About Teku Chhetri

टेकु क्षेत्री घोडाघोडी खबरका संवाददाता हुन्। उनले विविध विषयमा कलम चलाउछन्।

जीर्ण बन्दै झोलुङ्गे पुल

बाजुरा, असोज २२ गते । बाजुराका अधिकांश स्थानीय तहमा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय जीर्ण बन्दै गएका छन् । जिल्लाको इकडीगाड, बार्जुगाड, गुइगाड, तिपाडा र कोद्रीगाड लगायतका खोलामा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय कहीँ कतैबाट मर्मत सम्भार नभएपछि अहिले जीर्ण बन्दै गएका हुन् ।

२०६० भन्दा पहिला यहाँका स्थानीयहरुका लागि खोला वारपार गर्न सहज हुने गरी निर्माण गरिएका पुल पछिल्लो समय जीर्ण बन्दै गएको बुढीगङ्गा नगरपालिका –३ बसालीकोट आविका शिक्षक नन्दु अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “बुढीगङ्गा नगरपालिका ३ र ५ को बीचमा रहेको गुईगाड खोलाको झोलुङ्गे पुल पनि निकै जीर्ण बनेको छ।”

२०६० सालभन्दा पहिला खोला तर्न सहज हुने गरी बनाएको यो अहिले अहिले सम्म कतैबाट मर्मत नभएको शिक्षक अधिकारीले बताउनुभयो । गुइगाड खोलामा रहेको झोलुङ्गे पुल यहाँका स्थानीयलाई पैदल यात्रा गर्दा निकै सहज छ । तर त्यो पुल भत्किन थालेको धेरै भयो । त्यसलाई मर्मत गर्न निकै आवश्यक छ । यसका लागि मैले पटक पटक नगर सभामा बोल्ने गरेको भए पनि त्यसको कुनै सुनुवाइ नभएको बुढीगङ्गा नगरपालिका –३ का वडा अध्यक्ष खडक अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसका लागि मैले पटक पटक पालिकाको बैठकमा कुरा राख्ने गरेको छु । तर पनि त्यहाँबाट कुनै सुनुवाइ भएको छैन ।” अहिले पनि यो पुल मर्मत सम्भारका लागि कुरा गरेको तर त्यो पुल नजिक पक्की पुल भएकोले त्यसलाई मर्मत गर्न आवशयक छैन भनेपछि मैले केही गर्न नसकेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो।

यहाँका स्थानीयलाई खोला तर्न सहज हुने गरी यहाँका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गरिएका हुन् । पछिल्लो समय अधिकाशं पुल जीर्ण बन्दै गएका छन् । ती पुल मर्मत गर्नका लागि कोही कसैले पनि पहल गरेका छैन । लाखौँ करोडौंको लगानीमा निर्माण गरिएका यी पुल पछिल्लो अवस्थामा निकै अलपत्र पर्दै गएका छन् । यी अलपत्र परेका पुललाई यहाँका स्थानीयले धेरै पटक मर्मतका लागि सम्बन्धित निकायमा कुरा राख्दै आएको भए पनि उताबाट चासो नदेखाएको यहाँका स्थानीयको गुनासो छ।

एक सय बीस मिटरभन्दा लामो नयाँ पुल निर्माण गर्नु छ भने त्यसको जिम्मेवारी हाम्रो हो । त्योभन्दा तलको सबै पुलको जिम्मेवारी स्थानीय सरकारलाई भएको पूर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जीर्ण भएका वा भत्किएका पुल मर्मतका लागि स्थानीय स्तरबाट निवेदन आएपछि सोही अनुसार मर्मत सम्भारका लागि सम्बन्धित निकायमा पत्र पत्राचार गर्छु । उताबाट रकम आएपछि बल्ल पुल मर्मत कार्य सुरु गर्ने गरेको पूर्वाधार विकास कार्यालय साँफेबगर अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले बताउनुभयो ।

चाडपर्व सुरु भएसँगै दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किन थाले

धनगढीः हिन्दुहरुको महान चाड बडा दशैं हिजो (विहिबार) देखि सुरु भएको छ।

महान चाड बडा दशै, तिहार र छठपर्व मनाउन यतिबेला नेपाल–भारत सीमा नाका भएर ठूलो संख्यामा परदेशीहरु घर फर्किन थालेका छन्। भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट, जोलाजिमी खकरुला हुँदै घर फर्किनेको संख्या बढ्दै गएको छ।  यी नाका भएर दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किरहेका छन्।

चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सहजीकरण गर्ने सहमति समेत भएको छ। यस्तो सहमति नेपाल–भारत सीमा सुरक्षाअधिकारीहरुबिच भएको हो। तर, अहिले पनि आवागमनमा सास्ती भने कायमै छ। ठाउँठाउँमा हुने चेकजाँचका कारण श्रमिकले अनावश्यक झनझटको सामाना गर्नुपरिरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले विगतको भन्दा आवागमनमा सहजता भएको भएको बताएका छन्। नाकामा बस्ने उत्तर प्रदेश प्रहरीको खासै केही भूमिका नहुने उनले बताए। एसएसबीले पूर्ण रूपमा सहजीकरण गरिरहेको उनको तर्क छ। सीमा सुरक्षा र भन्सार सुरक्षाका कारण सीमाका ठाउँठाउँमा चेक पोस्ट राखिएको छ।

सशस्त्रले त्रिनगर भन्सारको सीमा प्रारम्भ भएको स्थानमा, मोहना पुलमा र पुलवारी गरी तीन ठाउँमा पोस्ट राखेको छ। पहिलो पोस्ट सीमा सुरक्षाको लागि हो। त्यहाँ प्रतिबन्ध लगाइएका वस्तुको आयात रोक्न चेकजाँच हुन्छ। मोहना पुलमा रहेको टोलीले भन्सारकर्मीलाई सघाउने काम गर्दै आएको छ।

पुलवारीको पोस्टले भने भन्सार सुरक्षाको काम गर्छ, जहाँ भन्सार छलीका सामानको आयात रोक्ने काम हुँदै आएको छ। हिजो मात्र गड्डाचौकी नाका भएर तीन सय ७, झुलाघाट ३५, गौरीफन्टा तीन सय ६५, पुलघाट ३०, खकरुला हेल्थ डेस्क ७६ गरेर ठुलो संख्यामा भारतका विभिन्न सहरबाट परदेशीहरु घर फर्किएका छन्।

फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल

दोधारा चाँदनी (कञ्चनपुर), असोज १८ गते । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।

अस्पतालमा प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधीका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोत बनाएको छ । अस्पतालमा फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर फोहरलाई मोहरमा परिणत गरेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले बताउनुभयो । “अव्यवस्थित फोहरलाई फोहरमैला व्यवस्थापन केन्द्रमा लगेर पुनःप्रयोग गर्न मिल्ने र बिक्री गर्न मिल्ने छुट्याउँछौँ ।” भट्टले भन्नुभयो, “यसले अस्पताल सरसफाइमा टेवा पुग्नुका साथै मासिक रु बीस हजारसम्म आम्दानीसमेत हुने गरेको छ ।”

उहाँका अनुसार फोहरमैला व्यवस्थापन केन्द्रबाट अस्पतालले मासिक पन्ध्र हजारदेखि बीस हजारसम्म आम्दानी गर्ने गरेको छ । फोहर सङ्कलन गरेर सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने र फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिने उहाँले बताउनुभयो ।

“कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ,” उहाँले भन्नुभयो,“अस्पतालमा एक महिनामा सात-आठ क्विन्टल फोहर उत्पादन हुने गरेको छ ।यसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधा भन्दाबढी फोहर अस्पतालले बिक्री गर्ने गरेको छ ।” रासस

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–१ बस्ने ५२ वर्षीय लक्ष्मीप्रसाद गुरागाई, वन मुद्दामा १३ हजार १५० जरिवाना तोकीएको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने ४६ वर्षीय लालसिह ऐर र चोरी मुद्दामा २० हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–११ बस्ने २५ वर्षीय रमेश कठरीया पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि तीनै जना फरार रहेका थिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको बताएको छ।

 

दुई जिल्लाबाट एकैदिन ११ लाख बढीको अवैध सामान बरामद

धनगढीः प्रहरीले दुई जिल्ला कैलाली कञ्चनपुरबाट ११ लाख बढीको अबैध सामान बरामद बरामद गरेको छ। बुधवार कैलालीको धनगढी, कैलारी र कञ्चनपुरका भीमदत्त नगरपालिका र बेदकोटबाट भारतबाट भन्सार छली ल्याएको अवैध सामान बरामद गरिएको हो।

धनगढी उपमहानगरपालिका–२ मिलन चोक र दिपटोल, धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराह, धनगढी उपमहानगरपालिका–३ मिलनचोक, धनगढी उपमहानगरपालिका–७ मनेहरा, धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउ, धनगढी उपमहानगरपालिका–९ त्रीवेणीघाट र कैलारी गाउँपालिका–१ बिशनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका अन्दाजी ४ लाख ६७ हजार २५० रुपैयाँ बराबरको प्याज, चिनी, सुटपिस, कुर्ती, धोती, ब्लाउज, अण्डरवेयर, गन्जी, फ्रक, लेहेङगा, बुफर, जुत्ता, चप्पल, मोटरसाईकल लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–२ र ३ भाँसी, भीमदत्त नगरपालिका–११ चौकीसत्ता र बेदकोट नगरपालिका–७ लालपुबाट ५ लाख ५९ हजार ६९० रुपैयाँ बराबरको जुत्ता, चप्पल, रेकर्ड फायल, बेल्ड, पर्स, हार्डवेयर, किरना लगायतका सामान बरामद गरिएको छ।

भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

डडेलधुरा, असोज १७ गते  । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्र सडक भीमदत्त राजमार्गमा परेको खाल्टाखुल्टीले दैनिक हजारौँ यात्रुले असहज यात्रा गर्नुपर्ने बाध्यता छ । सो राजमार्ग अन्तर्गत डडेलधुरा जिल्लामा पर्ने सडकखण्ड बिग्रिएकाले यात्रा कष्टकर हुँदै आएको छ ।

यो सडकखण्ड मर्मतका लागि सडक डिभिजन कार्यालय डोटीबाट करिब १३ करोड रुपियाँ लागतको छ वटा ठेक्का सम्झौता गरिएका छन् तर हालसम्म कामको सुरुवात नहुँदा सडकको स्तरोन्नति हुन सकेको छैन । नेपालीको महान चाड दसैँतिहार आउँदासम्म यात्रुले असहज यात्रा गर्नुपर्ने बाध्यता छ ।

ठेक्का सम्झौता भए पनि वर्षा र दसैँको मुखमा कामको सुरुवात गर्न नसकेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका प्रमुख रमेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडकखण्डको गैरा–अनारखोली खण्डमा पहिले पनि ठेक्का सम्झौता भएका थिए । ठेकेदारले काम नगरेपछि सम्झौता तोडेर निर्माण कम्पनीलाई कालो सूचीमा राखी हाल नयाँ ठेक्का सम्झौता गरिएका हुन् । नयाँ ठेक्का सम्झौता गरिएको दुई महिनासम्म पनि काम सुरु हुन सकेको छैन ।

गैरा–हगुल्टे सडकखण्डको आठ किलोमिटर मर्मतका लागि चन्द्रविकास जेभी धनगढीसँग पाँच करोड चार लाख रुपियाँ बराबरको ठेक्का सम्झौता भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ साउन १३ गते ठेक्का सम्झौता भएको थियो भने २०८२ जेठ ३० गतेसम्म निर्माण पूरा हुनुपर्ने छ ।

यस्तै भातकाँडा–साहुखर्क सडकखण्डको छ किलोमिटिर मर्मतका लागि रुद्रवती माँ निगलाशैनीसँग दुई करोड २६ लाख रुपियाँ बराबरको ठेक्का सम्झौता भएको छ । यसै गरी स्याउले–अनारखोलीको आठ किलोमिटर सडक मर्मतका लागि उमा इन्फा बिल्डर्स धनगढीसँग तीन करोड ७२ लाख रुपियाँ बराबरको ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो । यी तीन वटै ठेक्का निर्माण हुने समय एउटै रहेको छ ।

उहाँका अनुसार यी तीन वटै सडकखण्ड निकै बिग्रिएका छन । बिग्रिएका सबै खण्डमा खाल्टाखुल्टी टाल्ने र त्यसमाथि एक ‘रियाप लेयर’ हाल्ने गरेर ठेक्का सम्झौता गरिएको छ । यसै गरी कैलाली जिल्लाको फल्टुडेदेखि बैतडीको अनारखोली बजारसम्मको सडकखण्डमा परेका खाल्टाखुल्टी टाल्न जय गणेश निर्माण सेवासँग ३२ लाख रुपियाँ, फल्टुडे–गैर खण्डका खाल्टाखुल्टी टाल्न ६८ लाख र गैरा–स्याउले सडकखण्डका खाल्टाखुल्टी टाल्न ७० लाख रुपियाँ बराबरका थप तीन गरेर नयाँ ठेक्का सम्झौता पनि भएको सूचना अधिकारी जैसीले जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुरः जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।

आइतबार बिहान जिल्लाको लालझाडी गाउँपालिका–४ डाडाँजाई का ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जंगली हात्तीको समूह गाउँ पसेपछि धमाउन घरबाहिर निस्केका स्थानीयले हो–हल्ला गरेका थिए।

सोही क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको हो। अहिले हात्तीको समूह नजिकैको जंगलमा पसेको छ। प्रहरी टोली र निकुञ्जको टोली घटनास्थलमा खटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए।

