बैतडीमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम, २०० किसान लाभान्वित हुने

केशव राज भट्ट
वाशुलिङ (बैतडी), पुस ९ गते ।
 खेतबारीमा हराउँदै गएको हल गोरुको संस्कृति जोगाउन बैतडीका किसानलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम अघि सारिएको छ ।

परम्परागत खेती प्रणालीलाई जोगाइराख्ने उद्देश्यसहित जिल्लाका चार स्थानीय तहमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिने भएको हो । जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनी गाउँपालिकाका गरी दुई सय किसानलाई लक्षित गर्दै प्रतिकिसान पाँच हजार रुपियाँका दरले उपलब्ध गराइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानि दत्त पन्तले बताउनुभयो ।

छनोट भएका प्रत्येक पालिकाबाट ५०–५० जना किसानलाई यस योजनामा समेटिने उहाँले बताउनुभयो । कार्यक्रमका लागि इच्छुक किसानले सम्बन्धित पालिकाको पशु सेवा शाखामा तोकिएको मितिभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । हल गोरु पालेको प्रमाणका रूपमा फोटो, वडाको सिफारिस तथा परम्परागत रूपमा खेती गर्दै आएको विवरण अनिवार्य गरिएको कार्यालय प्रमुख पन्तले बताउनुभयो ।

कम आय भएका, दुर्गम क्षेत्रका र हल गोरुबाटै जीविकोपार्जन गर्दै आएका किसानलाई प्राथमिकतामा राखिने पन्तले बताउनुभयो । यस कार्यक्रमका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिमका सबै जिल्लामा बजेट विनियोजन गरेको बताएको छ ।

परम्परागत खेती प्रणाली संरक्षणसँगै किसानको आयस्तर सुधार गर्ने अपेक्षासहित यो कार्यक्रम लागू गरिएको सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकले जनाएको छ ।

छैन घरबास, जंगलमा त्रिपालमुनि बास

 इन्द्रा कुमारी केसी
७ पुस, घोडाघोडी (कैलाली) । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् ।

चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर, जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए ।

‘त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न थाल्यौं’, नवलसिंहले विगत सम्झिँदै भने, ‘त्यहाँ धेरै परिवार थियौँ । वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन । अनि यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौँ ।’

सोही स्थानमा बस्दै आएका अर्का रतन नाथको पीडा पनि उस्तै छ । डडेल्लधुरा पुर्ख्यौली घर भएका रतनले सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारततिर गए ।भारतमै हुँदा गाउँमा नापी टोली आएछ । आफन्तले रतनको नाममा हुनुपर्ने जग्गा आफ्नै नाममा नाप्न लगाएछन् । ‘बुवाआमा सानैमा बितेका थिए, म परदेशमा थिएँ’, उनले भने, ‘आफन्तले हाम्रो सबै जमिन आफ्नो नाममा नापी गराइ दिएछन् । म फर्किँदा मेरो टेक्ने जमिनसम्म थिएन ।’

विसं २०६० मा डडेल्लधुरा छाडेर चुरे गाउँपालिका–४ स्थित गुठीको जमिनमा बसोबास गरेपनि त्यहाँबाट उठाइएपछि अहिले यहाँ आएर बसोबास गरिरहेको उनले बताए ।

रतनको परिवार स्थानीय सूर्यमुखी आधारभूत विद्यालयको जङ्गल छेउको खेलमैदानमा पालमुनि बस्दै आएको छ । रतन भन्छन्, ‘यो हाम्रो इच्छा होइन, बाध्यता हो । यहाँबाट स्कुलले खेलकुद मैदान खाली गर्दिनु भनिरहेको छ, अब कता जाने थाहा छैन ।’

त्रिपालमुनिको जोखिमपूर्ण जीवन

हाल बालुवागडा क्षेत्रमा १५ भन्दा बढी परिवार अस्थायी टहरामा बसिरहेका छन् । तीमध्ये केही परिवारका अभिभावकहरू रोजगारीको खोजीमा भारत गएकाले घरमा बालबालिका मात्रै छन् ।

घरबार गुमाएर जङ्गलको बसोबास गरिरहेका उनीहरूको जीवन कष्टकर छ । पालमा बालबालिकाहरुले जाडो धान्नै कठिन छ । स्थानीय कलि नाथका अनुसार वर्षायाममा पानी चुहिएर रासन, लत्ताकपडा सबै भिज्छ ।

‘पानी पर्दा टहराभित्रै भेल पस्छ”, उनी भन्छिन्, ‘रातभरि बिच्छी र कीरा–काटीको डर हुन्छ । कति पटक त बिच्छीले टोकेर उपचारका लागि दौडिनु परेको छ । तर जाने ठाउँ कतै नभएपछि यही मृत्युसँग जुधेर बस्नुपर्ने अवस्था छ ।’

गिट्टी कुटेर जीविका

यहाँका महिलाहरूको दिनचर्या बालुवा खोलामा बित्छ । ओलामा सङ्कलन गरिएको गिट्टी नै उनीहरुको आम्दानीको स्रोत हो । “अहिले छोराछोरीको परीक्षा आइरहेको छ’, स्थानीय बुदीसरा सिंजाली भन्छन्, ‘गिट्टी बेचेर आएको पैसाले परीक्षा शुल्क तिर्ने योजना छ ।’ बुदीसराझैँ अन्य महिलाहरुको पनि मुख्य आम्दानीको स्रोत गिट्टी नै हो ।

प्रति घनमिटर एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने गिट्टीबाट आउने पैसाले उनीहरूको घरको नुन–तेल चल्छ । सो क्षेत्रमा मात्रै होइन चुरेको विभिन्न स्थानमा बसोबास गरिरहेका घरबारबिहीन परीवारको अवस्था समान छ ।

वैकल्पिक बसोबासको व्यवस्था नहुँदा पीडितहरू हाल बसिरहेको स्थानमै बस्नुपर्ने बाध्यता रहेको चुरे गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले बताए । उनका अनुसार २०७७ सालमा आएको बाढीलगायत अन्य कारणले विस्थापित ११६ परिवार चुरे–४ को पनेरुगडा, टाँकगडा, बालुवागडा र चुरे–१ को खामाहाले, खानीडाँडालगायतका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् ।

सुरुमा घरबारबिहीन भन्दै वन क्षेत्रमा करिब सात सय परिवार बसेका थिए । गाउँपालिकाले छानबिन गर्दा ११६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन पाइयो । उनीहरुलाई वन क्षेत्र अतिक्रमण गरेको भनी विसं २०७९ मा वन कार्यालयले हटायो । गाउँपालिकाले गरेको छानबिनअनुसार हाल वास्तविक पीडितहरु नै जङ्गल क्षेत्रमा बसोबास गरिरहेका छन् ।

‘विस्थापितहरूको समस्या वास्तवमै गम्भीर छ’, वडाध्यक्ष मगर भन्छन्, ‘तर स्थानीय तहसँग उनीहरूलाई तत्काल व्यवस्थापन गर्ने आफ्नै जमिन छैन । वन क्षेत्रबाट वन कार्यालयले हटाउन खोज्छ, यता उनीहरूको जाने ठाउँ छैन । यही कारणले उनीहरू जोखिमपूर्ण अवस्थामा छन् ।’

चुरेका यी विस्थापित परिवारहरू सरकारले सुरक्षित घरबास उपलब्ध गराउला कि भन्ने आशामा वर्षौँदेखि छन् । यही राज्यका नागरिक भएकाले पनि सरकारले अभिभावकको भूमिका निर्वाह गरोस् भन्ने उनीहरुको चाहना छ ।

शुक्लाफाँटा आरक्ष विस्थापितको पीडा: चिसोमा पालमुनि कठ्याङ्ग्रिँदै जीवन

बेलौरी (कञ्चनपुर), पुस ५ गते । शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा रौतेली बिछुवाबाट विस्थापित हुनुभएका ७४ वर्षीय जयभान भट्ट चिसोले कठ्याङ्ग्रिँदै पालमुनि बस्दै आउनुभएको छ । भीमदत्त नगरपालिका–४ स्थित जडीबुटीको जमिनमा पालमुनि बस्दै आउनुभएका उहाँले चिसोका कारण पालमुनि बस्न समस्या भइरहेको बताउनुभयो । जाडो सुरु भएसँगै रातिको समयमा शीत चुहिँदा रातभर चिसोले कठ्याङ्ग्रिँदै गुजारा गर्नु परेको आरक्ष विस्थापितले पीडा पोख्नुभयो । सरकारले २०५८ वन्यजन्तु आरक्षको नाममा खोसेको गाँस, बास फिर्ता गर्नुपर्ने आरक्षपीडित भट्टले माग गर्नुभयो ।

