भूकम्पपीडितका लागि गाउँमा राहत पठाइँदै

जिल्ला विपत् व्यवस्थापन समितिले १२ वटै स्थानीय तहका भूकम्पपीडितका लागि विभिन्न निकायबाट उपलब्ध भएको राहत सामग्री गाउँ गाउँ पठाउने तयारी गरेको छ ।

सदरमुकाम चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपत् समितिको बैठक बसेर सबै पालिकामा क्षतिको आधारमा राहत पठाउने निर्णय गरेको जनाइएको छ । प्रशासन कार्यालयले स्थानीय तहमा राहत पठाउन सुरु गरेको हो ।

केन्द्रीय विपत् व्यवस्थापन समिति, प्रदेश विपत् व्यवस्थापन समिति र दातृ निकायबाट प्राप्त भएका राहत सामग्री पालिकालाई नै हस्तान्तरण गरिएको छ । जिल्लाका पाँच वटा पालिकालाई आवश्यक राहत सामग्री वितरण गरिएको छ ।

बाँकी पालिकालाई समेत समन्वय गरी राहत उपलब्ध गराउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो । भूकम्प आएको पाँच दिनसम्म पनि राहत पाउन नसकेको गुनासो स्थानीयको छ ।

पालिकाले क्षतिको विवरण नपठाएका कारण राहत वितरणमा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । आफूले सबै पालिकालाई विवरण तयार गरी पठाउन अनुरोध गरेको जानकारी उहाँले दिनुभयो ।

पालिकाको ढिलाइका कारण राहत उपलब्ध गराउने कुरामा अन्योल भएको भनाइ उहाँको छ । अन्य दातृ निकायले समेत विवरण नआउँदा कता राहत दिने भनेर अन्योल भएको बताएका छन् ।

वल्र्ड भिजन इन्टरनेसनल, प्लान नेपाल, युएनएफपिए, सेभ दी चिल्डे«न, युनिसेभ, रेडव्रmसलगायत एक दर्जन गैरसरकारी संस्थाले राहत सामग्री उपलब्ध गराएका छन् । गएको मङ्गलबार सदरमुकाम चैनपुरमा ६.३ रेक्टर स्केलको भूकम्प जाँदा एक जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका छन् ।

जीर्ण भवनबाट प्रहरीको शान्तिसुरक्षा

 बैतडी जिल्लामा रहेका ३२ वटा प्रहरी कार्यालय (युनिट) मध्ये २७ वटाको आफ्नै भवन नहुँदा भाडाको जीर्ण भवनबाट प्रहरी कर्मचारी अहोरात्र नागरिकको शान्तिसुरक्षामा खटिन बाध्य छन् ।

प्रहरीले भाडामा लिएका भवनमध्ये १४ वटाको अवस्था जीर्ण रहेको छ । भूकम्पले बेला बेलामा कार्यालय भवन हल्लाइरहँदा प्रहरी कर्मचारी त्रसित बन्ने गरेका छन् । हिउँदमा चिसो र बर्खामा पानी चुहिने समस्या त सामान्य जस्तै छ ।

स्थानीय सरकार गठन भएसँगै नागरिकको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका नाममा प्रहरी कार्यालय (चौकी) माग गर्नेको चाप बढ्दो छ । सोही माग अनुसार बैतडीका विभिन्न पाँच ठाउँमा अस्थायी प्रहरी चौकीसमेत खडा गरिएका छन् ।

पुर्चौडी नगरपालिकाको न्वादेउ र भटनामा दुई वर्षअघि खुसियाली मनाएर उद्घाटन गरिएको अस्थायी प्रहरी चौकीको जीर्ण भवन भूकम्पले हल्लाइदिँदा नागरिकलाई शान्तिसुरक्षा दिने प्रहरी कर्मचारी नै त्रसित बनेर बस्न बाध्य छन् ।

अस्थायी प्रहरी चौकी स्थापना हुँदा स्थानीय जनप्रतिनिधिले खुसियाली नै मनाएका थिए तर प्रहरीका लागि भवन निर्माण गर्न सहयोग जुटाउन नसकेको भनाइ स्थानीयको छ । सिगास, पञ्चेश्वर, शिवनाथ र डिलासैनी गाउँपालिका केन्द्रमा पनि अस्थायी प्रहरी कार्यालय स्थापना भएका छन् ।

शान्तिसुरक्षाका लागि स्थानीय सरकारलाई प्रहरी चाहिने भए पनि बस्ने घर असुरक्षित हुँदा समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो । ज्यानको माया मारेर नागरिक सेवामा प्रहरी दौडिनुपर्ने अवस्था छ उहाँले भन्नुभयो,  “चौकीसँग सवारीसाधनसमेत नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ ।