प्रदेश राजधानी कागजमा सीमित

धनगढी, असोज १३ गते । सुदूरपश्चिम प्रदेशको राजधानी प्रदेश सरकार र प्रदेश सभाको दुई (१० बर्से) कार्यकालमा पनि नबन्ने हो कि भन्ने चिन्ता यहाँ गर्न थालिएको छ । प्रदेश सभाले स्थायी राजधानी घोषणा गरेको छ वर्ष पुगे पनि कार्यान्वयनमा नआई कागजमा सीमित भएको हो ।

तत्कालीन प्रदेश सभाले २०७५ असोज १२ गते दुई तिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा प्रदेशको स्थायी राजधानी तोकेको थियो तर सदनको बहुमतले तय गरेको राजधानी कार्यान्वयन हुन सकेको छैन । राजधानी राजपत्रमा छ तर प्रदेश सरकारकै बजेटमा छैन । चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले राजधानी कार्यान्वयनको नाममा बजेट राखेको छैन । यी यस्तै कारणले प्रदेश सरकारको दुई कार्यकालमा पनि राजधानी नबन्ने आशङ्का गरिएको हो ।

तत्कालीन प्रदेश सभाले राजधानीको स्थान र प्रदेशको नामकरण गरेपछि त्यतिबेलाको त्रिलोचन भट्ट नेतृत्वको सरकारले केही काम गर्न सकेन । स्वयम् मुख्यमन्त्री भट्ट तत्कालीन नेकपाबाट मुख्यमन्त्री बन्नुभएको थियो, उहाँहरूको समेत सहमतिमा प्रदेश सभाले राजधानीको टुङ्गो लगाएको थियो । वर्तमान प्रदेश सरकारले पनि राजधानी निर्माणको सवालमा केही गर्न सकेको छैन ।

तोकिएको स्थानमा राजधानीका लागि संरचना निर्माण त परै जाओस् प्रदेश सरकारले जग्गाको भोगाधिकार नै प्राप्त गर्न सकेको छैन । राजधानीको मुद्दा नै विचाराधीन रहेकाले कार्यान्वयनको सवालमा प्रदेश सरकार अगाडि बढ्न नसकेको र बजेट पनि विनियोजन नगरेको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताउनुभयो ।

“राजधानीसम्बन्धी मुद्दाको फैसला टुङ्गिएको छैन । फैसला नभएकाले सरकारले बजेट विनियोजन नगरेको हो,” उहाँले भन्नुभयो, “थोरै बजेट विनियोजन गरेर केही हुनेवाला पनि छैन । फ्रिज मात्रै हुन्छ ।” विगतमा प्रदेश सरकारले राजधानी कार्यान्वयनको नाममा छुट्याएको बजेट काम नलागी फ्रिज भएको भन्दै राज्यमन्त्री बमले राजधानीको मुद्दा फैसला नभएसम्म बजेट नराख्ने बताउनुभयो । “प्रदेशको बजेटले मात्रै राजधानी बन्दैन । हामी सङ्घ सरकारसँग पनि छलफल गर्छौं,” उहाँले भन्नुभयो, “सङ्घबाट के कुरा आउँछ, त्यही अनुसार अगाडि बढ्ने हो ।”

राजधानी तोकिएको स्थान सामुदायिक वनमा पर्दछ । वन मासेर राजधानी बनाउन नहुने भन्दै तत्कालै सर्वोच्च अदालतमा दुई वटा मुद्दा परेको थियो । सो मुद्दा अझै पनि विचाराधीन अवस्थामा रहेको छ । जग्गै नमिल्ने ठाउँमा तोकिएको राजधानी सार्ने कि भन्ने कुरा पनि उठ्ने गरेका छन् तर राजधानी सार्ने विषयको टुङ्गो दुई तिहाइ बहुमतबाट मात्रै लाग्ने राज्यमन्त्री बमको भनाइ छ । “राजधानी सारेमा कैलाली क्षेत्र नम्बर ४ भन्दा अन्यत्र जाँदैन,” उहाँले भन्नुभयो ।

राजधानी कार्यान्वयनका लागि सुदूरपश्चिम प्रदेश सरकारले आव २०७७/७८ र आव २०७८/७९ मा क्रमशः दुई करोड ७४ लाख र दुई करोड ७२ लाख रुपियाँ बजेट पनि विनियोजन गरेको थियो तर सरकारले भोगचलनको अधिकार नपाउँदा छुट्याइएको बजेट खर्च हुन पाएन । त्यसपछिका आवमा भने प्रदेश सरकारले राजधानीको नाममा बजेट छुट्याएको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले बजेटबाटै राजधानी हटाउनु आपत्तिको विषय रहेको प्रदेश सभा सदस्य खेमादेवी विष्टले बताउनुभयो । सरकारले राजधानी बनाउन नचाहेको भन्दै उहाँले प्रदेश सदनमै आपत्ति जनाउनुभएको थियो ।  राजधानी निर्माणको सवालमा सङ्घमा पहल नपुगिरहेकोे राजधानी तोक्न र नाम प्रस्ताव गर्न तत्कालीन समयमा गठित विशेष सुझाव समितिका सदस्य एवं निवर्तमान प्रदेश सभा सदस्य चुनकुमारी चौधरीको ठम्याइ छ ।