यसै गरी रौतेली बिछुवाबाट विस्थापित अर्का आरक्षपीडित वासुदेवी दमाईंले बर्सेनि चिसोमा कष्टकर जीवन बिताउन बाध्य भएको तर सरकारले कुनै ध्यान नदिएको गुनासो गर्नुभयो । दमाईंका जेठा छोरा राजु दमाई २८ वर्ष पहिले बेपत्ता हुनुभएको थियो । “जेठो छोरा कमाउन भारत गएपछि बेपत्ता भयो,” उहाँले भन्नुभयो, “कहिले अँधिया त कहिले मजदुरी गरेर गुजारा गर्दै आएकी छु ।” कान्छो छोरा कमाउन भारत गएकाले दैनिकी टार्न केही सजिलो भएको उहाँले सुनाउनुभयो । “चिसोमा पालमुनि बसेका छौँ,” उहाँले भन्नुभयो, “न खाने न लगाउने केही पनि छैन ।”

खान, लगाउनका लागि कतैबाट पनि सहयोग नहुँदा आरक्षपीडितहरू विपत्तिमा दैनिकी काट्नु परेको गुनासो गर्छन् । हिरापुरबाट विस्थापित हुनुभएका ४० वर्षीय शेरबहादुर चुनारा वृद्ध आमाबुवासँगै महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा पालमा बस्दै आउनुभएको छ । न्यानो कपडाका अभावमा रात काट्न समस्या भएको भन्दै उहाँले खानेपानी, शौचालयको पनि व्यवस्था नहुँदा झनै समस्या भएको गुनासो गर्नुभयो ।

जिल्लास्थित ढक्का, हिरापुरलगायत ११ शिविरका तीन सय परिवार अहिले महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा पाल टाँगेर बस्नुभएको छ । आरक्षपीडितले १० कट्ठा जमिन उपलब्ध गराउनुपर्ने, २४ वर्षसम्मको क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै आन्दोलन गर्दै आउनुभएको छ ।  विभिन्न स्थानमा शिविरमा झन्डै चार हजार आरक्ष विस्थापित बस्दै आएका छन् । आरक्षपीडित जिल्ला सङ्घर्ष समितिका अध्यक्ष रति सुनारले यहाँको भीमदत्त नगरपालिकाका जनप्रतिनिधिहरूलाई भेटेर आरक्षपीडित परिवारलाई खानेपानी, खाद्यान्न, लत्ताकपडा, शौचालयको व्यवस्था गरिदिन आग्रह गरे पनि वास्ता नगरेको गुनासो गर्नुभयो ।

जडीबुटीको खाली जमिनमा बस्दै आएका आरक्षपीडितलाई भगतपुरका स्थानीयले दुई वटा खानेपानीको धारा उपलब्ध गराएर सहयोग गर्नुभएको छ । उक्त धाराको पानीले खानका लागि गुजारा चलेको आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष सुनारले बताउनुभयो तर लत्ताकपडा धुन, नुहाउनका लागि भने उनीहरू टाढाको खोला, नदीमा जाने गरेको बताउँछन् ।

भीमदत्त नगरपालिकाले जिल्लाका अन्य पालिकाबाट आएर यहाँ बसेका आरक्षपीडितको सम्पूर्ण व्यवस्थापन भने गर्न नसकिने बताएको छ । उहाँहरूलाई सम्बन्धित पालिकाले राहत तथा अन्य कुराको व्यवस्था गर्नुपर्ने भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुशीलकुमार भट्टले बताउनुभयो । “सुरुमा उहाँहरूलाई केही चामलको व्यवस्थापन गर्ने कुरा भएको हो, वडाध्यक्ष भट्टले भन्नुभयो, “लामो समयसम्म भीमदत्तमै बस्ने भन्ने थाहा भएन, यो समस्या चाहिँ बाहिरको हो, भीमदत्तको त होइन ।” गाउँपालिकाका अध्यक्ष निर्मल रानाले आरक्षपीडितलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

कञ्चनपुर कारागारमा बेथिति विस्फोट: कैदी–नाइके झडप, ८ जना गम्भीर घाइते

भवानीदत्त भट्ट
कञ्चनपुर, पुस ५ गते ।
 कञ्चनपुर कारागारमा हुँदै आएको बेथिति सतहमा आएको छ । कारागारका कैदिबन्दीहरु नै कारागारमा हुँदै आएको बेथितिविरुद्ध विरोध जनाउँदै कर्मचारी र नाइकेविरुद्ध एकजुट भएपछि कारागारको बेथिति सतहमा आएको हो ।

कारागारका कैदीहरू एक जुट भएर कारागार प्रशासनका कर्मचारी र केही  नाइकेको मिलेमतोमा कारागार भित्र अवैध लागुऔषध र मदिराको व्यापार तथा ठुलो आर्थिक चलखेल हुने गरेको भन्दै शुक्रबार कैदी र नाइकेबिच झडप भएको थियो ।

झडप क्रममा चार नाइके र चार सह नाइके गरी आठ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा ३४ वर्षीय किरण सिंह, २९ वर्षीय मदन गिरी, २७ वर्षीय संदिप भण्डारी र २९ वर्षीय जनक खड्का रहेका छन्  । यसैगरी, सहनाइकेहरुमा दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही र करण कुँवर घाइते भएको कारागारका सूचना अधिकारी जीवन पन्तले बताउनुभयो । उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कारागारका कैदीबन्दीहरुले प्रशासनका कर्मचारीको मिलेमतोमा नाइकेहरूले कैदीलाई प्रदान गरिँदै आएको रकम तथा खाद्यान्न सामग्रीमा ठुलो घोटाला गर्ने गरेको आरोप लगाएका छन् ।

के कस्तो सुविधा पाउँछन् त कैदी बन्दीले ?
कारागार ऐन २०७९ को दफा २० अनुसार, कारागार प्रशासकले बन्दीलाई मौसम अनुसारको पोसाकको व्यवस्था गर्नुपर्ने उल्लेख छ । तर कञ्चनपुर कारागार प्रशासनले भने मौसम अनुसारको पोसाकको व्यवस्था गर्नुपर्नेमा ऐन विपरीत निर्णय गर्दै वर्षमा दुई पटक नगद चार हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । तर कारागार प्रशासनका कर्मचारी र नाइकेको मिलेमतोमा दुई हजार ५ सय रुपियाँ मात्रै पोसाक बापत रकम दिइएको गुनासो कैदीबन्दीहरुको छ ।

के हो विवाद ?
कारागारमा रहेका कैदीबन्दीहरुलाई प्रदान गरिने रासन, पोसाकमा कारागारका कर्मचारी र नाइकेको मिलेमतोमा झन्डै ३० प्रतिशत रासनमा घोटाला गरिँदै आरोप कैदीबन्दीहरुको छ । जसले गर्दा पोशाकको सट्टा दिइदै आएको रकममा समेत झन्डै तीन लाख ८४ हजार रुपियाँ घोटाला भएको कैदीबन्दीहरुको गुनासो छ ।

कारागार प्रशासनले कारागारको नाइके छनोट गर्दा कैदीबन्दीहरुको विपरीत आचरण गर्ने र प्रशासनका गोप्य कुरा लिक नगर्ने कैदीलाई नाइके बनाउँदै आएको कैदीबन्दीहरुले गम्भीर आरोप लगाएका छन् ।

नाइकेहरूले कैदीहरूलाई उपलब्ध गराउनुपर्ने रासन, पोसाक पर्याप्त उपलब्ध नगराउने गरेको भन्दै कैदीबन्दीहरुले शुक्रबार विरोध जनाएको बताएका छन् । यसैगरी, नाइके वा कारागारका जेलरले कैदीहरूले पाउने सुविधा पूरै नपाएको विषय बाहिर खुलासा गर्न खोजे कैदीहरूलाई अन्य जिल्लाका कारागारमा स्थानान्तरण गर्ने धम्की समेत दिने गरेको कैदीहरू बताउँछन् ।

