रास्वपाका सांसद जनतामाझ: समस्या सुन्दै विकासका प्रतिबद्धता

कञ्चनपुर, फागुन २८ गते । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका प्रतिनिधि सभा सदस्यहरू पछिल्लो समय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आएका छन्।

कञ्चनपुर क्षेत्र–१ बाट निर्वाचित सांसद जनक सिंह धामी बिहीबार बेलौरी नगरपालिका–९ का कुण्डा, रतनपुर, वडा नं. १० भुडा लगायतका क्षेत्रमा पुगेर मतदाताका समस्या बुझ्नुभयो। बेलौरी–९ का स्थानीय गोपाल चौधरीले कुण्डामा रोकिएका सडक योजना समयमै सम्पन्न गर्न पहल गर्न आग्रह गर्नुभयो।

सांसद धामीले मतदातासँगको भेटघाटमा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, नियम संशोधन र रोजगारीका अवसर सिर्जना गर्न कटिबद्ध रहनुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसअघि सोमबार सांसद धामीले बेलौरीस्थित भीमदत्त चोक, कलकत्ता बजार, गोकुलपुर बजार, बेलडाडीस्थित चवौंन्नी बजार, लालझाडीस्थित चानदेव, कन्ज बजार तथा पुनर्वासका विभिन्न टोल–बस्तीमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै, सरकार गठन भए लगत्तै यस क्षेत्रको हितमा आवश्यक नीति नियम बनाइने प्रतिबद्धता जनाउनुभएको थियो।

त्यसैगरी, कञ्चनपुर क्षेत्र–३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र सिंह महतले पनि जनतासँग भेटघाट गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बिहीबार भीमदत्त नगरपालिकाका विभिन्न वडा तथा दोधारा चाँदनी नगरपालिकाका टोल–बस्तीमा पुगेर सांसद महताले जनतामा अभिभावक राज्यको महसुस गराउने योजना रहेको बताउनुभयो।

सांसद महताले यस क्षेत्रका विकासका लागि आवश्यक नीति, नियम निर्माण गरिने र युवालाई रोजगारी प्रदान गर्न आवश्यक कदम चालिने पनि जनाउनुभयो। शपथग्रहणपछि जनताको समस्या बुझेर त्यस अनुरूप अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

बाजुरामा अझै पनि बाटोमै सुत्केरी हुने बाध्यता

बाजुरा, फागुन २७  गते  । बाजुराका अधिकांश ठाउँका गर्भवती महिला अहिले पनि बाटोमै बच्चा जन्माउन बाध्य छन् ।

ती दुर्गमका गर्भवती महिलाका लागि यहाँका पालिका तथा वडामा स्थापना गरिएका स्वास्थ्य संस्था तथा सुविधासम्पन्न अस्पताल पुग्न झन्डै चार/पाँच घण्टा समय लाग्ने भएकोले कतिपय महिलाले बाटोमै बच्चा जन्माउने बाध्यता भोग्नु परेको हो ।

भौगोलिक विकटताका कारण उनीहरूले स्वास्थ्य संस्थामा जान खोज्दा पनि त्यहाँ नपुग्दै बिच बाटोमै बच्चा जन्माउनु परेको हो । सोमबार मात्रै स्वामीकार्तिक खापर गाउँपालिका–२, फयालगाउँ भैँसेडाँडा बस्ने वर्ष २६ की डोइला भण्डारीले स्वास्थ्य संस्था नपुग्दै बिच बाटोमै छोरीको जन्म दिनुभएको छ । सोमबार बिहान भण्डारी सुत्केरी गराउन घरबाट हिँड्नुभएको थियो तर उहाँलाई बिच बाटोमै बेथा लाग्यो । उहाँ हिँडेर स्वास्थ्य संस्थामा पुग्न नसकेपछि त्यतिबेला उहाँको आफन्तले आधारभूत स्वास्थ्य केन्द्र फयालगाउँमा कार्यरत स्वास्थ्यकर्मी विष्णु रोकायालाई त्यहीँ बोलाउनुभयो । विष्णु रोकायालाई पनि भण्डारी भएको ठाउँमा पुग्न झन्डै दुई घण्टा जति समय लाग्यो । रोकायाले त्यहाँ पुगेर भण्डारीलाई स्लाइन पानी दिएपछि उहाँले बिच बाटोमै छोरी जन्माउनुभयो ।

