मृतकका परिवारसँग राजदूत गोडरको भेट

 नेपालका लागि इजरायली राजदूत हेनान गोडरले हमासको आक्रमणमा परी मृत्यु भएका विद्यार्थीको परिवारसँग भेट गर्नुभएको छ । घोडाघोडी नगरपालिका–४, जनकपुरस्थित मृतक नारायणप्रसाद न्यौपानेको घरमै पुगेर राजदूत गोडरले परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

मृतकका परिवारलाई इजरायली सरकारले मासिक रूपमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । भविष्यको सहारा, होनहार सन्तान गुमाएका परिवारले राजदूतको आश्वासनले केही सान्त्वना मिलेको बताएका छन् ।

राजदूत गोडरसँगै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतलगायत जनप्रतिनिधि मृतक न्यौपानेको घर पुग्नुभएको थियो ।

सिक्दै कमाउँदै कायक्रम अन्तर्गत इजरायल पुगेका नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा परेर ज्यान गुमाएका थिए । गत असोज २० गते भएको उक्त दुःखद घटनामा परी मृत्यु भएकाको शव नेपाल ल्याउनसमेत दूतावासको महत्वपूर्ण सहयोग रहेको थियो ।

नेपाल सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपियाँ र सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले राहत दिने घोषणा गरेको थियो । सो राहत रकम मङ्गलबार टीकापुरमा आयोजित कार्यक्रममा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

 

धनगढीमा आगलागीबाट बिभिन्न सामान जलेर नष्ट

धनगढीः कैलालीको धनगढीमा आगलागीबाट बिभिन्न सामान जलेर नष्ट भएको छ। धनगढी उपमहानगरपालिका–१ शिवनगरमा मोहनराज भट्टको ३ तले पक्कि घरको बिच तलामा बिजुलीको लाईन सट भई बुधवार आगलागी भएको हो।

आगलागी हुँदा कोठामा रहेका अन्नपात, भाडावर्तन, लुगाकपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

डडेल्धुरामा जिप दुर्घटना

डडेल्धुराः डडेल्धुरामा जिप दुर्घटना भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुसुम नायकका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।

नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर बिष्टले वडा नम्बर २ को रउतगाउँमा जिप दुर्घटना भएको र ८ जना घाइते भएको बताए। उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

 

कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलाली: कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका–५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो। सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।

 

वडाबाटै सामाजिक सुरक्षा भत्ता

मालिकार्जुन गाउँपालिकाले बैङ्कसम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न नसक्ने लाभग्राहीलाई वडामै पुगेर भत्ता दिन थालेको छ ।

आइतबारदेखि वडामै गएर घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको मालिकार्जुन गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

स्थानीय नागरिकले पालिकास्थित माछापुच्छे« बैङ्कसम्म पुगेर भत्ता लिन समस्या भएको गुनासो गरेपछि पालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।

यसअघि पालिका केन्द्रमा रहेको माछापुच्छे« बैङ्कमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता चालु आवबाट वडाबाट वितरण गरिन लागेको हो । मालिकार्जुन गाउँपालिका–२ का ८० वर्षीय धनसिंह धामी सामाजिक सुरक्षा भत्ता बुझ्न एक दिन हिँडेर पालिका पुग्दा निकै थकित हुने गरेको बताउनुहुन्छ । यस पटक वडामै पाउँदा सुख भएको भनाइ उहाँको छ । त्रैमासिक भत्ता बुझ्दै आएका धनसिंहले भन्नुभयो, “अब सधैँ वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्नुहोला ।”

छाडा चौपाया व्यवस्थापन सुरु

कैलालीको धनगढी उपमहानगरपालिका–१८, तुल्सीबारीमा रहेको गौशालामा छाडा चौपाया राख्न थालेको छ । अन्नबाली सखाप बनाइदिने छाडा गाईवस्तु गौशालाको संरक्षणमा राखिएपछि किसानलाई राहत मिलेको छ ।