कारागारका नाइकेले हदैसम्म कैदीबन्दीहरुलाई गलत व्यवहार गर्नुका साथै पाउनुपर्ने रकम समेत आधा प्रदान गर्न थालेपछि शुक्रबार कैदी बन्दी एकजुट हुँदै नाइके र जेलरको विरुद्धमा उत्रिएको बताउँछन् ।

प्रशासन कै मिलेमतोमा अवैध कारोबार 
कारागार प्रशासनको मिलेमतोमा कारागार भित्र अवैधरुपमा लागुऔषध र मदिराको कारोबार समेत हुने गरेको खुलासा भएको छ । कारागार भित्रबाट एक कैदीले ८८४८ लेखिएको रक्सीको बोतल देखाउँदै प्रशासनको मिलेमतोमा मदिरा र अवैध लागऔषधको कारोबार हुने गरेको खुलासा गरेका हुन् । शुक्रबार साँझ ती कैदीले कारागारका कर्मचारी र उनैले तोकेका केही नाइकेको मिलेमतोमा रक्सीको कारोबार हुने गरेको बताउनुभयो ।

कञ्चनपुर कारागारमा एक साता पहिले मात्रै हाजिर भएर आएका जेलर वन्दना सुवेदी हाल काजमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत हुनुहुन्छ । रामदत्त जोशी विगत तीन वर्षयता कारागारमा निमित्त जेलर हुनुहुन्छ । कारागारका जेलर सुवेदीले भने कारागारमा हुँदै आएको घोटालाविरुद्धमा आफुलाई जानकारी नभएको दाबी गर्नुभयो ।

 प्रशासन मौन

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने कारागारमा विगतदेखि नै हुँदै आएको बेथितिको विषयमा शुक्रबार मात्रै जानकारी पाएको बताउनुभयो । पछिल्लो केही समय यता कारागारको निरीक्षण नगरिएको बताउनुहुँदै प्रमुख जिल्ला अधिकारी ढकालले कारागार प्रशासनको मिलेमतोमा अवैध कारोबार तथा कैदी बन्दीको सेवा सुविधा खोसिँदै आएको भेटिन गए नियमानुसार कारबाही अगाडि बढाइने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ढकालले पोसाकको सट्टा रुपियाँ दिँदा कैदीहरूलाई सहजता हुने र झनै पारदर्शी हुने भन्दै नगद चार हजार रुपियाँ दिने निर्णय गरिएको बताउनुभयो । यसैगरी, यस घटनाको विषयमा छानबिन गर्नका लागि छिट्टै छानबिन समिति पनि गठन गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

एनपीएल दोस्रो क्वालिफायर : विराटनगर किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय

२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दैछ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

एनपिएल २: सुदूरपश्चिम–विराटनगर पहिलो क्वालिफायरमा भिड्दै

काठमाडौँ, मङ्सिर २३ गते । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को समूह चरण सम्पन्न भइसकेको छ । प्लेअफ, इलिमिनेटर र अन्तिम भिडन्त मात्र बाँकी हुँदा उपाधि विजेताको धमिलो तस्बिर सफा देखिन थालेको छ । अब गत उपविजेता सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स मात्र उपाधि होडमा बाँकी छन् ।

समूह चरणमा शीर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबिच मङ्गलबार पहिलो क्वालिफायर खेलिने छ । सो खेलमा जित हासिल गर्ने टिम सिधै फाइनल पुग्ने छ । पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग फाइनल पुग्ने अर्को मौका रहने छ । काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच बुधबार हुने इलिमिनेटरमा विजयी टिम र पहिलो क्वालिफायरमा हार्ने टिमबिच बिहीबार दोस्रो क्वालिफायर हुने छ । पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर विजेताबिच शनिबार फाइनल खेलिने छ ।

यसपालि सुरुका छ खेल जितेर प्रमुख दाबेदारका रूपमा प्रस्तुत भएको सुदूरपश्चिम रोयल्सलाई दुई दिनअघि विराटनगर किङ्ग्सले नराम्ररी छ विकेटले हरायो । विराटनगर किङ्ग्सले ४९ बल बाँकी छँदै हासिल गरेको थियो । सो खेलको नतिजाले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा समूह चरणको अन्तिम खेलमा पूर्णविराम मात्र लागेन, उसको उपाधिको सपना विराटनगर किङ्ग्सले चकनाचुर पार्न सक्ने खतरा पनि देखिएको छ । दक्षिण अफ्रिकाका स्टार ब्याट्सम्यान फाप डु प्लेसिसको आगमनले विराटनगर हराउन कठिन टिमको रूपमा देखिएको छ ।

प्रतियोगितामा मध्यभागमा बाटो बिराएको विराटनगर किङ्ग्सले आफ्नो गल्ती पत्ता लगाइसकेको छ । त्यसैले पनि यो टिम अझ खतरनाक देखिएएको छ ।

दुई खेलअघि मात्र नेपाल पुगेका डु प्लेसिसले सुदूरपश्चिमविरुद्ध कीर्तिमान अर्धशतक बनाउनुभएको थियो । उहाँको आगमनले विराटनगरको ब्याटिङ क्रम सशक्त बनेको छ । शीर्ष पाँचमा डु प्लेसिस, अस्ट्रेलियाका बिग ब्यास स्टार साम हेजलेट, न्युजिल्यान्डका मार्टिन गप्टिल, बसिर अहमद र लोकेश बमको उपस्थितिले विराटनगरको ब्याटिङ क्रम खतरनाक देखिएको छ । बलिङमा पनि कप्तान सन्दीप लामिछानेको सानदार लयले विराटनगरको मनोबल थप उच्च छ । सन्दीपले चालु प्रतियोगितामा सर्वाधिक १५ विकेट लिनुभएको छ । बलिङबाटै खेल पल्टाउन सक्ने दक्षिण अफ्रिकाका तेज बलर मर्चेन्ट डी लाङगेको साथ पनि विराटनगरलाई छ ।

यद्यपि दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम बदला लिएर फाइनलमा पुग्ने दाउमा छ । विराटनगरसँगको खेल बिर्सने हो भने सुदूरपश्चिमले निकै प्रभावशाली प्रदर्शन गरेको छ । एक टिमका रूपमा एकजुट भएर खेल्ने भएकाले पनि सुदूरपश्चिम हराउन कठिन टिम हो । विराटनगरसँगको खेलमा कप्तान दीपेन्द्रसँगै अलराउन्डर हर्मित सिंह हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ । कुल १४ विकेट लिएर सन्दीपलाई सर्वाधिक विकेटकर्ताको होडमा कडा टक्कर दिने तेज बलर अविनाश बोहोराबाट पनि राम्रो बलिङको अपेक्षा रहने छ । चालु प्रतियोगितामा सुदूरपश्चिमका लागि विदेशी खेलाडीले मात्र नभएर घरेलु खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् ।

विदेशी खलाडीहरू क्रिस लिन र जोस ब्राउन फर्किसकेको अवस्थामा सदूरपश्चिमले उहाँहरूको स्थानमा अमेरिकी ब्याटर मुख्तर अहमद र भारतीय ब्याटर सेल्डन ज्याकसन टिममा ल्याएको छ । यी खेलाडीको प्रदर्शनले पनि सुदूरपश्चिमको अगाडिको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पक्का छ ।

घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

इन्द्रा कुमारी केसी

घोडाघोडी , २२ मङ्सिर/
कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले गत भदौ ३० गतेदेखि वन पैदावार बिक्री वितरणमा अनिश्चितकालीन रोक लगाएपछि जिल्लामा सङ्कलित र लिलाम भइसकेका लाखौँ क्यूफिट काठ घाटगद्दीमै थन्किएका हुन् । समयमै सङ्कलन, मापदण्ड पालन, लिलाम प्रक्रिया पूरा गरेर घाटगद्दीमा राखिएको काठ उठाउन अनुमति नपाउँदा सामुदायिक तथा साझेदारी वन, निजी काठ व्यवसायी, मजदुर, उपभोक्तालगायत सबै मारमा परेका छन् । करोडौँ मूल्य बराबरको वन पैदावार कुहिने अवस्थामा पुगेको छ ।

