About Teku Chhetri

टेकु क्षेत्री घोडाघोडी खबरका संवाददाता हुन्। उनले विविध विषयमा कलम चलाउछन्।

भिरबाट लडेर एघार जनाको मृत्यु

बैतडी, फागुन १० गते  ।  घाँस काट्ने क्रममा भिरबाट लडेर फागुन ४ गते सुर्नया गाउँपालिका–४, डबराली टाँककी २३ वर्षीय दीपा बोहोरा महराको मृत्यु भयो । सो दिन दिउँसो २ बजे सोही वडाको जयसिंया भिरबाट घाँस काट्ने क्रममा लडेर स्थानीय केशवसिंह महराकी श्रीमती दीपाको घटनास्थलमै मृत्यु भएको हो । मृतकका आफन्त एवं गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार जया घाँस काट्ने क्रममा तीन सय मिटर तल खस्नुभएको थियो । महराका श्रीमान् केशव रोजगारीका सिलसिलामा भारतमा हुनुहुन्छ भने घरमा आठ महिनाका छोरा छन् ।

गत बिहीबार जिल्लाको पाटन नगरपालिका–८ स्थित आरुबाटा भिरमा बेवारिसे अवस्थामा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको छ । विद्यार्थीले भिरमा देखेपछि प्रहरीलाई खबर गरिएको र सो शवको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । पैदल हिँड्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने स्थानीयको अनुमान छ ।  बैतडीमा घाँसदाउरा काट्न गएका, बाटो हिँड्दा भिरबाट लडेर अकालमै ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या धेरै छ । चालु आर्थिक वर्षमा भिरबाट लडेर मृत्यु भएका ११ घटना प्रहरीकहाँ पुगेका छन् । योबाहेक धेरै सङ्ख्या प्रहरीमा नपुग्ने गरेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आव २०८१/८२ मा मात्रै  भिरबाट लडेर ११ जनाको मृत्यु भएको छ । चालु आवमा प्रहरीमा खबर पुगेका मात्रै ११ जनाको भिरबाट लडेर तथा एक जनाको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताउनुभयो ।

पुर्चौडी नगरपालिकामा एक महिला, सिगास गाउँपालिकामा एक पुरुष, दोगडाकेदार गाउँपालिकामा एक महिला, डिलासैनी गाउँपालिकामा एक महिला, पाटन नगरपालिकामा एक महिला, दशरथचन्द नगरपालिकामा दुई पुरुष, मेलौली नगरपालिकामा एक पुरुष, पन्चेश्वर गाउँपालिकामा एक पुरुष र सुर्नया गाउँपालिकामा दुई महिला गरेर सात महिला र चार पुरुषको मृत्यु भएको छ ।

यस्तै शिवनाथमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । “महिलाको घाँस काट्ने बेला लडेर मृत्यु भएको देखिन्छ । पुरुषहरूको भारी बोकिरहेका वा बाटो हिँड्दा भिरबाट खसेर मृत्यु भएको पाइएको छ,” उहाँले भन्नुभयो, “यस्ता घटना प्रायः भइरहे पनि प्रहरीकहाँ सबै आउँदैनन् ।”

शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

दोधारा चाँदनी (कञ्चनपुर),  फागुन १० गते ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ ।

शुक्रबारदेखि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक ९नेचर गाइड० निःशुल्क गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि १५ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ ।

नगरपालिकाले निकुञ्जमा पर्यटक भित्र्याउन पर्यटन महोत्सव आयोजना गरेको भीमदत्त नगर पर्यटन विकास समितिका संयोजक राजेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरेको बताउनुभयो । “एक सातासम्म चल्ने महोत्सवमा निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई निःशुल्क नेचर गाइडको व्यवस्था गरिएको छ ।” उहाँले भन्नुभयो, “पर्यटकलाई प्रोत्साहनस्वरूप पहिलो एक सय गाडी ९निजी तथा सफारी० निःशुल्क गरिएको छ ।” नेचर गाइड र सफारीको शुल्क शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सहयोग गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

प्रकृतिसँग रमाउन पर्यटकका लागि शुक्लाफाँटा आकर्षण गन्तव्य रहेकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् । “आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका लागि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नु आवश्यक छ,” होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले भन्नुभयो, “स्थानीयस्तरमा निजी क्षेत्रबाट पहल भए पनि बाह्य पर्यटक भित्र्याउन सरकारले पहल गर्नुपर्छ ।”

विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रूपमा विकास गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । शुक्लफाँटा राष्ट्रिय निकुञ्जका पथप्रदर्शक महानन्द जोशीले शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि प्रचारप्रसार नहुँदा पर्यटकको सङ्ख्या न्यून रहेको बताउनुभयो । “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा शुक्लाफाँटाको ठूलो घाँसे मैदान (फाँट) छ । जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुन्ड देख्न सकिन्छ,” उहाँले भन्नुभयो, “वन्यजन्तु मात्रै नभई यहाँ दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो ।” उहाँले निकुञ्जमा ५६ प्रजातिका स्तनधारी जीव, ५६ प्रजातिका घस्रने वन्यजन्तु १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली निकुञ्जभित्र रहेका छन् ।

उहाँका अनुसार शुक्लाफाँटामा विश्वमै दुर्लभ मानिएको सारस, खर मजुर, सिम तित्रा, राजधनेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । जसमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार दुई सय बढी बाह्रसिङ्गा छन् । यहाँ घुम्न आउने पर्यटकले ठूलो सङ्ख्यामा बाह्रसिङ्गाको झुन्ड देख्न पाउँछन् । त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ४२ वटा पाठेबाघ रहेका छन् ।

“निकुञ्जको विश्वकै सबैभन्दा ठूलो घाँसेमैदान पनि यसको विशेषता हो निकुञ्जको १९ प्रतिशत क्षेत्र घाँसेमैदान छ,” जोशीले भन्नुभयो, “जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तलजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् भने रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् ।” उहाँका अनुसार रैथाने र बसाइँ सरी आउने गरी ४६१ भन्दा बढी चराचुरूङ्गी पाइन्छन् । शुक्लाफाँटाका क्षेउ पिपरियामा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ । आगन्तुकको समयअनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ । एकसाता सञ्चालन हुने महोत्सवमा निकुञ्ज क्षेत्रमा सरसफाइ, निबन्ध प्रतियोगिता र नेपाल–भारतका पर्यटन व्यवसायी र ट्राभल व्यवसायीसँग अन्तक्र्रिया समेत आयोजना गरिएको बताउनुभयो । रासस

चितुवाको छालासहित एक पक्राउ

धनगढी, माघ २९ गते । कैलाली प्रहरीले चितुवाको छालासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका–३ मेल्टाका २६ वर्षीय नरेश साउँद रहेका छन् । साउँदलाई धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित देवसिंह बोहराको मिलनसार गेस्टहासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले रितपूर्वक खानतलासी गर्दा साउँदले लुकाएर राखेको अवस्थाबाट आठ फिट दुई इन्च लम्बाई र दुई फिट दुई इन्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

चितुवाको छालासहित पक्राउ परेका साउँदलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको छ ।

कैलालीमा हाइसको ठक्करबाट मोटरसाइकल चालक घाइते

धनगढीः कैलालीमा माइक्रो बस (हाइस)को ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–४ को राजीपुरमा कर्णाली प्रदेश ०२००१८ प ०८५६ नम्बरको माइक्रो बसले सुदूरपश्चिम प्रदेश ०१०१२ प ५२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ बस्ने २३ वर्षीय किशोर चौधरी गम्भीर घाइते भएका छन्।

चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ। उनको घोडाघोडीमै उपचार भइरहेको छ। माइक्रो बस र चालक सुर्खेतको बिरेन्द्रनगर–६ बस्ने ३३ वर्षीय राजबहादुर थापालाई इलाका प्रहरी कार्यालय चौमालले नियन्त्रणमा लिएको छ।

कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते

धनगढीः कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ।

जोशीपुर गाउँपालिका–५ वनकट्टामा सुदूरपश्चिम प्रदेश ०१०२००१ त १५१८ नम्बरको जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। घाईतेहरुको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर र चालक बर्दगोरिया–२ बस्ने ३९ वर्षीय दिपक बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

अर्जुन ट्रफी क्रिकेट: सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलका खेलहरू आजदेखि हुँदै छन्।

फाप्ला क्रिकेट मैदानमा आज दिउँसो सवा १२ बजे हुने पहिलो सेमिफाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र न्यू होराइजन बुटवलबीच प्रतिस्पर्धा हुनेछ । डडेल्धुरा समूह ए को विजेताको रूपमा सेमिफाइनल पुगेको हो भने बुटवल समूह बी को उपविजेता बनेर अन्तिम चारमा पुगेको हो। त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सिवाइसी अत्तरिया र डिसिए धनगढीबीच भोलि (माघ २७ गते) हुनेछ।

गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ।प्रतियोगिताको विजेताले नगद रू १० लाख र उपविजेताले नगद रू पाँच लाखसहित ट्रफी पाउने छन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रू ५०–५० हजार पाउने छन् ।

चार गोलिया काठसहित तीन पक्राउ

धनगढी, माघ २६ गते । साझेदारी वन क्षेत्रबाट काठ चोरी गरेको आरोपमा कैलालीमा चार गोलिया काठसहित तीन जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालयबाट खटेको प्रहरी र सव डिभिजन वन कार्यालय मसुरियाबाट खटेको वनकर्मीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–७ मट्कौना पछलापट्टीका ५१ वर्षीय दिनेश चौधरी, ४१ वर्षीय निर्मल डङ्गौरा थारु र ५४ वर्षीय सीताराम चौधरी रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरुले गौरीगंगा साझेदारी वनबाट ५७.०८ क्युफिट काठ चोरी गरेर ल्याएका थिए । दिनेशको घरमा लुकाइछिपाइ राखेको अवस्थाबाट सालको चार गोलिया काठ बरामद गरिएको जनाइएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बैतडीका एक युवकको भारतमा मृत्यु

बैतडीः बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ।

जिल्लाको सिगास गाउँपालिका–४ तल्लाऐनीका २७ बर्षीय टेकसिंह साउँदको भारतको पिथौरागढमा मृत्यु भएको हो। रोजगारीका लागि दुई महिना अघिमात्रै पिथौरागढ गएका साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको सिगास गाउँपालिका–४ का वडा अध्यक्ष हरिसिंह बोहराले बताए। मृतक साउँदका घरमा श्रीमति र दुई छोराछोरी रहेका छन्।

राजमार्ग क्षेत्रमा बिग्रेका सीसीटिभी क्यामेरा मर्मत

धनगढी, पुस २२ गते । कैलालीस्थित पूर्व पश्चिम राजमार्ग क्षेत्रमा बिग्रिएका सीसीटिभी क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटेको प्रहरीको प्राविधिक टोलीले बिग्रेका सीसीटिभी क्यामेरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको हो । प्राविधिक प्रहरी नायब निरीक्षक इन्जिनीयर महेशराज पन्तको कमाण्डमा खटेको प्रहरीको प्राविधिक टोलीले नौ थान सीसीटिभी क्यामेरा मर्मत गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय चिसापानी, सडकपुर, बजार क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेरा बिग्रेको थियो । बिग्रेका ती सीसीटिभी क्यामेरा मर्मत गरिएपछि पुनः सञ्चालनमा आएका छन् । राजमार्गको विभिन्न क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेराको मद्दतमा प्रहरीले साे क्षेत्रमा निगरानी गर्दै आएको छ ।

नकैया सिमसारमा पहिलो पटक लक्ष्मण सारस

धनगढी, पुस १० गते। कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नकैया सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चरा लक्ष्मण सारस पहिलो पटक देखा परेका छन्।

सो सिमसारमा दुई वटा लक्ष्मण सारस देखिएका हुन। नकैया सिमसार क्षेत्रमा लक्ष्मण सारस पहिलो पटक अभिलेख भएको नेपाल पंक्षी संरक्षण सङ्घ (बीसीएन) मा कार्यरत हिरुलाल डङ्गौराले जानकारी दिनुभयो।

शुक्लाफाँटा नेचर गाइड एसाेसिएसनका सुवन चौधरी र आफूले कञ्चनपुरमा पहिलो पटक लक्ष्मण सारस रेकर्ड गरेको उहाँको भनाइ छ।

नेपालमा सारस (सारस क्रेन), कालो टाउके, लक्ष्मण र कर्‍याङकुरुङ गरी चार प्रजातिका सारस पाइने गरेका छन्। जसमध्ये लक्ष्मण सारस हिउँदे आगन्तुक चरा हुन। उत्तरी ध्रुवमा हिमपात भएपछि उपयुक्त बासस्थान र आहाराको खोजीमा यो प्रजातिको चरा नेपाल पुग्ने गरेको जनाइएको छ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा शाह र महासचिवमा भट्ट निर्वाचित

धनगढीः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन्। उनी मिन बमलाई पराजित गर्दै पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्।

यस्तै महासचिवमा शिवराज भट्ट निर्वाचित भएका छन्। उनी हरि जोशीलाई पराजित गर्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको महासचिव पदमा निर्वाचित भएका हुन्।