उपमहानगरपालिकाको डेढ करोड रुपियाँ लागतमा गौशाला निर्माण गरेर सामुदायिक चौपाया राख्न थालेको हो । ४५० देखि पाँच सय वटा चौपाया व्यवस्थापन गरिएको छ । उपमहानगरपालिका–१८ का अध्यक्ष भुवन रिजालले बाली जोगाउनका लागि किसानले रातभर खेतमा सुत्नुपर्ने बाध्यता हटेको बताउनुभयो । छाडा चौपायाले गहुँ, मसुर, तरकारीलगायत बाली खाएर नोक्सान गर्दै आएका थिए । छाडा चौपायाबाट खेतबारीमा क्षति भएपछि किसान आन्दोलित भएका थिए । किसानको दबाबका कारण निर्माणाधीन गौशालामा आधा जति छाडा चौपाया व्यवस्थापन गरिएको वडा अध्यक्ष रिजालले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार गौशालामा व्यवस्थापन गरिएका चौपायाको सङ्ख्या जत्तिकै छाडा चौपाया अझै पनि सडकबाहिर छन् । बाहिर रहेका चौपाया भारताल वन क्षेत्रमा बस्ने गरेको जनाइएको छ । सडकमा देखिने चौपायालाई गौशालाका गोठालाले धपाएर जङ्गल वा कृषि बाली नरहेको ठाउँमा पु¥याउने गरेका छन् । गौशालाको चौपाया हेर्न र बाहिर रहेका चौपाया धपाउनका लागि सात जना गोठाला राखिएको छ । सामुदायिक छाडा चौपायाबाट उपमहानगरपालिका–१४, १८ र १९ मा क्षति पुग्ने गरेको छ । कृषि बाली जोगाउने उद्देश्यका साथ उपमहानगरपालिकाले गौशाला निर्माण गरेको हो । गौशालामा छाडा चौपाया व्यवस्थापनको काम सुरु भएको उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो । उहाँले छाडा चौपाया व्यवस्थापनमा आवश्यक सहयोग गर्न सम्बन्धित वडावासीलाई आग्रह गर्नुभएको छ ।

कञ्चनपुरमा घर बनाउने क्रममा सिढी खसेर मिस्त्रीको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा घर बनाउने क्रममा सिढी खसेर मिस्त्रीको मृत्यु भएको छ।

जिल्लाको बेलडाँडी गाउँपालिका–३ खैरीघाटमा घरको सिढी निर्माणका क्रममा सिढी खस्दा बेलडाँडी गाउँपालिका–३ बैवाहाका ठेकेदार तथा मिस्त्रीसमेत रहेका २८ वर्षीय सन्तोष डगौराको मृत्यु भएको बेलडाँडी गाउँपालिका–३ का वडाअध्यक्ष दुर्गाप्रसाद चौधरीले बताए। मंगलवार मत्यु भएको सन्तोषको शव पोस्टमार्टमका लागि माहाकाली अस्पतालमा राखिएको वडाअध्यक्षले जानकारी दिए।

 

खेर गएको अल्लोबाट आयआर्जन गर्दै महिला

जिल्लाको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई आयआर्जन गर्न थालेका छन् । यस क्षेत्रमा प्रशस्तमात्रामा अल्लो उपलब्ध हुने भए तापनि त्यसबाट कसैकसैले डोरी बनाएर गाईवस्तुलाई बाँध्नका लागि प्रयोग गर्थे भने बाँकी ज्ञान सीपको अभावका कारण जङ्गलमै कुहिएर खेर जाने गरेको थियो ।

अहिले स्थानीयस्तरमै अल्लोको डोरी, अल्लोको कपडा र अल्लोको झोलाहरु बनाउने तालिम लिएपछि यहाँका महिलाहरुले तलकोट गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालयका रुपमा दर्ता गरी व्यावसायिक रुपमा अल्लोको धागो र अल्लोको कपडा र अल्लोको अन्य सामान उत्पादन गर्न सुरु गरेका छन् । जिआइजेड र तलकोट गाउँपालिकाले अल्लोको महत्व र उपयोगिताबारे जानकारी गराएपछि उनीहरु व्यवसाय सञ्चालन गर्न अग्रसर भएका हुन् ।

