भीमदत्त नगरपालिकाले मात्रै इन्धनमा खर्चियो २ करोड ८७ लाख

बेलौरी (कञ्चनपुर), असार ५  गते । कञ्चनपुरका स्थानीय तहले मनोमानी ढङ्गले बर्सेनि लाखौँ रुपियाँ इन्धन शीर्षकमा खर्च गर्ने गरेका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदनले यहाँका आठ स्थानीय तहले मितव्ययिता कायम नगरी सात करोड १६ लाख ९८ हजार रुपियाँ इन्धन शीर्षकमा खर्च गरेको जनाएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार यहाँका स्थानीय तहले सवारीसाधन मर्मतका लागि छुट्टै मर्मत केन्द्र सञ्चालन नगर्दा तथा लागत अनुमान स्वीकृत नगराई मर्मतमा सोझै रकम भुक्तानी गरिँदा फजुल खर्च बढेको पनि जनाएको छ ।

जिल्ला सदरमुकामस्थित भीमदत्त नगरपालिकाले भने आव २०८१/८२ मा इन्धन शीर्षकमा अत्यधिक खर्च गरेको छ । सो पालिकाले इन्धन खर्चमा मात्रै दुई करोड ८७ लाख ८६ हजार १६५ रुपियाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । करिब तीन सय कर्मचारी रहेका भीमदत्त नगरपालिकाले अर्थ मन्त्रालयबाट जारी निर्देशिका अनुसार प्रतिकर्मचारीलाई मासिक १० लिटरसम्म इन्धन उपलब्ध गराउन सकिने व्यवस्था छ तर पदाधिकारी, कर्मचारी तथा सार्वजनिक निर्माणमा खपत भएको इन्धन उपयोगको विवरण खुल्ने अद्यावधिक अभिलेख भने राखेको छैन । यसका साथै नगरपालिकाले प्रतिस्पर्धा कायम नगरीकनै सो आवमा सवारी मर्मत शीर्षकमा ३५ लाख ५२ रुपियाँ भुक्तानीसमेत गरेको छ ।

वेदकोट नगरपालिकाले आव २०८१/८२ मा इन्धन शीर्षकमा ६७ लाख ५६ हजार ९८८ रुपियाँ खर्च गरेको छ तर सवारीसाधन प्रयोग गर्ने पदाधिकारीले प्रयोग गरेको इन्धनको अभिलेख र सवारीसाधनले खपत गर्ने इन्धनको मापदण्ड तयार नगरिँदा इन्धन खर्चको वस्तुगत परीक्षण गर्न सकिने अवस्था नरहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । दोधारा चाँदनी नगरपालिकाले कार्यालय प्रयोजनमा ४३ लाख ५२ हजार ६२९ रुपियाँ, (इन्धन) पदाधिकारीमा २० लाख र इन्धन अन्य प्रयोजनमा दुई लाख गरी ६५ लाख ५२ हजार ६२९ रुपियाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यहाँ पनि इन्धन उपयोगको विवरण खुल्ने गरेर अद्यावधिक अभिलेख भने राखेको नपाइएको महालेखाले औँल्याएको छ । इन्धन खर्चको अभिलेखाङ्कनलाई व्यवस्थित बनाउनुका साथै खर्चमा मितव्ययिता अपनाउन महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । सो पालिकाले पनि मर्मत केन्द्र स्थापनाबिनै विभिन्न मर्मत केन्द्रलाई सवारी मर्मतमा सोझै ३४ लाख ९८ हजार ९८९ रुपियाँ भुक्तानी गरेको पाइएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

लालझाडी गाउँपालिकाले आव २०८१/८२ मा इन्धन (पदाधिकारी) मा १२ लाख ६६ हजार १८ रुपियाँ र अन्य प्रयोजनमा २४ लाख छ हजार ६२२ गरी ३७ लाख ७२ हजार ६४० रुपियाँ खर्चेको छ तर गाउँपालिकाले भने पदाधिकारी, कर्मचारी तथा सार्वजनिक निर्माणमा खपत भएको इन्धन उपयोगको विवरण खुल्ने अद्यावधिक अभिलेखसमेत नराखेको पाइएको प्रतिवेदनमा उल्लेख छ । महालेखा प्रतिवेदनले इन्धन खर्चलाई सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी इन्धन खर्चको अभिलेखाङ्कनलाई व्यवस्थित बनाउँदै यस्ता खर्चमा मितव्ययिता अपनाउन सुझाव दिएको छ ।

बेलडाँडी गाउँपालिकाले कर्मचारी प्रोत्साहन भत्ता इन्धन शीर्षकमा २४ लाख ९० हजार ३९२ रुपियाँ खर्चिएको छ । त्यसै गरी इन्धन कार्यालय प्रयोजनमा २२ लाख, अन्य इन्धन शीर्षकमा एक लाख १० हजार गरेर ४८ लाख ३९२ रुपियाँ खर्च गरेको छ । कृष्णपुर नगरपालिकाले कार्यालय प्रयोजनमा ५६ लाख २३ हजार ८८० रुपियाँ तथा इन्धन अन्य प्रयोजनमा ३५ लाख १५ हजार ६६८ रुपियाँ गरी ९१ लाख ३९ हजार ५४८ रुपियाँ इन्धन शीर्षकमा खर्च गरेको छ । कृष्णपुरले प्रतिस्पर्धाबिनै सवारी मर्मतमा ६९ लाख ३१ हजार ६१० रुपियाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । बेलौरी नगरपालिकाले आव २०८१र८२ मा इन्धन शीर्षकमा ५० लाख रुपियाँ खर्च गरेको छ ।

फोहरबाट रोजगारी र आम्दानी

इन्द्रा कुमारी केसी

घोडाघोडी (कैलाली),२ असार

कैलालीको गोदावरी नगरपालिका–४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ । आठ वर्षसम्म नगरपालिकामार्फत फोहर व्यवस्थापन गर्दै आउनुभएका उहाँ अघिल्लो साउनदेखि गोदावरी नगरपालिकामा रहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रमा कार्यरत हुनुहुन्छ ।

चौधरी अहिले फोहर छुट्याउने र व्यवस्थापन गर्ने काम गर्दै मासिक करिब रु १७ हजार आम्दानी गरिरहनुभएको छ । उहाँका अनुसार यस कामले रोजगारीको अवसर दिएको भए पनि फोहरसँगको प्रत्यक्ष सम्पर्क, दुर्गन्ध र स्वास्थ्य जोखिम भने निरन्तर चुनौतीका रूपमा रहेका छन् ।

गोदावरी नगरपालिका–१० की प्रियङ्का जोराइला पनि विगत चार महिनादेखि सोही केन्द्रमा फोहर छुट्याउने र व्यवस्थापन गर्ने काम गर्दै आउनुभएको छ । पहिले कपडा पसलमा काम गर्ने उहाँ अहिले मासिक करिब रु १६ हजार आम्दानी गरिरहनुभएको छ । उहाँहरू जस्तै उक्त फोहर व्यवस्थापन केन्द्रमा करिब एक सय जनाले रोजगारी पाउनुभएको छ ।