अधिकांश अस्थायी प्रहरी चौकीमा राम्रोसँग सुत्नलाई कोठा नहुँदा सेवाग्राहीको अपेक्षा अनुसार प्रहरीले सेवा दिन नसकेको गुनासो स्थानीयको छ । जिल्ला प्रहरी कार्यालय मातहत २४ स्थायी प्रहरी चौकी, पाँच अस्थायी, एक इलाका प्रहरी कार्यालय र एक सीमा प्रहरी चौकी गरी ३२ वटा युनिट रहेका छन् ।

दुई लाख ४४ हजार चार सय जनसङ्ख्या रहेको यस जिल्लाको पश्चिमी भूभागले भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र चप्पावत जिल्लाको सीमालाई छोएको छ । नेपालतर्फ पूर्वमा डोटी र बझाङ, उत्तरमा दार्चुला र दक्षिणमा डडेलधुरा जिल्ला छ ।

पश्चिमी सीमानाका झुलाघाटबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकसँगै भारतीय नागरिकको समेत आवागमन हुने गरेको छ । सुरक्षाका दृष्टिकोणले भने यस जिल्लामा प्रहरीको सक्रियता बढी नै आवश्यक देखिन्छ ।

जनसङ्ख्याको चाप र भूगोल अनुसार मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकामा रहेको प्रहरी चौकी ‘क’ श्रेणीमा राख्नुपर्ने माग भए पनि भवन निर्माणको योजना र प्रहरी चौकीको स्तरवृद्धि हुन सकेको छैन ।

सुदूरपश्चिमका सीमा नाकाबाट स्वदेश फर्कनेको घुँइचो

सुदूरपश्चिमका सीमा नाकाबाट स्वदेश फर्कनेको दिनहुँ घुँइचो लाग्ने गरेको छ। नेपाल–भारत सीमा नाका हुँदै सुदूरपश्चिम प्रवेश गर्नेको संख्या दैनिक रुपमा बढ्न थालेको हो।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर (गौरीफन्टा), जुलाघाट बैतडी, पुलघाट नाका दार्चुला र जोलाजिमी नाका दार्चुलाबाट कामका लागि भारतका विभिन्न सहर पसेकाहरु यतिबेला स्वदेश फर्कन थालेका छन्। पछिल्लो दुई सातायता ठुलो संख्यामा स्वदेश फर्कनेहरुको संख्या बढ्न थालेको छ।

विहिबार मात्र गड्डाचौकी नाका कञ्चनपुरबाट एक सय ६६, जुलाघाट नाका बैतडीबाट १८ र सबैभन्दा बढी गौरीफन्टा नाका कैलालीबाट ७ सय ६८ गरी ९ सय ५२ जना स्वदेश फर्किएका छन्। सबैभन्दा बढी गौरीफन्टा र त्यसपछि गड्डाचौकी नाकाबाट स्वदेश फर्कने गरेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र (पीइओसी) ले संकलन गरेको विवरणमा उल्लेख छ।

हिन्दुहरुको महान चाड वडा दशै, तिहार र छठपर्व नजिकिदै गर्दा भारतबाट स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ। प्रदेशका विभिन्न सीमा नाका हुँदै दैनिक एक हजारको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन्। सुदूरपश्चिमबाट कामको खोजीमा परिवारसहित भारत पसेकाहरु पनि यतिबेला स्वदेश फर्कन थालेका छन्।

सीमा क्षेत्रमा पुरुषसँगै महिला र बालबालिका समेत घर फर्कने क्रम डेढसातायता बढेको छ। चाड पर्व नजिकिएसँगै यतिबेला भारत पस्नेभन्दा फर्कनेको संख्या उच्च देखिएको छ। सीमा नाकामा पछिल्लो समय बाहिरिने र भित्र्नेको लगत संकलन गर्ने काम हुँदै आएको छ।

भूकम्प पीडितलाई राहत माग गर्दै सर्वदलीय प्रतिनिधिले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन-पत्र

 मङ्गलवार बझाङमा गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको सर्वदलीय प्रतिनिधि मण्डलले बुधवार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो।

भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जय पृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गा थली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठुलो क्षति भएको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो।