मुख्यमन्त्रीले चाहेमा जग्गा प्राप्तिका फाइल अगाडि बढ्न सक्ने उहाँको जिकिर छ । चौधरीले राजधानी तय भए पनि त्यसलाई कार्यान्वयन गर्नका लागि अभ्यास नपुगेको उल्लेख गर्नुभयो । २०७५ साउन २४ गते बसेको प्रदेश सभाको बैठकले राजधानी तोक्न र नाम प्रस्ताव गर्न नेकपाका तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय विशेष सुझाव समिति बनाएको थियो । सोही समितिले गोदावरी नगरपालिकामा राजधानी र प्रदेशको नाम सुदूरपश्चिम सिफारिस गरेको हो ।  सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी बनाउनका लागि जङ्गल भनिएको जग्गाको स्वामित्व लिनका लागि सङ्घीय सरकारका प्रधानमन्त्री र मुख्य दलका नेतासँग छलफल गर्ने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी

धनगढी, असोज ३ गते । सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ ।  आर्थिक वर्ष २०७९/८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर १.८९ प्रतिशतले बढेको हो । गत आव २०८०/८१ को आर्थिक वृद्धिदर ३.४१ प्रतिशत भएको अनुमान रहेको आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार प्रदेश सदनमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ । यसअघि आव २०७९/८० मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर १.५२ प्रतिशत मात्रै रहेको थियो । आर्थिक वृद्धिको यो दरलाई दिगो राखी थप विस्तार गर्न चुनौती रहेको मन्त्री थापाले बताउनुभयो ।

यसै गरी कुल गार्हस्थ उत्पादनमा पनि वृद्धि भएको छ । आव २०७९/८० को तुलनामा गत आवमा २२ अर्ब ८४ करोडले प्रदेशको कुल गार्हस्थ उत्पादन बढेको हो । कुल गार्हस्थ उत्पादन बढेर चार खर्ब चार अर्ब २८ करोड पुगेको बजेट वक्तव्यमा उल्लेख छ । यसअघिको आवको कुल गार्हस्थ उत्पादन तीन खर्ब ८१ अर्ब ४४ करोड रहेको थियो । हाल बढेको कुल गार्हस्थ उत्पादन अनुमानित राष्ट्रिय कुल गार्हस्थ उत्पादनको ७.१ प्रतिशत रहेको छ ।

आव २०८०÷८१ को कुल गार्हस्थ उत्पादनमा प्राथमिक, द्वितीय र सेवा क्षेत्रको योगदान व्रmमशः ३३.२ प्रतिशत, १२.४५ प्रतिशत र ५४.३१ प्रतिशत रहेको छ । यसअघि अघिल्लो आवमा यस्तो योगदान व्रmमशः ३२.६० प्रतिशत, १३.१८ प्रतिशत र ५४ प्रतिशत रहेको थियो ।

आव २०८०÷८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.४२ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४.०९ प्रतिशत धनात्मक तथा द्वितीय क्षेत्रको वृद्धिदर ०.५० प्रतिशत ऋणात्मक रहेको अनुमान गरिएको छ । प्रदेशको अर्थतन्त्रका परिसूचकको सामान्य वृद्धि सकारात्मक रहेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय वृद्धि भएर एक हजार १११ अमेरिकी डलर पुगेको छ । यसअघि आव २०७९/८० मा प्रतिव्यक्ति आय एक हजार ६३ अमेरिकी डलर रहेको थियो । यस प्रदेशमा लघुवित्तसहित बैङ्क तथा वित्तीय संस्थाहरूको सङ्ख्या ८५६ पुगेको छ भने बिमा कम्पनीको सङ्ख्या २७१ पुगेको छ । आव २०७९/८० मा बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ८४६ रहेको थियो । गत आवको माघ मसान्तसम्म यस प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप एक खर्ब ४९ अर्ब पुगेको छ । यसै गरी सोही अवधिमा कर्जा प्रवाह एक खर्ब ५२ अर्ब रहेको छ । यस प्रदेशमा वित्तीय क्षेत्रको विस्तारले प्रदेशको वित्तीय पहुँचलाई थप विस्तार गरेको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार नेपालको गरिबी दर २०.२७ प्रतिशत रहेकोमा सुदूरपश्चिम प्रदेशको गरिबी दर सबैभन्दा बढी ३४.१६ प्रतिशत रहेको छ । यो प्रदेशमा सहरी क्षेत्रको गरिबी दर ३०.८६ प्रतिशत र ग्रामीण क्षेत्रको गरिबी दर ४०.२१ प्रतिशत रहेको छ । गरिबी न्यूनीकरणतर्फ भएका प्रयासलाई अझै प्रभावकारी र केन्द्रीकृत गर्दै नतिजा उन्मुख बनाउन र गरिबी न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको मन्त्री थापाले उल्लेख गर्नुभयो ।