मन्त्रालयले रोक लगाएको पत्रमा बिक्री वितरणमा विविध अनियमितता भएको जन गुनासो, प्रक्रिया पारदर्शी नभएको आरोप र भदौ २३ र २४ गतेको आन्दोलनका कारण असहज परिस्थिति सिर्जना भएको जनाइएको थियो । तर रोक लगाएको महिनौँ बितिसक्दा पनि न अनियमितता प्रमाणित गर्न कुनै छानबिन समिति बनेको छ, न त अनियमिततासम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छ ।
प्रदेश सरकारले रोक लगाउने औचित्य स्पष्ट नगर्नु, समाधान प्रक्रियामा ढिलाइ गर्नु र वैकल्पिक प्रणालीको व्यवस्था नगर्नुले समस्या उत्पन्न भएको छ ।
कैलालीमा करिब एक लाख ७१ हजार ३७० क्यूफिट काठको लिलाम प्रक्रिया पूरा भइसकेको थियो । डिभिजन वन कार्यालय पहलमानपुरमा हालसम्म ८६ हजार ३७० क्यूफिट काठ लिलाम भइसकेको छ । त्यसैगरी डिभिजन वन कार्यालय कैलालीमा पनि ८५ हजार क्युफिट काठ लिलाम भइसकेकामा उठाउन नपाइ घाटगद्दीमै थन्किएको हो । डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टका अनुसार सरकारको निर्णयपछि ठेक्का भइसकेको काठ उठाउन नपाउँदा सामुदायिक वन, साझेदारी वन, उपभोक्ता, मजदुर र काठ व्यवसायी सबै मर्कामा परेका छन् । उनले भने, “वन समूहबाट सङ्कलन हुने राजस्व पनि रोकिएको छ, जसको प्रत्यक्ष असर स्थानीयदेखि प्रदेश सरकारसम्म परेको छ ।” गठन भएको दुई वर्षपछि मात्रै सञ्चालनमा आएको गौरीगङ्गा साझेदारी वनले सङ्कलन गरेको २५ हजार क्यूफिट काठ घाटगद्दीमा थन्किएको छ । अध्यक्ष बलबहादुर महतोले भने, “हामीले एक करोड ८० लाख पुरानो ऋण तिर्नै बाँकी छ । काठ बेचेर ऋण तिर्ने योजना थियो, तर रोकले निकै समस्या परेको छ ।”

कैलालीको चुरे गाउँपालिका सबैभन्दा बढी प्रभावित छ । यहाँ आन्तरिक खपत नहुने भएकाले सबै लिलाम बिक्री गर्ने गरिएको थियो । वन समूहले काठ बेचेर राजस्व सङ्कलन, वन विकास, सामाजिक कार्यक्रम र ऋण तिर्ने गरेका थिए । तर यसपटक काठ उठ्नै नपाउँदा समस्या भएको चुरे–३ सहजपुरस्थित जनजागृति सामुदायिक वनका अध्यक्ष धनबहादुर खडायतले बताए । उनका अनुसार पाँच हजार क्यूफिटभन्दा बढी काठ घाटगद्दीमै छ ।

चुरे–३ को पञ्चवली सामुदायिक वनमा पनि तीन हजार क्युबिक फिट काठ सङ्कलन गरिएको थियो । काठ कुहिएर खेर जान थालेको सामुदायिक वनका अध्यक्ष प्रेम रानामगरले बताए । “वन पैदावार बिक्री रोक्नका लागि अनियमितताको कारण देखाइएको छ”, उनले भने, “जहाँ अनियमितता भयो त्यहाँ रोकेर छानबिन गर्नुपर्छ । किन कैलालीमै मात्र प्रतिबन्ध लगाइएको हो । सरकारले स्पष्ट गर्नुपर्छ ।”

केही दिनमा बिक्री वितरण नखुलाइएमा आन्दोलनमा उत्रिने स्थानीयले चेतावनी दिएका छन् । महोन्याल–७ कुइनेस्थित बन्डाली सामुदायिक वनमा पनि तीन हजार चार सय क्युबिक फिट काठ कुहिने अवस्थामा पुगेको वनका अध्यक्ष महेश विष्टले बताए ।

काठ व्यवसायीहरूले सापटी र बैङ्कबाट कर्जा लिएर व्यवसाय चलाइरहेकामा सरकारले वन पैदावार बिक्री–वितरणमा रोक लगाएपछि लगानी डुब्ने अवस्थामा पुगेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका अध्यक्ष हिक्मत कुँवरले बताए ।

सुदूरपश्चिम प्रदेशका वनसम्बन्धी समस्या समाधानका लागि गठित कार्यदलका सदस्यसमेत रहनुभएका कुवँरका अनुसार कार्यदलले वन पैदावार बिक्री खोल्नुपर्ने मागसहित मुख्यमन्त्रीलाई प्रतिवेदन पेस गरिसकेको छ । “यदि प्रतिवेदनका सुझावहरू कार्यान्वयन भएनन् भने, हामी सबै सरोकारवालासँग छलफल गरेर अगाडि बढ्छौँ,” उनले भने ।

सुदूरपश्चिम प्रदेश सरकारले वन पैदावार बिक्री वितरणमा रोक लगाएपछि खुलाउने पर्नेलगायतका विभिन्न २५ बुँदे माग राख्दै सामुदायिक वन समूहका उपभोक्ता र विभिन्न सरोकारवाला निकायहरू आन्दोलित भएका थिए ।

विकल्प खोज्न प्रदेश सरकारले गत कात्तिक २८ गते वन निर्देशक हेमराज विष्टको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले मङ्सिर २१ गते नै मुख्यमन्त्री कमलबहादुर शाहलाई सुझाव सहित प्रतिवेदन बुझाएको छ । विष्टका अनुसार प्रतिवेदनमा काठ नियमअनुसार तत्काल बिक्री वितरण फुकुवा गर्न सिफारिस गरिएको छ ।

सुदूरपश्चिममा लगानीमैत्री वातावरण निर्माण प्राथमिकता—मुख्यमन्त्री शाह

धनगढी, मङ्सिर २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालबिच आज भेटवार्ता भएको छ ।

मुख्यमन्त्री निवासमा दुवैबिच भेटवार्ता भएको हो । औपचारिक भेटको क्रममा अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनको अवसरमा महासङ्घले तयार पारेको सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती स्थितिपत्र–२०८१ मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नुभयो ।

स्थितिपत्र ग्रहण गर्नु हुँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा लगानीको सम्भावना विशाल रहेको चर्चा गर्नुभयो । उहाँले लगानी अनुकूल वातावरण निर्माणलाई प्रदेश सरकारले प्राथामिकता दिएको बताउनुभयो । निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले सुदूरपश्चिमको कर्णाली–चिसापानी क्षेत्रमा पाँच अर्ब रुपियाँ लगानीमा केवलकार परियोजना सञ्चालन गरी प्रदेशमा लगानीमैत्री वातावरण बनाउन टेवा पु¥याएकोमा ढकाललाई धन्यवाद दिनुभयो ।

अध्यक्ष ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, धार्मिक तथा जलस्रोत क्षेत्रमा अपार सम्भावना रहेको बताउनुभयो । उहाँले यस प्रदेशमा ठुला लगानी आकर्षित गर्न महासंघ प्रतिवद्ध रहेको उल्लेख गर्दै थप्नुभयो,“चिसापानीमा पाँच अर्बमा निर्माण भइरहेको केवलकार परियोजनाले यस प्रदेशको आर्थिक विकासमा टेवा पुग्नेछ ।”

अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय सिमानासंग नजिक रहेको सुदूरपश्चिम प्रदेशका अन्तर्राष्ट्रिय लगानीको अवसर पनि बढि रहेको उल्लेख गर्नुभयो । नेपाललमा नकारात्मक धारणाभन्दा पनि सकारात्मक उर्जा र लगानीमैत्री सोंच आवश्यक रहेकरो उहाँको भनाइ छ ।

टेक्सास इन्टरनेसनल कलेजमा मंसिर २४–२६ ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन–२०८२’ हुने