एक जनाको ज्यान गएको, २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौँको सङ्ख्यामा निजी व्यक्तिका घर भत्किएकाले जनता सकसपूर्ण जीवन बिताउन बाध्य रहेको अवस्थामा सरकारले राहत प्रदान गर्नुपर्ने काँग्रेस नेता महरले बताउनुभयो । महरसँगै प्रतिनिधि सभा सदस्य एवम् बझाङ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी, अछामबाट प्रतिनिधि सभा सदस्य शेरबहादुर कुवर, अछामबाटै प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, संविधान सभा सदस्य धर्मराज विश्वकर्मा, दुर्गा थली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा, नेपाली काँग्रेस बझाङका नेता सत्यराज भण्डारी, बझाङकै काँग्रेस नेता नन्दकृष्ण जोशी उपस्थित रहेका थिए ।

त्यस्तै काँग्रेस बझाङकै नेता रमेशबहादुर भण्डारी, सुदूरपश्चिम काठमाडौँ माओवादी केन्द्र इन्चार्ज पदम जोशी, काँग्रेस नेता पुष्कल बहादुर बोहरा, नेकपा एसका नेता दीपक बहादुर बोहरा, काँग्रेस बझाङका नेता शेरबहादुर खड्का, बझाङका वीर बहादुर गर्धामी, धर्मबहादुर महर, नविक कुमार बम्म, वकिल कुमार गर्धामी, अनिल गुर्धामीको सहभागिता थियो।

नेपाल तरुण दलका केन्द्रीय सदस्य जनक चटौत, इन्जिनियर गोरखराज जोशी, ज्ञानबहादुर बोहरा, इन्जिनियर विजय खाती, नविन गिरी, प्रेमराज जोशी, कमल थापा, रोषन रावल, सन्देश थापा, धनप्रसाद जोशी, केसव पुरी, केदार कार्की, सुप्रभात भण्डारी, बन्द्रीप्रसाद सञ्जेल, रामचन्द्र सुवेदी र शुष्मा सिटौलाको सहभागिता रहेको थियो।

बझाङमा भूकम्पपछिको पहिरोमा परेर बेपत्ता भएकी महिलाको शव फेला

बझाङमा भूकम्पपछिको पहिरोमा परेर बेपत्ता भएकी महिलाको शव फेला परेको छ। टिमुर टिप्न मंगलवार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीेको शव आज फेला परेको हो।

पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन्। भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको अनुमान गरिएको छ।

भूकम्पपछि बझाङका बासिन्दाको खुला चौरमै बास

भूकम्पपछि बझाङका बासिन्दाले खुला चौरमै बास बसेका छन्। बझाङ बैतडीलगायतका जिल्लामा भूकम्पबाट प्रभावित पीडितले खुला चौरमा रात बिताएका हुन्। पटक–पटक परकम्प गइरहेकाले स्थानीय बासिन्दा रातिदेखि घरबाहिरै खुला चौरमा बसेका छन्।

केही घरमा क्षति भएको र फेरि भूकम्प आउन सक्ने डरका कारण उनीहरु घरबाहिर बसेका छन्। बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्प पीडितलाई विद्यालय तथा सार्वजनिक ठाउँ र खुला चौरमा राखिएको छ। उनीहरुलाई ४० वटा पाल वितरण गरी टेन्टमा राखिएको हो।

उनीहरुको खाने र अस्थायी रुपमा बस्नका लागि स्थानीय पालिकाको समन्वयमा व्यवस्थापन भइरहेको छ। बझाङमा मंगलवार दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसअघि २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो।

यी भूकम्पपछि लगातार परकम्प गइरहेका छन्। भूकम्पमा परि बझाङमा १३ जना र बैतडीमा दुई जना घाइते भएका छन्। बझाङमा घाइते भएका १३ जनामध्ये २ जनाको उपचार भइरहेको अरु प्राथमिक उपचारपछि घर फर्किएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।

बझाङको चैनपुर आसपास केन्द्र बनाएर गएको भूकम्पले बझाङसहित बाजुरा, बैतडी, डोटी, डडेलधुरा, दार्चुलालगायत जिल्लामा भौतिक संरचनामा क्षति पुगेको छ।

 

पहिला मारेर खानेहरू अहिले संरक्षणमा

 खेतबारी, कुलो तथा बस्तीमा भेटिएका कछुवा, गोहोरो, गोही, जङ्गली हाँसलगायतका जीवजन्तुको सिकार गर्ने स्थानीयवासी पछिल्लो समयमा भने तिनको संरक्षणमा जुटेका छन् ।