जङ्गलमा त्यत्तिकै खेर गइरहेको अल्लोबाट धागो र कपडाहरु उत्पादन गरी प्रत्यक्ष र अप्रत्यक्षरुपमा घरमै रोजगारी सिर्जना गर्ने र समूहका महिलाहरु आत्मनिर्भर हुने भएपछि स्थानीय महिला व्यवसायमा लाग्न हौसिएका छन् । एक महिनासम्म सञ्चालन गरिएको तालिममा अल्लोको धागो बनाउने र त्यसबाट कपडा बुन्ने प्रशिक्षण दिइएको थियो । तालिममा २८ महिला र दुई पुरुष गरी ३० जनाको सहभागिता थियो ।

समूहका महिलाले अल्लो व्यवसायको महत्व बुझी अल्लो व्यवसाय सञ्चालन गर्न सीप तालिम र आवश्यक पर्ने मेसिन औजारहरुको माग गरेपछि मेसिन औजार र तालिम सञ्चालन खर्च गाउँपालिकाले व्यहोरेको थियो । उनीहरुलाई व्यवसाय सञ्चालन गर्न मेसिन औजारका साथै कच्चा पदार्थहरु खरिद गर्न गाउँपालिकाले नगद रु.एक लाख ९० हजार सहयोग गरेको थियो भने व्यवसाय दर्ता गर्न र अन्य प्राविधिक सहयोग जिआइजेडको रिप कार्यक्रमले गरेको थियो । एक महिनाको तालिमपछि देखिएको उत्साहले उनीहरुलाई थप दक्ष बनाउन र थप मेसिन खरिद गर्न कार्यक्रमले सहयोग गर्न पहल गरेको कार्यक्रमका क्लस्टर कोअर्डिनेटर सुरतबहादुर चन्दको भनाइ छ ।

तालिमका सहभागीहरुले अहिले व्यवसायबाट अल्लोको धागोबाट बुनिएका दोसल्ला र टोपीहरु उत्पादन गरेका छन् । कतिपयले अल्लोको धागो काठमाडौँमा पठाएर एक पटकमै रु. २० हजार आम्दानी पनि गरेका छन् । तालिमपछि आफूहरु व्यवसायप्रति आकर्षित हुनुको साथै सामूहिक भावनाको पनि विकास भएको औद्योगिक ग्राम उत्पादन समूहकी अध्यक्ष रमिला शाहीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सबै समूहका महिलाहरु मिलेर स्थानीयस्तरमा कुहिएर जान लागेको कच्चा पदार्थको सदपयोग गरी अरुलाई पनि रोजगारी दिने सोच बनाएका छौँ ।” कतिपयले घरायसी प्रयोजनका लागि अल्लोका सामग्रीहरु लैजाने गरेको र कतिपयले उपहारका लागि पनि लैजाने गरेको उहाँ बताउनुहुन्छ । अहिले समूहले एक लाख २२ हजार पाँच सय धागो र कपडा बचेर आम्दानी गरेको छ । धागो रु. पाँच सय प्रतिकिलो र कपडा एक हजार दुई सय मिटरका दरले बिक्री भएको थियो ।

जङ्गलमा खेर गइरहेको अल्लोको प्रशोधन गरी गाउँघरमैै रोजगारी सिर्जना गर्न सकिने भएकाले लगानी गरिएको पालिका अध्यक्ष कलकबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “युवा पैसा कमाउन विदेश जान्छन् तर यहाँ पैसा फलाउने कच्चा पदार्थ कुहिएर गएको छ, कुहिएर गइरहेको अल्लोलाई प्रशोधन गर्दा कम लगानीमै राम्रो आम्दानी गर्न सकिन्छ । यसले पालिकाका विपन्न वर्गका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुग्दछ ।’’ अल्लो व्यवसायबाट, अल्लो सङ्कलन, अल्लोको धागो उत्पादन, अल्लोको कपडा उत्पादन र अल्लोको अन्य विभिन्न वस्तु उत्पादन गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै व्यक्तिले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।