गोदावरीमामात्रै होइन, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा समेत फोहर व्यवस्थापनका माध्यमबाट स्थानीयले रोजगारी पाउँदै आएका छन् । यसरी सुदूरपश्चिमका स्थानीय तहहरूमा फोहर व्यवस्थापन अब केवल सरसफाइको काममात्र नभई रोजगारी र जीविकोपार्जनसँग पनि जोडिन थालेको छ । स्थानीयस्तरमै सृजना भएको यो रोजगारीले फोहरलाई समस्या होइन, अवसरका रूपमा उपयोग गर्न सकिने सम्भावनालाई थप स्पष्ट पारेको छ ।

यही अभ्यासलाई अझ संस्थागत र प्रभावकारी बनाउन सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहले वैज्ञानिक व्यवस्थापन, पर्याप्त लगानी र निजी क्षेत्रको सक्रिय सहभागितासहित फोहरलाई वातावरणीय जोखिमबाट आर्थिक अवसरमा रूपान्तरण गर्ने प्रयास अघि बढाएका छन् ।

कैलालीको गोदावरी नगरपालिकामा सञ्चालित एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र यसैको उदाहरण हो । चौकीडाँडा महिला सामुदायिक वन क्षेत्रमा करिब रु एक अर्ब लागतमा निर्माण गरिएको यस केन्द्रमा फोहर छुट्याउने, प्रशोधन गर्ने र पुनः प्रयोग गर्ने प्रणाली सञ्चालनमा छ । यसले वातावरणीय प्रदूषण न्यूनीकरणसँगै दिगो फोहर व्यवस्थापनको आधार तयार गरेको छ ।

नगर प्रमुख वीरेन्द्र भट्टका अनुसार स्रोतमै फोहर वर्गीकरण गर्ने अभ्यासले व्यवस्थापनलाई सहज बनाएको छ भने नगरपालिकाले यसबाट राजस्वसमेत प्राप्त गर्न थालेको छ । यस केन्द्रको सञ्चालनमा निजी क्षेत्रको सहभागिता पनि उल्लेखनीय छ । स्वच्छ वातावरण प्रालिले फोहर व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको छ । कम्पनीका सञ्चालक गोविन्द रावलका अनुसार सङ्कलित फोहरमध्ये करिब ७० प्रतिशत पुनः प्रयोगयोग्य सामग्रीका रूपमा व्यवस्थापन गरिन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिन्छ भने अन्य सामग्री पुनः प्रयोगका लागि पठाइन्छ । यसरी फोहरलाई सही ढङ्गले व्यवस्थापन गर्न सकिएमा यो समस्या होइन, अवसर बन्न सक्ने उहाँ बताउनुहुन्छ ।

कम्पनीले वार्षिक रूपमा नगरपालिकालाई राजस्व बुझाउने गरेको छ । कम्पनीको मासिक आम्दानी करिब रु २६ लाखसम्म पुग्छ । आम्दानी र खर्च बराबरजस्तै भए पनि कम्पनीले एक सय व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको रावल बताउनुहुन्छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमार्फत यस्तै अभ्यास अघि बढाइएको छ । केन्द्र निर्माण हुनुअघि जङ्गल क्षेत्रमा फोहर व्यवस्थापन गरिँदै आएकामा एक वर्षअघि केन्द्र सञ्चालनमा आएपछि व्यवस्थापन कार्य सहज भएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले बताउनुभयो ।

दैनिक करिब छ टन फोहर सङ्कलन हुने अनुमानका आधारमा २० वर्षसम्म व्यवस्थापन गर्न सकिनेगरी केन्द्र निर्माण गरिएको भए पनि हाल दैनिक करिब तीन टनमात्र फोहर सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । यस अवस्थालाई हेर्दा केन्द्रको आयु ४० वर्षसम्म पुग्न सक्ने नगरप्रमुख महराको भनाइ छ ।

उहाँका अनुसार केन्द्र सञ्चालनपछि ट्याक्टर चलाउनेदेखि फोहर छुट्याउनेसम्मका काममा स्थानीयवासी नै संलग्न रहेका छन्, जसले रोजगारीको अवसर पनि सृजना गरेको छ । धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा यस्ता संरचना निर्माण भएका छन् । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत यी परियोजना अघि बढाइएका हुन् ।

यता कैलालीको धनगढी उपमहानगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइसकेको भए पनि सञ्चालनमा आउन बाँकी छ । तर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि विगतका वर्षहरूबाट नै निजी कम्पनीमार्फत ठेक्का लगाई आम्दानी गरिरहेको छ । उपमहानगरपालिकाले नकुहिने फोहरबाट आयआर्जन तथा कुहिने फोहरबाट मल बनाउने उद्देश्यका साथ २०८० साउनमा रु ३१ लाख ५५ हजार लगानीमा सुक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएको थियो ।

उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त केन्द्रलाई निजी कम्पनीमार्फत ठेक्का लगाई फोहर बिक्री गर्दै आएको उपमहानगरपालिकाको वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थी बताउनुहुन्छ । धनगढीको नन्दादेवी सेवा केन्द्रलाई आव २०८१÷८२ मा रु ७२ लाखमा पाँच वर्षका लागि ठेक्का दिइएको छ । ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि गर्नेगरी ठेक्का सम्झौता गरेको अवस्थीले बताउनुभयो ।

यी अभ्यासहरूले फोहर व्यवस्थापनलाई केवल सरसफाइको विषयमा सीमित नराखी वातावरण संरक्षण र आर्थिक अवसरसँग जोड्न सकिन्छ । तर संवेदनशील वन क्षेत्रमा अझै पनि फोहर थुपारिने अभ्यास जारी रहनु चुनौतीपूर्ण देखिएको छ । फोहर व्यवस्थापनको समस्या केवल स्रोतको अभाव होइन, नीति कार्यान्वयन र दीर्घकालीन व्यवस्थापन दृष्टिकोणसँग पनि जोडिएको छ ।

कैलालीमा वन अतिक्रमण हटाइयो, ४७ संरचना भत्काइए

घोडाघोडी(कैलाली), ३० जेठ/
कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियान अन्तर्गत शुक्रवार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ । करिब ३५ हेक्टर वन क्षेत्रमा बनाइएका संरचनाहरू भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जिवक्ष यादवको नेतृत्वमा खटिएको टोलीले जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत भिमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर, टहरा र अन्य संरचनाहरू भत्काइएको हो ।
भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपासका वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका संरचनाहरू हटाइएको र वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाइएको उहाँले बताउनुभयो । वन क्षेत्रको संरक्षण, सिमाङ्कन कार्यलाई प्रभावकारी बनाउने तथा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो, ठाकुरले भन्नुभयो ।
अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय कैलालीका १० वटै सव–डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली गरी २ सय जनाको हाराहारीमा जनशक्ति परिचालन गरिएको थियो ।


यसअघि पनि अत्तरिया आसपासका क्षेत्र तथा डिभिजन वन कार्यालय कैलाली अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्ग छेउमा बनाइएका संरचनाहरू हटाइएको थियो ।
वन क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएका कच्ची घर, टहरा तथा अन्य संरचनाहरूले वन संरक्षण र जैविक विविधतामा नकारात्मक असर पार्दै आएको भन्दै अतिक्रमण हटाउनु आवश्यक रहेको ठाकुर बताउनुहुन्छ ।
डिभिजन वन कार्यालय कैलालीले वन क्षेत्रको दीर्घकालीन संरक्षणका लागि नियमित अनुगमनसँगै अतिक्रमण पुनः नदोहोरियोस् भन्ने उद्देश्यले निगरानी थप कडा बनाइएको जनाएको छ ।
कैलाली वन अतिक्रमणको दृष्टिकोणले देशकै सबैभन्दा संवेदनशील जिल्लामध्ये एक मानिन्छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार देशभर अतिक्रमणमा परेको करिब एक लाख चार हजार हेक्टर वन क्षेत्रमध्ये ३८ प्रतिशतभन्दा बढी हिस्सा कैलालीमा मात्र रहेको छ, जुन करिब ३८ हजार ४० हेक्टर हुन आउँछ।
यद्यपि पछिल्ला वर्षहरूमा कैलालीका डिभिजन वन कार्यालयहरूले अतिक्रमण नियन्त्रण तथा हटाउने कार्यमा सक्रियता बढाउँदै आएका छन्।

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, नीति तथा कार्यक्रममाथि छलफल हुने

धनगढी, जेठ २६ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज अपरान्ह ४ बजे सभाको बैठक बोलाइएको जनाएको छ ।

बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८३ वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

सामाजिक विकासमन्त्री बेलबहादुर रानामगरले उक्त प्रस्ताव पेस गर्नुहुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

बाँदर आतङ्कले बैतडीका खेतबारी बाँझिँदै, किसान खेती छाड्न बाध्य

वासुलिङ, बैतडी, जेठ २१ गते । एक समय हरियालीले ढाकिने बैतडीका गाउँ–बस्तीका खेतबारी यतिबेला बाँझिँदै जान थालेका छन् । बिहानदेखि साँझसम्म हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानले खेतीपाती नै छाड्न थालेका हुन् ।

वर्षभरि दुःख गरेर लगाएको बाली पाक्न नपाउँदै नष्ट हुन थालेपछि कृषिप्रति किसानको आकर्षण घट्दै गएको छ । जिल्लाका अधिकांश गाउँमा बाँदर आतङ्क बढेसँगै खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको स्थानीय बताउँछन् । बाली रोपेदेखि भित्र्याउने समयसम्म बाँदरले क्षति पुर्‍याउन थालेपछि खेती गर्न नै निरुत्साहित भएको दशरथचन्द नगरपालिका–४ का दिलाराम भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सदरमुकाम गोठालापानी नजिकका गाउँमा केही वर्षअघिसम्म फलफूल, तरकारी र अन्नबालीले भरिने खेतबारी अहिले बाँझिन थालेका छन् । बाली लगाउँदा पनि बाँदरले नष्ट गर्छ, पाकेपछि पनि जोगाउन सकिँदैन ।”

पाटन नगरपालिका–३ की निर्मला भट्टका अनुसार बाँदर आतङ्कले गाउँको स्वरूप नै फेरिएको छ । पहिला हरियालीले भरिएका खेतबारी अहिले बाँझो देखिन थालेका छन्, उहाँले भन्नुभयो । उहाँका अनुसार १८ रोपनी खेतमध्ये अधिकांश जमिन प्रयोगविहीन बनेको छ । “एक सिजनमा पाँच–छ लटसम्म मकै फल्ने खेतमा चार वर्षदेखि मकै लगाउन छाडेकी छु,” उहाँले सुनाउनुभयो ।

स्थानीयका अनुसार बाँदरले अन्न उम्रिन थालेदेखि नै खेतमा पसेर बोट उखेल्ने, बाला च्यात्ने र पाकेका फलफूल नष्ट गर्ने गर्छन् । खान नसके पनि बाली तहसनहस पार्ने प्रवृत्तिका कारण किसान थप पीडित बनेका छन् । घर नजिकका बारीमा लगाइएका बाली जोगाउन परिवारका सदस्य पालैपालो कुरुवा बस्नुपर्ने अवस्था छ ।

सुर्नया गाउँपालिका–३ का नरेन्द्र धामीले खेती गरेर उत्पादनभन्दा क्षति बढी हुन थालेपछि धेरै किसानले खेत बाँझै छाडेको बताउनुभयो । मकै, कोदो, धान मात्रै होइन, लसुन, प्याज, आरु, घिरौँला, चिचिन्डालगायतका बाली पनि बाँदरले सखाप पार्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार पाँच रोपनी जमिन पनि अहिले बाँझो छ ।

दोगडाकेदार, शिवनाथ, सूर्नया, पञ्चेश्वर, मेलौली, पाटन, दशरथचन्द लगायतका स्थानीय तहमा बाँदर आतङ्कका कारण खेतीयोग्य जमिन प्रयोगविहीन बन्दै गएको छ । खेतीपाती गर्न नसकेर करिब एक हजार दुई सय घरधुरीले गाउँ नै छोडिसकेको स्थानीयले बताएका छन् ।

बाँदरले नोक्सान नगर्ने बालीको खोजीमा किसान लागेका मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । मकै, कोदो, तरकारीलगायतका बाली जोगाउन नसकिएपछि पछिल्लो समय धेरै किसान हल्दो खेतीतर्फ आकर्षित भएका छन्, उहाँले भन्नुभयो ।

बाँदरले बालीनाली मात्र होइन, मानिसमाथि पनि आक्रमण गर्न थालेका छन् । खेतबारीबाट लखेट्न जाँदा कतिपयलाई टोक्ने गरेको स्थानीय बताउँछन् । केही स्थानमा घरभित्र राखिएको मकैसमेत बाँदरले झिकेर लैजाने गरेको दशरथचन्द नगरपालिका निवासी बहादुर भट्टले बताउनुभयो ।

केही वर्षअघिसम्म फाट्टफुट्ट देखिने बाँदर पछिल्लो समय ठूलो समूहमा देखिन थालेका स्थानीयले बताएका छन् । वन क्षेत्र विस्तार, गाउँबाट बसाइँसराइ र खाद्यान्नको खोजीमा बस्ती नजिक झर्ने क्रम बढेसँगै समस्या जटिल बन्दै गएको सरोकारवालाको भनाइ छ ।

बाँदर आतङ्कका कारण कृषि उत्पादन घट्दै जानुका साथै गाउँको अर्थतन्त्र र खाद्य सुरक्षामा समेत असर पर्न थालेको छ । स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन माग गरे पनि हालसम्म ठोस कार्यक्रम लागू हुन सकेको छैन ।

विभिन्न वडाबाट समस्यासम्बन्धी गुनासा निरन्तर आइरहेकाले समाधानका उपाय खोज्ने विषयमा छलफल भइरहेको जनप्रतिनिधिहरू बताउँछन् । हरियालीले ढाकिने बैतडीका फाँटहरू बाँदर आतङ्कका कारण क्रमशः उजाडिँदै जानु जिल्लाको कृषि क्षेत्रका लागि चिन्ताको विषय बनेको छ ।

सामुदायिक वनः संरक्षणसँगै समुदायको आर्थिक–सामाजिक विकासको आधार

इन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली) , १८ जेठ

एक समय सरकारी संयन्त्रको नियन्त्रणमा सीमित नेपालको वन क्षेत्र अहिले समुदायको सक्रिय सहभागितामार्फत संरक्षण र व्यवस्थापनको सफल नमूनाका रूपमा स्थापित भएको छ ।

करिब चार दशकअघि सुरु भएको सामुदायिक वन कार्यक्रमले वन संरक्षणमा मात्र होइन, स्थानीय समुदायको आर्थिक तथा सामाजिक रूपान्तरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको छ ।

विसं २०३० को दशकअघि देशका अधिकांश वन क्षेत्र सरकारी निकायबाट व्यवस्थापन गरिन्थे । विसं २०१३ मा सरकारले निजी वनहरू राष्ट्रियकरण गरेपछि वनप्रति स्थानीय समुदायको अपनत्वको भावना कमजोर बन्दै गयो र वन विनासको क्रम तीव्र हुन थाल्यो । यही अवस्थालाई रोक्न २०३० सालमा सिन्धुपाल्चोकको तत्कालीन ठोकर्पा गाउँ पञ्चायत क्षेत्रमा १०३ सदस्यीय वनजङ्गल संरक्षण, संवर्द्धन तथा विकास समिति गठन गरी वन संरक्षणको जिम्मेवारी समुदायलाई दिएपछि वन व्यवस्थापनमा जनसहभागिताको अवधारणा सुरु भयो ।
यसै क्रममा २०३३ सालको राष्ट्रिय वन योजनाले जनसहभागितामा आधारित वन विकास कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गर्यो । सोही नीतिअनुसार पञ्चायती वन तथा पञ्चायत संरक्षित वनको व्यवस्थापनमा स्थानीयको सहभागिता सुनिश्चित गरियो ।
विसं २०४६ मा प्रजातन्त्रको पुनःबहालीसँगै वन क्षेत्रका लागि लागू गरिएको २१ वर्षीय वन विकास गुरुयोजनाले सामुदायिक वनलाई प्रमुख कार्यक्रमका रूपमा अघि सारेको थियो । त्यसपछि २०४७ सालमा मन्त्रिपरिषद्को निर्णयबाट तत्कालीन पञ्चायती वन र पञ्चायत संरक्षित वनलाई सामुदायिक वनका रूपमा नामकरण गरियो । गुरुयोजनाका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन गर्न वन ऐन, २०४९ र वन नियमावली, २०५१ तर्जुमा गरी लागू गरिएसँगै वन व्यवस्थापनमा जनसहभागिताको अवधारणाले कानुनी मान्यता प्राप्त गर्यो ।
कानुनी तथा नीतिगत व्यवस्थापछि देशभर सामुदायिक वन हस्तान्तरण कार्यक्रमले व्यापकता पायो । सामुदायिक वन कार्यक्रमलाई थप सुदृढ र निरन्तरता दिन वन नीति, २०५७, २०७१ र राष्ट्रिय वन नीति, २०७५ लागू गरिए । हाल वन ऐन, २०७६ र वन नियमावली, २०७९ ले समेत सामुदायिक वन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण तथा समुदायको आर्थिक सशक्तीकरणलाई जोड दिएका छन् ।
सामुदायिक वनको यही अवधारणाले देशका विभिन्न जिल्लामा वन संरक्षणसँगै स्थानीय समुदायको जीवनस्तर सुधारमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको छ । यसको प्रभाव कैलालीका विभिन्न सामुदायिक वन उपभोक्ता समूहमा पनि देख्न सकिन्छ, जहाँ वन संरक्षणसँगै आर्थिक तथा सामाजिक विकासका गतिविधि अघि बढाइएका छन् ।
कैलालीको वसन्ता क्षेत्रका बासिन्दाका लागि वन केवल प्राकृतिक सम्पदामात्र नभई दैनिकी र जीविकोपार्जनको आधार बनेको छ । स्थानीय समुदायले वन संरक्षण, व्यवस्थापन तथा वन पैदावारको दिगो उपयोगलाई प्राथमिकतामा राख्दै विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् ।

वसन्ता वन संरक्षण क्षेत्र कार्यक्रमअन्तर्गत ग्रामीण सहजकर्ताका रूपमा सक्रिय थारू साहित्यकार तथा गायक मनिराम चौधरीले स्थानीय भाषा, गीत, कविता र गजलमार्फत संरक्षणको सन्देश फैलाउँदै आउनुभएको छ । उहाँजस्ता स्रष्टाको सांस्कृतिक अभियानले समुदायमा संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

गौरीगङ्गा नगरपालिका–११ स्थित गणेशबाबा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष फुलराम चौधरीले सामुदायिक वनको व्यवस्थापन विधिसम्मत ढङ्गले सञ्चालन हुँदै आएको बताउनुभयो । “सामुदायिक वनको स्वीकृत कार्ययोजनाअनुसार प्रत्येक वर्ष साधारणसभाबाट वार्षिक योजना तयार गरिन्छ र सोही योजनाअनुसार संरक्षण तथा व्यवस्थापनका गतिविधि सञ्चालन गरिन्छन्”, उहाँले बताउनुभयो । उहाँका अनुसार उपभोक्ताको सक्रिय सहभागिताले वन संरक्षणलाई थप प्रभावकारी बनाएको छ ।

कैलारी गाउँपालिका–२ स्थित गौरीगणेश सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मसराम चौधरी सामुदायिक वन स्थापनापछि समुदायमा संरक्षणप्रतिको जिम्मेवारी बढेको बताउनुहुन्छ । वन संरक्षण र संवर्द्धन गर्दै भावी पुस्ताका लागि वन जोगाउने साझा लक्ष्यका साथ उपभोक्ता एकजुट भएको उहाँले बताउनुभयो ।

सामुदायिक वनले वातावरणीय सन्तुलन कायम राख्नुका साथै स्थानीय बासिन्दाको आर्थिक अवस्थामासमेत सकारात्मक प्रभाव पारेको छ । गौरीगङ्गा नगरपालिका–१० स्थित सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदमबहादुर ऐरका अनुसार वन पैदावार बिक्रीबाट प्राप्त आम्दानी समुदायको हितमा खर्च हुँदै आएको छ । “वनबाट प्राप्त आम्दानीले गरिबी न्यूनीकरण, सामाजिक विकास र पूर्वाधार निर्माणमा सहयोग पुर्याइरहेको छ”, उहाँले बताउनुभयो ।

पछिल्ला वर्षहरूमा सामुदायिक वन व्यवस्थापनमा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको छ । निर्णय प्रक्रियादेखि संरक्षणका गतिविधिसम्म महिलाहरू सक्रिय रूपमा संलग्न हुन थालेका छन् । गौरीगङ्गा–१० स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहकी कोषाध्यक्ष शान्ती बोहराले वन संरक्षणमा सबै समुदायको सहभागिता आवश्यक रहेको बताउनुभयो ।

“महिला, दलित तथा पिछडिएका वर्गको सक्रिय सहभागिताले वन व्यवस्थापनलाई अझ समावेशी र प्रभावकारी बनाएको छ”, उहाँले बताउनुभयो । उहाँका अनुसार सामुदायिक वनले स्थानीयस्तरमा रोजगारी सृजना गर्न पनि सहयोग पुर्याएको छ । सामुदायिक वन व्यवस्थापनमा केही चुनौती अझै कायम छन् । वन अतिक्रमण, वन पैदावारको चोरी निकासी तथा अवैध दोहनजस्ता समस्या समाधानका लागि थप प्रयास आवश्यक रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ऐरले बताउनुभयो ।

सामुदायिक वन समन्वय समिति मसुरिया, कैलालीका अध्यक्ष ओमप्रकाश सापकोटाले समुदायको क्षमता विकास, सहकार्य र समन्वयमार्फत कार्यक्रमलाई थप सुदृढ बनाउने प्रयास भइरहेको बताउनुभयो । “हामी विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै समुदायलाई आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

थारू समुदायको भलमनसा प्रथालाई कानुनी मान्यता दिने तयारी, सुदूरपश्चिममा बडघर/भलमनसा ऐन बन्दै

धनगढी, जेठ १३ गते । थारू समुदायमा प्रचलित भलमनसा प्रथासम्बन्धी कानुनी व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकारले बडघर/भलमनसा ऐन निर्माण गर्न थालेको छ । सरकारले बडघर र भलमनसा प्रथाको संरक्षण, प्रवर्धन एवं विकास गर्ने उद्देश्यले यो ऐन बनाउन लागेको हो । ऐन निर्माणका लागि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश बडघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने आदिवासी थारू जातिभित्र परम्परादेखि प्रचलनमा रहेको बडघर र भलमनसा प्रथाको संरक्षण, प्रवर्धन र विकास गर्न प्रथाजनित साङ्गठनिक प्रणालीको क्षेत्राधिकार र कार्यप्रक्रिया व्यवस्थित गर्न ऐन बनाउन लागेको हो । यसले प्रथासँग सम्बन्धित विभिन्न खेल, परम्परा र सांस्कृतिक प्रचलनको नियमनका लागि कानुनी व्यवस्था गर्ने छ । कला, संस्कृति, संस्कार जोगाउने जिम्मा प्रदेश सरकारको रहेको सामाजिक विकासमन्त्री मेघराज खड्काले बताउनुभयो ।

बडघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्माण गर्दा सरकारले सम्बन्धित समुदायका अगुवा, अध्येतालगायत धेरैसँग छलफल गरेको उहाँको भनाइ छ । बडघर र भलमनसा प्रथाले सामाजिक कार्यमा लगनशीलता, एकता, सबैको सहभागिता र लोकतान्त्रिक पद्धति अँगालेको मन्त्रीले उल्लेख गर्नुभयो । यो प्रथाले प्रदेशको विकासमा टेवा पु¥याउने भएकाले विधेयकलाई अगाडि बढाएको उहाँको भनाइ छ ।

ऐनले बडघर र भलमनसा प्रणाली तथा भुरा खेलसम्बन्धी व्यवस्था गर्दै छ । आदिवासी थारू जातिको बसोबास रहेको प्रत्येक गाउँमा एउटा बडघर भलमनसा प्रणाली रहने विधेयकमा उल्लेख छ । बडघर र भलमनसा प्रणालीभित्र बडघर वा भलमनसा, चिरक्या, अगरिया/अघरिया, चौकीदार, गुरुवा र केसौका पद रहने जनाइएको छ ।

भुरा खेलबाट सर्वसहमतिका आधारमा पदाधिकारी चयन हुने छ । सहमति हुन नसके मतदान प्रक्रियाद्वारा सबैभन्दा बढी मत ल्याउनेलाई पदाधिकारी चयन गरिने विधेयकमा उल्लेख छ । भुरा खेलमा राजनीतिक दलको प्यानल बनाई उम्मेदवारी दर्ता गर्न र उम्मेदवार छनोट गर्न नपाइने विधेयकमा उल्लेख छ । पदाधिकारी चयन गर्दा उपलब्ध भएसम्म कम्तीमा ३३ प्रतिशत र सो सङ्ख्या उपलब्ध हुन नसकेमा कम्तीमा एक जना महिलाको प्रतिनिधित्व गराउनुपर्ने जनाइएको छ ।

भुरा खेलबाट चयन हुने पदाधिकारीको अवधि एक वर्ष रहने र पदावधि पूरा भएपछि सहमति अनुसार पुनः चयन गर्न सकिने विधेयकमा उल्लेख छ । भुरा खेलको बैठक प्रत्येक वर्ष माघमा हुने जनाइएको छ तर कुनै कारणवश पदाधिकारीको पद रिक्त भएमा पदाधिकारी चयन गर्ने प्रयोजनका लागि भुरा खेलको बैठक जुनसुकै समयमा बस्न बाधा नहुने उल्लेख छ । भुरा खेल बडघर भलमनसा प्रणालीको सर्वोच्च अङ्ग हुने विधेयकमा उल्लेख गरिएको छ ।

छाडा पशु चौपायाः बहुआयामिक असर र समाधानका प्रयास

 

इन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), १३ जेठ/
एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे । खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्वपूर्ण भूमिका थियो । गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो ।
तर समयसँगै कृषि प्रणाली बदलिँदै गयो । आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेत जोत्न ट्रयाक्टर भित्रिए । दूध नदिने गाई र काम गर्न नसक्ने गोरु किसानका लागि उपयोगी भन्दा बढी आर्थिक भार बन्न थाले । पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले । यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा “छाडा चौपाया समस्या” गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ ।
आज राजमार्गदेखि ग्रामीण सडकसम्म छाडा गाईगोरु देखिन्छन् । बजार क्षेत्र, सार्वजनिक स्थान, खेतबारी र वनक्षेत्रसम्म उनीहरूको पहुँच पुगेको छ । सडक दुर्घटना, खेतीपातीमा क्षति, वन विनाश र व्यवस्थापनको अभावले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ ।
सडकमा बढ्दो जोखिम
पूर्व–पश्चिम राजमार्ग हुँदै रातिको समयमा यात्रा गर्ने धेरै चालकका लागि छाडा चौपाया त्रासको विषय बनेका छन् । सडकको बीचमै सुतेका वा अचानक सडक पार गर्ने गाईगोरुका कारण दुर्घटनाको जोखिम बढेको छ । विशेषगरी राति र हिउँदको कुहिरो लागेको समयमा दुर्घटनाको सम्भावना झनै बढी हुने गरेको छ ।
घोडाघोडी नगरपालिका–१, सुख्खडका हरिलाल सापकोटा छाडा चौपायाका कारण स्थानीयले समस्या झेलिरहेको बताउनुहुन्छ । उहाँका अनुसार सडकमा अचानक गाईगोरु निस्किँदा मोटरसाइकल चालकहरू धेरै जोखिममा पर्ने गरेका छन् । कतिपय अवस्थामा दुर्घटनामा मानिसले ज्यान समेत गुमाएका छन्, भने चौपायाहरु समेत मर्ने गरेका छन ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कैलालीको अध्ययन अनुसार कैलाली र कञ्चनपुरका सडक क्षेत्रमा मात्रै करिब तीन हजारभन्दा बढी छाडा चौपाया रहेका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सीताराम बिष्टका अनुसार प्रदेशमा हुने सडक दुर्घटनामध्ये २ प्रतिशत दुर्घटना छाडा पशु चौपायाका कारण हुने गरेका छन् । उहाँ भन्नुहुन्छ, राजमार्ग क्षेत्रमा गाईगोरु नियन्त्रणका लागि पटक–पटक अभियान सञ्चालन गरिए पनि दिगो समाधान नहुँदा समस्या रहेको छ । सडकमा छाडा चौपायाले निम्त्याएको समस्या केवल दुर्घटनामा सीमित छैन । यसले यात्रुमा मानसिक त्रास समेत सिर्जना गरेको छ । रातिको समयमा लामो दूरीमा यात्रा गर्ने चालकहरू विशेष सतर्क रहनुपर्ने अवस्था छ ।
खेतबारीमा संकट
छाडा चौपायाको सबैभन्दा ठूलो असर किसानको खेतबारीमा देखिएको छ । मेहनत गरेर लगाइएको बाली रातारात गाईगोरुले खाइदिँदा किसानहरू चिन्तित बन्न थालेका छन् । हाल धानको बिउ छर्ने समय भए पनि बिउ नै जोगाउनसमेत समस्या हुने होकि भन्ने चिन्ताले सताएको किसान डम्बर बिष्ट बताउनुहुन्छ ।
कैलालीकी किसान पार्वती खत्रीका अनुसार खेतमा लगाएको धान, गहुँ, मकै र तरकारी जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्था छ। “दिनभर खेतमा काम गरियो, राति फेरि बाली जोगाउन चौपाया धपाउनुपर्छ,” उहाँ भन्नुहुन्छ ।
घोडाघोडी नगरपालिका–३ का किसान टेकबहादुर चौधरी पनि छाडा चौपायाका कारण खेतीपाती गर्नै कठिन बन्दै गएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ गाईगोरुले खेतको मकै र तरकारी नष्ट गरिदिने गरेका छन् । “महिनौँको मेहनत केही घण्टामै सकिन्छ,” बाली हुर्काउन नै कठिन हुन्छ उहाँ बताउनुहुन्छ ।
विशेषगरी बाली हुर्काउने समयमा किसानलाई बढी समस्या हुने गरेको छ । गाउँका धेरै किसानले खेत वरिपरि काँडेतार लगाउने वा राति पालैपालो खेत कुरुवा बस्ने गरेका छन् ।
छाडा पशु चौपायाको समस्या समाधानका लागि स्थानीय तहहरूले विभिन्न प्रयास गरिरहेका छन् । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतका अनुसार नगरपालिकाले कान्जी हाउस निर्माण गरेर छाडा चौपाया व्यवस्थापनको प्रयास गरेको छ । तर सीमित स्रोतसाधन र बढ्दो समस्याका कारण प्रभावकारी व्यवस्थापन गर्न चुनौती भइरहेको उहाँको भनाइ छ ।
कान्जी हाउस निर्माण गरिए पनि धेरै स्थानमा व्यवस्थापन कमजोर देखिएको छ । घोडाघोडी, लम्कीचुहा, भजनी, जोशीपुर र गोदावरी क्षेत्रमा निर्माण गरिएका गौशाला तथा कान्जी हाउसमा आहारा, पानी र उचित हेरचाहको अभाव देखिएको छ । कतिपय स्थानमा गाईगोरु भोकभोकै मर्ने अवस्था समेत आएको छ ।
छाडा चौपाया समस्या बढ्नुमा समुदायकै मुख्य भूमिका रहेको स्थानीय रामु बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार मानिसहरूले दूध मात्र उपभोग गर्ने तर गाईगोरुको हेरचाहमा बेवास्ता गर्ने प्रवृत्तिका कारण यस्तो समस्या उत्पन्न भइरहेको छ ।
दूध दिन छाडेका वा काम गर्न नसक्ने गाईगोरुलाई खुला छाड्ने प्रवृत्ति अझै रोकिएको छैन । छाडा चौपायाको समस्या समाधानका लागी स्थानीय तहले मात्र नभइ समुदाय स्वयं जिम्मेवार बन्नुपर्ने घोडाघोडीका नगर प्रमुख खडक रावतको भनाइ छ ।
समाधान खोज्दै गौशालाको अभ्यास
समस्याकै बीच केही सकारात्मक अभ्यासहरू पनि भइरहेका छन । कैलालीको टीकापुरमा सञ्चालन भइरहेको व्यवस्थित गौशालाले धेरैको ध्यान तानेको छ । टीकापुरस्थित गौशालामा छाडा गाईगोरुको संरक्षणसँगै उनीहरूबाट आर्थिक आम्दानी गर्ने अभ्यास सुरु गरिएको छ । यहाँबाट मल उत्पादन गरिन्छ । उक्त मल किसानमाझ लोकप्रिय बन्दै गएको छ ।
गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार शाहका अनुसार पहिले किसानलाई मल लैजान आग्रह गर्नुपर्ने अवस्था थियो । अहिले भने अग्रिम बुकिङ हुने गरेको छ । प्रति ट्रली ६ हजार ५ सय रुपैयाँमा गोबर मल बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।
गौशालामा हाल १० जना कर्मचारी कार्यरत छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएका छन्, जसले कर्मचारीको तलब तथा अन्य व्यवस्थापनमा सहयोग पुगेको छ ।
अध्यक्ष शाहका अनुसार गौशालालाई पूर्ण रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित काम भइरहेको छ । गोबरबाट मल उत्पादन, गहुँतको प्रयोग र अन्य आयमूलक गतिविधि मार्फत सञ्चालन खर्च धान्ने योजना बनाइएको छ ।
गौशालामा गोबर ग्यास प्लान्ट समेत निर्माण गरिएको छ । उक्त प्लान्टबाट स्थानीय ४० भन्दा बढी घरधुरीलाई प्रति युनिट ४५ रुपैयाँका दरले ग्यास वितरण गरिएको थियो । तर वनक्षेत्र नजिक भएकाले धेरै स्थानीयले दाउरा प्रयोग गर्न सहज ठानेपछि गोबर ग्यासको प्रयोग घट्दै गयो । त्यसपछि हाल ग्यास उत्पादन बन्द अवस्थामा छ ।
गौशाला व्यवस्थापन समितिका सदस्य दिलबहादुर ठकुल्ला भन्नुहुन्छ, अब टिकापुर बजार क्षेत्रलाई लक्षित गरेर गयास बितरण गर्ने लक्ष्य रहेको छ । उहाँ भन्नुहुन्छ, सिलिन्डरमा ग्यास भरेर वितरण गर्ने योजना बनाइएको छ । यदि यो योजना सफल भयो भने गौशालालाई थप आम्दानीको स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ ।
चरीचरनले वन वातावरणमा असर
तर छाडा चौपाया व्यवस्थापनका लागि निर्माण गरिएका गौशाला र कान्जी हाउसले चुनौती पनि थपिदै गएको छ । अधिकांश यस्ता संरचना सामुदायिक वन क्षेत्रभित्र वा वन नजिकै निर्माण गरिँदा वन अतिक्रमणको समस्या देखिन थालेको छ । त्यसमाथि गौशाला र कान्जी हाउसमा राखिएका गाईगोरुहरूलाई चरिचरनका लागि वन क्षेत्रमा लगिने गर्दा वन संरक्षणमा थप दबाब सिर्जना भएको छ ।
डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितका अनुसार खुला र अव्यवस्थित चरिचरनका कारण वनको प्राकृतिक संरचना गम्भीर रूपमा प्रभावित भएको छ । उहाँका अनुसार वनभित्र छाडा चौपाया प्रवेश गर्दा साना बिरुवा उम्रिन र हुर्किन नपाउने अवस्था सिर्जना भएको छ, जसले वनको पुनरुत्पादन प्रक्रियामा दीर्घकालीन नकारात्मक असर पारिरहेको छ ।
“साना बिरुवा उम्रिए पनि टिक्नै सक्दैनन्,” उहाँ भन्नुहुन्छ, “गाईगोरुले खाइदिने, कुल्चिने वा नष्ट गर्ने कारण वन पुनरुत्पादन कमजोर हुँदै गएको छ ।”
वन क्षेत्रमा अनियन्त्रित चरिचरनले केवल वनस्पति मात्र होइन, माटोको संरचना र गुणस्तरमा समेत असर पारिरहेको संरक्षणकर्मीहरू बताउँछन् । चौपाया धेरै चराउँदा माटो कडा हुने, घाँस–झाडी हराउने र वर्षायाममा माटो बग्ने समस्या देखिन संरक्षणकर्मी बिजयराज श्रेष्ठ बताउनुहुन्छ । वनभित्र चौपायाको अत्यधिक प्रवेशले जैविक सन्तुलनमा समेत असर पु¥याइरहेको छ । उहाँ भन्नुहुन्छ, वन्यजन्तुका बासस्थान संकुचित हुने, शान्त वातावरण खल्बलिने र वन्यजन्तु विस्थापित हुने अवस्था पनि बढछ ।

जानकी गाउँपालिकाले एक दशकपछि सुरु गर्‍यो प्रशासनिक भवन निर्माण कार्य

भजनी (कैलाली),  जेठ १० गते ।  जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ ।

गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १०कट्ठा जमिन इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिनुभएको छ ।

रु बाह्र करोड आठ लाख २७ हजार ९३८ को लागतमा अढाई तलाको प्रशासनिक भवनको कामत्रिवेणी, लाफा, शुभलक्ष्मी जेभीले गरिरहेको इन्जिनियर शाहीको भनाइ छ । उहाँका अनुसार २०८२ असार २२ गते भवन निर्माणका लागि भएको सम्झौताअनुसार २०८४ असार २० गते सम्पन्न गरिसक्नुपर्नेछ । “जग्गा नभएका कारण भवन निर्माणमा ढिलाइ भएको हो,” इन्जिनियर शाही भन्नुहुन्छ, “अर्को वर्षबाट गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन्छ ।”

निर्माण कम्पनीका इन्जिनियर मनिषकुमार शाहले हालसम्म २५ प्रतिशतमाथि काम भएको बताउनुभएको छ । उहाँले भवन निर्माण स्थलमा डुबानको समस्या हुने हुँदा बर्सातको समयमा काम गर्न कठिन हुने गरेको बताउनुभयो । “जगको काम सम्पन्न भएको छ । यो असारसम्म पहिलो तलाको काम सम्पन्न गर्ने लक्ष्य छ,” उहाँ भन्नुहुन्छ, “काम गर्दै जाँदा समस्या नआए समयमै भवन सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्छौं ।”

गाउँपालिकाले वडा नं १ को प्रशासनिक भवनबाट हाल सेवा प्रवाह गर्दै आएको छ । केही शाखा अहिले पनि भाडाको घरमा सञ्चालनमा छन् । वडा नं १ को सेवा प्रवाह साबिकको दुर्गौली गाविसको भवनबाट भइरहेको छ । गाउँपालिकामा सार्वजनिक जग्गाको समस्याका कारण वडा नं ५ र वडा नं ६ को प्रशासनिक भवन पनि निर्माण हुन सकेको छैन । दुवै वडा कार्यालय भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् । रासस

युवाको आवाज नीति निर्माणमा समेट्न सरकार सकारात्मक : मुख्यमन्त्री शाह

चौमाला (कैलाली), जेठ १० गते  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवाको सहभागिता र नेतृत्वलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

धनगढीमा शनिबार सुरु भएको सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०२६ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले युवाका आवाज, योजना र मागलाई प्रदेश सरकारको नीति तथा कार्यव्रmममा समावेश गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।

आजका युवाले प्रविधिको प्रयोगमार्फत नयाँ चेतना र सम्भावनाको ढोका खोलेको बताउँदै उहाँले प्रविधिको दुरुपयोग र त्यसबाट सृजित चुनौतीले युवालाई असर गरिरहेको बताउनुभयो । उहाँले डिजिटल युगमा युवालाई अवसरसँगै सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री शाहले अहिले सङ्घीय संसद् तथा विभिन्न तहमा युवाको प्रतिनिधित्व बढ्दै गएको उल्लेख गर्दै विगतमा युवाको क्षेत्रमा हुन नसकेका काम अब अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

युवा डिजिटल स्पेसका लागि एकजुट भन्ने मूल नारासहित सुरु भएको दुई दिने सम्मेलनमा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट युवाको सहभागिता रहेको छ ।