यसै गरी मानव विकास प्रतिवेदन २०२३/२४ अनुसार सुदूरपश्चिम प्रदेशको मानव विकास सूचकाङ्क ०.५४७ प्रतिशत रहेको छ ।

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

बैतडी, असोज ३ गते । यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ तथा नगरपालिकाले गएका छ वर्षमा माटो सफाइमा ४८ करोड रुपियाँभन्दा बढी खर्च गरिसकेका छन् । यो रकम पाटन–पञ्चेश्वर दुई लेन कालोपत्रे सडकमा भएको खर्च जतिकै हो । यो वर्ष पनि पालिकाले दसँैंतिहारलक्षित गरी माटो सफा गर्ने तयारी गरिरहेका छन् ।

महालेखाको वार्षिक प्रतिवेदन, २०८१ अनुसार बैतडीका स्थानीय तहले विसं २०८० मा सडक सफाइ र इन्धनमा सात करोड ९० लाख ९९ हजार रुपियाँभन्दा बढी रकम खर्च गरेको पाइएको छ । माटो सफा गरिएका अधिकांश सडक मापदण्ड अनुसार निर्माण भएका छैनन् । यातायात चल्ने रुट स्वीकृतसमेत पाउन सकेका छैनन् । महालेखाको प्रतिवेदनले पुर्चौडी नगरपालिकाका विषयमा टिप्पणी गर्दै भनेको छ, “सडक सफाइ गर्न ३२ हजार ४०१ लिटर इन्धनमा ५७ लाख २० हजार ५८३ रुपियाँ खर्च गरी ७४ हजार ९८७ धनमिटर माटो सफा गर्दा ७६ लाख ३३ हजार ९४३ रुपियाँ खर्च भएको छ । लागतको तुलनामा वास्तविक काम भएको देखिएन । यस्तो खर्च नियन्त्रण गर्नु पर्छ ।”

दोगडाकेदार गाउँपालिकाले सडक सफाइ स्वयंसेवक नै नियुक्त गरेर वार्षिक ६६ लाख ८० हजार रुपियाँ खर्च गर्दै आएको विषय पनि नियमसङ्गत नभएको महालेखाले जनाएको छ । स्थानीय तहको सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा अस्थायी दरबन्दी सिर्जना गरेर करारमा कर्मचारी राख्न नपाइने भए पनि दोगडाकेदार गाउँपालिकाले १४५ जना करारका कर्मचारी भर्ना गरेर वार्षिक दुई करोड ३३ लाख ७९ हजार ६२० रुपियाँ खर्च गर्दै आइरहेको छ । जसमध्ये १६ जना स्विपर र ३९ जना सडक सफाइ स्वयंसेवक भर्ना गरेको महालेखाले जनाएको छ ।

गत वर्ष सडक सफाइ र इन्धनमा डिलासैनी गाउँपालिकाले ६० लाख ८८ हजार रुपियाँ, दशरथचन्द नगरपालिकाले ७५ लाख ९० हजार रुपियाँ, सुर्नया गाउँपालिकाले २४ लाख १४ हजार रुपियाँ, सिगास गाउँपालिकाले ७३ लाख रुपियाँ, गाडी भाडा ११ लाख रुपियाँ, पाटन नगरपालिकाले ३७ लाख ७६ हजार रुपियाँ, शिवनाथले सडक मर्मत र सफाइमा ६७ लाख रुपियाँ, पञ्चेश्वर गाउँपालिकाले सडक सफाइ, इन्धन र उपकरण मर्मत गरेर ५९ लाख रुपियाँ, मेलौली नगरपालिकाले सडक सफाइ र उपकरण मर्मतसमेत गरी ३३ लाख रुपियाँ खर्च गरेका छन् ।

सडक बने, नियमित मोटर चल्दैन

स्थानीय तहले गएका सात वर्षमा वडा वडामा सडक पु¥याउने लक्ष्य राखेर अन्दाधुन्द डोजर प्रयोग गरेर दुई हजार किलोमिटर सडक खनेका छन् । सडक निर्माणमा अर्बौं रुपियाँ खर्च भइसकेको छ । पालिकाले निर्माण गरेका अधिकांश ग्रामीण सडकमा बुकिङबाहेक नियमित यातायात चल्दैनन् । दसैंँतिहारलक्षित गरी ग्रामीण सडकको माटो सफा गरेर बोलेरो जिप चल्न सक्ने बनाई पनि खर्चको अनुपातमा दिगो विकास हुन नसकेको मेलौली नगरपालिकाका अगुुवा किसान चिन्तामणि भट्टले बताउनुभयो ।