स्वामीकार्तिक खापर गाउँपालिका–२, फयालगाउँको भैँसेडाँडामा बस्ने डोइला भण्डारीले सुत्केरी गराउनकै लागि स्वास्थ्य संस्था जाने बेलामा बाटोमा सुत्केरी भएको बताउनुभयो । उहाँले स्वास्थ्य केन्द्रमा नपुग्दै बिच बाटोमा बेथा लाग्न सुरु भएपछि आफन्तले स्वास्थ्यकर्मीलाई फोन गरेपछि स्वास्थ्यकर्मी आएर परीक्षण गरेर स्लाइन पानी लगाएपछि आफूले बच्चा जन्माउन सफल भएको बताउनभुयो । उहाँले अहिले बच्चा र आफ्नो अवस्था सामान्य रहेको बताउनुभयो । योभन्दा पहिला पनि यहाँका दर्जनौँ गर्भवती महिलाले यसरी बाटोमा शिशु जन्माउने गरेका छन् । गत वर्षमा पनि यहाँका कमला कठायतलगायत तीन जना आमाले बिच बाटोमा शिशुको जन्म दिनुभएको थियो । केही वर्षपहिला यहाँको बुढीनन्दा–४, कुरुकी ३१ वर्षीय पानसरा रोकाया, खप्तड छेडेदह गाउँपालिका–२, काँडाकी ३२ वर्षीय उज्जली सुनार, गौमूल गाउँपालिका–३, माझपालीकी २१ वर्षीय भाग्य चदारा, हिमाली गाउँपालिका–१, बामुकी नानी रोकायाले बाटोमै बच्चा जन्माउनुभयो । हिमाली–२, नातीखोलाकी २३ वर्षीय पार्वती बुढा, स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटकी ३५ वर्षीय कार्तिका विक, बुढीगङ्गा नगरपालिका–७, सिमलकोटकी सिर्जना केसीले पनि बाटोमै शिशुको जन्म दिनुभएको थियो ।

बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि वर्षमा चारदेखि पाँच जना गर्भवती महिलाले बाटोमै सुत्केरी हुने गरेका छन् ।  गर्भवती महिलाका लागि सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि त्यो खासै प्रभावकारी हुन सकेको छैन । बाजुरामा भौगोलिक विकटता, गुणस्तरीय स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, नियमित गर्भ जाँचको कमी, कडा परिश्रम, कम उमेरमै बच्चाको जन्म, पौष्टिक आहारको कमीलगायतका कारण यहाँका  गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोखिम पर्ने गरेको छ । आधारभूत स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी विष्णु रोकायाले डोइला भण्डारीले बिच बाटोमा बच्चा जन्माए पनि अहिले उहाँको अवस्था भने सामान्य रहेको बताउनभुयो । स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य संयोजक पारस शाहीले पहिला यहाँका गर्भवती महिलालाई सुत्केरी गराउन कोल्टी अस्पतालमा जानुपर्ने समस्या हुन्थ्यो । अहिले पालिकाले यहाँका प्रत्येक वडामा आधारभूत स्वास्थ्य संस्था स्थापना गरेसँगै त्यो समस्या नभएको बताउनुभयो ।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकृत नृपराज गिरीले जिल्ला अस्पताल प्रदेश सरकार र स्थानीयस्तरमा रहेका सबै स्वास्थ्य संस्था स्थानीय सरकारको मातहतमा रहेकोले त्यहाँ के भइरहेको छ कसरी सेवा दिएका छन् । भन्ने कुरा हामीलाई केही जानकारी नहुने गरेको बताउनुभयो । स्वामीकार्तिक खापर गाउँपालिका भौगोलिक रूपमा निकै टाढा रहेको छ । केही वर्ष महिला बाढीपहिरोले बस्ती उठिबास गरेसँगै अहिले यहाँका स्थानीय सुरक्षित ठाउँमा बसोबास गर्ने गरेसँगै स्वास्थ्य संस्थाबाट पनि ती निकै टाढामा रहेको स्वामीकार्तिक खापर गाउँपालिका–२ का वडाध्यक्ष विष्णुबहादुर बुढाले बताउनुभयो ।

