पासोमा पर्दैछन चितुवा र बाघ

ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), १४ माघ
एक साता पहिले कैलालीको जानकी गाउँपालिका ९ स्थित अमरावती सामुदायिक वन भित्र पाटे बाघ मृत अवस्थामा भेटियो ।
मृत अवस्थामा फेला परेको बाघको घाटीमा फसेको पासो निकाल्न समेत कठिनाइ भएको थियो । सुर्किने गाँठोले घाटी कस्सिएर बाघको निसास्सिएर मृत्यु भएको डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले बताए ।
अघिल्लो वर्ष असार ५ गते टीकापुर नगरपालिका २ स्थित जनशक्ति सामुदायिक वनमा पनि पाटे बाघ मृत फेला परेको थियो । घाँटीमा तारको पासो लागेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको थियो ।
एक वर्षको अन्तरालमा कैलालीमा विश्वकै लोपोन्मुख प्रजातिका रुपमा रहेका दुई वटा पाटे बाघको मृत्युले संरक्षणमा चुनौती देखिएको छ । पाटे बाघ मात्रै होइन त्यसको बढिको संख्यामा चितुवा पासोमा परेर मरिरहेका छन् ।
गएको पौष ११ गते कैलालीको गोदावरी नगरपालिका १० स्थित रातोपानि सामुदायिक वनमा पासोमा परेको अवस्थामा चितुवा फेला परेको थियो । गोदावरीमा समयमै उद्धार हुँदा चितुवा बाच्यो । २०७८ चैत्र १७ गते घोडाघोडी नगरपालिका १० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गर्ने क्रममा नै मृत्यु भयो ।
यी त केहि प्रतिनिधि घटना मात्रै हुन । कैलालीमा पछिल्लो केही वर्ष यता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु संख्या बढिरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।
पछिल्लो ५ वर्षको अवधिमा कैलालीमा २ ओटा पाटे बाघ र ४ ओटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । जिल्लामा आर्थिक बर्ष २०७५÷७६ मा एउटा चितुवा, आ.व २०७८÷०७९ मा २ ओटा चितुवा र एउटा पाटे बाघ तथा चालु अर्थिक वर्षमा १ पाटे बाघको मृत्यु भएको भने एक चितुवाको मृत्यु भएको छ ।
यसरी पासोमा पर्छन् वन्य जन्तु
आइतबार पासोमा परेर मृत्यु भएको बाघ तस्करले मार्ने उद्देश्यले पासोमा पारिएको नहुन सक्ने संरक्षणकर्मीहरूको अनुमान छ । अन्य साना जनावरहरूलाई थापिएको पासोमा बाघ परेको हुन सक्ने संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । ‘मोटर साइकलको ब्रेकको तार पासो बनाइएको छ । त्यो पासो मासुजन्य वन्यजन्तुका लागि हो’ श्रेष्ठले भने ।
उनका अनुसार बाघ र चितुवाको मृत्यु तस्करीका लागि मात्र नभई मानव वन्यजन्तु बिचको द्धन्दको कारण पनि भएको देखिन्छ ।
संरक्षणकर्मी डा.हेम सागर बराल पनि प्रतिशोध र सिकारका लागि राखेको पासोमा ठुला जनावर परिरहेको बताउछन ।
