About Teku Chhetri

टेकु क्षेत्री घोडाघोडी खबरका संवाददाता हुन्। उनले विविध विषयमा कलम चलाउछन्।

धनगढीबाट चरेशसहित २ जना पक्राउ

धनगढीः कैलालीको धनगढीबाट चरेशसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा डडेल्धुराको पर्शुराम नगरपालिका–१० बस्ने ७० वर्षीय नरबहादुर बिष्ट र कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय सुनिल शर्मा रहेका छन्।

उनीहरुलाई धनगढी उपमहानगरपालिका–१ नैनादेवी चोकबाट १५ ग्राम ५ सय ७० मिलिग्राम अवैध लागूऔषध (चरेश)सहित दुबै जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। दुबै जनालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले चरेशसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

खाली भएका गाउँबस्ती भरिँदै

बाजुरा, असोज १ गते । हिउँद र बर्खाको समयमा खाली भएका बाजुराका अधिकांश गाउँबस्ती अहिले भरिन थालेका छन् । रोजगारीका लागि भारत गएका युवा दसैँतिहार मनाउन गाउँ फर्किन थालेपछि हिउँदमा खाली भएका यहाँका गाउँबस्ती अहिले भरिन थालेका हुन् । रोजगारी गर्न हिउँदमा भारत गएर त्यहाँबाट केही कमाइ गरी दसैँतिहार मनाउन गाउँ आएको खप्तड छेडेदह गाउँपालिकाका–१ का रामबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समय गाउँमै बसेर केही गरौँ भन्ने सोच छ तर यहाँ सोचे जस्तो कुनै अवसर मिल्दैन । त्यसैले दसैँमा गाउँ आए पनि फेरि घरपरिवार पाल्नकै लागि भारतमा नोकरी गर्न जान्छु ।” बाजुराका हिमाली, जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका अधिकांश युवकयुवती रोजगारीकै लागि भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । कात्तिक, मङ्सिरमा गहुँ र असारमा धान, कोदो लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि उनीहरू कामको खोजीमा नै भारतका विभिन्न ठाउँमा जाने गर्छन् ।

चार लाख मूल्य बराबरको सामान बरामद

धनगढी, भदौ ३१ गते । कैलाली प्रहरीले चार लाख २३ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट सो सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–२, १३ र १९ बाट तीन लाख ८६ हजार मूल्य बराबरको विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू, सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।

यसैगरी, कैलारी गाउँपालिका–३ हनुमान मन्दिरबाट १२ हजार मूल्य बराबरको सामग्री र गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट २४ हजार मूल्य बराबरको मिठाइ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

जवरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना ९ वर्षपछि पक्राउ

डोटीः जवरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना ९ वर्षपछि पक्राउ परेका छन्। जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएको दिपायल सिलगढी नगरपालिका–७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्का ९ वर्षपछि पक्राउ परेका हुन्।

खड्कालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले आइतवार सिलगढी सांफे सडक खण्डबाट पक्राउ गरेको जनाएको छ। अदालतको मिति २०७२ श्रावण ३० गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकेपछि खड्का फरार रहेका थिए।

बाढीले कैलालीमा रहेका दुई वटा सीमास्तम्भ बगायो, दर्जनौँ जोखिममा

धनगढी, भदौ ३१ गते । निरन्तर आएको बर्सातपछिको बाढीले कैलालीमा रहेका दुई वटा सीमास्तम्भ बगाएको छ । धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकामा रहेका अन्तर्राष्ट्रिय सिमाना छुट्याउने सीमास्तम्भलाई बाढीले बगाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर धनगढीका अनुसार धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीपारि रहेको ६५०/२ नम्बरको पिल्लरलाई शुक्रबार आएको बाढीले बगाएको छ । सो सीमास्तम्भ कटानको जोखिममा परेपछि बालुवाले भरिएको बोरा त्यसको वरिपरि राखिएको थियो । बाढीले त्यो सीमास्तम्भलाई बगाएर लगेको सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै भजनी नगरपालिका–७ मा रहेको ७२१/२ नम्बरको सीमास्तम्भलाई पनि बाढीले बगाएको छ । अघिल्लो बाढीले यो सीमास्तम्भलाई बगाएको जनाइएको छ । सोही वडामै रहेको ७२१/४ नम्बरको सीमास्तम्भमा बाढीले क्षति गरेको छ । बाढीका कारण सीमास्तम्भले कोल्टे फेरेको जनाउँदै सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले यसलाई सिधा गर्न बाँकी रहेको बताउनुभयो ।