बझाङको तलकोट गाउँपालिकाले बाहिरबाट आयात हुने खादा, ब्याज र मालालाई रोक लगाउने निर्णय गरेको छ । केही महिनाअघि बसेको कार्यपालिकाको बैठकबाट फजुल खर्च घटाउने उद्देश्यले बाहिरबाट ल्याइने खादा, ब्याजहरु र मालाहरुलाई रोक लगाउने निर्णय गरेको तलकोट गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र रावलले बताउनुभयो । कुनै पनि सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा पालिकाले नै उत्पादन गरेका अल्लोबाट प्रशोधित गरी तयार पारिएका खादा र टोपीमात्रै प्रयोग गर्न पाउने नियम बनाइएको छ । गाउँपालिकाले आयोजना गरेका कार्यक्रममा समेत उक्त अल्लोबाट उत्पादित खादा, टोपीलाई प्रयोग गर्ने गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर भण्डारीले बताउनुभयो ।

पालिकाले आफ्नै मातहतमा उद्योग ग्राम सञ्चालनमा ल्याएको छ । उक्त उद्योगग्राममा अल्लोबाट नै गलैंचा, टोपी, खादा जस्ता बस्तु उत्पादन हुने गरेको उद्यम विकास सहजकर्ता सुस्मिता धामीले बताउनुभयो । उद्योमग्राम उत्पादन समूहका अध्यक्ष रमिला शाहीका अनुसार उद्योगग्रामले अहिले सामान्य रुपमा भए पनि आम्दानी गर्न सुरु गरेको छ । उहाँले भन्नुभयो, “अहिले अल्लोको बेर्ना राखेर अल्लो खेती गर्नका लागि समितिका सदस्यहरु लागिपरेका छन् । यस ठाउँमा अल्लो प्रशस्तमात्रामा उत्पादन हुने भएकाले निकट भविष्यमा अल्लोबाट झोला, कोट, पाइन्ट, जुत्तालगायतका सामग्री उत्पादन गरेर अन्य जिल्लामा पनि पठाउने लक्ष्य उद्योम ग्रामले लिएको छ ।”

भूकम्प प्रभावितका लागि चौध करोड बजेट

 बाजुराका भूकम्प प्रभावितको आवास निर्माणका लागि सरकारले १४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार खप्तड छेडेदह गाउँपालिकामा १४ घर, गौमूल गाउँपालिकामा ४२७ घर र हिमाली गाउँपालिकाका २६७ घरमा क्षति पुगेको छ ।

त्यस्तै स्वामिकार्तिक गाउँपालिकामा १४ घर, जगन्नाथ गाउँपालिकामा ३१ घर, बडीमालिका नगरपालिकामा ६६६ घर र बुढीगङ्गा नगरपालिकाका छ घरमा क्षति पुगेको पाइएको छ । भूकम्पका कारण गौमूल गाउँपालिका–२ का जमुना रोकायाको मृत्यु र एक जना घाइते भएका थिए ।

हिमालीमा दुई जना र बडीमालिका नगरपालिकामा एक जना घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।  प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक भीमकान्त पौडेलले नेपाल सरकारबाट भूकम्प प्रभावितको आवास निर्माण तथा क्षतिपूर्तिका लागि उक्त बजेट विनियोजन गरिएको बताउनुभयो ।

उक्त रकम जिल्ला प्रशासन कार्यालयमा आइसकेको जानकारी उहाँले दिनुभयो । जिल्ला विपत् व्यवस्थापन समितिका पदाधिकारीसमेत रहेका स्थानीय तहका जनप्रतिनिधिसहितको बैठक बसेर सो रकम पालिकामा पठाई पुनर्निर्माणको काम तत्काल सुरु हुने भएको छ ।

उहाँका अनुसार रकम पालिकाको क्षतिको विवरण (पूर्ण, आंशिक, सामान्य) हेरेर वितरण गरिने छ । भूकम्प प्रभावितहरू त्रिपालमा बास्दै आएका छन् । भूकम्पपीडितलाई सहयोग

बाजुरा समाचारदाताका अनुसार बाजुराकी सामाजिक अभियन्ता रिता शाहीले जाजरकोटका भूकम्पपीडितलाई राहत वितरण गर्नुभएको छ । कात्तिक १७ गते राति ११ बजे आएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमका स्थानीयलाई राहत वितरण गरेको शाहीले बताउनुभयो । उहाँले जाजरकोट र रुकुममा भूकम्पपीडितको गाँस, बास र कपासको समस्या भएकोले खाद्यान्न, त्रिपाल, सिरक, डसना, खाद्यान्न, खानेकुरा, न्यानो लुगा, ‘टिफम’ र कम्बल वितरण गरेको बताउनुभयो ।

