बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी

कैलाली,  असार २६ गते । यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आउनुभएको छ । चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । उहाँको फार्मबाट वार्षिक रु ३० लाख बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ ।

खर्च कटाएर औसतमा वार्षिक रु १२ लाख आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उहाँले बताउनुभयो । बङ्गुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब एक महिना लाग्छ । एउटा पाठा वा पाठी रु छ हजारमा बिक्री गर्ने गर्नुभएको छ ।

बङ्गुरपालनबाट गरेको कमाइले उहाँले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको बताउनुभयो । “बङ्गुरपालन राम्रै फापेको छ”, उहाँले भन्नुभयो, “यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो, अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घर परिवारका सदस्यले काम पाए ।”

चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसै वर्ष रु ९० हजार अनुदान प्राप्त गर्नुभएको छ । अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उहाँले बताउनुभयो । उहाँ सफल कृषकका रुपमा समेत पुरस्कृत भइसक्नुभएको छ ।

सुरुका वर्षमा मासु बिक्री गर्नुभएका उहाँले मासुका लागि बजार नपाएपछि पाठापाठी बिक्री गर्न थालेको बताउनुभयो । किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, बधशाला स्थापना गरिदिए अझै सहज हुने उहाँको भनाइ छ । रासस

कैलालीको विपत् प्रतिकार्य योजना अद्यावधिक, बाढी र पहिरो जोखिम उच्च

अविनाश चौधरी

धनगढी, असार २५ गते । कैलालीको विपत् प्रतिकार्य योजना अद्यावधिक भएको छ । मनसुनजन्य विपतबाट जिल्लावासीलाई जोगाउन विपत् प्रतिकार्य योजना अद्यावधिक गरिएको हो ।

जिल्लाले तयार पारेको विपत् प्रतिकार्य योजना स्वीकृत भइसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । जिल्लाको गोदावरी, चुरे र मोहन्याल गरी तीन पालिकामा पहिरोको जोखिम रहेको जनाइएको छ ।

यस्तै, मध्यक्षेत्रमा पर्ने पालिकामा नदी किनारको बस्तीमा कटानको जोखिम छ । टीकापुर नगरपालिका, जानकी, कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकामा भने बाढीको उच्च जोखिम छ । यी पालिकाका विभिन्न क्षेत्र प्रत्येक वर्ष बाढी, डुबानको समस्या झेल्दै आएका छन् ।

यस वर्ष कैलालीमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । सरदरभन्दा बढी पानी पर्ने सम्भावनाका कारण बाढी, डुबान, कटानजस्ता समस्या बढी निम्तिन सक्ने सम्भावना छ । त्यसलाई मध्यनजर गरेर विपत् प्रतिकार्य योजना बनाइएको छ ।

कैलालीमा रहेको कर्णाली नदीले लम्कीचुहा, जानकी र टीकापुर गरी तीन पालिकालाई प्रभावित गर्दैआएको छ । मोहना नदीले गोदावरी, धनगढी, कैलारी र भजनी, खुटिया नदीले चुरे, गौरीगङ्गा, गोदावरी, धनगढी, घुरहा नदीले कैलारी, भजनीलाई प्रभावित गर्दैआएको छ ।

यसैगरी, कान्द्रा नदीले भजनी, लिक्मा नदीले कैलारी, भजनी, काँढा नदीले घोडाघोडी, बर्दगोरिया, जोशीपुर र भजनीलाई प्रभावित गर्दैैआएको जनाइएको छ । त्यस्तै, पथरैया नदीले टीकापुर, जोशीपुर, जानकी, भजनी र टीकापुर, रौरा नदीले लम्कीचुहा, टीकापुर, जानकी र ठुली गाडले मोहन्याललाई समस्या गर्दैआएको छ ।

त्रिशूलीमा फसेकालाई उद्धार गर्न नसकी फर्कियो हेलिकप्टर

२४ असार, काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न पुगेको हेलिकप्टर फर्किएको छ ।

विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा २ जना व्यक्ति फसेका छन् । उनीहरुको उद्धारका लागि गएको पहिलो हेलिकप्टर उद्धार गर्न नसकी फर्किएको हो ।

असारे प्रवृत्ति अझै रोकिएन : सुदूरपश्चिम सरकारले असार मसान्तसम्म ५५.४४% बजेट खर्च

धनगढी, असार २४ गते । सुदूरपश्चिम प्रदेश सरकारले असारे प्रवृत्तिलाई निरुत्साहित गर्दै जाने प्रतिबद्धता जनाउँदै आए पनि असारमा अत्यधिक बजेट खर्च हुने प्रवृत्ति अझै रोकिएको छैन । बेलैमा बजेट कार्यान्वयन नहुनेदेखि लिएर असारे विकासलगायतका कारणले आर्थिक वर्षको मसान्तमा अत्यधिक बजेट खर्च भइरहेको छ । प्रदेश सरकारले असारको २१ गतेसम्म मात्रै चार अर्ब २९ करोड ५९ लाख रुपियाँ खर्च गरेको छ ।

चालु आव २०८१/८२ को जेठ मसान्तसम्म प्रदेश सरकारले कुल १३ अर्ब १८ करोड ९३ लाख रुपियाँ (४१.८२ प्रतिशत) बजेट खर्च गरेको थियो । चालु आवको असार २१ गतेसम्म कुल खर्च १७ अर्ब ४८ करोड ५९ लाख (५५.४४ प्रतिशत) पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै सो अवधिमा पुँजीगत बजेट आठ अर्ब ९१ करोड ५६ लाख (४७.५३ प्रतिशत) र चालु बजेट आठ अर्ब ५६ करोड ९६ लाख (६७.१० प्रतिशत) बजेट खर्च भइसकेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले जानकारी दिनुभयो । उहाँले असार महिनामा बजेट खर्च १२ प्रतिशतले बढेको बताउनुभयो । “निर्माणका काम अगाडि भइसके पनि धेरै जसोको भुक्तानी असार मसान्तमा हुने गरेको छ,” उहाँले भन्नुभयो, “भुक्तानीका लागि बिल असारमा प्राप्त हुने गरेकाले यो महिनामा बजेट निकासा बढी हुने गर्दछ ।”

जेठ मसान्तसम्म प्रदेश सरकारले पुँजीगत बजेट छ अर्ब २७ करोड ६३ लाख (३३.४६ प्रतिशत) र चालु बजेट छ अर्ब ९१ करोड २९ लाख (५४.१३ प्रतिशत) खर्च गरेको थियो । प्रदेश सरकारले चालु आवका लागि दुई पटक बजेट सभामा पेस गरेको थियो । असार १ गते पेस गरिएको बजेट राजनीतिक घटनाक्रमले उत्पन्न परिस्थितिका कारण अस्वीकृत भएपछि भदौ अन्तिममा दोस्रो बजेट ल्याइएको थियो ।

बजेटै आउन दुई महिना ढिला भएकाले कार्यान्वयन प्रक्रियामा ढिलाइ हुँदा खर्चको अनुपात असारमा बढेको पनि बताइएको छ तर असारमा बजेट खर्च गर्ने प्रवृत्ति ठिक नरहेको प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकको ठम्याइ छ । प्रक्रियागत त्रुटिका कारण असारमा बजेट खर्च भएको देखिने प्रवृत्तिलाई सुधार गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

“मङ्सिरतिर बल्ल बजेट कार्यान्वयन गर्ने हाम्रो प्रक्रिया नै ठिक छैन,” पाठकले भन्नुभयो, “यसलाई कम्तीमा भदौ, असोजमा कार्यान्वयनमा लैजान सकियो भने सुधार हुन जान्छ ।” ढिलो टेन्डर आह्वान, कार्यविधि निर्माणमा ढिलाइ जस्ता विभिन्न कारणले बजेट कार्यान्वयनमा ढिलाइ हुने गरेको जनाइएको छ । “वास्तवमा हाम्रो खर्च गर्ने क्षमता नै छैन,” पाठकले भन्नुभयो । सत्तारूढ दल नेकपा (एमाले) ले प्रदेश सरकारको चालु आवको बजेट प्रभावकारी रूपमा खर्च नभएको ठहर गरेको छ । धनगढीमा बसेको सो पार्टीको प्रदेश कमिटीको बैठकले बजेट खर्च प्रभावकारी नरहेको निष्कर्ष निकालेको हो । आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले काम पहिल्यै सम्पन्न भइसके पनि बाँकी धेरै जसो भुक्तानी असारमा हुने गरेकाले असारमा बजेट खर्च बढी हुने गरेको बताउनुभयो । गोरखापत्रसँग उहाँले भन्नुभयो, “काम भए पनि धेरै जसो भुक्तानी बाँकी रहने गर्दछ । बाँकी रहेका भुक्तानी असारमै हुने गरेकाले असारमा बजेट खर्च बढेको हो ।”

चालु आवमा पुँजीगत बजेट खर्च प्रगति ६० प्रतिशतसम्म पुग्ने मन्त्रीको विश्वास छ । उहाँले भन्नुभयो, “दुई दिनसम्म अझै भुक्तानी हुन्छ । तबसम्म पुँजीगत खर्च ६० प्रतिशत पुग्छ ।”

डोडा नदीमा नुहाउने क्रममा डुबेर १७ वर्षीय युवकको मृत्यु

घोडाघोडी (कैलाली), असार २२ गते । कैलालीमा नदीमा नुहाउने क्रममा एक युवको डुबेर मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका –३ का तुलादत्त भट्टको छोरा सुन्दरप्रसाद भट्टको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ ।

आइतबार दिउँसो साथीहरुसँग नजिकै रहेको डोडा नदीमा नुहाउन गएका १७ बर्षीय भट्टको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । प्रहरी र स्थानीयको सहयोगमा मृतकलाई नदीबाट निकालिएको थियो ।  पोष्टमार्टमका लागि लाश धनगढी पठाइएको छ ।

धनगढीमा थारु कलाकार मञ्चका सदस्यलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

धनगढी, कैलाली — राष्ट्रिय थारु कलाकार मञ्च केन्द्रीय समितिमा सुदूरपश्चिम प्रदेशबाट मनोनित भएका सदस्यहरूलाई स्वागत तथा बधाई कार्यक्रमका बीच धनगढीमा सम्मान गरिएको छ।

सदस्यहरुमा बालकृष्ण चौधरी, भानुप्रताप चौधरी, आर्यन चौधरी, र एमजे दहित केन्द्रीय समितिमा सुदूरपश्चिमबाट मनोनित भएपछि उनीहरूलाई सम्मान गर्न कार्यक्रमको आयोजना गरिएको थियोे
नव मनोनित सदस्यहरूलाई माला, खादा र सम्मानपत्र प्रदान गरी बधाई तथा शुभकामना दिइएको राष्ट्रिय थारु कलाकार मन्च सुदुर पश्चिमको सचीव स्वरूप चौधरीले जानकारी दिनु भयो

कार्यक्रमको आयोजना बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रा.लि. द्वारा गरिएको हो ।
कार्यक्रममा थारु कलाकार, समाजसेवी, युवा अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

निराजन परियार
चौमाला (कैलाली) असार २१ गते । 
कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको दर्बगोरिया गाउँपालिका–१ बौनिया र धनगढी उपमहानगरपालिका–७ मनेहराबाट उनीहरु पक्राउ परेका हुन् ।

बौनियाबाट २३ वर्षीय रोहित सुनार पाँच ग्राम तीन सय ४० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, सडकपुरको प्रहरी टोलीले सुनारलाई पक्राउ परेको हो ।

त्यस्तै, धनगढी मनहेराका २८ वर्षीय दाता रानालाई २४० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले रानालाई पक्राउ गरेको हो ।

सुदूरपश्चिममा मनसुनजन्य विपत् सुरु, तर योजना अधुरै — धनगढीमा डुबानपछि सर्पको आतंक

धनगढी, असार २० गते । सुदूरपश्चिम प्रदेशमा मनसुनजन्य विपत् सुरु भए पनि प्रदेश विपत् प्रतिकार्य योजना भने अझै बन्न सकेको छैन । आन्तरिक मामिला मन्त्रालयले विपत् प्रतिकार्य योजना बनाउन ढिलाइ गरेको हो । यस प्रदेशमा मनसुनजन्य विपत् सुरु भइसकेको छ । सोमबार मात्रै भीषण वर्षा हुँदा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको विभिन्न पालिका जलमग्न भएका थिए ।

मनसुनजन्य विपत्बाट जनताको जिउधनको रक्षा र आइपर्ने समस्या समाधानका लागि हरेक वर्ष प्रदेश विपत् प्रतिकार्य योजना अद्यावधिक गर्नु पर्दछ । यस वर्षका लागि विपत् प्रतिकार्य योजनाको सम्पूर्ण तयारीको काम पूरा भए पनि मन्त्रालयमा सचिव नहुँदा स्वीकृत गर्न बाँकी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताउनुभयो ।

उहाँका अनुसार मन्त्रालयले विपत् प्रतिकार्य योजनाको सम्पूर्ण काम पूरा गरिसकेको छ तर मन्त्रालयका सचिव बिरामी भई बिदामा बस्नु भएकाले कार्यकारी समितिमा पेस हुन सकेको छैन । “सचिवज्यू कामकाजमा फर्केलगत्तै हामीले यसलाई अगाडि बढाउँछौँ,” विष्टले भन्नुभयो, “अर्को हप्तासम्म प्रदेश विपत् प्रतिकार्य योजना अद्यावधिक हुन्छ ।”

तराई, पहाडी र हिमाली भूबनोट रहेको सुदूरपश्चिमले बर्सेनि मनसुनजन्य विपत्को सामना गर्दै आएको छ । यस प्रदेशको पहाडी क्षेत्रमा पहिरो, बाढी र तराईमा मुख्य गरी बाढी, डुबानबाट अत्यधिक मान्छे प्रभावित हुँदै आएका छन् । सरदरभन्दा बढी वर्षाको सम्भावनासमेत रहेको सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुनजन्य विपत्बाट दुई लाख २७ हजार ७३० जना प्रभावित हुने प्रक्षेपण गरिएको छ । यस वर्ष मनसुनजन्य विपत्बाट ५२ हजार ११२ घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको विष्टले बताउनुभयो ।

यसैबिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुनजन्य विपत्को समयमा उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई आग्रह गर्नुभएको छ । उहाँले उद्धार, राहतका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई यसअघि नै निर्देशन दिइसक्नभएको छ ।

डुबानपछि सर्पको बिगबिगी

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डुबानपछि सर्पको बिगबिगी बढेको छ । कुलानाला, तालतलैयामा पानी भरिएपछि गोमन, करेतलगायतका विषालु सर्प मान्छेको घरदैलोमा सलबलाउन थालेका छन् ।

डुबानपछि सर्प घरमा पस्न थालेको स्थानीय दीपेन्द्रबहादुर चौधरीले बताउनुभयो । उहाँले आफ्नो छिमेकीको घरमा पनि गोमन सर्प पसेको जनाउँदै बेलैमा नगर प्रहरीको सर्प उद्धार टोलीलाई बोलाएर सर्पलाई नगर प्रहरीको जिम्मा लगाएको जानकारी दिनुभयो ।

धनगढीमा सर्प सलबलाउन थालेपछि धनगढी उपमहानगरपालिकाको सर्प उद्धार गर्ने नगर प्रहरी टोलीको व्यस्तता बढेको छ । चौबिसै घण्टा सर्प उद्धारका लागि फोन आइरहेको नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीले बताउनुभयो । बुधबार एकै दिन मात्रै धनगढीको १८ घरबाट सर्पको उद्धार गरेर सुरक्षित स्थानमा छोडेको धामीले बताउनुभयो । धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले तालिम लिएर विगत दुई वर्षदेखि सर्प उद्धारको कार्य गर्दै आएको छ । सर्प उद्धारका लागि नगर प्रहरीको तीन वटा टोली परिचालन हुँदै आएको धामीले जानकारी दिनुभयो । धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले नगर क्षेत्रका स्थानीयको घरबाट असार १९ गतेसम्म दुई हजार ४० सर्पको उद्धार गरेको छ ।

कैलालीमा मानव–वन्यजन्तु द्वन्द्व रोक्न ‘मेस वायर’ जाली निर्माण

ईन्द्रा कुमारी केसी
घोडाघोडी– कैलालीमा वर्षौंदेखि चुनौतीका रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न ‘मेस वायर’ तारजाली निर्माण गरिएको छ। जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत पर्ने संवेदनशील कर्णाली जैविक मार्गका सामुदायिक वनमा तारजाली लगाइएको हो ।
वन तथा वातावरण मन्त्रालयद्वारा सञ्चालित एकीकृत भू–परिधि आयोजनाअन्तर्गत जानकी गाउँपालिका–६ मा रहेको कैलाशेश्वर सामुदायिक वनमा एक हजार ६५० मिटर, कर्णाली कोरिडोर सामुदायिक वनमा एक हजार मिटर र टीकापुर नगरपालिका–२ स्थित रानी कर्णाली सामुदायिक वनमा एक हजार १०० मिटर लामो तारबार निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
उनका अनुसार सामुदायिक वन र मानव बस्तीको सिमानामा पिसिसी (सिमेन्ट, कङ्क्रिट) को जगसहितको बलियो मेसवायर तारबार निर्माण गरिएको छ । यस कार्यले वन्यजन्तुलाई बस्ती पस्नबाट रोक्ने र स्थानीय बासिन्दाको बालीनाली, घरपालुवा पशु तथा मानवीय क्षतिसमेत न्यूनीकरण हुने विश्वास लिइएको छ ।
कँडेलले भने, ‘टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका कर्णाली जैविक मार्गका महत्वपूर्ण हिस्सा हुन्, जुन बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।’
उनका अनुसार निकुञ्जबाट पाटेबाघ, हात्ती, चितुवालगायतका ठूला र संरक्षित वन्यजन्तु आहारा र बासस्थानको खोजीमा यता आउने क्रम निरन्तर चलिरहन्छ।
उनले भने, ‘त्यसैले यो क्षेत्र द्वन्द्वको उच्च जोखिममा छ, यो तारबारले ठूला जनावरलाई मात्र नभई चित्तल, बँदेल, नीलगाईजस्ता साना जनावरले किसानको बालीनालीमा पुर्याजउने क्षतिलाई पनि रोक्न प्रभावकारी हुनेछ ।’
लामो समयदेखि यस क्षेत्रका बासिन्दा जंगली जनावरको मानव बस्तीमा प्रवेशका कारण पीडित थिए । कर्णाली जैविक मार्ग बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा यो क्षेत्र बाघ, चितुवा, हात्ती, बँदेल, नीलगाई, चित्तलजस्ता वन्यजन्तुको प्रमुख ओहोरदोहोर गर्ने बाटो हो । यी जनावर मध्यरातमा बस्ती पसेर किसानले दुःख गरेर लगाएको धान, गहुँ, मकैजस्ता बालीनाली सखाप पार्ने, गोठमा बाँधिएका बाख्रा, बङ्गुर तथा अन्य घरपालुवा पशुपन्छी मारेर खाने गर्थे । कहिलेकाहीँ मानिसमाथि नै आक्रमणका घटना भएका थिए, जसले गर्दा स्थानीय त्रासमा बाँच्न बाध्य थिए ।
तारबार निर्माणपछि भने स्थानीयमा ठूलो राहत मिलेको कैलाशेश्वर सामुदायिक वनका अध्यक्ष टेकबहादुर शाहीले बताए।
उनले भने, ‘पहिले हामी रातभर जाग्राम बसेर बाली कुर्न बाध्य थियौँ, जङ्गली जनावरले कतिबेला आएर क्षति पुर्यानउने हो भन्ने डर सधैँ रहन्थ्यो, अब यो बलियो तारबारले वन्यजन्तुलाई वन क्षेत्रमै सीमित राख्न मद्दत गर्नेछ ।
‘यसले हाम्रो बालीनाली र पशुधनको सुरक्षा मात्र होइन, मानव–वन्यजन्तुबीचको अप्रिय घटनालाई पनि न्यूनीकरण गर्नेछ,’ उनले भने।
सबडिभिजन वन कार्यालय, टीकापुरका वरिष्ठ वन अधिकृत दिलीप यादवले यो तारबार मानव-वन्यजन्तु सहअस्तित्व कायम गर्ने दिशामा एक महत्वपूर्ण कार्य भएको बताए। उनका अनुसार विगतमा वन र बस्तीबीच कुनै भौतिक अवरोध नहुँदा वन्यजन्तु तथा मानिसको जम्काभेट हुने सम्भावना उच्च थियो, जसले द्वन्द्व निम्त्याउँथ्यो ।
पिसिसीसहितको मेसवायर फेन्सिङले दुवै पक्षलाई आ–आफ्नो क्षेत्रमा सुरक्षित राख्छ । यसले एकातिर वन्यजन्तु आफ्नो प्राकृतिक बासस्थानमा निर्धक्क घुमफिर गर्न पाउँछन् भने अर्कोतिर स्थानीय समुदायको जीविकोपार्जन सुरक्षित हुन्छ ।
एकीकृत भू-परिधि व्यवस्थापन आयोजना कार्यान्वयन एकाइमा फिल्ड व्यवस्थापक प्रकाश थापाले आयोजनाको मूल उद्देश्य नै महत्वपूर्ण जैविक मार्गको संरक्षण गर्दै मानव र प्रकृतिको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताए।
‘हामीले कैलाली र बर्दियालाई जोड्ने कर्णाली जैविक मार्गलाई एउटा सिङ्गो भू–परिधिका रूपमा हेरेका छौँ,’ थापाले भने, ‘यो केवल तारबार निर्माणमा मात्र सीमित छैन खण्डित भएका वन क्षेत्रलाई जोड्न वृक्षरोपण र प्राकृतिक पुनः उत्पादनलाई सहयोग गर्ने (जैविक मार्ग पुनः स्थापना) पनि गरेका छौँ ।’
थापाका अनुसार परियोजनाले स्थानीय समुदायलाई वनमाथिको निर्भरता घटाउन व्यवस्थित पशुगोठ निर्माण, बेमौसमी तरकारीखेती र गैरकाष्ठ वन पैदावारमा आधारित उद्यमजस्ता वैकल्पिक आयआर्जनका कार्यक्रम सञ्चालन गरेको छ ।
‘सामुदायिक वन उपभोक्ता समूहको क्षमता अभिवृद्धि, वन्यजन्तु उद्धारसम्बन्धी तालिम र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीयस्तरमा सचेतना फैलाउनेजस्ता क्रियाकलाप पनि सँगसँगै अगाडि बढाइरहेका छौँ’, थापाले भने ।

 

सुनपाल सामुदायिक वनद्वारा २२ विपन्न युवा–युवतीलाई निःशुल्क ड्राइभिङ तालिम

घोडाघोडी (कैलाली),  असार १३ गते ।  कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२ जना विपन्न युवायुवतीलाई ४५ दिने निःशुल्क ड्राइभिङ तालिम प्रदान गरेको छ ।

समूहले आफ्नो वार्षिक कार्यक्रमअनुसार जीविकोपार्जनमा सघाउ पु¥याइ रोजगार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको हो ।

समूहका अध्यक्ष रामबहादुर कामीका अनुसार वन ऐन, २०७६ को प्रावधानबमोजिम यो कार्यक्रम आयोजना गरिएको हो । ऐनले सामुदायिक वनको आम्दानीको निश्चित हिस्सा वन संरक्षणबाहेक विपन्नमुखी तथा सामूहिक हितका कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअन्तर्गत तालिम दिइएको उहाँले बताउनुभयो ।

गत वैशाख १३ गते सुरु भई जेठ २६ गते सम्पन्न भएको उक्त ४५ दिने तालिम मनकामना ड्राइभिङ सेन्टर मसुरियाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको थियो । तालिममा सहभागीलाई आज एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको छ ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सवडिभिजन वन कार्यालय मसुरियाका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक विकासमा खेलेको भूमिका प्रेरणादायी रहेको बताउनुभयो । उहाँले यस्ता सकारात्मक कामको प्रचार गरी अन्य समूहलाई पनि प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष आशाराम चौधरीले यस्ता सीपमूलक तालिमले युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने बताउँदै आवश्यक सहयोगका लागि वडा र पालिकाबाट समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिमको प्रभावकारिता पनि उच्च देखिएको मनकामना ड्राइभिङ सेन्टरका व्यवस्थापक तथा प्रशिक्षक नैनबहादुर विष्टले बताउनुभयो । दुई सय २५ घण्टाको तालिम अवधिमा सहभागीले जिपरकार चलाउने सीपका साथै सैद्धान्तिक ज्ञान, ट्रायल अभ्यास र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको तयारी गरेका थिए ।

तालिमपछि १८ जनाले लाइसेन्सको लिखित परीक्षा दिएकामा १७ जना उतीर्ण भएका थिए । तीमध्ये पाँच जनाले प्रयोगात्मक परीक्षा (ट्रायल) समेत पास गरी लाइसेन्स प्राप्त गरिसकेका छन् भने बाँकी पनि लाइसेन्स लिने प्रक्रियामा छन् । सामुदायिक वनले ड्राइभिङका अतिरिक्त पलम्बिङ, सिलाइ कटाइ र ब्युटिसियनजस्ता अन्य सीपमूलक तालिम पनि सञ्चालन गरिरहेको छ । रासस

सरकारी उपचार सेवाबाट दिर्घरोगी लाभान्वित

ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), ८ असार/
कैलालीको घोडाघोडी नगरपालिकाका सरिता देवी चौधरीले एक वर्षअघि घाँटी दुख्न थालेपछि सामान्य औषधिले निको पार्न खोज्नुभयो । दुख्न थालेको एक वर्ष बितिसक्दा पनि उहाँले सोच्नुभएन कि यो साधारण रोग होइन भन्ने कुरा । सुरुमा सामान्य घाँटी दुखाइ जस्तो लागेर स्थानीय मेडिकलबाट औषधि खानुभयो । केही समय दुखाइ कम भयो । तर, फेरि पुरानै घाउ जस्तै पीडा सुरु भयो ।
दुखाइ यति बढ्न थाल्यो कि सामान्य काम गर्न पनि सकस हुन थाल्यो । कहिले घाँटी दुख्ने, कहिले कानसम्म सर्ने । बारम्बार समस्या दोहोरिएपछि उहाँ धनगढीको मायामेट्रो अस्पताल पुग्नुभयो । परीक्षण गर्दा चिकित्सकहरूले क्यान्सर भएको बताए ।
सरिता भन्नुहुन्छ, “एकछिन त विश्वास नै गर्न सकिनँ । घाँटी दुख्ने सामान्य कुरा हो भन्ने लाग्थ्यो । घरका सबैजना चिन्तित भए । पैसा छैन, कहाँ उपचार गर्ने ।”
२०८० भदौमा सरिता भरतपुर क्यान्सर अस्पताल पुग्नुभयो । त्यहाँ शल्यक्रिया भयो । अहिले पनि उहाँ नियमित औषधि सेवन गर्नुहुन्छ ।
उपचारको खर्च महँगो भएपछि सरितालाई थोरै भए पनि सहारा भएको छ नगरपालिकाले उपलब्ध गराउने मासिक पाँच हजार रुपैयाँको औषधि उपचार सहयोग ।
“पाँच हजारले केही रुपमा भएपछि राहत मिलेको छ । केहि औषधि त यसैबाट किनिन्छ,” उहाँले भन्नुभयो ।
सरीता जस्तै घाँटिको अर्को क्यान्सर पिडित हुनुहुन्छ घोडाघोडी नगरपालिका–१ का ५६ बर्षिय कुसुम देबि डगौरा । दुई वर्षअघि घाँटीमा गिर्खा देखिएपछि छोराले उहाँलाई धनगढीको निसर्ग अस्पताल लगेर शल्यक्रिया गराउनुभयो । पछि थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल रिफर गरियो ।
उहाँका छोरा अमन चौधरी भन्नुहुन्छ, “ अहिले पनि समय समयमा किमोथेरेपी गराउनुपर्छ । महँगो खर्च धान्न गाह्रो छ । मासिक पाँच हजारले औषधि किन्न भएपनि अलि राहत भएको छ।”
दीर्घरोगीमा अर्को चुनौती बोक्नुभएकि हुनुहुन्छ सिता मगर । घोडाघोडी १ कि सितालाई २०६९ मंसिरमा मिर्गौलामा समस्या भएको पत्ता लाग्यो । काठमाडौँको शिक्षण अस्पताल धाउँदै गर्दै २०८० पुस ४ गते किड्नी प्रत्यारोपण गर्नुप¥यो । श्रीमान्ले आफ्नै किड्नी दिएर जीवनदान गर्नु भयो ।
सिता भन्नुहुन्छ “श्रीमान्ले किड्नी दिनुभयो । आफन्तबाट ऋण लिएर उपचार गराएँ । अझै ऋण तिर्न बाँकी छ । मासिक पाँच हजारले औषधि किन्न केही राहत मिलेको छ । तर, महँगो औषधि अझै आफैं जोहो गर्नुपर्छ।”
सिता जस्तै अन्य मिर्गौला प्रत्यारोपण गरेका बिरामी पनि यही सहयोगमा निर्भर छन् ।