प्रतिनिधि सभा निर्वाचनः कञ्चनपुरका तीन क्षेत्रबाट ४४ उम्मेदवारको जमानत जफत

बेलौरी (कञ्चनपुर), फागुन २७ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका ४४ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ५५ जनामध्ये ४४ उम्मेदवारले कुल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा धरौटी फिर्ता नपाउने भएका हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट १९ उम्मेदवारले प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।  सो निर्वाचन क्षेत्रबाट खसेको ६० हजार ५८७ मतमध्ये ५७ हजार ५१ मत सदर भएको थियो । सो निर्वाचन क्षेत्रबाट खसेको ६० हजार ५८७ मतमध्ये ५७ हजार ५१ मत सदर भएको थियो । सदर मतमध्ये चार उम्मेदवारले मात्रै १० प्रतिशत मत कटाएका छन् भने १५जनाको जमानत जफत भएको छ ।

निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जम्मा गरेको १० हजार रुपियाँ जफत गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले बताउनुभयो ।

निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका १९ मध्ये १५ उम्मेदवारको धरौटी जफत भएको छ । आवश्यक मत नपुगेकाको जमानत जफत गरिएको निर्वाचन कार्यालयले बताएको छ । निर्वाचन क्षेत्र नम्बर ३ का १७ उम्मेदवारमध्ये १४ जनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्र्यालयले जनाएको छ ।

क्षेत्र नम्बर ३ मा सदर मत ५३ हजार ५४६ को १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत गरिएको निर्वाचन कार्यालयका प्रमुख जोशीले बताउनुभयो । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ एक लाख ८४ हजार ३४१ मत खसेकामा एक लाख ७१ हजार ७१४ मत सदर भएको थियो ।

बैतडीमा सातको जमानत जफत

वासुलिङ समाचारदाताका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालका अनुसार राप्रपाका भुपेनबहादुर चन्द, नेकपा (माओवादी) का रामबहादुर कुँवर, जनता समाजवादी पार्टी नेपालका आनसिंह भण्डारीको जमानत जफत भएको छ । नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, आमजनता पार्टीका बिसनसिंह बोहोरा, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय तथा स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तको जमानत जफत भएको हो ।

बैतडीमा ७२ हजार ८४३ मत खसेको थियो । तीमध्ये ६७ हजार ७३० मत सदर भएको सूचना अधिकारी दयालले जानकारी दिनुभयो ।

धनगढीको दून एकेडेमीमा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

धनगढी — धनगढी उप–महानगरपालिका–३ स्थित दून एकेडेमीले ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरी मनाएको छ।

कार्यक्रमका क्रममा विद्यालयका महिला शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। साथै विद्यार्थीहरूले नारीको महत्व र योगदानसम्बन्धी कविता तथा गजल प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै शिक्षिका गायत्री भट्टराईले नारीलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै नारीहरू केवल परिवारका आधार मात्र नभई राष्ट्र निर्माणका बलिया स्तम्भसमेत भएको बताउनुभयो।

कार्यक्रमको सञ्चालन शिक्षक वीरबहादुरले गर्नुभएको थियो भने अध्यक्षता विद्यालयका प्रधानाध्यापक आर.पी. उपाध्यायले गर्नुभएको थियो। अध्यक्षीय मन्तव्यका क्रममा उहाँले सशक्त नारीले सशक्त समाज र समृद्ध राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी

(कैलाली), फागुन २४ गते । कैलाली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल निर्वाचित हुनुभएको छ।

२६ वर्षीय खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीलाई सात हजार १०८ मतान्तरले पराजित गर्नुभएको छ। चौधरीले ११ हजार ९४९ मत प्राप्त गर्नुभयो।

त्यस्तै, नेकपा (एमाले)का सूर्यबहादुर थापाले सात हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले सात हजार २१३ मत प्राप्त गर्नुभएको छ।

यसअघि कैलालीका अन्य क्षेत्रहरूमा पनि रास्वपाकै उम्मेदवारहरू विजयी भएका छन्। क्षेत्र नं. १ मा कोमल ज्ञवाली, ३ मा जगतप्रसाद जोशी, ४ मा खेमराज कोइराला र ५ मा आनन्दबहादुर चन्द निर्वाचित हुनुभएको छ। योसँगै कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ।