जाजरकोटको नलगाड नगरपालिका–१ देखि ८ नम्बर वडाका छ सय र जाजरकोट आठबिस नगरपालिकाका ७० भन्दा बढी घरपरिवारलाई  छ लाख बराबरको  राहत वितरण गरेको अभियन्ता शाहीले बताउनुभयो ।

त्यस्तै मृतकका आफन्त, गर्भवती र सुत्केरी महिलालाई नगद एक लाख रुपियाँसमेत हस्तान्तरण गरिएको सामाजिक अभियन्ता शाहीले बताउनुभयो । समाजसेवी शाहीले महिला तथा बालबालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

उपचार खर्च जुटाउन कृषिकर्ममा पूर्वलडाकु

शरीरमा गोलीका छर्रा छन् । कम्मरमुनि क्यान्सर भएको छ, तैपनि मनमा उत्साह बोकेर बैतडीका एक युवा कृषिकर्ममा सक्रिय छन् ।  पञ्चेश्वर गाउँपालिका–१, (हालः पञ्चेश्वर–३) कुलाउका दीपक चन्द प्राणघातक रोग क्यान्सरसँग जुद्धै गाउँमा कुखुरा, कालिज, बाख्रा र बङ्गुरपालन गरिरहनुभएको छ । शरीरका अन्य भागमा क्यान्सर रोग फैलिन नदिन उहाँको प्रत्येक तीन महिनामा किमोथेरापी हुने गरेको छ । उहाँले कृषिबाटै खर्चको जोहो गर्दै आउनुभएको छ ।

तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र युद्धमा होमिएका बैतडीका दीपक चन्द २०६२ भदौमा कालीकोटको पिली भिडन्तमा परेर घाइते हुनुभएको हो । शान्तिप्रव्रिmयापछि शरीरमा गोलीका छर्रा बोकेर घर फर्किनुभएका चन्द अहिले क्यान्सरबाट पीडित हुनुहुन्छ । क्यान्सर रोगको उपचार गर्न घर खेत बेचिएपछि चन्द अहिले सुकुमवासी बन्नुभएको छ ।

औषधी उपचार खर्च जुटाउन उहाँ छिमेकीले दिएको सानो जमिनको टुक्रामा टिनको छाप्रो बनाएर कुखुरा, बाख्रा र कालिजपालनमा लाग्नुभएको  छ । उहाँले माओवादी लडाकुको सातौँ डिभिजनमा सेना समायोजन र प्रमाणीकरणका बेला अनमिनका प्रतिनिधि र लडाकुबिच दोभाषेको रूपमा काम गर्नुभएको थियो । चन्दले अङ्ग्रेजी मूल विषय लिई स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । राज्य व्यवस्था फेर्न भनिएको लडाइँमा होमिनु भएका चन्द अहिले क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहनुभएको छ ।

प्रत्येक तीन महिनामा क्यान्सरविरुद्धको किमो लगाएर आफू बाँचिरहेको उहाँले बताउनुभयो । एउटा किमोको एक लाख १० हजार खर्च लाग्ने गरेको उहाँले बताउनुभयो । “पार्टीबाट कुनै सहयोग भएन । सिंहदरबारबाट मेरो फाइल नै हरायो,” चन्दले भन्नुभयो, “हरेस खाने कुरा भएन । घरखेत बिव्रmी गरेर चितवन र दिल्लीमा उपचार गराएँ ।” उहाँले उपचार गराउने क्रममा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले ४० हजार रुपियाँ सहयोग गर्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्योबाहेक गाउँपालिकाबाट पनि अन्य कुनै सहयोग मिलेको छैन ।” उहाँले क्यान्सर रोगको उपचारका लागि खर्चको जोहोका लागि कुखुरा, कालिज, बाख्रा र बङ्गुरपालन गरिरहेको भए पनि स्थानीय तहको कृषि कार्यक्रमबाट कुनै सहयोग नमिलेको बताउनुभयो ।