काठमाडौं । मित्रपार्क चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले यहि २०८२ मंसिर २४, २५ र २६ गते (डिसेम्बर ९, १० र ११, २०२५) तीनदिने ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन-२०८२’ आयोजना गर्दैछ । नवप्रवर्तन, रचनात्मकता र प्राविधिक उत्कृष्टताको यो उत्सवमा कलेजका विद्यार्थीहरूले तयार पारेका १०० भन्दा बढी रोचक तथा उपयोगी परियोजनाहरू प्रदर्शनीमा राखिने छन् ।
एक्जिबिसनमा मुख्य आकर्षणका रूपमा IoT र रोबोटिक्सतर्फका ३८ वटा परियोजनाहरू रहनेछन् । जसमध्ये केही चर्चित परियोजनाहरूमा Smart Door Lock Security System, Motion Controlled Smart Wheelchair, First Aid Drone, Eco-Smart Bus Stop, Automated Gas Risk Detection and Response Unit, Smart Green House, Fire Fighting Bot, Self-Balancing Robot, Water Pollution Detecting Bot, Air Quality Monitoring System, Hand Gesture Controlled Car, Smart Weather Intelligent Forecasting Technology, Mini IOT Air Defense System, Humanoid Robot लगायत रहनेछन् ।
यसबाहेक साइबर सेक्युरिटी क्षेत्रमा “Moded App for Spyware” र “Phishing Attack: Credentials Harvesting” जस्ता डेमो परियोजनाहरू, सफ्टवेयरतर्फ “Learn-Z: Modern Learning Application” र “Canteen Management System”, तथा गेमिङतर्फ “Dodge Ball” र “Fruits Collect” जस्ता परियोजनाहरू पनि प्रदर्शनीमा रहनेछन् ।
कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर नारायण प्रसाद पोखरेलले बताउनुभयो, “यो एक्जिबिसन केवल परियोजना प्रदर्शनी मात्र होइन, विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानलाई वास्तविक समस्यासँग जोडेर बनाएका समाधानहरूको ठूलो प्लेटफर्म हो । यहाँ वातावरणीय समस्या, स्वास्थ्य, सुरक्षा, दिगो विकास र डिजिटल साक्षरतासम्मका स्थानीय चुनौतीहरूलाई सम्बोधन गर्ने परियोजनाहरू प्रस्तुत हुनेछन् ।” सूचना प्रविधिको क्षेत्रमा रुचि राख्ने र केही गर्न चाहने विद्यार्थीहरूलाई प्रोत्साहित गर्नका लागि एक्स्पोको आयोजना गर्न लागेको कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर पोखरेलले बताउनुभयो ।

कलेज प्रमुख श्याम सुन्दर श्रेष्ठले भन्नुभयो, “हाम्रा विद्यार्थीहरूले STEM (Science, Technology, Engineering & Mathematics) क्षेत्रमा देखाएको रचनात्मकता र नवीन सोचलाई प्रोत्साहन गर्न यो एक्जिबिसन आयोजना गरेका हौं । यो कार्यक्रमले भावी पुस्तामा प्रविधिप्रति रुचि जगाउन र उनीहरूलाई समस्या समाधानको क्षमता विकास गर्न ठूलो भूमिका खेल्नेछ ।” उहाका अनुसार उक्त्त प्रदर्शनीले विद्यार्थीहरूका उत्कृष्ट तथा नवीन परियोजनाहरूलाई प्रकाश पार्दै विज्ञान तथा आइटीको क्षेत्रमा रुचि जगाउने काम गर्नेछ ।
कलेज प्रमुख श्रेष्ठले नेपालको शिक्षा क्षेत्र विश्वव्यापी प्राविधिक परिवर्तनसँगै अगाडि बढिरहेका बेला टेक्सास इन्टरनेसनल कलेजजस्ता संस्थाद्वारा आयोजित यस्ता कार्यक्रमले भावी नवप्रवर्तकहरूका लागि महत्वपूर्ण उत्प्रेरकको रुपमा काम गर्ने बताउनु भयो ।
टेक्सास इन्टरनेशनल कलेजले रचनात्मकता, नवीनता र नयाँ कुरा सिकाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको र सोही क्रमलाई निरन्तरता दिँदै कलेजले ‘ टेक्सस साइन्स एंड आइटि एक्जिबिसन- २०८२’ आयोजना गर्न लागेको हो ।
प्रदर्शनीमा वातावरण विज्ञानदेखि कोडिङ सिमुलेसनसम्मका अन्तरक्रियात्मक स्टलहरू राखिनेछन । विद्यार्थीहरूले दिगो ऊर्जा र डिजिटल साक्षरता जस्ता स्थानीय चुनौतीहरूलाई सम्बोधन गर्ने परियोजनाहरू प्रस्तुत गर्नेछन । एक्सपोमा विज्ञान र प्रविधिको क्षेत्रमा भएका नयाँ खोज अनुसन्धानको विषयमासमेत जानकारी गराइने छ । एक्सपोमा विभिन्न रोमाञ्चक खेलहरू समेत संलग्न हुने छन् । एक्सपोमा विद्यार्थीहरूले बनाएका विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छन् ।
तीनदिने उक्त्त कार्यक्रममा करिब १५० विद्यालय तथा कलेजका १५,००० भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्जिबिसन सर्वसाधारणका लागि पनि पूर्ण रूपमा निःशुल्क तथा खुला रहनेछ ।

सिमसार क्षेत्रमा स्वामित्वको द्वन्द्वः संरक्षणमा चुनौती

इन्द्रा कुमारी केसी

घोडाघोडी (कैलाली), मङ्सिर १७ गते । कैलालीको भजनी नगरपालिका-९, ओमशान्ति सामुदायिक वनका अध्यक्ष राजकुमार चौधरी एक वर्षदेखि कैलाली जिल्ला अदालत धाइरहनुभएको छ । गाउँलेले चयन गरेर सामुदायिक वन समूहको अध्यक्ष बनाइदिएपछि संरक्षणमा होमिनुभएका उहाँ अहिले अदालतको तारिख र मुद्दाको झमेलामा फस्नु भएको छ ।

उहाँसँगै फोनिराम, रामसागर, मनोज र शीतल चौधरी पनि अदालतको चक्कर काटिरहनुभएको छ । ओमशान्ति सामुदायिक वनभित्र करिब ३७ हेक्टरमा फैलिएको घोरताल भजनी नगरपालिकाले माछापालनका लागि ठेक्का लगाएको थियो । ठेक्का लम्कीचुहा-१ का प्रेमबहादुर भुलको नाममा परी भुलले व्यावसायिक माछापालन गरिरहनु भएको थियो ।

२०८० चैत मसान्तमा ठेक्का अवधि सकिएपछि सामुदायिक वन उपभोक्ता समूहको साधारणसभाले आफ्नो वनभित्र रहेको ताललाई आफैँले व्यवस्थापन गर्ने  निर्णय गर्यो । सो निर्णयअनुसार सामुदायिक वन उपभोक्ता समितिले आफैँ माछापालन गर्ने तयारी गर्यो । पालिकाको ठेक्का अवधि सकिसकेकाले पालिकालाई पत्राचार गरी समूह आफैँले तालमा माछाको भुरा हाली काम सुरु गर्यो ।

ठेकेदारले आफूले पालन गरेका माछा हानी नोक्सानी गरेको भनि समूहका अध्यक्ष राजकुमार चौधरीसमेत गरी पाँच जनालाई एक करोड ७० लाख बराबरको बिगो माग दाबीसहित कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरे । अहिले अध्यक्षसहित उहाँहरू त्यही मुद्दामा अदालत धाइरहनु भएको छ । “हामीले ठेक्का सकिएको थाहा पाउने बित्तिकै तालमा माछाका भुरा हाली काम सुरु गर्यौँ” अध्यक्ष चौधरी भन्नुहुन्छ ।

ठेकेदारले सबै माछा बिक्री गरी ताल सुकाइसकेको पनि थियो, पछि पालिकाले पहिलेकै बक्यौता रकम नतिरेकै अवस्थामा सोही ठेकेदारलाई २०८१ वैशाख ९ गते म्याद थप गराएको रहेछ । त्यही कारण ठेकेदारले ताल छोड्न मानेन र उल्टै हामीलाई विपक्षी बनाइ एक करोड ७० लाखको बिगोसहित अदालतमा मुद्दा दायर गरेको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, आम उपभोक्ताको निर्णय अनुसार सामुदायिक वनभित्र रहेको ताल संरक्षण गरी समुदायको अधिकार पुनः स्थापना गर्न नेतृत्व गर्दा करोडको बिगोसहित व्यक्तिगत मुद्दा खेपिरहनु परेको छ ।

घोरताल जस्तै कैलालीका अन्य तालमा अहिले स्वामित्वको द्वन्द्व चलिरहेको छ । तालको स्वामित्वको द्वन्द्वले गर्दा एकातिर तालको उचित संरक्षण र त्यसबाट प्राप्त हुने लाभ पूर्णरूपमा लिन सकिएको छैन भने अर्कोतिर मुद्दा मामिला, ठेकेदारले सम्झौता अनुसारको रकम नतिर्ने, ठेक्का रद्द गर्नुपर्ने र स्थानीय समुदायबाट काममा असहयोग र प्रतिवादसम्म भइरहेको पाइन्छ । तालबाट सिँचाइ गर्ने, थारू समुदायले माछा घोंघी मार्नेलगायतका परम्परागत अभ्यासमा समस्या आउनुको साथै प्राकृतिक तालमा व्यावसायिक माछापालनले जैविक विविधता संरक्षण र पर्यावरणीय सवालसमेत उठाएको छ ।