सुदूरपश्चिममा मतगणना सुरु: कञ्चनपुरमा रास्वपा हावी, कैलालीमा काँग्रेस र रास्वपा प्रतिस्पर्धा

कैलाली । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मतगणना भइरहेको छ । कञ्चनपुरका तीन क्षेत्र र कैलालीका दुई क्षेत्रमा मतगणना भइरहेको छ ।

अहिलेसम्म कञ्चनपुरका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अघि छन् भने कैलालीका दुईमध्ये एक एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता छ ।

कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–१ मा जनकसिंह धामीले अग्रता बनाइरहेका छन् ।

कैलाली–१ मा काँग्रेस उम्मेदवार जनक चौधरी अघि छन् भने क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्दले अग्रता बनाइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका १६ मध्ये ५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेका बेला अन्य क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ ।

मतदानका दिन सवारी अनुमति अनिवार्य, कञ्चनपुरमा मदिरा बिक्री निषेध

भवानीदत्त भट्ट
कञ्चनपुर, फागुन १५ गते । 
मतदानको दिन प्रयोग गरिने सवारी साधनका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । बिहीबार सूचना जारी गर्दै प्रशासनले मतदानको दिनभन्दा दुई दिनअघि नै मतदानमा प्रयोग हुने सवारी साधनको अनुमति लिन अनुरोध गरेको हो ।

उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि, राष्ट्रिय पर्यवेक्षक तथा सञ्चार माध्यमले अनिवार्य रूपमा सम्बन्धित निकायको सिफारिससहित सवारी अनुमति पत्रका लागि फागुन १९ गतेसम्म निवेदन दिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले दुई, तीन वा चार पाङ्ग्रेमध्ये कुनै एक सवारी साधनका लागि अनुसूची–३ बमोजिम मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिई मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको सिफारिससहित निवेदन पेस गर्नुपर्नेछ ।

त्यसैगरी, राष्ट्रिय पर्यवेक्षकले दुई वा चार पाङ्ग्रेमध्ये कुनै एक सवारी साधनका लागि निर्वाचन अधिकृतको सिफारिससहित निवेदन पेस गर्नुपर्नेछ । संवैधानिक निकायका प्रदेश तथा जिल्लास्थित कार्यालयहरूले पनि निर्वाचन अधिकृतको सिफारिससहित निवेदन पेस गर्न प्रशासनले अनुरोध गरेको छ ।

सञ्चार माध्यमका हकमा प्रत्येक सञ्चार संस्थालाई बढीमा पाँच वटासम्म सवारी साधनका लागि जिल्लास्थित पत्रकार महासङ्घको सिफारिससहित निवेदन पेस गर्न प्रशासनले आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार मतदानको दिन एम्बुलेन्स, खानेपानीका ट्याङ्कर, दूध ढुवानी गर्ने सवारी, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवाका सवारी साधन तथा नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन र सवारी पास लिई सञ्चालन गरिने सवारी साधनबाहेक अन्य सवारी साधनको आवतजावत निषेध गरिनेछ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबारदेखि जिल्लामा मदिरा बिक्री–वितरण निषेध गरिएको जनाएको छ । फागुन १४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लाभित्र मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

निर्वाचनको समयमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्नका लागि गरिएको निर्णयमा सबै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको प्रशासनले जनाएको छ । उक्त अवधिमा मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

नेपाल–भारत सीमा सुरक्षा सुदृढ गर्न बाहिनीस्तरीय समन्वय बैठक सम्पन्न

महेन्द्रनगर, फागुन १५ गते ।सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ ।

बिहीबार सम्पन्न बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी निकासी, लागुऔषध ओसारपसार नियन्त्रणसम्बन्धी छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

निर्वाचनका समयमा हुनसक्ने निर्वाचनविरोधी क्रियाकलाप, अवैध घुसपैठ रोक्न तथा मौन अवधिभर हुने सीमानाका बन्दको प्रभावकारिता, सम्भावित अवैध तथा गैरकानुनी गतिविधिको सुक्ष्म निगरानी गरी सूचना आदानप्रदान एवं त्यस्ता गतिविधि नियन्त्रण गर्न दुवै पक्ष सहमत भएका छन् ।