“म कुखुरापालनमा लागेको छु । छोराछोरी पढाउन श्रीमती मञ्जु गाउँलेको घरमा गएर ज्यालामजदुरी गर्नुहुन्छ,” चन्दले पीडा सुनाउनुभयो, “मञ्जु पनि पूर्वलडाकु र पाल्पा युद्धकी घाइते हुन् । दुई छोरा छोरी छन् । छोरी कक्षा ९ मा र छोरा ७ कक्षामा पढ्छन् । क्यान्सरको उपचार र दुई जना छोराछोरी पाढाउन कृषि उद्यम र ज्यालामजदुरीगर्नु परेको छ ।”

हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च

बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका छन् । डोजरले खनेका ग्रामीण सडकमा हरेक वर्ष पुनः डोजर प्रयोग गरी सफा तथा मर्मत गर्ने कार्य नियमित काम जस्तै बनेको छ । यस्ता सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेका छन् । स्थानीय तहले सडक स्तरोन्नति नभई सफा गर्ने योजना बनाउँदा यस्तो समस्या आएको भनाइ स्थानीयवासीको छ । ग्रमीण सडक मर्मत कार्य राजनीतिक पार्टी निकट कार्यकर्ता पोस्ने र पाल्ने मेलोमेसो बन्ने गरेको छ ।

नागरिक समाजका अगुवा प्रकाश चन्द स्थानीय तहले सडक सफा गर्ने भन्दा पनि स्तरोन्नति गर्ने योजना ल्याउनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार बर्खामा पानीले चिरा पारेको सडकमा पुनः माटो भर्ने काम भनेको बजेट सक्नलाई मात्र हो । सडकमा ढुङ्गा छाप्ने, नाली र भल बग्ने ठाउँमा गतिलो पर्खाल लगाउनुपर्ने हुन्छ । बितेको छ वर्षदेखि सडक खन्ने र माटो फाल्ने काममा यस जिल्लाका विभिन्न स्थानीय तहले तीन करोड रुपियाँ खर्चिएको बताइएको छ ।

दशरथचन्द नगरपालिकाले गत वर्ष सडक सफाइमा २८ लाख रुपियाँ र यो वर्ष २० लाख रुपियाँ खर्च गरेको छ । पक्की सडकले छुन नसकेको सिगास गाउँपालिकाले वार्षिक ५० लाख रुपियाँभन्दा बढी रकम माटो फाल्न खर्च गर्ने गरेको छ ।

सडक स्तरोन्नति गर्न स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा बर्खामा बन्द भएका सडक हिउँदमा फेरि सञ्चालन गर्न मर्मत तथा सफा गर्नुपर्ने बाध्यता रहेको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजु विष्टले बताउनुभयो । सङ्घीय सरकारबाट प्राप्त बजेटले सडक स्तरोन्नति गर्न अपुग हुने भएकाले बाटो सफा गरेर भए पनि हिउँदमा ग्रामीण सडक सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो । सडकको ट्र्याक खन्न यहाँका स्थानीय तहले डोजर, एक्साभेटर र टिप्पर खरिद गरे पनि हिउँदमा सडक सफा गर्दा भने कोटेसन माग गरी योजना बाँड्ने गरेको आमनागरिकको गुनासो छ ।

स्वतन्त्र विचार मञ्चका जिल्ला अध्यक्ष गणेश ठकुराठीले स्थानीय तहले करोडौँ रुपियाँ खर्च गरेर किनेका उपकरण त्यतिकै थन्काएर कमिसनका लागि कोटेसन बाँडेर सडक सफा गर्ने गरेको आरोप लगाउनुभयो । उहाँका अनुसार यो पनि भ्रष्टाचारको एक नमुना हो । सडक निर्माण र सरसफाइका नाममा स्थानीय तहमा आर्थिक अनियमितता हुने गरेको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयो । समन्वय प्रमुखले आर्थिक अनियमितता भएको देख्दा पनि आफूलाई कारबाही गर्ने अधिकार नभएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “राज्यले समन्वय समितिका पदाधिकारीलाई तलब खुवाएर त्यत्तिकै पालेको छ । हामी पनि तलबभत्ता खाएर बसेका छौँ । केही अधिकार नै दिएको छैन । कम्तीमा स्थानीयस्तरमा भए गरेका कामकारबाहीको अनुगमन गर्ने अधिकार दिए पनि हुन्थ्यो ।”