यसै गरी धनगढी उपमहानगरपालिका–१९, लल्लीपुरमा मोहना नदीपारि रहेको ७३४/८ नम्बरको सीमास्तम्भलाई पनि बाढीले क्षति गरेको छ । “यो सीमास्तम्भलाई बाढीले बगायो वा त्यहीँनिर छ भन्ने कुराको यकिन भइसकेको छैन,” सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले भन्नुभयो, “सम्भवतः पानीभित्र रहेको हामीले आशङ्का गरेका छौँ ।” नेपाल–भारत सिमाना मोहना नदीसँगै रहेको छ । कतै मोहना नदीपारि नेपाल त कतै मोहना नदीवारि भारतको भू–भाग परेको छ । दुई देशको सिमाना नदी सँगसँगै परेका कारण धेरै जसो सीमास्तम्भ नदी आसपासमै छन् ।

नदी आसपासमा रहेका दर्जनौँ सीमास्तम्भ जोखिममा रहेका जनाइएको छ । अझै पनि आठदेखि १० वटासम्म सीमास्तम्भ पानीभित्रै डुबेको अवस्थामा रहेको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले बताउनुभयो । यसै गरी बाढीका कारण डुबेका पाँच/सात वटा सीमास्तम्भ बाढी घटेपछि देखिएका छन् । बाढीमा डुबेका ती सीमास्तम्भ ठिक अवस्थामै रहेको उहाँले जानकारी दिनुभयो ।

कैलालीमा नेपाल–भारत सीमा छुट्याउने मुख्य र सहायक गरी २८२ वटा सीमास्तम्भ रहेका छन् । सीमास्तम्भ बिग्रेमा नेपालले बिजोर र भारतले जोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने दुवै देशका अधिकारीबिच सहमति भएको छ ।

दुई बिओपी जोखिममा

सीमा क्षेत्रमा सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका दुई वटा बिओपी कार्यालय पनि मोहना नदीको कटानको जोखिममा परेका छन् । कैलारी गाउँपालिका–३, खोनपुर र भजनी नगरपालिकाको हलौनाघाटमा रहेको बिओपी कटानको जोखिममा परेको हो । बिओपी कार्यालयतर्फ नदीले कटान गरिरहेकाले कटान नियन्त्रण र बिओपी जोगाउनका लागि तटबन्ध बनाउन आवश्यक देखिएको पाण्डेयले बताउनुभयो । शनिबार मात्रै मोहना नदीले धनगढी उपमहानगरपालिका–११, लल्लीपुरमा रहेका सशस्त्र प्रहरीका बिओपी कार्यालयका दुई वटा भवन बगाएको थियो ।

सुदूरपश्चिम सरकारले आज सदनमा बजेट प्रस्तुत गर्ने

धनगढी, भदौ ३१ गते । चालु आर्थिक वर्षको दुई महिना बजेटबिनै गुजारा चलाएको सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा संशोधित बजेट प्रस्तुत गर्ने भएको छ ।

तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटलाई संशोधन गरेर प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउन लागेको हो । तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ३१ अर्ब ३२ करोड ९८ लाख रुपियाँको बजेट सदनमा प्रस्तुत गरेको थियो । तर, मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका कारण सो बजेट प्रदेश सभाबाट पास हुन सकेन ।

तत्कालीन सरकारले प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार अहिलेसम्म बजेटविहीन छ । प्रदेश सरकारले चाँडै बजेट ल्याउने भने पनि विविध कारणवश ढिलाइ हुन गएको स्वीकार्दै मुख्यमन्त्री कमलबहादुर शाहले आज बजेट प्रस्तुत हुने केही दिन अगाडि पत्रकार सम्मेलन गरेर जानकारी गराउनु भएको थियो ।

अघिल्लो सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता सदनबाट पास भएकाले त्यसैको आधारमा रहेर सामान्य पुनरावलोकन गरी बजेट प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी छ । बजेट सार्वजनिक गर्नका लागि आज दिनको ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । आज बस्ने प्रदेश सभामा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बजेट प्रस्तुत गर्नु हुने छ ।

कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का ३२ वर्षीय तेज भट्राई, २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्का रहेका छन्।

तिनै जनालाइ धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट १ ग्राम ३० मिलिग्राम लागूऔषधसहित शनिबार दिउँसो कैलालीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

 

नालामा बालक मृत फेला, डुबेर एक जना बेपत्ता

धनगढी, भदौ ३० गते । कैलालीमा एक बालकको शव घर नजिकैको नालामा फेला परेको छ । टीकापुर नगरपालिका–६ का खुशीराम चौधरीका आठ वर्षीय छोरा आरबको शव नालामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालक हिजोबाट बेपत्ता थिए । बालक साँझसम्म घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दा आज घर नजिकै नालामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

यसैगरी, मोहना नदीमा हिजो डुबेर बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१० का २५ वर्षीय विशाल राना अझै फेला पर्न सकेका छैनन् । बनघटी घाटमा नदी तर्ने क्रममा राना डुबेका जनाइएको छ । नगर प्रहरीसहित सुरक्षाकर्मीको टोलीले हिजोदेखि रानाको खोजीकार्य जारी राखेको छ । बेपत्ता राना अहिलेसम्म नभेटिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

यस्तै, भजनी नगरपालिका–८ गोडचौराका अन्दाजी ५५ वर्षीय जयराम डङ्गौराको पानीमा हिंड्ने क्रममा लडेर ज्यान गएको छ । पसलबाट घर फर्कने क्रममा पानीमा हिंडिरहेको बेला डङ्गौरा लडेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा ठुलो बर्षा रोकियो ! ठाउँ ठाउँमा बाटो अबरुद्ध देखि डुबान कायमै

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी पर्न कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बाग्मती, गण्डकी, मधेश र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिममा भने आजदेखि मौसममा सुधार हुने सम्भावना छ ।

गएरातिदेखि नै पानी पर्न कम भए पनि महाकाली नदीमा भने बाढी उस्तै छ । महाकाली नदी अन्तर्गत डडेलधुराको जोगबुढा वर्षामापन केन्द्रमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कैलालीका विभिन्न ठाउँमा आएको बाढीका कारण ९९ परिवारका चार सयभन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । पहिरोले भीमदत्त राजमार्ग र केआई सिंह राजमार्ग अबरुद्ध भएको छ । उज्यालो अनलाइनमा समाचार छ।

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस, बिबिध कार्यक्रम गरी देशभर मनाईदै

बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो ।

बाल अधिकार महासन्धि:
बाल अधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घको महासभाबाट बालबालिकाको अधिकारका निम्ति पारित राज्य राज्यहरूबिचको एक साझा सम्झौता पत्र हो । बाल अधिकार आदर्श र घोषणा पत्रमा मात्र सीमित नराखेर यसलाई बाल विकासको व्यवहारिक स्वरूप दिन यस महासन्धिको प्रतिवादन गरिएको हो । नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरिसकेको छ । आजको परिवर्तित समय सँगसँगै बाल अधिकारलाई देशको मूल कानुन संविधानमै पनि समेटिएको छ ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस। नेपालमा पनि र्‍याली, अन्तरक्रिया तथा बाल अधिकारको चर्चा गरेर यो दिवस मनाइदैछ।

२० नोभेम्बर १९८९ मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष २० नोभेम्बरका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाईन्छ।

नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धिलाई १४ सेप्टेम्बर १९९० मा हस्ताक्षर गरेको थियो । नेपालमा बालबालिकाहरूको हक अधिकार संरक्षणका लागि बालबालिका सम्बन्धि ऐन २०४८ र नियमावली २०५१, बालश्रम सम्बन्धि ऐन २०५६, बाल न्याय कार्यविधी लगायत लागू गरिएको छ।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ मा बालबालिकाको अधिकार सुनिश्चित गरिएको छ। अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सहित बालअधिकारको क्षेत्रमा क्रियाशिल देशभरका सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गर्दैछन्।

