्जाउ पनि हुन थालेको हो ।”
हाल मुक्त कमैया शिविरका टिनका टहरा पक्की घरमा परिणत भएका छन् यहाँ मुक्तकमैयाको परिवार पनि बढेर २२ परिवार पुगेको छ । आशापुरको मुहार मात्रै होइन मुक्तकमैयाको जीवनस्तरमा पनि सुधार भएको छ । यहाँका अधिकांश स्थानीय डकर्मी छन् । कोही वैदेशिक रोजगारीमा छन् भने केही सागसब्जी फलाएर मनग्गे आर्जन गर्न सफल भएका छन् ।
“कमैया बस्दा दुःख थियो । दिन र रातमा काम गरेपछि दुईछाक खान पाइन्थ्यो, छोराछोरीलाई विद्यालय पढाउने कुरा कल्पना मात्र थियो,” स्थानीय जानकी चौधरीले भन्नुभयो, “कमैया मुक्त भएपछि सुरुमा केही वर्ष अप्ठ्यारो भयो । हाल क्षमताअनुसारको काम आफैँ गरेर जीवन चलाइरहेका छौँ ।”
उहाँका अनुसार कमैया बसेका घरमा महिलाले खेतीपाती, गाईबस्तु चराउनेलगायत घरका सबै काम गर्नुपर्थ्यो । पुरुषहरूलाई खनजोत गर्ने, दाउरा चिर्नेलगायत कामबाट फुर्सद हुँदैनथ्यो ।
कमैया मुक्तपछि सागसब्जी खेती गर्न थाल्नु भएकी जानकीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ ।
“कमैया मुक्तिपछि सागसब्जी खेतीको तालिम लियौँ । खेती छोडेका छैनौँ । यसबाट हुने आम्दानीले घर खर्च चलिरहेको छ,” उहाँ भन्नुहुन्छ, “रु। डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ ।”
कमैया मुक्तिपछि सरकारले एक परिवारलाई पाँच कठ्ठा जमिन उपलब्ध गराएको थियो । जानकीले आधा बिगाहा जमिन अधियाँमा लिएर धान,गहुँ खेती गर्नुहुन्छ । आफ्नै नौ कठ्ठा जमिनमा काक्रा, फर्सी, लौका, घिरौँला, बोडीलगायत सागसब्जी खेती गर्नुभएको छ । च्याउखेती पनि गर्ने गरेको जानकीको भनाइ छ । मानबहादुर डगौराले पनि दश कठ्ठा जमिन भाडामा लिएर तरकारी खेती गर्नुभएको छ ।
बारीमा उत्पादित तरकारी महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्री गरेर उहाँले घर खर्च चलाउँदै आउनुभएको छ । “अटो रिक्सामा तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ । सिँचाइ हुँदा राम्रो उब्जाउ हुन्छ,” मानबहादुर भन्नुहुन्छ, “थोरै सिँचाइको असहजता छ । नहर लाग्दैन । बोरिङको पानीले सिँचाइ गर्नुपर्छ ।”
सागसब्जीबाट आर्जन भएको रकमले आशापुरमा मानबहादुर पक्की घर निर्माण गर्नुभएको छ । आशापुरकै विक्रम डगौरा कमैया मुक्त भएपछि तीन पटक विदेश पनि जानुभयो । श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किएका विक्रम हाल गाउँमै सागसब्जी खेती गरिरहनु भएको छ ।
”नौ वर्ष विदेशमा मजदुरी काम गरियो । त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरे । अहिले राम्रो आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो, “स्वदेशमै मिहेनत गरेर विदेशको जस्तै कमाइ भइरहेको छ ।”
स्थानीय बलबहादुर डगौरा मिस्त्री काम गर्नुहुन्छ । अब्बल मिस्त्री गनिने उहाँलाई काम गर्न भ्याईनभ्याई छ । कमैया मुक्ति घोषणापछि विभिन्न सङ्घसंस्थाले सीपमूलक तालिम दिएका थिए ।
त्यहीँ क्रममा मिस्त्रीको तालिम लिएको बलबहादुर बताउनुहुन्छ । “सुरुमा घर बनाउने ठाउँमा मजदुरी गरे । काम गर्दै जाँदा मिस्त्री भइयो,” उहाँले भन्नुभयो, “मिस्त्री भएपछि परिवार पाल्न सहज भएको छ ।” रासस

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी