About Teku Chhetri

टेकु क्षेत्री घोडाघोडी खबरका संवाददाता हुन्। उनले विविध विषयमा कलम चलाउछन्।

घाँटी रेटी बालिकाको हत्या

बाजुरा, मङ्सिर २९ गते । बाजुरामा एक नाबालिकाको घाँटी रेटी हत्या गरिएको छ । बुढीगङ्गा नगरपालिका वडा नं –२ नडाङ्ग बस्ने वर्ष ४८ का नन्दे सनाईले ८ वर्षीया विनिता सनाईको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोही नगरपालिका बस्ने हर्क सनाई र तुला देवि सनाईकी ८ वर्षीया छोरी विनिता घर पछाडी खेलिरहेको बेला नन्देले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुरा सूचना अधिकारी जनक बोहराले जानकारी दिनुभयो ।

नन्देले बालिकाको धारिलो हतियारले टाउँको काटेर आफ्नो घरमा लुकेर बसेको मृतक बालिकाको जेठो बुबा लुलाराम नेपालीले जानकारी दिनुभयो ।

सनाईले बालिकालाई धारिलो हतियारले टाउँको काटेर आफ्नो घरमा लिएर घरको ढोकाको चुक्कुल लगाएर घरमा बसेको बेलामा प्रहरीले उसलाई नियन्त्रणमा लिएको सूचना अधिकारी बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अभियुक्त सनाईलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेको छ । आफन्तको जाहेरी आउने वित्तिकै उसलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।”

अभियुक्त सनाइले हत्यामा प्रयोग गरेका हँसिया कोदालो र बन्चरो सबै हतियार नियन्त्रण गरेर उसलाई हिजै राति जिल्ल प्रहरी कार्यालयमा राखेको छ । मृतक  बालिकालाई  पनि पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखेको सूचना अधिकारी बोहराले बताउनुभयो ।

कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–८ ऐठपुर, १० भन्सार कार्यालय नजिक र भीमदत्त नगरपालिका–१७ मझगाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ९२ हजार ९४० मूल्य बराबरको सामान बरामद गरिएको हो।

चिनी, मिश्री, मटर, खानेतेल, स्विटर, टाउजर, टोपी, पञ्जा, साईकल लक, प्लाष्टिक झिल्ली, ब्रेकसु, फोरहुईल, साईकल चेन, साईकल स्टेन, साइकल गेर, चस्मा, नटबोल्ड, हाडवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

दार्चुलामा हिमपात र वर्षा

दार्चुला, मङ्सिर २४ गते । दार्चुलाको उच्च पहाडी भेगमा आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै जिल्लाको विभिन्न क्षेत्रमा हिमपात भएको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । ब्यास र अपिहिमाल गाउँपालिकामा हिमपात हुँदा जिल्लामा चिसो बढेको छ ।

हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपिहिमाल गाउँपालिकाका स्थानीय कमला बोहराले जानकारी दिनुभयो । त्यस्तै जिल्लाको खण्डेश्वरी, राप्ला, घुसालगायत क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी जिल्लाका विभिन्न ठाउँमा हल्का वर्षा भएको छ । रासस

नगर प्रमुख हमालको स्वास्थ्य अवस्थामा सुधार

धनगढी, मङ्सिर २४ गते । धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।  चिकित्सकले विभिन्न परीक्षण र निगरानीको आधारमा उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको बताएको हमालका भाइ श्याम हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर प्रमुख हमालको अब अपरेसन गर्नु पर्दैन । तर, उहाँलाई अझ केही समय निगरानीमा राखेर थप उपचार प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ ।

शुक्रबारदेखि स्वास्थ्य समस्या भएका नगर प्रमुख हमालको भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ । उहाँलाई न्युरो इन्टेन्सिभ केयर आइसियु र स्ट्रोक युनिटमा राखिएको छ ।

हमाललाई मस्तिष्क घात भएको धनगढीमा चिकित्सकले बताएपछि उहाँलाई थप उपचारका लागि दिल्ली लगिएको थियो । नगर प्रमुख हमाल २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट अत्यधिक मतका साथ निर्वाचित हुनु भएको थियो ।

कञ्चनपुरको पुरैनी तालमा आइपुगे कलहाँस

कञ्चनपुर,  मङ्सिर २४ गते । बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपन्छीका प्रजाति आइपुग्छन् । विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसवर्ष भने ढिलो गरी आइतबार मात्रै ताल क्षेत्रमा आइपुगेका हुन् ।

चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको झुण्ड यहाँ आइपुगेको हो । तालमा यसअघि नै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँसलगायत पुगेका छन् ।

घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ । यसको तौल तीनदेखि पाँच किलोसम्म हुने गर्दछ । सुन्तला रङको चुच्चो, गुलाबी खुट्टा, गोलोभारी शरीर, लामो गर्दन, पङ्खको रङ खैरो हुने कलहाँस जलपन्छीमा सुुन्दर पन्छीका रुपमा  छ ।

सेतो पुच्छर र पछाडिको छेउको साथ सादा, खैरो(खैरो हुन्छन् । माथिल्लो भाग गाढा खैरो, टाउको, घाँटी हल्का खैरो र तल्लो भाग सेतो रङको हुन्छ । “कलहाँस ताल क्षेत्रमा पुगेपछि रौनकता छाएको छ”, चरा संरक्षणकर्मी सुवन चौधरीले भन्नुभयो, “यस पन्छीले लस्करै जलविहार गरेको दृश्य मनमोहक हुने गरेको छ ।”

उहाँका अनुसार कलहाँसले आहारका रुपमा सीमसार क्षेत्रमा उपलब्ध हुने घाँसलाई पूरै जरासहित खाने गर्दछन् । प्रजनन समयमा यस हाँसले सिमसार क्षेत्रमा गुँड बनाई बच्चा कोरल्ने गर्दछ । शिकारका लागि ताल क्षेत्रमा विषादी राखेर मार्ने गरिएकाले यसको सङ्ख्या भने घट्दो छ । साइबेरिया, युरोपलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि बसाइँसराइ गरी आइपुग्ने कलहाँस गर्मी सुरु हुनअगावै पुरानै ठाउँमा फर्कने गर्दछन् ।

चिसो छल्न र जलविहारका लागि मात्रै प्रवासी पन्छी यहाँ आउने गरेका छन् । प्रजननको समय सुरु हुनअगावै फर्कने गरेका छन् । जल पन्छीका लागि आश्रयस्थलका रुपमा रहेका तालतलैया र सिमसर क्षेत्रलाई संरक्षण गर्नुपर्ने चराविज्ञ हिरुलाल डगौरा बताउनुहुन्छ ।

“सिमसार क्षेत्र मासिँदै जाँदा प्रवासी पन्छी आउने क्रममा केही वर्षदेखि कमी देखिएको छ”, उहाँले भन्नुभयो, “जल पन्छीको जलविहार गर्ने जलाधार क्षेत्रलाई संरक्षण गर्नु सबैको दायित्वभित्र पर्दछ, सिमसार क्षेत्रलाई चरा पर्यटनका रुपमा विकास गर्न सकिन्छ, यसका लागि स्थानीय तहले चासो देखाउनुपर्छ ।”  रासस

बाजुरामा हिमपात जनजीवन प्रभावित

बाजुरा, मङ्सिर २४ गते । बाजुरामा हिमपात सुरु भएको छ । जिल्लाको उच्च स्थानमा अर्थात् हिमाली क्षेत्रका विभिन्न ठाउँमा हिमपात भएपछि यहाँका स्थानीयको जनजीवन निकै प्रभावित भएको छ ।

आइतबार रातिदेखि यहाँका बडिमालिका बुढीनन्दा जगनाथ मिली स्वामिकार्तिकलगायतका उच्च स्थानमा हिउँ पर्न सुरु भएपछि अहिले यहाँको जनजीवन निकै प्रभावित भएको हो ।

यहाँ बाक्लो हिमपात भएपछि अहिले यहाँका बालबालिका तथा वयोवृद्धहरुलाई घर बाहिर आउजाउ गर्न निकै कठिन भएको छ ।

त्यति मात्र होइन बाहिर हिउले पूरै जमिन पुरेपछि अहिले यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई समेत चरिचरन गर्न तथा घाँसपात गर्न समेत निकै समस्या भएको छ ।

बाक्लो हिमपात कारण चिसो बढेसँगै अहिले यहाँका बालबालिकाहरुलाई रुघाखोकी न्यूमोनिया ज्वोरो डर हुने सम्भावना छ  ।