‘जङ्गल नजिक अहिले बस्ती बसिरहेका छन् । घर पालुवा जनावर र आफ्नो सुरक्षा सँगै मासुका लागि मानिसहरू पासो थाप्छन’ उनी भन्छन,‘बाघ र चितुवा मार्ने उद्देश्य नभएर पनि ती ठुला जनावर मरिरहेका छन् ।’
पहिलेको तुलनामा अहिले पासोमा परेर चितुवा र बाघको मृत्यु सङ्ख्या बढिरहेको संरक्षणकर्मी तिलक ढकाल बताउछन । कैलाली सँग जोडिएको बसन्ता जैविक मार्गको वन क्षेत्र ६९ हजार १.२२ हेक्टर रहेको छ । अहिले जङ्गलको नजिक मानव बस्ती पुगेको छ । जसका कारण संरक्षित क्षेत्रमै पनि वन्यजन्तु असुरक्षित छन् ।
डिभिजन वन कार्यालय धनगढीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले पछिल्लो समय वन्यजन्तुका लागि पासो जोखिम बन्दै गइरहेको बताउछन ।
‘करेन्ट, तार लगायतको पासो थाप्ने क्रम बढ्दै गएको छ, बँदेल,चित्तल लगायत मासुजन्य वन्यजन्तुका लागि पासो थाप्ने गरेका छन् जसमा बाघ,चितुवा परिरहेका छन’ उनी भन्छन, ‘यसरी पासो थाप्नु गैर कानुनी हो । यस्ता गतिविधि गरेको पाइएमा हामी कारबाही गर्छौ ।’
समस्या समाधानका लागि जनचेतनामूलक विभिन्न कार्यक्रमहरू पनि भइरहेको उहाँको भनाई छ । कानुनमा पनि यसरी जङ्गली जनावरको हत्या गर्ने कार्यमा संलग्न जोकोहीलाई कडा कारबाही हुने व्यवस्था रहेको छ ।
जैविक प्रजातिहरूको विश्वव्यापी संरक्षण स्थिति र विलुप्त हुने जोखिमको अवस्थाको नियमित अनुगमन गर्ने संस्था आइयुसिएनले पाटे बाघ लोपोन्मुख अवस्थामा रहेको भन्दै आफ्नो रातो सूचीमा राखेको छ । त्यसैसरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, २०२९ ले पाटे बाघलाई संरक्षित स्तनधारी प्रजातिको सूचिमा राखेको छ ।
लोपोन्मुख प्रजातिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण सम्बन्धी र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार पाटे बाघ लगायत लोपोन्मुख प्रजातिको कारोबार वा व्यापार गर्न पाइँदैन ।
पाटे बाघको सिकार गरेमा ५ लाख देखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ भने,चितुवाको सिकार जन्य अपराध गरेमा २० हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना देखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कानुनी प्रावधान रहेको छ ।
सरकारी निकायहरूले पनि अहिले बाघ लगायतका लोपोन्मुख अवस्थामा पुगेका बन्यजन्तुहरुको संरक्षणमा ठुलो पहल गर्दै आइरहेका छन् । तर, समुदायमा जनचेतनाको अभाव, तस्करी र मानव वन्यजन्तुको द्वन्द्वका कारण बाघ र चितुवा जस्ता ठुला जनावरहरू पनि पासोका कारण मर्नेको सङ्ख्या बढिरहेको छ ।