अख्तियारदेखि अदालतसम्म

भजनीको घोरताल मात्रै होइन जिल्लाको अन्य सामुदायिक वनले पनि अदालतसम्म धाउनु परेको छ । भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा पर्ने ५.५७ हेक्टरको लोटीहुवा तालको स्वामित्व विवाद २०७५ मा अदालतसम्म पुगेको थियो । भजनी नगरपालिकाले स्थानीय तह स्थापनापछि उक्त ताल माछापालनका लागि ठेक्कामा दिएपछि सामुदायिक वन उपभोक्ता समूहका तर्फबाट हरिराम चौधरीले स्वामित्वको विषयमा जिल्ला अदालतमा मुद्दा दायर गर्नु भएको थियो ।

अदालतले २०७६ सालमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को आधारमा तालको अधिकार नगरपालिकाको मातहतमा पर्ने निर्णय गरेको थियो । तर अदालतको निर्णयप्रति सामुदायिक वन उपभोक्ता समूह भने असन्तुष्ट छ । समूहका अध्यक्ष खुमबहादुर खड्काका अनुसार ताल वन क्षेत्रभित्र पर्ने भएकाले यसको संरक्षण र व्यवस्थापन उनीहरूले वर्षौदेखि गर्दै आएका छन् । “ताल हाम्रो वनभित्र पर्छ, हामीले संरक्षण गर्छौ तर पालिकाले ठेक्का लगाउँछ,” उहाँ भन्नुहुन्छ ।

अदालतको फैसलापछि पनि वन समितिले संरक्षणको जिम्मा निरन्तर बहन गरिरहेको छ । हाल नगरपालिकाले ठेक्कामा दिएको ताल ठेक्कामा लिएको व्यक्तिमार्फत सामुदायिक वनले नै मौखिक ठेक्कामा लिएर माछापालन गरिरहेको छ । “माछापालनका लागि न्यायालयको निर्णय हामीले मानेका छौँ तर वन क्षेत्रभित्र रहेको ताल संरक्षण र व्यवस्थापनको जिम्मेवारी हाम्रै हो,” अध्यक्ष खड्काले भन्नुभयो ।

त्यस्तै भजनी-४, बिजुलियास्थित ४६ हेक्टरमा फैलिएको लौकाह भौकाह तालको स्वामित्व लौकाह भौकाह सामुदायिक वन उपभोक्ता समूहलाई दिनुपर्ने माग गर्दै समूहले २०७५ सालमा कैलाली जिल्ला अदालतमा मुद्दा दायर गर्यो । यस मुद्दामा अदालतको मेलमिलाप प्रक्रियामार्फत समूह र भजनी नगरपालिकाबिच समझदारी कायम भयो ।

समझदारी अनुसार माछापालनको ठेक्का नगरपालिकाले लगाउने तर ठेक्काबाट आउने आम्दानीको ५० प्रतिशत हिस्सा सामुदायिक वन उपभोक्ता समूह क्षेत्रमा विकास निर्माणमा प्रयोग गर्न समूहलाई नै दिने सहमति गरियो । तर, समूहका अध्यक्ष बचावन चौधरीका अनुसार, पालिकाले हालसम्म सो सहमति अनुसार रकम समूहलाई उपलब्ध गराएको छैन । “हामीले मेलमिलाप गरेर ठेक्काको अधिकार पालिकालाई त दियाैँ तर सहमति अनुसारको लाभ पाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो ।

यता नगर प्रमुख केवल चौधरी भने कानुन अनुसार सामुदायिक वनभित्र रहेका ताल स्थानीय तहको स्वामित्वमा पर्ने बताउनुहुन्छ । हालसम्म अदालतले दुई वटा ताल नगरपालिकाको स्वामित्वमा पर्ने गरी फैसला गरिसकेको भए पनि सामुदायिक वन र पालिकाबिचको विवाद अझै समाधान हुन सकेको छैन । नगर प्रमुख चौधरी भन्नुहुन्छ, ‘‘सामुदायिक वनसँग समन्वय गरेर विवाद सुल्झाउने प्रयास गरिरहेका छौँ ।’’

जिल्लाको कैलारी गाउँपालिकास्थित कोइलही तालको स्वामित्वको विवाद पनि जिल्ला प्रशासन हुँदै अख्तियारसम्म पुग्यो । ६७ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको यो तालबाट वर्षौदेखि वडा नं ६ को वनकट्टा, जवनीपुर र वडा ९ को गदरिया, कोइलही र शीतलपुरका किसानले सिँचाइ गर्ने गर्छन् । वि.सं.२०७३ मा तालसहित कोइलही सामुदायिक वनको रूपमा जिल्ला वन कार्यालयबाट समूहलाई हस्तान्तरण भएको थियो ।

सामुदायिक वनमा हस्तान्तरणपछि तालको संरक्षणका लागि कोइलही ताल संरक्षण तथा सम्वर्धन समिति बनाइ जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता गरियो । २०७८ सालमा सामुदायिक वनले स्थानीय तहबाट ताल फिर्ता लिँदा विवाद सुरु भयो । सामुदायिक वनको मातहतमा ल्याएपछि ताल  एक करोड ४५ लाखमा ठेक्का सम्झौता भएको थियो । २०७८ मा पहिलो किस्ता २८ लाख सामुदायिक वनले बुझिसकेको पनि थियो तर सिँचाइमार्फत वर्षौदेखि तालको प्रयोग गर्दै आइरहेको भन्दै गाउँलेले ताल सामुदायिक वनको नभइ आफ्नो मातहतमा हुनुपर्ने भन्दै दाबी गरे ।

विवाद जिल्ला प्रशाशन हुँदै अख्तियारसम्म पुग्यो । सिँचाइ प्रयोग गर्दै आइरहेका गाउँलेले पैसामा हिनामिना गरेको भन्दै सामुदायिक वन उपभोक्ता समितिविरुद्ध अख्तियारसम्म पुर्याए, सबै कागजात अख्तियारलाई देखायौ वनका अध्यक्ष डबलबहादुर सिजाली मगरले बताउनुभयो । रकम हिनामिना भएको थिएन, अख्तियारको उजुरी छानबिनपछि टुङ्गियो । तर उनीहरूले ताल स्वामित्वको विवाद पुनः जिल्ला प्रशासनमा पुर्‍याए ।

जिल्ला प्रशासनले मिलेर जान सुझाव दिएपछि कोइलही ताल संरक्षण सम्बद्र्धन समितिमा उक्त गाउँलेलाई ल्याई मिलेर जाने सहमति भयो । पहिलो पक्षमा सामुदायिक वन रहने र ठेक्काको रकम सामुदायिक वन उपभोक्ता समूह र ताल संरक्षण सम्वर्धन समितिको संयुक्त सल्लाह बमोजिम खर्च गर्ने सम्झौता भएको वनका सचिव सिहीलाल चौधरीले बताउनुभयो । सचिव चौधरी भन्नुहुन्छ, उक्त संरक्षण सम्वर्धन समितिले रकम आफ्नोमा आउने निर्णय गरेका रहेछन् अध्यक्षले थाहा नपाइ हस्ताक्षर गर्नुभयो । अध्यक्षका अनुसार दुई वर्षदेखि ताल संरक्षण सम्वर्धन समितिले आफैँ रकम उठाइरहेको छ ।

यता ताल संरक्षण सम्वर्धन समितिका अध्यक्ष रामदुलारु चौधरीले पत्राचार गर्दा पनि वन समितिले बेवास्ता गरेको बताउनुहुन्छ । ठेक्काको रकमले समितिको भवन निर्माणसँगै सिँचाइका लागि प्रयोग हुने कुलोको मर्मत सम्भार गरेको बताउँदै चौधरी भन्नुहुन्छ, ‘‘अब ताल पालिकाले एकद्वार प्रणालीमा लिने भनेको छ हामी पालिकालाई दिने योजनामा छौंँ ।’’