बैठकमा निर्वाचनका समयमा हुने सम्भावित सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सयुक्त र समानान्तर सीमा गस्तीलाई सशक्त बनाउनुका साथै सुरक्षा व्यवस्थालाई चुस्त एवं दुरुस्त पार्ने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ ।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तेस्रो देशका नागरिकको अनाधिकृत प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगदको तस्करी नियन्त्रणका लागि निरन्तर एवं घनिष्ठ सहकार्य गर्नका लागि आ–आफ्ना मातहतका युनिटलाई निर्देशन दिने सहमति भएको थियो ।

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

भारतीय सीमा सुरक्षा बलका तर्फबाट सेक्टर हेडक्वाटर अल्मोरा र पिलिभितका डिआईजद्वय सुधान्सु नौटियाल र अनिलकुमार शर्मालगायत सुदूरपश्चिम प्रदेशसँग सीमा क्षेत्रमा कार्यरत रहेका भारतीय समकक्षी सशस्त्र सीमा बलका सबै रेजिमेन्ट प्रमुखको उपस्थिति रहेको थियो ।

सशस्त्र सीमा बल, भारत र सशस्त्र प्रहरी बल, नेपालबीच केन्द्रीय, प्रदेश र जिल्लास्तरमा विभिन्न समन्वयात्मक बैठक हुँदै आएका छन् । रासस

नाउपा उम्मेदवार जगन्नाथ चौधरी रास्वपामा प्रवेश, उम्मेदवारी भने कायम

अविनाश चौधरी

धनगढी, फागुन १२ गते । नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ ।

चकिया (जाँतो) चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनु भएको उहाँ निर्वाचनको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको हो ।

उहाँलाई आज रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु, सो पार्टीको क्षेत्र नम्बर ५ का उम्मेदवार आनन्दबहादुर चन्द, हरि रेग्मी लगायतका नेताहरूले पार्टी प्रवेश गराउनुभयो ।

रेशमलाल चौधरीको संरक्षणमा रहेको नागरिक उन्मुक्ति पार्टी, नेपालले कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले थारू समुदायको सवालमा उठाएको एजेण्डा मिलेकाले नाउपा, नेपालको उम्मेदवार चौधरी आफ्नो पार्टीमा आएको रास्वपा केन्द्रीय सदस्य थारुले जानकारी दिनुभयो ।

उम्मेदवार चौधरी रास्वपा प्रवेश गरे पनि उहाँको उम्मेदवारी भने कायम रहि रहने छ । चौधरीले सम्भवतः अब आफैलेसमेत आफूलाई भोट नहाल्ने उम्मेदवार बन्नु हुनेछ ।

दार्चुलाका ७ मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी हुने

खलङ्गा (दार्चुला), फागुन १२ गते ।यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भए पश्चात दार्चुलाका सात वटा मतदान केन्द्रका मतपेटिकाहरू हेलिकाेप्टर मार्फत ढुवानी गरिने भएको छ ।

जिल्लाको व्यास गाउँपालिकामा रहेका मतदान केन्द्रहरू शिरसिन्धार आधारभूत विद्यालय बोधगाउँ, सर्वहित आधारभूत विद्यालय दुम्लिङ तथा रानीस्थान आधारभूत विद्यालय मालको मतपेटिका र अपि हिमाल गाउँपालिकाको हिमालय आधारभूत विद्यालय पाथा, भवानी आधारभूत विद्यालय सिती, खण्डेश्वरी माध्यमिक विद्यालय र महिला सामुदायिक भवन सितोलाको मतपेटिका हेलिकाेप्टर मार्फत ढुवानी गर्ने निर्णय भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी विनोद दाहालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलामा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा मतपत्र ढुवानी, आचारसंहिता पालना सम्बन्धी राजनीतिक दलहरूसँग आज भएको बैठकमा उक्त निर्णय गरिएको उहाँले बताउनुभयो ।

यहाँका सात वटा मतदान केन्द्रको मतपेटिका हेलिकाेप्टर मार्फत ढुवानीका लागि गृह मन्त्रालयमा लेखी पठाइएको तथा सानो हेलिकाेप्टर प्राप्त हुने जानकारी प्राप्त भएको भन्दै उहाँले मतपेटीका र मतदान अधिकृतलाई हेलिकाेप्टर मार्फत ल्याउने विषयमा बैठकमा पार्टीको प्रतिनिधिहरूले समेत सहमति जनाउनुभएको उहाँको भनाइ छ ।