बर्सेनि एउटै सडकको माटो सफा गर्न करोडौँ रुपियाँ खर्च गर्नुभन्दा सडकको नाली र पानीको निकासका लागि होमपाइप राखेर दिगो काम गर्न स्थानीय तहले ध्यान नपु¥याएको उहाँले बताउनुभयो । लगानी अनुसार ग्रामीण सडक बाह्रै महिना चल्न नसक्दा किसानको उत्पादन बजारसम्म पुग्न नसकेको किसानको गुनासो छ ।

दुई जिल्लाका सडक कालोपत्रे

पूर्वाधार विकास कार्यालय बैतडीले गत वर्ष ६० करोड रुपियाँ खर्च गरेर पाटन–पञ्चेश्वर ३७ किलोमिटर, सतबाँझ–श्रीभावर १२ किलोमिटर, ढोल्यामोड–हाट छ किलोमिटर, देहिमाण्डौं–गिरेगाडा सात किलोमिटर र दार्चुला–खार आठ किलोमिटर सडक कालोपत्रे गरेको छ । पाटन–पञ्चेश्वर सडक कालोपत्रे भएपछि खच्चड चल्ने तल्लोस्वराड क्षेत्रमा अहिले प्रदेश राजधानीबाट दैनिक बस सेवा सञ्चालन भएको पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर नरेश भुलले बताउनुभयो । उहाँले भन्नुभयो, “पाटन–पञ्चेश्वर, सतबाँझ–श्रीभावर, ढोल्यामोड–हाट सडकले करिब डेढ लाख मानिसलाई प्रदेश र सङ्घीय राजधानीसँग प्रत्यक्ष जोडेको छ । तरकारीलगायतको कृषि उपज अहिले तराईका जिल्ला जान थालेको छ ।”

‘स्थानीय तहले सडक बिगारे’ 

सडक डिभिजन कार्यालय पाटन बैतडीका प्राविधिकले स्थानीय तहले मापदण्ड नपु¥याइ जथाभाबी सडक निर्माण गर्दा मुख्य राजमार्गमा समेत बिगारको बताएका छन् । पक्की सडकमा चैनवाला एक्साभेटर लैजाँदा कालोपत्रे उप्किएको र डोजरले सडक खन्दा मुख्य राजमार्गमा क्षति पुगेको डिभिजन प्रमुख इन्जिनियर लक्ष्मण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य राजमार्गबाट ग्रामीण सडक विस्तार गर्दा सडक डिभिजनसित अनुमति नलिई सडक निर्माण गर्दा राजमार्गमा क्षति पुगेको छ । गाउँमा कस्तो सडक बनाउने भन्ने विषयमा स्थानीय तहले कुनै समन्वय गरेका छैनन् ।”

कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँदसहित ६ जनालाई लागुऔषधसहित बुधवार पक्राउ गरेको हो।

उनीहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेटसहित फेला नियत्रणमा लिएको प्रहरीले जनाएको छ। साथै उनीहरुले प्रयोग गरेको मोटरसाइकल १ थान र एक थान स्कुटरसमेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

अधिकार हस्तान्तरण जरुरी : मुख्यमन्त्री शाह

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले  दिनुभएको शुभकामना यस प्रकार छ :

 अहिले पनि संविधानले दिएका अधिकार पूर्ण रूपले कार्यान्वयन गर्ने सन्दर्भमा सङ्घको अधिकार क्षेत्र, प्रदेशको अधिकार क्षेत्र, पालिकाको अधिकार क्षेत्रबारे दुविधा छ । जबसम्म यो दुविधा हट्दैन तबसम्म सबै तहका सरकार र तिनीहरूका निकायले आआफ्नो तहको अधिकार प्रयोग गर्ने सन्दर्भमा समस्या भइरहन्छ ।