सरकारी योजनाले दिर्घरोगीलाई राहत
नेपाल सरकारले २०७८ सालमा ‘औषधि उपचार खर्च उपलब्ध गराउने कार्यविधि’ जारी गरेर मिर्गौला प्रत्यारोपण, डायलाइसिस, क्यान्सर तथा मेरुदण्ड÷पक्षाघातजस्ता दीर्घरोगीलाई लक्षित गरेको छ । यो सेवा कैलाली लगायतका बिभिन्न जिल्लाहरुमा छ ।
यो कार्यविधि अनुसार चिकित्सकको सिफारिस सहित वडा कार्यालयमा निवेदन दिनुपर्छ । स्वीकृत भएपछि मासिक पाँच हजार रुपैयाँका दरले रकम लाभग्राहीको बैंक खातामा त्रैमासिक रूपमा जम्मा गरिदिन्छ ।
तर, सरकारी तलब, पेन्सन वा अन्य सामाजिक सुरक्षा भत्ता पाउनेले यो सुविधा पाउँदैनन् । एउटै व्यक्तिले एउटै किसिमको सेवा मात्र लिन पाउने नियम छ ।

घोडाघोडीमा ९० जना दीर्घरोगी लाभान्वित
घोडाघोडी नगरपालिकाका अहिल ९० जना दीर्घरोगी बिरामी यो सेवाबाट लाभान्वित छन् । अघिल्लो आर्थिक बर्षमा ७१ जनाले सेवा लिएका थिए । घोडाघोडीमा २०७९ बाट यो सेवा लागुभएको हो । सुरुको आर्थिक बर्ष २०७९। ८० मा ५८ जनाले यो सुविधा लिईरहेका थिए ।
बिरामिहरुको संख्या बढ्दै जादा हाल घोडाघोडीबाट ९० जनाले उपचार सेवा लिईरहेका छन् । नगर स्वास्थ्य शाखाका प्रमुख कैलाश कुमार रावतका अनुसार ती लाभग्राहीमध्ये सबैभन्दा धेरै क्यान्सरका बिरामी रहेका छन् । हालको तथ्यांकअनुसार ७० जना क्यान्सर पीडित, १७ जना डायलाइसिस गराइरहेका मिर्गौला बिरामी र ३ जना मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी रहेका छन् ।
रावतका अनुसार दीर्घरोगीहरूको उपचार खर्च सामान्य परिवारका लागि ठूलो आर्थिक बोझ बन्ने भएकाले यो योजना गरीब र विपन्न समुदायका लागि केही रुपमा भएपनि राहतदायी छ ।
नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म मात्रै ३८ लाख ४० हजार रुपैयाँ लाभग्राहीलाई भुक्तानी गरिसकेको छ । यस्तै बैशाखदेखि असारसम्मको भुक्तानी दिने काम प्रक्रियामा रहेको प्रमुख रावतले जानकारी दिनुभयो ।
नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि यो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको थियो । अघिल्लो वर्ष मात्रै ५० लाख रुपैयाँभन्दा बढी रकम दीर्घरोगीहरूको उपचारका लागि भुत्तानी गरिएको थियो ।