मङ्सिर, पुस र माघको महिनादेखि नै यहाँका अधिकांश ठाउँमा धेरै चिसो हुने गर्छ । त्यसैमा यति बेला आइतबार रातिदेखि बाक्लो हिमपात भएपछि अहिले यहाँका बालबालिकाहरुलाई विद्यालय जान त के घरबाहिर निस्कनसमेत कठिन भएको छ ।

विद्यालयको वरिपरि बाक्लो हिमपात भएपछि चिसोले पठनपाठनमा निकै समस्या भएको सिद्धेश्वरी अनाथ तथा जनजीय आवासीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत छात्र कुसाङ्ग कुँवर भोटेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ उसै त हिउँदको महिना धेरै चिसाे हुने गरेकोले बाहिर निक्लिन सकिँदैन थियो । यति बेला त्यसैमा फेरि बाक्लो हिउँ परेपछि विद्यालयको कक्षा कोठामा बसेर पढ्न निकै समस्या भएको छ ।”

हाम्रो शरीरमा बाक्लो लुगा भएको भए चिसो छल्न निकै सहज हुन्थ्यो । शरीरमा बाक्लो लुगा छैन । बाक्लो लुगा नहुँदा विद्यालयको कक्षा कोठामा बसेर बढ्न समस्या भएको भोटेले बताउनुभयो ।

जिल्लाको बुढीनन्दा नगरपालिका –९ डाप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजीय आवासीय विद्यालयमा प्रायः अनाथ टुहुरा जनजाति हलिया दलित बालबालिकाहरु अध्ययनरत छन् ।

विगत दुई वर्षदेखि यस विद्यालयले उनीहरुलाई विद्यालयमा नै राखेर पठनपाठन गराउने गरेको छ । बाध्यतावश उनीहरुलाई विद्यालयले विद्यालयमै राखेर पढाउने गरेको भए पनि विद्यालसँग आर्थिक अभावका कारण उनीहरुलाई यतिबेला लुगा कपडा तथा पालनपोषण गर्न भने निकै समस्या हुने गरेको छ ।

विद्यालयले उनीहरुलाई पठनपाठन तथा खान सहज बनाउने गरेको भए पनि यहाँ बस्दै गरेका ती अनाथ बालबालिकालाई चिसोको बेलामा वर्षेनी राम्रोराम्रो बाक्लो लुगाकपडा दिन भने निकै समस्या हुने गरेको छ ।

यो विद्यालय प्रायः बाजुराको निकै एक विकट बस्तीमा छ । यहाँ गरिब अनाथ हलिया दलित बालबालिकाहरु विगत दुई वर्षदेखि बस्दै आएका छन् ।

घरमा आफ्नो कोही नएभपछि आफू अहिले यसै विद्यालयमा आएर पढ्ने गरेको यस विद्यालयका कक्षा ३ मा अध्ययनरत छात्रा मिस्टिना ल्वारले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिर हिमपात भएको छ । शरीरमा बाक्लो लुगा छैन । धेरै चिसो भएपछि अहिले कक्षा कोठामा नै आगो बालेर पढ्ने गरेका छौ ।”

केही दिन अघि यस विद्यालयमा आएर एक नेफा संस्थाका संस्थापक हानारोबरले टोपी र मोजा दिनुभएको थियो । अहिले त्यसले टाउँको र पैतलाको चिसो रोक्ने काममा निकै सहज भएको छ । फेरि पनि सहयोगी मन भएकाहरुले यति बेला हामीलाई न्यानो र बाक्लो लुगा दिएमा उहाँहरुको  सानो सहयोगले हामीलाई  चिसो छल्न निकै सहज हुने ल्वारले बताउनुभयो ।

मङ्सिरमा नै यहाँ बाक्लो हिमपात भएपछि चिसोले यहाँका यी बालबालिकालाई कक्षा कोठामा राखेर पढाउन निकै समस्या भएको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रायः यो विद्यालयमा आमा बुवा अर्थात् अभिभावक कोही नभएका गरिब टुहुरा बालबालिका अध्यनरत छन् । हामीले उनीहरुलाई विगत दुई वर्षदेखि यसै विद्यालयमा राखेर पढाउँदै आएका छौं ।”