भूकम्पले चर्किएका घर टालटुल

बाजुराका अधिकांश स्थानीयले हिउँद लागेसँगै चिसोबाट जोगिन भूकम्पले चर्किएका घरलाई टालटुल तथा लिपपोत गर्न थालेका छन् । सुरक्षित तथा नयाँ घरबासको व्यवस्थापन नभएपछि त्रिपालभित्रको चिसोबाट जोगिन चर्किएका घर टालटुल गर्न थालेका हुन् ।

केही समय त्रिपाल हालेर बस्दै आएका थियौँ, अहिले चिसो बढेपछि चर्किएका घर टालटुल गरेर बस्न सुरु गरेको खप्तडछेडेदह गाउँपालिका–५ का स्थानीय रामबहादुर रावतले बताउनुभयो ।

“नयाँ घर लगाउँ भने पैसा खर्च गर्नु पर्छ । आफूसँग पैसा नभएपछि चर्किएकै घरलाई टालटुल गर्दै बस्न सुरु गरेका हौँ, उहाँले भन्नुभयो ।” भूकम्पले ढुङ्गाको छाना भएको घरमा क्षति पु¥याएपछि कर्कटपाता राखिएको उहाँले बताउनुभयो ।

गत असोज १३ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले बाजुरामा धेरै घर चर्किएपछि यहाँका स्थानीयको त्रिपालको बास भएको थियो । घरबासको पर्खाइमा रहेका पीडितलाई अहिलेसम्म कुनै निकायबाट व्यवस्था हुन सकेको छैन ।

भूकम्पबाट प्रभावित भएकाले घरबासको व्यवस्थापन गरिदिनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग राख्दै आएका छन् । प्रत्येक वर्ष भूकम्प आउँछ घर भत्किन्छन् डाटा सङ्कलन हुन्छ । त्यसपछि त्यो कार्य त्यत्तिकै सीमित हुन्छ रावतले थप्नुभयो ।

बाजुराका अधिकांश स्थानीयको घर भूकम्पले भत्काएपछि गाँस, बास र कपासको समेत समस्या हुँदै गएको छ । भूकम्पपीडितलाई बस्न त के खानलाई समेत कहीँकतैबाट व्यवस्था भएको छैन ।

भूकम्पले बाजुराका १२६ घरहरू पूर्ण १७६ आंशिक र ३०७ घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्प प्रभावित घरपरिवारलाई सुरक्षित ठाउँमा व्यवस्था गर्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।

भूकम्पपीडितलाई सहयोग

सामाजिक अभियन्ता रिता शाहीले जाजरकोटका भूकम्पपीडितलाई राहत वितरण गर्नुभएको छ । गरिब, दुःखी, असहाय तथा भूकम्पपीडितलाई सहयोग गर्दै आउनुभएकी शाहीले जाजरकोट र रुकुमका सात सयभन्दा बढी घरपरिवारलाई राहत सहयोग गर्नुभएको हो । कात्तिक १७ गते राति ११ बजे आएको भूकम्पबाट प्रभावित भएका जाजरकोट र रुकुमका स्थानीयलाई राहत वितरण गरेको सामाजिक अभियन्ता शाहीले बताउनुभयो । उहाँले खाद्यान्न, त्रिपाल, सिरक, डस्ना, खानेकुरा, न्यानो लुगा र कम्बल वितरण गर्नुभएको छ । देश विदेशमा रहेका सहयोगी दाताहरूको अनुरोधमा जाजरकोटको नलगाड नगरपालिका–१ देखि ८ का छ सय र जाजरकोट आठबिसकोट नगरपालिकाका ७० भन्दाबढी घरपरिवारलाई छ लाख बराबरको राहत वितरण गरिएको छ ।

बाजुराको बुढीगङ्गा–३ की शाही र कैलाली गौरीगङ्गा बस्ने समाजसेवी लक्ष्मी बोगटीलगायतको सहयोगमा राहत सामग्री वितरण गरिएको हो । मृतकका आफन्त गर्भवती र सुत्केरी महिलालाई नगद एक लाख रुपियाँसमेत हस्तान्तरण गरिएको सामाजिक अभियन्ता शाहीले बताउनुभयो ।