सम्मेलनमा डिजिटल नागरिकता, युवा नेतृत्व, नीति निर्माणमा युवाको सहभागिता तथा नागरिक सहभागी सुदृढीकरणका विषयमा छलफल भइरहेको छ ।

बागमती प्रदेशपछि सुदूरपश्चिममा युवा सम्मेलन आयोजना गरिएको छ । आगामी दिनमा कर्णाली प्रदेशसहित देशका अन्य प्रदेशमा पनि राष्ट्रिय युवा सम्मेलन आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

गैरसरकारी संस्था महासङ्घका केन्द्रीय उपमहासचिव किरण थापाले प्रदेश सम्मेलनबाट उठेका सुझाव, माग र निष्कर्षलाई एकीकृत गर्दै सुदूरपश्चिम घोषणापत्र सार्वजनिक गरिने बताउनुभयो । उहाँले घोषणा पत्रमार्फत युवाका मुद्दालाई नीति निर्माण तहसम्म पु¥याउने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवीप्रसाद खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

गोबरबाट सामग्री उत्पादन तालिम टीकापुरमा सुरु

टीकापुर,  जेठ १० गते ।  गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम टीकापुरमा सुरु भएको छ ।

टीकापुर नगरपालिकाको सहयोगमा सामुदायिक पशु–चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिले नौदिने तालिम आयोजना गरेको हो । तालिममा ५० जना स्थानीय महिला सहभागी छन् ।

तालिम शुभारम्भ  गर्दै प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले गोबरको प्रयोग गरी आर्थिक आत्मनिर्भर हुनाका साथै महिलालाई घरमै बसेर आयआर्जन गर्ने माध्यम बन्ने भएकाले तालिम उपयोगी हुने बताउनुभयो । गाई संरक्षण गरी आयर्जनका कार्य पनि गर्न थालेकामा गौशाला व्यवस्थापन समितिलाई धन्यवाद दिनुभयो । “गोबरबाट जैविक मल, बायोग्यास, गुइँठा, कम्पोष्ट मल बनाउने काम गरिरहनु भएको थियो”, उहाँले भन्नुभयो, “आउँदा दिनमा वातावरणमैत्री गोबरका गमला, विभिन्न सजावटका सामग्री, देवी देवताका मन्दिर, धुपबत्ती, अगरबत्ती, दियो जस्ता सामग्री बनाएर आम्दानी लिने उपाय राम्रो छ ।”

सांसद ज्ञवालीले बस्तुभाउका समेत संरक्षण हुने र महिलालाई आयआर्जनसँग जोड्न मद्दत पुग्ने भएकाले सीप राम्ररी सिक्न सुझाव दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले भन्नुभयो, “गौशालाको विकासका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।  गौ संरक्षण र महिलालाई स्वरोजगार बनाउने प्रयासमा मेरो साथ रहनेछ ।”

कार्यक्रमका प्रशिक्षक एकता मेहताले स्थानीय स्तरमै पाइने गोबरको प्रयोगले विभिन्न सामग्री निर्माण गरी पुरातन संस्कृतिको संरक्षणका साथै महिला सशक्तिकरणमा ठूलो योगदान दिन सकिने बताउनुभयो ।

टीकापुर नगरपालिकाका लेखाअधिकृत लक्ष्मी ओडले पालिकाको नीति कार्यक्रममा वातावरण संरक्षण, सांस्कृतिक संरक्षण, सामाजिक विकास जस्ता कुरा समेटिएकाले स्थानीय सरकारले स्थानीय स्रोतको प्रयोग गरी वातावरण संरक्षणमा समेत सहयोग पुग्ने भएकाले यो तालिम उपयोगी ठानेर सहयोग गरेको बताउनुभयो ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार शाहले उत्पादन उत्पादन र बजारीकरणका लागि सजावट राम्रो दिन सकियोस् भनी विशिष्टकृत खालको तालिम आयोजना गरिएको बताउनुभयो । “यसअघि पनि हामीले ४० महिलालाई आधारभूत तालिम दिएका थियौँ, धुप बनाउन, दियो, शुभलाभ, विभिन्न मन्दिर बनाउन सिकाएका छौँ”, उहाँ भन्नुहुन्छ, “यस पटक थप सीप सिकाउन तालिम गरिएको हो । बजारीकरणका लागि आकर्षण सामग्री बनाउन यस पटक सिक्नेछन् ।”

तालिम सहजीकरण गर्न भारतको इन्दोरबाट प्रशिक्षक बोलाइएको छ । रासस

हावाहुरीले बाजुरामा जनजीवन प्रभावित, घर र विद्यालयमा व्यापक क्षति

शेरबहादुर सार्की
बाजुरा, जेठ ९ गते ।
 बाजुरामा शुक्रबार राति चलेको हावाहुरीका कारण घर, गोठ, छाना तथा विद्यालयमा ठुलो क्षति भएको छ । शुक्रबार राति पानीसँगै चलेको हावाहुरीले बडीमालिकाको राप्का, बुढीगङ्गाको झाडी, देवलसैन, सिगाडा, नुवकोट तथा गौमुल गाउँपालिकाका अधिकांश स्थानीयका घरका छाना र विद्यालयका बालकक्षाको भवनमा जडान गरिएको कर्कटपाता उडाउँदा ठुलो क्षति पुगेको हो ।

बुढीगङ्गा नगरपालिका–८ देवलसैनका स्थानीय शिक्षक जगत रावलले शुक्रबार बेलुकी चलेको हावाहुरीका कारण घर तथा प्रारम्भिक बालकक्षाको भवनमा ठुलो क्षति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यतिबेला गर्मी छ, पानी पनि पर्ने गरेको छ । त्यसमाथि घर तथा विद्यालयको छाना उडाउँदा स्थानीय तथा साना बालबालिकालाई घर र कक्षाकोठामा बस्न समस्या भएको छ ।”

आर्थिक अवस्था कमजोर भएकाहरूले समयमै घर निर्माण गर्न नसकेको भन्दै उनीहरूको अवस्थालाई मध्यनजर गर्दै सरकारले समयमै राहत उपलब्ध गराउनुपर्ने रावलको भनाइ छ ।

बाजुराका हिमाली, स्वामीकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका अधिकांश घरमा पछिल्लो समय कर्कटपाताले छाना छाइएका छन् । चैत, वैशाख र जेठ महिनामा चल्ने हावाहुरीले प्रायः यसरी कर्कटपाताले छाएका घरका छानामा ठूलो क्षति पुर्‍याउने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगनसिंह भाटले हिजो राति चलेको हावाहुरीले बुढीगङ्गा, बडीमालिका, गौमुल लगायतका क्षेत्रमा घरका छाना उडाएको भए पनि मानवीय क्षति नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कहाँ–कति क्षति भएको छ भन्ने बुझ्न प्रहरी टोली अहिले प्रभावित क्षेत्रमा जाने तयारीमा छ ।” टोली पुगेपछि मात्रै वास्तविक क्षतिको विवरण संकलन हुने सूचना अधिकारी भाटले बताउनुभयो ।