धनगढीबाट एक लाख बढीका सामान बरामद

धनगढीः कैलालीको धनगढीबाट एक लाख बढीका सामान बरामद गरिएको छ। धनगढीको दुई स्थानबाट १ लाख २३ हजार २ सय बराबरको सामान बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

धनगढी–२ मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ९४ हजार ४ सय मूल्य बराबरको चिनी, प्याज, साडी, लेहेंगा, धोती, सुईटर, जेनरेटरका बिभिन्न पार्टपुर्जा लगायतका सामान बरामद गरिएको हो। यस्तै धनगढी ३ ट्राफिक चोक र ब्यारेल अगाडीबाट २८ हजार ८ सय बारबरका चिनी, प्याज, खुर्सानी, केराउ नरिवल, साईकलको ट्युव लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

 

कञ्चनपुरमा लागूऔषधसहित तीन युवक पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित तीन युवक पक्राउ परेका छन्। बेलौरी नगरपालिका-१० सडकघाटबाट ७७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित सोही ठाउँका २६ वर्षीय प्रशान्त चौधरी बुधवार राति पक्राउ परेका हुन्। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित चौधरीलाई फेला पारी पक्राउ गरेको हो।

यस्तै भीमदत्त नगरपालिका-१० गडडाचौकी स्थित व्यारेलबाट ०.८३ ग्राम लागूऔषधसहित भीमदत्त-३ बस्ने २८ वर्षीय दिवस कुँवर र भीमदत्त-१ का २८ वर्षीय प्रेमराज जोशी पनि बुधवार राति पक्राउ परेका छन्। ईलाका प्रहरीकार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुबै जनाहरुलाई पक्राउ गरेको हो। पक्राउ परका तीनै जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

बझाङमा जिपको ठक्करबाट महिला घाइते

बझाङ : बझाङमा जिपको ठक्करबाट एक महिला घाइते भएकी छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ४ बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा जिपले ठक्कर दिदा सोही ठाउँकी ५५ वर्षीया महेश्वरी मल्ल घाइते भएकी हुन।

बुधवार बिहान बागथलाबाट चैनपुर तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भईरहेको छ। घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कैलालीः दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोक र सहिदगेटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २५ हजार १ सय ५० मूल्य बराबरको चिनी, प्याज, प्लाष्टिक, साबुन, नरिवल लगायतका सामानहरु सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-१० बिद्युत कार्यालय नजिकबाट ९१ हजार २ सय ५० मूल्य बराबरको चिनी, मिश्री, तेल, दाल, प्लाष्टिक लगायतका सामान सोमवार नियन्त्रणमा लिएको हो। उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ।

कैलालीको घोडाघोडीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु

धनगढीः कैलालीको घोडाघोडीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–२ पाण्डेचोकमा ना.४ ख १३६५ नम्बरको टिपर अनियन्त्रित भएर आइतबार राति दुर्घटना भएको हो। दुर्घटनामा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका–७ का २४ वर्षीय दिनदयाल थारुको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका टिपर चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

सामुदायिक वनमा हतियार फेला

कैलालीको भजनी नगरपालिका-२ कटानपुरस्थित वनदेवी सामुदायिक वनमा हतियार फेला परेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटेको प्रहरीको आरआइटी टोलीले बेवारिसे अवस्थाबाट एक थान एयरगन (नपड्किने हतियार) फेला परेको हो । फेला परेको हतियार इलाका प्रहरी कार्यालय भजनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता गणेशनाथले जानकारी दिनुभयो ।

कैलालीमा पाटेबाघ मृत फेला

सुखड माघ ७

कैलालीको जानकी गाउँपालिका वडा न ९ मा रहेको अमरावती सामुदायिक वन भित्र पाटे बाघ मृत अवस्थामा फेला परेको छ । तारले बेरिएको अवस्थामा वयष्क पोथि पाटे बाघ मृत भेटिएको सब डिभिजन वन कार्यलय लम्किका फरेष्टर राम बहादुर रावलले जानकारी दिनुभएको छ । फरेष्टर रावलका अनुसार मृत बाघ बाट दुर्घन्ध आईरहेको छ बाघको केहि दिन अगाडि नै मृत्यु भईसकेको थियो । बाघ पासोमा परेको हुन सक्ने बताउदै फरेष्टर रावलले भन्नुभयो,मृत्यु भएको स्थान भन्दा अन्यत्र नै बाघ पासोमा परेको हो नजिक कतै तार छैन । स्याउला लिन जंगलमा पुगेका स्थानियले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत बाघ डिभिजन बन कार्यलय पहलमानपुर ल्याईएको सव डिभिजन वन कार्यलय लम्कीका प्रमुख शेर बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

टेलिकम अत्तरियाकाे कबाड प्रकरण : अख्तियारले अनुसन्धान गर्ने

धनगढीः नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरियाको कबाड प्रकरणको अख्तियारले अनुसन्धान गर्ने भएको छ। दूरसञ्चार निर्देशनालय, अत्तरियाले अभिलेखमा कम तौल देखाएर बढी तामाजन्य कबाड विक्री गरेपछि अख्तियारले अनुसन्धान गर्ने भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरका प्रमुख रमेश कुमार केशीले अख्तियारले अनुसन्धानको प्रक्रिया सुरु गरेको बताए। उनले भने, ‘टेलिकमको कबाडका विषयमा हामी अनुसन्धान गर्दैछौ। प्रमुख जिल्ला अधिकारी ज्यूले छानबिन समिति पनि बनाउनु भएको रहेछ। छानबिन समितिको प्रतिवेदन पनि मागेका छौ। हामी आफ्नो तरिकाले पनि अनुसन्धान गर्छाै। सबै क्षेत्रबाट सूचना सङ्कलन गर्ने काम हुँदैछ।’

नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरिया र बिएसएल कन्स्ट्रक्सन काठमाडौँका बिच ९६ हजार दुई सय ५७ दशमलव ३५ किलोग्राम तामाजन्य कबाड विक्रीका लागि सम्झौता भएको थियो। प्रति किलोग्राम ८ सय ५० रुपैयाँका दरले कबाड विक्री गर्ने सम्झौता गरेको थियो। तर, टेलिकमले अभिलेखको भन्दा दोब्बर कबाड बिएसएललाई दिएपछि विवाद आएको हो। नेपाल टेलिकमका उच्च कर्मचारी र कम्पनीको बिचमा सम्झौताको भन्दा बढी कबाड विक्रीमा मिलेमतो भएको हो।

कम्पनीले निर्देशनालयको खातामा मंसिर २२ गते ८ करोड १९ लाख चार हजार चार सय १६ रुपैयाँ जम्मा गरेको छ। कम्पनीले पुस ६ गतेबाट टेलिकमको गोदामबाट कबाड सङ्कलन सुरु गरेको थियो। तर, टेलिकमका गोदामहरूबाट सङ्कलन गरिएको तामाजन्य कबाडको तौल र ट्रकहरूमा रहेको कबाडको तौलमा फरक फरक परेपछि आर्थिक हिनामिना भएको आशँका गरिएको छ।

टेलिकमले १५ हजार ६ सय ७९ किलोग्राम भनेर बिक्री गरेको कबाड २९ हजार एक सय ३० किलोग्राम फेला परेको थियो। एक करोड ३३ लाख १३ हजार तीन सय ७२ रुपैयाँ ३१ पैसा बढीको तामाजन्य कबाड टेलिकमले बढी दिएको देखिएको हो।

टेलिकमले धनगढी कार्यालयबाट २८ हजार ९७० किलो, भजनीबाट एक हजार ६३७ किलो, टीकापुरबाट १० हजार १४४ किलो र गेटाबाट १५ हजार ६७९ किलो गरी ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद गरेको टेलिकमको प्रादेशिक निर्देशनालयको अभिलेख छ। सम्झौता अनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेल्धुरा र दीपालयबाट सामान उठाउन बाँकी छ।

कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ स्थित सहारा होटलबाट जुवातास खेलिरहेको अबस्थामा बैतडीको दशरथचन्द नगरपालिका-११ स्थायी घर भएका सोही होटल संचालक ३७ वर्षीय गणेशसिह बुडालसहित पाँच जना मंगलवार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा चेकजाँच गर्दा जुवातास खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ। उनिहरुलाई नगद ४८ हजार २ सय ६० र १ गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

धनगढीबाट भन्सार छलीका सामान बरामद

धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६७ हजार १० मूल्य बराबरको प्याज, नरीवल, मिठाई, गुलाबजामन, पापड, सुर्ति, बदाम, काजु, मैदा लगायतका सामान बरामद गरिएको छ। यस्तै धनगढीको सहिद गेटबाट अन्दाजी २३ हजार मूल्य बराबरको माछा बरामद गरिएको छ। मंगलवार प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ।

बैतडीमा एक पुरुष मृत फेला

धनगढीः बैतडीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको सुर्नया गाउँपालिकाको वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा प्रेम सिंह धामी मृत फेला परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय धामी शनिवार दिउँसो मृत फेला परेका हुन्। उनी सिदुर खोलाको बिचमा फेला परेका प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।