विद्यालयसँग प्रायः आर्थिक कमजोर भएका कारण अहिले यिनीहरुको शरिरमा बाक्लो लुगा हाल्न सकेका छैनौ । यहाँ बाक्लो लुगा नभएपछि चिसोले बालबालिकाहरुलाई बाहिर अर्थात् कक्षा कोठामा राखेर पढाउन निकै समस्या हुन्छ । त्यसले यती बेला हामीले कक्षा कोठामै आगोको भरमा बालबालिकाहरुलाई पढाउने गरेको प्रधानाध्यापक रावतले बताउनुभयो ।

यता कृषक भने हिउँ परेपछि हर्षित भएका छन् । हिउँले जमिनमा भएका किरा मर्ने भएको र खेती पनि राम्रो हुने गरेकाले उनीहरु हर्षित भएका हुन् ।

खैरो हेरोइनसहित सात जना पक्राउ

धनगढी, मङ्सिर २३ गते । लागुऔषध खैरो हेरोइनसहित कैलाली प्रहरीले सात जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो, जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले कैलालीको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुको साथबाट कुल ११ ग्राम ७३० मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –४ भाटभटेनीनजिकबाट २७ वर्षीय रमेश भट्ट दुई ग्राम ४७० मिलिग्राम खैरो हेरोइनका साथ पक्राउ परेका छन् ।

यसैगरी, एक ग्राम ४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले धनगढी उपमहानगरपालिका –७ का १८ वर्षीय राजेश राना, २५ वर्षीय रामगोपाल रानालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका –१२ पानीघट्टनजिकबाट उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

जानकी गाउँपालिका –९ खैरीफाँटाका १९ वर्षीय सचिन रावललाई तीन ग्राम ९८० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ । यसैगरी, धनगढी उपमहानगरपालिका –४ का २८ वर्षीय गोपाल रामजाली मगरलाई प्रहरीले ५१० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको छ । यातायात कार्यालयनजिक शङ्का लागेर जेकचाँज गर्दा उनको साथबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका –८ संगमटोलका २८ वर्षीय सुरेश चौधरीलाई एक ग्राम ८४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । पक्राउ परेका सबैमाथि अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका गणेश नाथले जानकारी दिनुभयो ।

साढे १० लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

धनगढी, मङ्सिर २३ गते । कैलालीमा प्रहरीले १० लाख ९१ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले भन्सार छलीको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीस्थित ट्राफिक चौराहा र बोराडाँडीबाट अन्दाजी १० लाख ५३ हजारको बराबरको विभिन्न मोबाइलका कभर र किरानाको सामान बरामद गरिएको छ ।

यसैगरी, गोदावरी नगरपालिकाको बालुवाटारबाट अन्दाजी ३८ हजार मूल्य बराबरको स्पिकर, पम्पको वासर बरामद भएको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

गोलभेंडा खेतीमा कीटनाशक औषधि छर्किंदै किसान

धनगढी, मङ्सिर १३ गते । कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आतङ्क अझै रोकिएको छैन ।  सो पालिकावासीलाई हात्तीको झुन्डले विगत दुई महिनादेखि आतङ्कित पारेको हो । दुई जनाको ज्यानसमेत लिइसकेका जङ्गली हात्तीले कैयौँ स्थानीयको घर भत्काउनुका साथै ५०/६० बिघा जमिनमा लगाइएको उखु नष्ट गरिसकेका छन् । जङ्गली हात्तीको आतङ्कका कारण दुई महिनादेखि लालझाडीसहित कञ्चनपुरको दक्षिणी क्षेत्रको जनजीवन त्रसित छ ।

जङ्गली हात्तीले कृषि बालीमा नोक्सान गर्नुका साथै मान्छेको घर भत्काएर आतङ्कित बनाएको लालझाडी गाउँपालिका–४ का वडाध्यक्ष बहादुर रानाले बताउनुभयो । उहाँले मङ्गलबार राति मात्रै जङ्गली हात्तीले इटाहा शिविरमा चार घर भत्काएको जानकारी दिनुभयो । यसअघि सोही वडाको पर्सिया गाउँमा हात्तीले स्थानीयको घर भत्काएका थिए । “हात्तीका कारण खेतीबारीमा जान र यत्रतत्र हिँडडुल गर्नै गाह्रो छ,” वडा ध्यक्ष रानाले भन्नुभयो, “हात्तीले यहाँ धेरै समस्या गरिरहेका छन् ।” उहाँले वडा नम्बर ४ मा मात्रै ४७ बिघा जमिनमा हात्तीले उखु खेती नष्ट गरिसकेको जानकारी दिनुभयो ।

किसानको खेतमा दिउँसै हात्तीको झुन्ड पुग्ने गरेको छ । खेतमा आएका हात्तीलाई डोजर, ट्याक्टरले स्थानीयले धपाउने गरेका छन् । हात्ती धपाउने क्रममा गत असोजमा हात्तीकै आक्रमणबाट वडा नम्बर ४ का कृषक रामदल रानाको ज्यान गएको थियो । सो घटनाको हप्ता दिनपछि जङ्गली हात्तीले बेलौरी नगरपालिका–६ का २२ वर्षीय उमेश चौधरीको पनि ज्यान लिएको थियो ।

लालझाडीमा जङ्गली हात्तीको आतङ्क रोकथामका लागि प्रदेश र सङ्घीय सरकारले कुनै चासो नदेखाएको गाउँपालिका अध्यक्ष निर्मल रानाले गुनासो गर्नुभयो । “हात्तीले दिनदिनै नोक्सान गरेकै छन् । घर भत्काएका छन्,” उहाँले भन्नुभयो, “गाउँपालिकाले मात्रै कतिसम्म कोसिस गर्ने ? रोकथामका लागि प्रदेश र सङ्घीय सरकारले केही गर्नु पर्दैन ?”

लालझाडी कोरिडोर र दुधुवा नेसनलपार्कको बिचमा पर्ने लालझाडी गाउँपालिकामा यस वर्ष असोज महिनादेखि जङ्गली हात्तीको आतङ्क सुरु भएको छ । धान पाक्ने बेला आएको जङ्गली हात्ती अझै लालझाडी मोहना वन संरक्षण क्षेत्रतिर रहेको डिभिजन वन कार्यालय कुण्डाका वन अधिकृत दिनेशकुमार यादवले बताउनुभयो । जङ्गली हात्तीलाई उखु बढी मन पर्ने गरेका कारण उखु बालीमा बढी नोक्सान गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

डोजर चलेपछि हटाइँदै टहरा

डडेलधुरा, मङ्सिर १३ गते । डडेलधुरा जिल्ला सदरमुकाम बागबजार–कीर्तिपुर–डकले सडक विस्तारका क्रममा संरचना हटाउन स्थानीयले आनाकानी गरेपछि डोजर चलाइएको छ । केही दिनयता सडक विभाग र अमरगढी नगरपालिकाले डोजर लगाई संरचना भत्काउन थालेपछि बल्ल स्थानीय टहरा हटाउन थालेका छन् ।

बागबजारदेखि डकलेसम्म सडक विस्तार गर्न सडक डिभिजन कार्यालय डोटीले मुआब्जा बाँडेर सडकका नाममा जमिन प्राप्त गरिसकेको छ । अमरगढी नगरपालिकाले बारम्बार सडक क्षेत्राधिकार ३० मिटरभित्र पर्ने संरचना हटाउन सूचना जारी गर्दै आइरहेको थियो । नगरपालिकाले यसअघि कात्तिक २० गते पनि बागबजार क्षेत्रमा सडक क्षेत्राधिकार भित्रका सबै संरचना हटाउन डोजर चलाइएको थियो । घरधनी र व्यापारीको अटेरपछि अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालय डोटी आफैँले सडक क्षेत्राधिकारभित्र रहेका घर, टहरा, सिँढी सबै भत्काउन थालेको थियो तर केही स्थानीयले मुआब्जाबापतको रकम पाउन नसकेको भन्दै विरोध भएपछि काम रोकिएको थियो ।