कैलारी गाउँपालिका उपाध्यक्ष भगवती डंगौरा थारूका अनुसार पालिकाले तालतलैया संरक्षण तथा प्रम्बद्र्धन सम्बन्धी कार्यविधि २०८० नै तयार गरेको छ । सोही कार्यविधि अनुसार गाउँपालिकाभरि रहेका ताल एकद्वार प्रणालीमा ल्याउने प्रयास पनि भइरहेको छ । पचासभन्दा बढी ताल यस क्षेत्रमा छन् चौधरीले भन्नुभयो, ‘‘कार्यदल नै गठन गरेर तालको अनुगमन पनि गरी सक्यौ, एकद्वार प्रणालीमा ल्याउने छौँ ।’’

स्वामित्वको लडाइँमा पछि हट्यो पालिका

कैलालीका धेरै नगरपालिका र गाउँपालिकामा अहिले यस्तै ताल विवाद दोहोरिँदै छन् । संरक्षणको जिम्मा लिएको सामुदायिक वन र स्वामित्व दाबी गर्ने स्थानीय तहबिच चलिरहेको स्वामित्वको रस्साकस्सीबिच भजनी नगरपालिका-९ स्थित सोनिया रुपिया नुक्ली ताल भने सामुदायिक वनले आफ्नै स्वामित्वमा लिई माछापालन गरिरहेको छ ।

३७ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको तालबाट वार्षिक ११ लाखभन्दा बढी आम्दानी हुने गरेको छ । ठेक्काका लागि पालिकाले बोलपत्र आह्वान गर्छ तर सामुदायिक वनले कसैलाई पनि तालमा प्रवेश गर्न दिँदैन । सामुदायिक वनका अध्यक्ष सुरेश चौधरी भन्नुहुन्छ, “कुनै हालतमा हामी ताल नगरपालिकालाई दिँदैनौ, संरक्षण हामीले गरिरहेका छौँ भने व्यवस्थापन गरी आम्दानी पनि हामी नै लिन्छौँ ।”

नगरपालिकाले तालमार्फत आउने आम्दानीको केही प्रतिशत मागेमा दिन तयार रहेको तर स्वामित्व सामुदायिक वनकै हुनुपर्ने उहाँको अडान छ । बसन्ता कोरिडोर अन्तर्गत पर्ने गौरीगङ्गा नगरपालिकामा दुई वटा ताल ठेक्कामा छन् । घोडाघोडी नगरपालिकामा पालिकाले हाल कुनै पनि ताल स्वामित्वमा लिएको छैन । पहिले पालिकाले केही ताल स्वामित्वमा लिए पनि विवादपछि ती ताल सामुदायिक वनको मातहतमा फिर्ता गएका छन् । घोडाघोडी नगरपालिकाका प्रमुख खड्क रावत भन्नुहुन्छ, “ताल स्वामित्वमा ल्याउने प्रयास गर्ने कि भन्ने सोचेमा थियौँ तर सामुदायिक वनसँगको विवादका कारण पछि हट्यौँ ।’’

बक्यौतामा अड्कियो करोडौँ रकम

कैलाली जिल्लाका उर्बर सिमसार क्षेत्र विशेष गरी प्राकृतिक तालतलैया, यति बेला गम्भीर स्वामित्वको द्वन्द्वमा फसेका छन् । स्थानीय सरकार सञ्चालनमा आएपछि सामुदायिक वन उपभोक्ता समूह र स्थानीय तहबिच यी जलस्रोतमाथि अधिकार जमाउने होडबाजीले संरक्षणमा असर परिरहेको छ ।

यो द्वन्द्वले एकातिर महत्त्वपूर्ण जैविक विविधताले भरिपूर्ण सिमसार क्षेत्रको व्यवस्थापन हुन सकेको छैन भने अर्कोतिर स्थानीय सरकारले यसबाट प्राप्त गर्नुपर्ने ठुलो मात्राको राजस्वसमेत गुमाइरहेको छ । स्थानीय तह स्थापना भएपछि भजनी नगरपालिकाले आफ्नो स्वामित्वमा लिई २० भन्दा बढी ताल ठेक्कामा दिएको थियो ।

सुरुमा राजस्वका हिसाबले लाभदायी देखिए पनि अहिले ती ठेक्का पालिकाका लागि टाउको दुखाई जस्तै बनेको छ । ठेक्का अवधि सकिएको धेरै भइसके पनि आर्थिक वर्ष २०८०/८१ सम्म पालिकाले चार करोडभन्दा बढी बक्यौता उठाउन सकेको छैन । अहिले भजनी नगरपालिकाबाट नौ वटा ताल मात्रै ठेक्कामा रहेका छन् । नगर प्रमुख केवल चौधरी भन्नुहुन्छ, “बक्यौता रकमका लागि पत्र पठाएका छौँ, ठेकेदारले प्रतिक्रिया दिएका छैनन् । अब कानुनीरूपमा असुलीका लागि अघि बढ्ने छौँ ।’’

कैलारी गाउँपालिकाको अवस्था पनि त्यस्तै छ । स्थानीय तह स्थापनापछि यहाँका १५ भन्दा बढी ताल ठेक्कामा दिइएका थिए । आर्थिक वर्ष २०८१-८२ सकिँदासम्म एक करोड ९२ लाखभन्दा बढी रुपियाँ बक्यौता उठाउन बाँकी छ । अहिले पालिकाको स्वामित्वमा चार वटा ताल मात्रै ठेक्कामा छन्, जसमा तीन वटा पुरानै दोहोरिएका छन् भने दुई वटा नयाँ ठेक्का भएका छन् ।

गाउँपालिकाको ताल तलैया संरक्षण तथा प्रवर्धन सम्बन्धी कार्यविधि २०८० अनुसार समयमा सम्झौता बमोजिमको नियमित किस्ता नबुझाएमा गाउँपालिकाको नियमानुसार हर्जना तथा ब्याज असुल गर्न सकिने व्यवस्था छ । तर पनि हालसम्म बक्यौता उठाउन सकेको छैन । कैलारी गाउँपालिका उपाध्यक्ष भगवती डङ्गौरा थारू भन्नुहुन्छ, “बक्यौता बुझाउनका लागि पत्र पठाइरहेका छौँ, सम्पर्कमा आउँदै हुनुहुन्छ, प्रयास गरिरहेका छौँ ।

कानुनी अस्पष्टताः संविधान र ऐनबिचको टकराव

कैलाली जिल्लामा अधिकांश ताल तलैया सामुदायिक वनभित्र पर्छन् । ताल स्वामित्व विवादको मूल जरो कानुनी अस्पष्टतामा निहीत छ । नेपालको संविधान, वन ऐन र स्थानीय सरकार सञ्चालन ऐनबिचको विरोधाभासका कारण अधिकारको दोहोरो दाबी उत्पन्न भएको देखिन्छ ।

नेपालको संविधानको अनुसूची ६ मा प्रदेशको अधिकारको सूची क्रम सङ्या १९ मा प्रदेशभित्रको राष्ट्रिय वन प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रहेको उल्लेख छ । यसलाई थप स्पष्ट पार्दै वन ऐन २०७६ को दफा २ ले वन क्षेत्र भन्नाले निजी स्वामित्वको हक भोगको र प्रचलित कानुनले अन्यथा व्यवस्था गरेको बाहेकको वनभित्र रहेको घाँसेमैदान, पोखरी, ताल तलैया, सिमसार क्षेत्रसमेतलाई वन क्षेत्र भनी परिभाषित गरेको छ ।

सोही ऐनको दफा १८ मा वनको विकास, संरक्षण, उपयोग, व्यवस्थापन तथा वन पैदावरको बिक्री वितरण गर्न पाउने गरी राष्ट्रिय वनको कुनै भागलाई सामुदायिक वनका रूपमा उपभोक्ता समूहलाई हस्तान्तरण गरिने व्यवस्था रहेको छ ।

त्यस्तै वन नियमावली २०७९ को नियम ४६ मा सामुदायिक वन व्यवस्थापनको कार्ययोजना निर्माण गरी डिभिजन वन कार्यालयबाट हस्तान्तरण पश्चात् कार्यान्वयन गर्ने व्यवस्था छ । यसले सामुदायिक वनलाई वन क्षेत्रभित्रका तालतलैया व्यवस्थापनको कानुनी आधार प्रदान गर्छ । राष्ट्रिय सिमसार नीति २०५९ ले पनि स्थानीय जनसहभागितामा आधारित सिमसार व्यवस्थापनको माध्यमबाट सिमसारका स्रोतमाथि समन्यायिक अवसर दिलाउँदै बुद्धिमतापूर्ण प्रयोगको अवधारणालाई सार्थक तुल्याउने नीति लिएको छ ।