नेपालमा १६ बर्ष मुनिका बालबालिकाको संख्या कूल जनसंख्याको ४१ प्रतिशत रहेको छ ।

लागुऔषध कारोबारमा संलग्न पाँच पक्राउ

धनगढी, भदौ २८ गते । कैलाली प्रहरीले चार ग्राम २१० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

लागुऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटेको प्रहरी टोलीले बर्दगोरिया गाउँपालिका–२ बौनियाँका ४० वर्षीय रामबहादुर चौधरीको घरको कोठाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चौधरीसहित सोही ठाउँका २९ वर्षीय राधेश्याम डङ्गौरा, २६ वर्षीय रतिराम डङ्गौरा, वडा नम्बर ३ रानीकुण्डाका २४ वर्षीय ज्ञानेन्द्र विक र लम्कीचुहा नगरपालिका–८ का ३० वर्षीय जनक बडुवाल छन् ।

कोठामा खानतलासी गर्दा लागुऔषधसहित डिजिटल तराजु एक थान, कैंची र नगद सात हजार ५५० रुपियाँ फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय सुखड्को हिरासत कक्षमा राखेर थप अनुसन्धानको काम भइरहेको जनाइएको छ ।

सुदूरका पहाडी जिल्ला जोड्ने चार वटा मुख्य सडक अवरुद्ध

तीन दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने चार वटा मुख्य सडक भीमदत्त लोकमार्ग, दशरथचन्द लोकमार्ग, जयपृथ्वी लोकमार्ग र महाकाली लोकमार्गका ठाउँठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । बैतडीको खोड्पेमा भारी वर्षासँगै हावाहुरी चल्दा बजारका तीन वटा पसल र स्थानीय विद्यालयको छाना उडाएको छ ।

पहिरोले बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी लोकमार्गको साणीघाँटी, ढोले र बजपानी आसपासका क्षेत्रमा पहिरो खस्दा यातायात अवरुद्ध भएको पाटन नगरपालिका–८, वडा अध्यक्ष हरिस बिष्टले जानकारी दिनुभयो । त्यसैगरी बैतडी–डडेलधुरा जोड्ने दशरथचन्द लोकमार्गको भालुमारेमा पहिरो खस्दा बिहानैदेखि यातायात अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।

“पाटन नगरपालिकाको खोड्पे क्षेत्रमा हावाहुरीसँगै लगातार ठुलो वर्षा भइरहेको छ,” वडा अध्यक्ष बिष्टले भन्नुभयो, “हावाहुरीले बजारका तीन वटा पसको छाना उडाएको छ । खोड्पेमै रहेको सिद्धदीप आधारभूत विद्यालयको छाना उठाएको छ । भारी वर्षा र हावाहुरीका कारण घरबाहिर निस्कन सक्ने अवस्था छैन ।”

बैतडी सदरमुकाम जोड्ने दशरथचन्द लोकमार्गको कठपतेमा पहिरोसँगै हावाहुरीले सडकमा ठुलठुला रुख ढलेका छन् । रातीदेखि अवरुद्ध भएको सडक शुक्रबार बिहान दशरथचन्द नगरपालिकाको डोज र प्रहरी टोलीले रुख र पहिरो सफा गरेर सडक सूचारु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको सुल्लेखान, मेलोली लगायतका क्षेत्रमा पहिरो खसेको छ । पाटन–पञ्चेश्वर सढक खण्डको सुल्लेखानमा खसेको पहिरो सफा गरेर बिरामी बोकेको एम्बसुलेन्स गन्तव्यतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डडेल्धुरामा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । फल्टुडे, खानीडाँडा, मेलखर्क, बुडर, भासुभिर, रडुवा, आलिताल लगायत क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण सडक खसेको पहिरोले डडेल्धुरा जोड्ने भीमदत्त लोकमार्ग अवरुद्ध भएको छ । गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा भीमदत्त राजमार्ग बिहीबार राती खसेको पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ । साहुखर्कमा बिहीबार साँझदेखि नै पहिरो खसिरहेको थियो । पहिलो हटाउने प्रयास भइरहे पनि लगातारको वर्षाले समस्या भइरहेको बताइएको छ ।

डोजरले पहिरो पन्छाएर सवारीसाधन सूचारु गरिए पनि पुनः ठूलो पहिरो खसेकाले अवरोध हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारी साधन बाटोमै रोकिएका छन् ।