सबै घरधनी र जग्गाधनीले मुआब्जाबापतको रकम बुझिसक्नुभएको छ तर सडकको बिच भागदेखि १५/१५ मिटर दायाँबायाँभित्र बनेका संरचना र टहरा भने हटाउनुभएको थिएन । नगरपालिकाले सूचना जारी गर्दासमेत स्थानीयले अटेर गरेपछि चार दिनयता फेरि डोजर लगाई संरचना र टहरा हटाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १० का वडाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले अवरोध छैन । डोजरले भत्काउन सुरु गरेपछि स्थानीय आफैँले संरचना र टहरा भत्काइरहेका छन् । पाँच मिटर मात्रै चौडा कालोपत्रे भएको सडक विस्तार गर्न सरकारले ६० करोड रुपियाँभन्दा बढी रकम मुआब्जा बाँडेको छ । यो रकम पछिल्ला तीन वर्षमा स्थानीयलाई बाँडेको हो तर हालसम्म पनि केही स्थानीयले सडकको दायाँबायाँ १५/१५ मिटरभित्र बनाएका संरचना हटाउनुभएको थिएन । अमरगढी नगरपालिका–५, बागबजारको पिपिल चौतारादेखि वडा नम्बर ८ को डकलेसम्म सडक विस्तार गर्न सरकारले मुआब्जा वितरण गरेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय कुलपाते डोटीले यो सडकखण्ड निर्माण विस्तारका लागि ९७ करोड बजेट विभागबाट माग गरेको छ । बजेट माग गरेको दुई वर्ष पुगे पनि रकम प्राप्त भएको छैन । बजेट प्राप्त हुनेबित्तिकै टेन्डर गर्न सजिलो हुने भएकाले सडक क्षेत्राधिकार भित्रका संरचना हटाउन लागिएको उहाँले बताउनुभयो । सुदूरपश्चिमका सात पहाडी जिल्लाको ट्रान्जिट प्वाइन्टका रूपमा रहेको डडेलधुरामा साँघुरो सडकले आवतजावतमा सास्ती हुने गरेको छ । जिल्ला सदरमुकामको सडक कालोपत्रे भएको २६ वर्षपछि सडक स्तरोन्नतिको योजना अगाडि बढे पनि निर्माण बजेट नहुँदा स्थानीय निराश भएका छन् ।

दुई युवतीद्वारा आत्महत्या

घोडाघोडी (कैलाली), मङ्सिर ९ गते । कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवतीले झुण्डिएर आत्महत्या गरेका छन् । फरक–फरक स्थानमा भएको आत्महत्याको कारण भने खुलेको छैन ।

घोडाघोडी नगरपालिका –७ कीर्तिपुर बस्ने १६ वर्षीय भावना बोहरा आइतबार झुण्डिएको अवस्थामा फेला परेकी छन् । इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक डिबी साउँदले घरनजिक जङ्गलको किनारमा घाँटीमा पासो लगाएर रुखमा झुण्डिएको अवस्थामा फेला परेको  जानकारी दिनुभयो ।

कक्षा ८ मा अध्ययनरत बोहरा तीन पटकसम्म फेल भएको परिवारबाट बुझिए पनि आत्महत्याको कारण भने खुल्न नसकेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीको भनाइ छ ।

त्यसैगरी घोडाघोडी नगरपालिका वडा ५ वनखेत बस्ने २१ वर्षीय सबिता चौधरीले झुण्डिएर आत्महत्या गरेकी छन् । आफ्नै घरमा शनिबार दिउँसो झुण्डिएर आत्महत्या गरेको परिवारका सदस्यहरुको भनाइ छ । चौधरीको आत्महत्याको कारण खुलेको छैन । विवाहित चौधरीको घर र माइती पक्षबाट पनि आत्महत्याको कारण बारे खुलेको छैन ।

घोडाघोडीमा विवाह समारोहमा झडपः एक जना घाइते, चार जना युवक पक्राउ

धनगढीः घोडाघोडीमा विवाहमा एक किशोरमाथि कुटपिट भएको छ।

कुटपिटबाट एक जना घाइते भएका छन भने ४ जना पक्राउ परेका छन्। हिजो (शनिबार) घोडाघोडी नगरपालिका–७ का ओमबहादुर चिमालाको छोराको विवाहमा रमाइलो गर्ने क्रममा १५ वर्षीय अंकित गौतममाथि कुटपिट भएको हो। कुटपिटबाट उनको टाउँकोमा चोट चोट लागेको छ।

सामुहिक कुटपिटबाट घाइते भएका अंकितको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। किशोरमाथि कुटपिटको आरोपमा चार पक्राउ परेका छन्। घोडघोडी नगरपालिका–७ का २३ वर्षीय आकाश विक, २९ वर्षीय मोहन बम, २२ वर्षीय तारेशु बोहरा र २७ वर्षीय दुर्गा पुनामीमगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।

विवाहमा कुटपिट भएपछि त्यहाँ प्रहरी खटिएको थियो। कुटपिटमा संलग्न समुहलाई प्रहरीले सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि नै हातपात गर्न खोजिएको डिएसपी बोहराले बताए। कुटपिटमा संलग्न पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।