बढ्दै क्यान्सरको जोखिम
घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रावतका अनुसार पछिल्लो समयमा क्यान्सरका बिरामी बढ्दै गईरहेका छन् । नगरपालिकामा दिर्घ रोगिको उपचार सेवा लिईरहेका ९० मध्य ७० जना क्यान्सर पिडित छन् ।
अघिल्लो आर्थिक बर्षमा ७१ जनाले सेवा लिईरहेका थिए । जसमा ५९ जना क्यान्सर बिरामी थिए । अहिले क्यान्सरका बिरामि बढेर ७० पुगेको रावतले जानकारी दिनुभयो । सेवा लिईरहेका कतीपयको मृत्य भईसकेको छ । उहाँका अनुसार बदलिँदो जीवनशैली र अस्वस्थ खानपानका कारण क्यान्सरको जोखिम बढ्दै गएको छ ।
उहाँ भन्नुहुन्छ, “तरकारी तथा फलफूलमा विषादीको अत्यधिक प्रयोग, बजारमा सजिलै पाइने प्रशोधित (प्रोसेस्ड) खाना, चिल्लो, मसलादार तथा फास्टफूडको बढ्दो प्रयोगले क्यान्सरजस्ता रोग निम्त्याइरहेको छ ।
रावतका अनुसार नगरपालिकाको तथ्यांक हेर्दा चालुआर्थिक बर्षको बैशाखदेखि असार महिनासम्म भुक्तानी वितरण भइरहँदा समेत क्यान्सरका नयाँ बिरामी थपिने अनुमान गरिएको छ । यसले क्यान्सर नियन्त्रणका लागि आम नागरिकमा सचेतना अभिवृद्धि र नियमित स्वास्थ्य परीक्षणको आवश्यकता झनै देखिएको उहाँको भनाइ छ ।

औषधि खर्च राहत तर उपचार अझै महँगो
नगरपालिकाबाट पाइने मासिक पाँच हजार रुपैयाँले औषधि किन्ने काममा सहयोग भए पनि दीर्घरोगीका लागि आवश्यक उपचार खर्चको तुलनामा यो रकम थोरै मात्र हो । क्यान्सरको शल्यक्रिया, किमोथेरेपी, रेडिएसन जस्ता उपचार महँगो भएकाले थुप्रै बिरामी अझै ऋणमा डुबिरहेका छन् भने कतीले ज्यान गुमाईरहेका छन् ।
सरिता देवी भन्नुहुन्छ “शल्यक्रिया मात्रै होइन, किमोथेरेपी र अन्य औषधि पनि कति महँगो छ! मासिक पाँच हजारले के नै पुग्छ र । तर, सरकारले दिएको सहयोग नभएको भए सायद औषधि किन्न पनि गाह्रो हुन्थ्यो होला ।”
सिता मगर पनि भन्नुहुन्छ, “मिर्गौला प्रत्यारोपणपछि जीवनभर औषधि खाईरहनुपर्छ । औषधि महँगो छ, अझै ऋण तिर्नुपर्छ । पाँच हजारले केही राहत भने पुगेको छ ।”
उपचार खर्च रकम अझै बढाईदिए हामी जस्ता विपन्न परिवारलाई सहज हुने थियो मगरले भन्नुभयो ।

 

नेपाल ऐडभेन्चर रनिङ महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटी गठन, अध्यक्षमा तपेन्द्र रावल

 

घोडाघोडी (कैलाली),८ असार/
नेपाल ऐडभेन्चर रनिङ महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा तपेन्द्र रावल चयन हुनु भएको छ । नेपाल ऐडभेन्चर रनिङ महासङ्घका केन्द्रीय अध्यक्ष एकेन्द्र कुँवरको अध्यक्षतामा कैलालीको धनगढीमा बसेको भेलाले तपेन्द्र रावलको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा तखत कुँवर र शैलेन्द्र जङ्ग कुँवर, सचिव ईन्द्रा केसी, लोक विक्रम सामन्त चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा जनक कडायत, तेजु रोकाया, मनोज रेग्मी, दिल बहादुर रोकाया, राजेन्द्र रावल चयन भएका छन् ।
चयन भएका सम्पूर्णलाई बधाई दिँदै केन्द्रीय अध्यक्ष कुँवरले नेपाल ऐडभेन्चर रनिङ महासङ्घको मुख्य उद्देश्य नेपालको प्राकृतिक र पहाडी भूगोललाई उपयोग गर्दै ट्रेल रनिङ, अल्ट्रा रनिङ र स्काई रनिङ जस्ता साहसिक दौड खेललाई व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बनाउँदै खेलाडी उत्पादन, तालिम, प्रतियोगिता आयोजना तथा पर्यटन प्रवद्र्धन गर्नु रहेको बताउनु भयो ।
उहाँले आउँदो आर्थिक वर्षमा सुदूरपश्चिमको खप्तड रामारोसन अन्तर्राष्ट्रिय अल्ट्रा रनिङ प्रतियोगिताको समेत आयोजना गरिने बताउनुभयो ।