कारणबस हेलिकाेप्टर मार्फत ढिला हुने अवस्था भएमा तथा मौसम अनुकूल नभएमा प्रशासन सुरक्षा निकायले अवस्था हेरी पैदल, सडक मार्ग प्रयोग गरी मतपेटिका ढुवानीको व्यवस्था मिलाउने कुरामा दलका प्रतिनिधिसँग सहमति भएको उहाँले बताउनुभयो ।

यस्तै निर्वाचनमा मतदातालाई निर्धक्क भई मतदान गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाउनुभएको छ ।

मतदानको दिन सबै राजनीतिक दलका तोकिएका आधिकारिक प्रतिनिधिहरूले मतदान केन्द्रमा सहयोग गर्ने र मतदान प्रक्रियालाई बाधा पुग्ने गरी प्रचारप्रसार नगर्ने, तथा मतदान अधिकृत र सुरक्षाकर्मीलाई पूर्णरूपमा सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभएको  हो ।

बैठकमा दलका नेताहरूले निर्वाचन आयोगद्वारा जारी आचारसंहितालाई अक्षरसः पालना गर्ने सहमति पनि जनाउनुभएको उहाँले जानकारी दिनुभयो ।

मतदानको दिन मतदान केन्द्रको वरिपरि निषेधित गरिएका गतिविधिहरू नगर्ने, नगराउने कुरामा सबै राजनीतिक दल सहमत रहने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात मतपेटिका ढुवानी गरी ल्याउँदा तोकिएको सवारी साधनमा बस्ने ठाउँको सीमितताका कारण सबै राजनीतिक दलका प्रतिनिधिहरू एकसाथ आउन नसक्ने अवस्था भए राजनीतिक दलहरूले सहयोग गर्न आपसी सहमतिमा समन्वय गरी एक जना साझा प्रतिनिधि मात्र पठाउन दलहरू सहमत भएका छन् ।

यसैगरी मतपेटिका ढुवानीका लागि प्रयोग गरिने सवारी साधनहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी, सुरक्षा निकायले तय गरेको सुरक्षित रुटमा रहेर मात्र ढुवानी गने, ढुवानीका क्रममा हुने अनावश्यक ढिलाइ वा अवरोधलाई शून्यमा झार्न र तोकिएको समयमै मतगणना स्थलमा मतपेटिका बुझाउन सबै पक्ष प्रतिबद्ध रहने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि सुरु हुने मौन अवधिको पूर्ण पालना गर्ने, यस अवधिमा भौतिक रूपमा वा सामाजिक सञ्जाल मार्फत कुनै पनि प्रकारको मत माग्ने वा प्रचार गर्ने कार्यलाई पूर्णरूपमा रोकी निर्वाचनको निष्पक्षता कायम राख्न सबै दलले आ–आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिने निर्णय गरेको सूचना अधिकारी दाहालले जानकारी दिनुभयो ।

मतदानको दिन मतदान केन्द्रमा कुनै विवाद वा असहमति उत्पन्न भएमा, त्यसलाई तत्कालै सम्बन्धित मतदान अधिकृत र उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूबिचको आपसी छलफल र सहमतिमा समाधान गर्ने, मतदान कार्यलाई कुनै पनि बहानामा स्थगित हुन नदिन र कानुनी प्रक्रिया भित्र रहेर समस्या सुल्झाउन सबै पक्ष सहमत रहने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकमा नेकपा एमालेका उमेशराज जोशी, नेपाली कांग्रेसका पुलेन्द्रबहादुर कार्की, राप्रपाका देवबहादुर बम, रास्वपाबाट परमानन्द बडू, नेपाली कम्युनिस्ट पार्टीका गणेशसिंह खत्री र नेपाल कम्युनिस्ट पार्टी संयुक्तका शेखरचन्द्र बडू सहभागी हुनुहुन्थ्यो।

एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा ११ दलका उम्मेदवारले उम्मेदवारी दिनुभएको छ ।

पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी–१ बाट प्रतिनिधि सभा उम्मेदवार, अधुरा विकास योजना पूरा गर्ने प्रतिवद्धता

