कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

धनगढीः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका-११ भुजेलाबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख १० हजार २ सय मूल्य बराबरको चिनी, मिश्री, जुत्ता, चप्पल, हुड, अण्डरट्राउजर लगायतका सामान बरामद गरिएको छ। यस्तै पुनर्वास नगरपालिका-४ कोटीहोमबाट अन्दाजी २२ हजार ७ सय ५० मूल्य बराबरको माछा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कैलालीमा एक लाख बढी भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीमा एक लाख भन्सार छलीका सामान बरामद गरिएको छ। भजनी नगरपालिका-४ कुडीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६० हजार मूल्य बराबरको सुर्ति, प्लाष्टिको झोला, प्लाष्टिकको त्रिपाल लगायतका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-३ भन्सार कार्यालय नजिकबाट अन्दाजी ५१ हजार १ सय ९०मूल्य बराबरको चिनी, प्याज, मैदा, मटर, लेडिज स्विटर, मखमल दोपट्टा लगायतका समान  गरी जम्मा अन्दाजी १ लाख ११ हजार १ सय ९० मुल्य बराबरको सामान प्रहरीले सोमवार बरामद गरेको छ। प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

कञ्चनपुरमा भन्सार छलिका सामानसहित एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलिका सामानसहित एक जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका-२ वाणीका २३ वर्षीय विजय चौधरीलाई सोमवार राति प्रहरी गस्ती टोलीले भन्सार छलिका सामानसहित फेला पारी नियन्त्रणमा लिएको हो।

चौधरीलाई लालझाडी गाउँपालिका-४ देखतभुलीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ८० हजार ५ सय मूल्य बराबरको माछा, चिनी, काले मामा नामक चुरन, मोटरसाईकल १ थानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। साथै सोही ठाउँबाट अन्दाजी १ लाख ५२ हजार ९ सय मूल्य बराबरको माछा, चिनी, आन्टी नामक स्विट सुपारी, मोटरसाईकल १ थानसमेत सोमवार राति प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कृष्णपुर नगरपालिका-२ मछेली पुल नजिकबाट भन्सार छलिका अन्दाजी ३९ हजार ३ सय २० मूल्य बराबरको खेलौना, टफि, मसला लगायतका सामान र भीमदत्त नगरपालिका-१० बिद्युत कार्यालय अगाडी पुर्वपश्चिम राजमार्गबाट अन्दाजी १ लाख २० हजार ३ सय ४० मूल्य बराबरको किरानाका सामान, मोटर पार्टस, जुता, चप्पल, खाद्यान्न लगायतका सामान बरामद गरिएको छ। प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

शुक्लाफाँटामा बाघ गन्न राखिएका पाँचवटा क्यामरा गायब

कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका पाँचवटा क्यामरा गायब गरिएको छ। बाघ गणना गर्न जडान गरिएका ३ जोडी क्यामरा चोरी तथा तोडफोड भएका छन्।

निकुञ्जको बेलडाँडी र मालुबेला सेक्टरका क्यामरा तोडफोड तथा चोरी भएका छन्। निकुञ्जमा क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना तथा अनुगमनका लागि मंसिर अन्तिम साता ९२ जोडी स्वचालित क्यामरा जडान गरिएका थिए। तिनैमध्ये बेलडाँडी क्षेत्रमा पाँचवटा क्यामरा चोरी भएका छन्। मालुबेला क्षेत्रमा एक क्यामरा हात्तीले तोडफोड गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए।

बाघ गणनाका लागि राखिएका क्यामरा यसै साता संकलन गरिएको हो। बेलडाँडी क्षेत्रमा पुस १३÷१४ गतेतिर क्यामरा चोरी भएको जोशीले बताए। मालबेला क्षेत्रमा पनि हात्तीले त्यही समय आसपास एक क्यामरा तोडेको उनले बताए।
निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक÷एक गरी चार वटा क्यामेरा हराएका छन्।

‘बाघ गणनाका लागि राखिएका ठाउँमा क्यामेरा फेला परेका छैनन’, उनले भने, ‘कसले कुन प्रयोजनका लागि निकालेर लगेको भन्नेबारे अनुसन्धान भइरहेको छ।’ उनका अनुसार निकुञ्ज क्षेत्रभित्रै एउटा क्यामेरा हात्तीले फुटालेको र अर्को राखेको ठाउँभन्दा ५० मिटर पर बाघले तानेर छाडेको भेटिएको छ। बाघ गणनाका लागि निकुञ्जले त्यसको आसपास क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेको हो।

शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको २६० वटा ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य अगाडि बढाइएको थियो। निकुञ्जले ५२० वटा स्वचालित क्यामेरा जडान गरी बाघ गणनाको कार्य गरेको छ।