नेपालको संविधान कार्यान्वयनका क्रममा प्रदेश सरकार गठन भएको सात वर्ष भइसक्यो । अहिले पनि संविधानले दिएका अधिकार पूर्ण रूपले कार्यान्वयन गर्ने सन्दर्भमा सङ्घको अधिकार क्षेत्र, प्रदेशको अधिकार क्षेत्र, पालिकाको अधिकार क्षेत्रबारे दुविधा छ । जबसम्म यो दुविधा हट्दैन तबसम्म सबै तहका सरकार र तिनीहरूका निकायले आआफ्नो तहको अधिकार प्रयोग गर्ने सन्दर्भमा समस्या भइरहन्छ । संविधानले दिएका अधिकारलाई अवलम्बन गर्ने सन्दर्भमा प्रदेश सरकारले कामकारबाही गर्ने, नीति नियम बनाउने गरिरहेको छ । यसबिचमा प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन बनायो । यसलाई संशोधन गर्ने अवस्था आयो र संशोधन पनि भर्खरै भएको छ । त्यस्तै स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन अहिलेसम्म बन्न सकेको छैन । यसलाई पनि अगाडि बढाउँछौँ ।

प्रदेश सरकारले स्थानीय तह र सङ्घ सरकारसँग समन्वय, सहकार्य सहअस्तित्वको आधारमा अगाडि बढिरहेको छ तर यति हुँदाहुँदै पनि अघिल्लो पटक म मुख्यमन्त्री हुँदा प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रिय समन्वय परिषद्को बैठकमा हामीले प्रदेशका समस्या, प्रदेशका अधिकारलाई १७ बुँदे प्रस्ताव गरेर लिखित रूपमा दिएका थियौँ । यी कुरा कार्यान्वयन हुन सकेका छैनन् । यसमा निजामती सेवा ऐनका कुरा, प्रहरी समायोजनका कुरा, जग्गा प्राप्तिका कुरा, वन ऐनलगायतका कुराहरू छन् । त्यसकारण यी र यस्ता कुरालाई सङ्घ सरकारले अधिकार प्रत्यायोजन गर्ने सन्दर्भमा कन्जुस्याइँ गर्नु हुँदैन । यदि सङ्घले अधिकार आफैँले राख्न खोज्यो भने सङ्घीयता सफल हुँदैन । सङ्घीयता अगाडि बढ्न सक्दैन । प्रदेश संरचना बलियो हुँदैन । त्यसैले सङ्घले यसबारे सोच्नु पर्छ भन्ने हाम्रो निरन्तर भनाइ छ ।

फेरि कर्मचारीको मानसिकता के छ भने सङ्घबाट कर्मचारीहरू प्रदेशको सचिव भएर आए भने प्रदेशलाई बलियो बनाउनु पर्छ भन्ने भाषा प्रयोग गर्ने तर उहाँहरू नै सङ्घमा पुग्नासाथ त्यो मनस्थिति परिवर्तन हुने रहेछ । उहाँहरू सङ्घमा पुग्दा यस्तै क्रियाकलाप देखिन्छ । यस किसिमको मानसिकताबाट पनि हामी सबै मुक्त हुन जरुरी छ । अनि मात्रै हामी सङ्घीयतालाई संविधान अनुसार प्रयोग गर्ने सन्दर्भमा, लागु गर्ने सन्दर्भमा, कार्यान्वयन गर्ने सन्दर्भमा र प्रदेश संरचना बलियो बनाउने सन्दर्भमा अगाडि बढ्न सक्छौँ । जस्तो कि वनको अधिकार नहुँदा छ वर्षअघि राजधानी बनाउने भनेर गरिएको निर्णय कार्यान्वयन हुन सकेको छैन । मैले अघिल्लो पटक मुख्यमन्त्री हुँदा प्रायः सबै नेतालाई राजधानी बनाउनका लागि  निरन्तर पत्रचार गरेँ । अहिलेसम्म त्यसको जवाफ पाउन सकेको छैन । बजेट प्रक्रिया सकेपछि मेरो विशेष प्राथमिकता गोदावरीमा राजधानी बनाउने कुरालाई कार्यान्वयन गर्न म फेरि काठमाडौँ गएर शीर्ष नेतालाई भेट्ने छु । यसको समाधान, यसको सम्बोधन, यसको निकास कसरी हुन्छ ? म त्यसमा लाग्ने छु ।

प्रदेश सरकारले रुख काट्न पाउँदैन । यो अधिकार पाएको भए उहिले नै राजधानी बनिसक्थ्यो । अनुमति दिने वा नदिने अधिकार सङ्घसँग मात्र छ । त्यसकारणले सङ्घले अनुमति दिने सन्दर्भमा छिटोभन्दा छिटो निर्णय गर्नु पर्छ । यसका साथै प्रदेश राजधानी बनाउने सन्दर्भमा हामी सबै एक हुनु पर्छ । संविधान कार्यान्वयन र सङ्घीयता बलियो बनाउन ऐन, नियम आवश्यकता अनुसार पर्याप्त बनाएका छौँ । अहिलेसम्म ७४ ऐन बने, जसमध्ये मूल ऐन ३३ वटामा संशोधन गरिएको छ ।

प्रस्तुति : प्रकाशविक्रम शाह