 

जलवायु परिवर्तनबारे सार्वजनिक सुनुवाइ

धनगढी, मङ्सिर २९ गते । धनगढी उपमहानगरपालिका–१९, दक्षिण ललितपुरमा जलवायु परिवर्तनका असर र समसामयिक सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । ‘जनतासँग संसद्’ कार्यक्रम अन्तर्गत बिहीबार साँझ आयोजित सो सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकले जलवायुजन्य विपत् बाढी, डुबान, आगलागी, महामारी, भूकम्प, हुरीबतास, र शीतलहरले पारेका गम्भीर असरबारे आफ्ना अनुभव र समस्या खुलस्त रूपमा राखेका छन् ।

डुबानले थिचिएको जीवनचक्र

वडा नम्बर १९ धनगढी उपमहानगरपालिकाभित्र सबैभन्दा बढी जोखिममा रहेको क्षेत्र हो । यहाँका करिब ८० प्रतिशत जनसङ्ख्या बाढी र डुबानको प्रत्यक्ष मारमा छन् । हरेक वर्षको डुबानले लगभग दुई हजार सात सय नागरिक प्रभावित हुने गर्छन् । २०८१ असोजमा आएको बाढीले मात्रै पाँच सय परिवारलाई क्षति पु¥‍याउँदै दर्जनौँ बिघा खेतीयोग्य जमिन नष्ट गरेको थियो । बारम्बारको बाढीले स्थानीयको जीवनमा उथलपुथल ल्याएको छ । कृषि सङ्कट गहिरिएको छ, स्वास्थ्य जोखिम बढ्दै गएको छ, र पानीको समस्या झन् जटिल बन्दै गएको छ ।

स्थानीयको पीडा र माग

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय महिला सुनिता चौधरीले हरेक वर्षको डुबानले ठुलो असर पारेको भन्दै सुरक्षित लाग्ने सार्वजनिक भवन निर्माणको माग गर्नुभयो । सुरत चौधरीले भने गाउँमा सिँचाइका लागि घण्टाको तीनदेखि चार सय रुपियाँ तिर्नुपर्ने बाध्यता रहेको र सरकारी सहयोगमा बनाइएको बोरिङ अहिलेसम्म सञ्चालनमा नआएकोप्रति गुनासो गर्नुभयो । त्यस्तै सन्तोषी चौधरीले मोहना नदीमा तटबन्ध नहुँदा हरेक वर्ष गाउँ डुबानमा पर्ने गरेको गुनासो गर्नुभयो, “जमिन नै नरहे हामी कहाँ जाने ? के खाने ? स्थान देखाइदिनु प¥‍‍यो,” उहाँको भावुक अपिल थियो ।

प्रतिनिधिको प्रतिबद्धता

स्थानीयको पीडा सुनेपछि सङ्घीय र प्रदेश सांसदहरूले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिनिधि सभा सदस्य रूपासोसी चौधरीले समस्यालाई सङ्घीय संसद्को मुद्दा बनाउँदै सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।  प्रदेश सभाका सदस्यहरू विक्रमसिंह धामी, सन्तोषकुमारी शर्मा थापा, तुलसी देवकोटा र शिवसिंह ओलीले पनि प्रदेश सभामा छलफल गरी समस्या समाधानका लागि साझा पहल गर्ने वाचा गर्नुभयो । सार्वजनिक लेखा समितिका संयोजक रहनुभएका विक्रमसिंह धामीले गाउँमा निर्माण भएको बोरिङ एक महिनाभित्र सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै तटबन्ध निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय तहमा समन्वयात्मक पहल गरिने प्रतिबद्धता सो अवसरमा जनाइयो ।

आशा र अपेक्षा

नागरिकहरूले आफ्नो पीडा र माग स्पष्ट रूपमा राखेपछि जनप्रतिनिधिहरूले देखाएको चासोले आशा जगाएको छ । यद्यपि विगतमा पनि यस्ता वाचा मात्र सीमित हुने गरेको अनुभव स्थानीयसँग छ । अब प्रत्यक्ष कार्यान्वयन र समाधानमूलक कदम चालिए मात्र यो सुनुवाइ सार्थक हुने विश्वास छ । जलवायु परिवर्तन र विपत्का मारमा परेका नागरिकहरूको पीडा सुनेर जनप्रतिनिधिहरूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सके धनगढी उपमहानगरपालिका–१९ का बासिन्दाले राहतको सास फेर्न सक्ने छन् ।