निकुञ्जअन्तर्गतका चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी र हिरापुर गरी चार स्थानमा, डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत तिलकेनी, बेदकोट, दोमिल्ला र डाडाजाई गरी चार र डडेल्धुराका आलिताल, नाउला र चिरकिटेमा गरी ११ स्थानमा क्याम्प राखेर बाघ गणनाको कार्य गरिएको छ। जम्मा २० क्याम्पमा ७० प्राविधिक र पाँच वटा हात्ती खटाएर गणना कार्य गरिएको अधिकृत अर्यालको भनाइ छ।

माघ २९ देखि २१ दिनसम्म बाघ गणनाको कार्य गरिएको हो। बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेराले खिचेका फोटो ग्रिडअनुसार छुट्याउने कार्यमा प्राविधिकको टोलीले काम अगाडि बढाएको छ। अधिकृत अर्यालले भने, ‘फोटो छुट्याउने कार्य सम्पन्न भएपछि विश्लेषणका लागि विभागमा पठाउँछौं।’ फोटो विश्लेषणका आधारमा विभागले बाघको संख्या यकिन गरी सार्वजनिक गर्ने उनले बताए।

गत वर्षको तुलनमा बाघको उपस्थिति उत्साहजनक रहेको उनको भनाइ छ। गत वर्षको गणनामा निकुञ्जमा १७ बाघ देखा परेका थिए। निकुञ्जमा बाघ गणना सन् २००९ देखि हुँदै आएको छ। सरकारले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य लिएको छ। शुक्लाफाँटा ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्ज, थोरै क्षेत्रफलमा धेरै बाघ भएको क्षेत्रका रूपमा समेत परिचित छ।

झण्डै डेढ लाख नगदसहित कञ्चनपुरबाट ६ जुवाडे पक्राउ

कञ्चनपुरः झण्डै डेढ लाख नगदसहित कञ्चनपुरबाट ६ जना जुवाडे पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–३ जामिरगडाबाट ६ जना जुवाडे नगदसहित पक्राउ परेका हुन्। शनिबार साँझ ३३ वर्षीय भवानीसिंह बुढासहितका ६ जनालाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरले पक्राउ गरेको हो।

उनीहरूको साथबाट एक लाख ४२ हजार ६ सय ४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

 

धनगढीमा भन्सार छलिका सामानसहित डोटीका युवक पक्राउ

धनगढीः कैलालीको धनगढीमा भन्सार छलिका सामानसहित डोटीका एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-३ ब्यारेल अगाडीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ५५ हजार मूल्य बराबरको सामानसहित डोटी शिखर नगरपालिका-१ का ३० वर्षीय पदमबहादुर साउँद बिहीवार साँझ पक्राउ परेका हुन्। उक्त मूल्य बराबरका गाडीका पार्टपुर्जा (ब्लकहोल्डर, ग्लयान्डर मेसिन, गाडीको हर्न, रेगुलेटर, फोर पिन रिले, टर्मिनल, बेरिङ्ग लगायत सामानसहित साउँद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए।

यस्तै धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अन्दाजी २४ हजार ४ सय १० मूल्य बराबरको प्याज, चिनी, गुडपापडी, सरप, पानीपुरी, बिडी लगायतका सामान बरामद गरिएको छ। साथै धनगढी उपमहानगरपालिका-९ त्रिबेणी घाटबाट अन्दाजी ९० हजार मूल्य बराबरको पानी तान्ने मोटर बरामद गरिएको प्रवक्ता चन्दले जानकारी दिए।

 

धनगढीमा एक किशोर लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट ५ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित धनगढी उपमहानगरपालिका–१३ का १८ वर्षीय किशोर बिहीवार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले किशोरलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए। ती किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए।

 

बेलौरीमा भारतबाट भित्र्याइदै गरेको उखु बरामद

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकामा प्रहरीले भारतबाट नेपाल भित्र्याइदै गरेको उखु बरामद गरेको छ।

बुधवार राति जिल्लाको दक्षिणी सिमा क्षेत्र बेलौरी नगरपालिका–१ बैशाखीबाट भे१ त ३२८६ नम्बरको ट्याक्टरसहित दुई ट्राली उखु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगिले बताए। उनका अनुसार राति प्रहरी देख्दा चालक भागेका थिए। नियन्त्रणमा लिएको ट्याक्टरसहितको उखु आवश्यक प्रक्रियाका लागि त्रिनगर भन्सार कार्यालय पठाएको छ। यस अघि पनि बेलौरी प्रहरीले १ ट्राली उखु नियन्त्रणमा लिइ भन्सार कार्यालय पुर्याएको थियो।

 

धनगढीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

धनगढी : कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्युभएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार भगवती टोलका देवकर भट्टकी पाँच वर्षीया छोरी शान्तिलाई बिहिवार ट्याक्टरले ठक्कर दिएको हो। हसनपुर–स्याउले सडक खण्डमा से १ त ६२०४ नम्बरको ट्याक्टरले ठक्कर दिदा बालिकाको मृत्यु भएको छ। उनको धनगढीको निर्सग अस्पतालमा मृत्यु भएको हो।