डिलबहादुर सिंह
डोटी, फागुन ८ गते  । 
 सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट डोटी जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुनुहुन्छ। अघिल्लो कार्यकालमा पाँच वर्षसम्म लगातार मुख्यमन्त्री रहँदै भट्टले अधुरा विकास योजनाहरू पूरा गर्ने प्रतिबद्धता सहित मतदातासँग मत माग्दै हुनुहुन्छ।

पूर्व मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा खुटिया देखि उरई भञ्ज्याङसम्मको सडकलाई त्रिदेशीय सडकको रूपमा विकास गर्न संघीय सरकारसँग आग्रह गरिएको दाबी गर्दै, आफू निर्वाचित भएपछि ‘फास्ट ट्रयाक’ निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो पहलमा कैलालीको खुटिया–डोटी–बझाङ हुँदै चीनसँगको उरई भञ्ज्याङ नाकासम्म सडकको ट्रयाक खोल्ने काम अघि बढाइयो। अहिले पनि सडक निर्माण कार्यले पर्याप्त गति लिन सकेको छैन।”

कैलालीको सहजपुरदेखि डोटीको बोगटान हुँदै दिपायल जोड्ने ५२ किलोमिटर सडक ३५ वर्षपछि २०७८ सालमा ट्रयाक खुलेको हो। तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारले यसलाई गौरव आयोजना बनाएर कार्य अगाडि बढाएको थियो। पूर्व मुख्यमन्त्री भट्टले यस सडक कालोपत्रे गर्ने योजना आफ्नो चुनावी प्रतिवद्धतामा समावेश गर्नुभएको छ।

उहाँले आफ्नो कार्यकालमा डोटीमा करिब १३० किलोमिटर सडक कालोपत्रे, क्याम्पस र विद्यालय भवन निर्माण, ५० शैयाको अस्पताल भवन तथा जिल्ला अस्पतालदेखि प्रादेशिक अस्पतालसम्म सेवा स्तरोन्नति गरेको दाबी गर्नुभयो। भट्टले वर्तमान योजनाहरूमा ठूला अन्तर रहेकाले पूर्वनिर्धारित अधुरा योजना पूरा गर्नु आफ्नो प्रमुख उद्देश्य भएको बताउनुभयो।

पूर्व मुख्यमन्त्री भट्ट २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित भई २०७४ फागुन ५ देखि २०७९ पुष २७ गतेसम्म सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री रहनुभएको थियो।

प्रतिनिधि सभा सदस्यको लागि डोटीमा अन्य प्रतिस्पर्धी उम्मेदवारहरूमा नेपाली काँग्रेसका भरत बहादुर खड्का, नेकपा (एमाले) का दिपक धामी, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र बहादुर खड्का, राष्ट्रिय जनमोर्चाका मणिराज भट्ट, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रकाश कठायत, राष्ट्रिय प्रजातन्त्र पार्टीका खडक बहादुर अग्रवाल, नेपाल मजदुर किसान पार्टीका खगेन्द्र बहादुर शाही र मितेरी पार्टी नेपालका सरस्वती कुमारी मल्ल (पाल) रहेका छन्।

कैलालीमा चुरे क्षेत्रको अवैध उत्खननमा पाँच पक्राउ, उपकरण समेत नियन्त्रणमा

अविनाश चौधरी

धनगढी, फागुन ८ गते । कैलालीको चुरे क्षेत्रमा अवैध उत्खनन गरिरहेका पाँच जनालाई वनको टोलीले पक्राउ गरेको छ ।

चुरे गाउँपालिका–४ स्थित अँधेरी खोलामा अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विभिन्न उपकरण चलाउने व्यक्ति रहेका छन्।खोलामा अवैध उत्खनन्का लागि प्रयोग गरिएको एक भ्याकु लोडर, तीन वटा टिप्पर र एक ट्रयाक्टरलाई वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन एवम् स्वीकृतिबिना नदीजन्य पदार्थ उत्खनन गरिएकाले पक्राउ गरिएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिनुभयो ।

कानुन विपरित उत्खनन गरिएकोले उनीहरूलाई पक्राउ गरिएको उहाँले उल्लेख गर्नुभयो।पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।