यसले स्थानीय व्यक्ति, समुदाय एवं निकायलाई संलग्न गराउँदै सिमसारको संरक्षण र व्यवस्थापन कार्य प्रभावकारी बनाउनु पर्ने नीतिगत मार्गदर्शन गरेको छ । यता स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पनि स्थानीय तहलाई सिमसारको उपयोग र व्यवस्थापनको अधिकार दिएको छ । यसरी एकै प्रकारको स्रोत (ताल तलैया) माथि वन ऐनमार्फत स्थानीय सामुदायिक वन र स्थानीय सरकार सञ्चालन ऐनमार्फत स्थानीय तहले आ-आफ्नो अधिकार दाबी गर्न सक्ने कानुनी आधार छन् । यही कानुनी अस्पष्टता र दोहोरोपनाका कारण कैलाली जिल्लामा सामुदायिक वनका रूपमा हस्तान्तरण भएका वन क्षेत्रभित्रका ताल तलैया तथा सिमसार कुनै सामुदायिक वन उपभोक्ता समूहबाटै व्यवस्थापन हुँदै आएका छन् भने अधिकांश त्यस्ता ताल तलैया स्थानीय पालिकाद्वारा व्यावसायिक माछापालनका लागि ठेक्कामा लगाइएको पाइन्छ ।

एकातिर सिमसारमा आधारित जैविक विविधताको संरक्षणमा व्यावसायिक माछापालनले चुनौती सिर्जना गरेको छ भने अर्कोतिर स्थानीय उपभोक्ता समूहले कानुनसम्मत व्यवस्थापनको जिम्मेवारी पाए तापनि पालिकाले गरेको हस्तक्षेपका कारण वन समूह र पालिकाबिच निरन्तर द्वन्द्व भइरहेको छ । बसन्ता कोरिडोर अन्तर्गतका चार पालिकामध्ये सबैभन्दा बढी ताल भजनी नगरपालिका र कैलारी गाउँपालिकामा छन् ।

ती तालको वास्तविक स्वामित्व अझै स्पष्ट नहुँदा यसको संरक्षण, सदुपयोग र व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ । कतै कानुनी विवाद, कतै ठेक्काको झमेला र कतै बक्यौता अनुसारको रकम उठाउन नसकेको जस्ता समस्याले गर्दा यी महत्त्वपूर्ण प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षण र दिगो उपयोगमा ठुलो बाधा पुगेको छ । तालतलैया स्वामित्व विवाद समाधानका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबिच स्पष्ट कानुनी व्यवस्था, नीतिगत समन्वय र व्यावहारिक सहकार्य अपरिहार्य रहेको नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयका पूर्व सहसचिव यज्ञप्रसाद दाहाल बताउनुहुन्छ ।

उहाँका अनुसार वन ऐन २०७६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बिच सिमसार क्षेत्रको अधिकार दोहोरोरूपमा बाझिएको छ, जवकी राष्ट्रिय सिमसार नीति २०६९ ले व्यवस्थापनको आधारमा स्वामित्व स्पष्ट गरेको छ । उहाँ भन्नुहुन्छ, ‘‘सङ्घीय सरकारले कानुनी संशोधनमार्फत सामुदायिक वनभित्रका तालतलैयाको स्वामित्व एक निकायमा तोके मात्र यो समस्याको दीर्घकालीन समाधान हुने छ ।

एनपिएल–२ : आज जनकपुर बोल्ट्स–चितवन राइनोज र पोखरा एभेन्जर्स–कर्णाली याक्स आमनेसामने

काठमाडौँ, मङ्सिर १६ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मङ्गलबार दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय  अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।

अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । रासस 

ढिलासुस्तीका कारण भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण चार वर्षपछि पनि अधुरै

भवानीदत्त भट्ट
कञ्चनपुर, मङ्सिर १३ गते । 
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । चार वर्ष पहिले शिलान्यास गरिएको उक्त भवन विसं २०८० सालमा निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौँता गरिएको थियो । तर निर्माण कम्पनीको ढिला सुस्तीका कारण उक्त प्रशासकीय भवनको निर्माण कार्य समयमै सम्पन्न हुन सकेको छैन । भीमदत्त नगरपालिकाका निवर्तमान नगरप्रमुख सुरेन्द्र विष्टले विसं २०७८ जेठ १५ गते उक्त भवनको शिलान्यास गर्नुभएको थियो ।

शिलान्यास गरिएको दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी अनक÷जोशी भे.जीसँग १६ करोड ४९ लाख ७६ हजार रुपियाँ लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको चार वर्ष बितिसक्दा समेत उक्त प्रमुख प्रशासकीय भवन पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको छैन ।

हाल उक्त भवनको ८० प्रतिशत भौतिक प्रगति भएको छ, भने ७७ प्रतिशत वित्तीय प्रगति भएको नगरपालिकाका इन्जिनियर जयराज भट्टले बताउनुभयो ।

विसं २०८२ मङ्सिर मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने भन्दै भवनको तेस्रो पटक म्याद थप गरिएको थियो । तर गत असोज महिनादेखि निर्माण कम्पनीले विभिन्न कारणले नियमितरुपमा काम अगाडि बढाउन नसकेको इन्जिनियर भट्टले बताउनुभयो । उहाँका अनुसार, मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने गरी यस अघि तेस्रो पटक भवनको म्याद थप गरिएको थियो । तर गत असोज महिना यता चाडपर्व लगायतका कारणले निर्माण कम्पनीले काम सुचारु नगरेको उहाँले बताउनुभयो । समयमै निर्माण कार्य अगाडि बढाउन आग्रह गरिएको इन्जिनियर भट्टले बताउनुभयो ।

निर्माण कम्पनी अनक÷जोशी भे.जीका सञ्चालक गणेश जोशीले भवनको पलस्तर, उपकरण, लिफ्ट जडानलगायतका कामहरू बाँकी रहेको बताउनुभयो । “तेस्रो पटक थपिएको म्याद अनुसार, निर्माण सम्पन्न गर्न सकिने अवस्था छैन,’’ उहाँले भन्नुभयो, ‘‘अब अन्तिम पटक म्याद थप गरेर पूर्णरुपमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखेका छौँ ।” हाल प्रशासकीय भवनको भौतिक संरचना निर्माण कार्य भने, सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

संघ सरकारले समयमै बजेट नपठाउँदा निर्माण कार्य प्रभावित बनेको नगरपालिकाका इन्जिनियर जयराज भट्ट बताउनुहुन्छ । बजेट अभावका कारण समय/समयमा निर्माण कम्पनीले काम अगाडि बढाउन नमान्दा तोकिएकै समयमा निर्माण कार्य हुन नसकेको उहाँले बताउनुभयो ।

अत्याधुनिक सेवा/सुविधा रहने गरी निर्माण भइरहेको उक्त चार तले भवनमा लिफ्टको समेत व्यवस्था गरिने छ । १० ओटा सभा गृह, नगर प्रमुख कक्ष, उपप्रमुख कक्ष, शाखा कार्यालय कक्षहरू, प्रशासनीक कक्ष लगायतको संग्रचनामा निर्माण भइरहेको तीन ब्लकसहितको उक्त भवन चार तला निर्माण गरिएको छ । हाल तीन वटै ब्लक निर्माण कार्य सम्पन्न भएको भीमदत्त नगरपालिकाका शव इन्जिनियर प्रेम सिंह धामीले बताउनुभयो ।

हाल भीमदत्त नगरपालिकाले पुरानो भवनबाट छुट्टाछुट्टै भवन शाखाहरू सञ्चालन गरेर सेवा प्रदान गर्दै आइरहेको छ । नगरवासीलाई एउटै छातामुनिबाट सेवा प्रदान गर्ने उद्देश्यले निर्माण अगाडि बढाइएको उक्त भवन चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने अपेक्षा नगरपालिकाले गरेको छ । झन्डै दुई सय कर्मचारी रहेका नगरपालिकामा ठाउँको अभाव रहेको छ । भवन निर्माण सम्पन्न भएपछि सेवा ग्राहीहरुलाई एउटै भवनबाट सबै किसिमका सेवाहरू प्रदान गर्न सहजता हुने अपेक्षा गरिएको छ ।