बालिकाको शव सेती अस्पतालका शव गृहमा राखिएको छ। ट्याक्टर र ट्याक्टर चालक भजनी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामजनम चौधरी प्रहरीको नियन्त्रणमा छन्।

 

कैलालीबाट भन्सार छलीका सामान बरामद

कैलालीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भजनी नगरपालिका-३ कर्मदेबघाटबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ४३ हजार ४ सय ४० मूल्य बराबरको चिनी, बिडी, सुर्ती,गुट्का लगायतका सामान बुधवार बरामद गरिएको हो। प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

धनगढीमा लागूऔषधसहित डोटीका दुई युवक पक्राउ

धनगढीः धनगढीमा लागूऔषधसहित डोटीका दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ को त्रिनगर पोष्ट अगाडीबाट १३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित डोटीको के.आई.सिंह गाउँपालिका-१ बस्ने २० वर्षीय निश्चल शाही र के.आई.सिंह गाउँपालिका-२ का २१ वर्षीय मनोज रावल आईतवार दिउँसो पक्राउ परेका हुन्।

भारतबाट नेपाल तर्फ आउदै गरेको अबस्थामा प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट खैरो हेरोईन फेला पारी दुबैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

 

एक वर्षमा सक्नु पर्ने पुल सात वर्षसम्म अलपत्र बनाएर ठेकेदार सम्पर्क विहीन

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल एक वर्षमा काम सक्ने गरी २०७३ सालमा निर्माण सम्झौता भएको थियो । तर पटक पटक म्याद भएर सात वर्ष बिती सक्दा समेत अझै काम अलपत्र छ ।

पुल नहुँदा स्थानीय बासीले सास्ती खेप्नु परेको छ । पुल निर्माणको ठेकेदार र निर्माणको नियमन गराउने सडक डिभिजन कार्यालय महेन्द्रनगरका कर्मचारीको मिलेमतो रहेको आरोप स्थानीय बासीले लगाएका छन् । सात वर्षसम्म काम नसक्दा ठेक्का तोडेर अन्य कम्पनीलाई दिन नसक्नु र ठेकेदारसँग कर्मचारीको उठबसका कारण स्थानीय बासीले सास्ती खेप्नु परेको स्थानीय दिलबहादुर खत्रीले बताउनुभयो ।

विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले रु पाँच करोड ४७ लाखमा ओदाल खोलाको पुल निर्माणको ठेक्का पाएको थियो । सुरुआतमा विसं २०७४ फागुन १५ गते पुल निर्माण गरिसक्नुपर्ने अवधि थियो । तर पटक पटक म्याद थप गर्दा पनि अहिलेसम्म पुल तयार हुन सकेको छैन । पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत ३० गते काम सक्नुपर्ने भए पनि अझै निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले स्वीकार गर्नुभयो । किन काम हुन सकेन र ठेक्का तोडेर अरूलाई किन दिन सकिएन भन्ने प्रश्नमा उहाँले जवाफ दिन सक्नु भएन ।

सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दा आशै आशामा सास्ती भोगिरहेका छन् ।  पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदले बताउनुभयो । “बर्खामा खोला निकै आउँछ । बिरामी तथा विद्यार्थीलाई ओहोरदोहोर गर्नै समस्या हुन्छ”, उहाँले भन्नुभयो, “पुल नहुँदा ज्यान जोखिममा पारेर आवतजावत गर्नुपर्छ ।”

ठेकेदार कम्पनीको लापरबाही त हो नै तर कर्मचारीको मिलेमतो विना यस्तो सम्भव हुँदैन त्यसैले अहिलेसम्म पुल निर्माण हुन नसकेको अर्का स्थानीय दिलबहादुर खत्रीले बताउनुभयो । “सुविधा सम्पन्न बाटो तथा पुल नहुँदा कोही बिरामी परे पनि लैजान गाह्रो हुन्छ । एम्बुलेन्स आउन मान्दैन”, उहाँले भन्नुभयो, “समयमै अस्पताल पुर्याउन नसक्दा कतिपयले बाटोमै ज्यान पनि गुमाएका छन् ।” ओदाल खोलामा पुल नहुँदा स्थानीय अहिले खोलाकै धुलाम्य कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्लालगायत सो क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । “पुल निर्माण हुने भनेको यत्रो समय बितिसक्दा पनि अहिलेसम्म बनेको छैन”, स्थानीय गणेश रावतले भन्नुभयो, “हामी पीडामा छौँ । अब त पुल निर्माण हुन्छ भन्ने आशा पनि मरिसक्यो ।”

“पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि नबढाएको कार्यालयले जनाएको छ । उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “निर्माणमा लापरबाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ ।” उहाँका अनुसार पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई ठेक्का छोड्न परिपत्र गर्ने तयारीसमेत भइरहेको छ । पुलको निर्माण गर्नुपर्ने दुई वटा स्पानमध्ये एउटा मात्रै निर्माण सम्पन्न भएको छ ।