कैलालीको घोडाघोडी सिमसार वरपरको बस्ती, खेतबारीमा पुगेका गोही, कछुवालगायतलाई स्थानीयले उद्धार गरी सुरक्षित बासस्थान घोडाघोडी तालमा ल्याएर छाड्ने चलन बढ्दै गएको छ । गत हप्ता घोडाघोडी नगरपालिका–४, मैतुवामा सिमसार क्षेत्रमा पाइने जङ्गली हाँसका १० वटा बच्चा फेला परेका थिए । स्थानीय रमेश चौधरीले ती बच्चालाई सुरक्षित रूपमा घोडाघोडी तालमा छाड्नु्भएको छ । त्यसको भोलिपल्ट हाँसको माउसमेत फेला पारेका चौधरीले माउलाई समेत सिमसार क्षेत्रमा छाड्नुभएको हो ।

गत भदौ अन्तिम साता घोडाघोडी–१, कौवागाउँमा कुलोमा घडियाल गोहीको बच्चा फेला परेको थियो । स्थानीयले गोही देख्नेबित्तिकै सब डिभिजन वन कार्यालय सुखडलाई खबर गरी वनका कर्मचारी ज्ञानु चौधरीको रोहबरमा घोडाघोडी तालमा लगेर छाडेका थिए । स्थानीयले करिब १० केजी तौल भएको गोहीको बच्चाको उद्धारमा सहयोग गरेका हुन् ।

यी त हालैका केही प्रतिनिधिमूलक घटना मात्र हुन् । स्थानीयले घोडाघोडी सिमसार क्षेत्रको महत्व बुझ्न थालेपछि केही वर्षयता जङ्गली जीवजन्तु मारेर खाने चलन घट्दै गएको छ । आफ्नो गाउँठाउँमा देखिएका जीवजन्तुको उद्धार गरी सुरक्षित स्थानमा पु¥याउने कार्य बढेको छ । घोडाघोडी ताल क्षेत्रका कर्मचारी दीपक शाहका अनुसार साउनयता गोही, कछुवा, अजिङ्गर, हाँसका बच्चा ल्याएर छाड्ने चलन बढेको छ ।

गोही र अजिङ्गरका बच्चा तालमा छाड्दा मुचुल्का बनाई रोहबरमा छाड्ने गरिए पनि कछुवा, हाँसका बच्चा भने त्यत्तिकै छाड्ने गरिएको उहाँले बताउनुभयो । गएको साउनयता विभिन्न स्थानबाट उद्धार गरेर गोहीका बच्चा छ, हाँसका बच्चा १०, कछुवा चार र एउटा अजिङ्गरलाई सुरक्षित बासस्थानमा छाडिएको जानकारी उहाँले दिनुभयो ।

जनचेतनाको अभावले कछुवा, हाँस, गोहोरोलगायतका वन्यजन्तु भेट्टाएमा मारेर खाने स्थानीय हिजोआज भने संरक्षणमा जुटेका भनाइ उहाँको छ । यहाँ अहिले मगर गोही, कछुवा, विभिन्न प्रजातिका चरालगायत जीवजन्तुको सङ्ख्या बढेको छ । विश्व सिमसार क्षेत्र घोडाघोडी ताल जैविक विविधताले महत्वपूर्ण क्षेत्र हो । सन् २००३ मा यसलाई विश्व रामसार सूचीमा सूचीकृत गरिएको हो । सो क्षेत्रको जैविक विविधताका विषयमा सचेतना बढाएसँगै स्थानीय जागरुक हुँदै गएका घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेमबहादुर बमले बताउनुभयो ।

“दुर्लभ वन्यजन्तुको चोरी सिकार जैविक विविधता संरक्षणको मुख्य चुनौती थियो,” उहाँले भन्नुभयो, “केही वर्षयता भने सरकार तथा विभिन्न संरक्षणको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको संरक्षणले स्थानीयवासी नै जागरुक हुन थालेका छन् ।”

बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको शनिबार भिरबाट लडेर मृत्यु भएको हो।

दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्। भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्।

 

चाडपर्वलक्षित विशेष सुरक्षा योजना

 दसैँतिहार, छठलगायत चाडपर्व शान्तिपूर्ण वातावरणमा सुरक्षित ढङ्गले मनाउन तथा सवारी दुर्घटना नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजनाको तयारी गरेको छ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले दसैँतिहार, छठलगायतका चाडपर्वमा शान्ति सुरक्षाका साथै ढुक्कले बनाउने वातावरण निर्माणमा लागि सुरक्षा योजना नै लागु गरिने बताउनुभयो।

दसैँतिहार मनाउनका लागि काठमाडौँलगायत विभिन्न सहर तथा भारत गएकाहरू घर फर्किने भएकाले सर्वसाधारण नागरिकको सुरक्षा, यातायात सेवामा सहजीकरण, दसैँ तथा मेलामा हुने अराजक गतिविधि रोक्न नौ जिल्लामा करिब चार हजार प्रहरी परिचालन गरिने जानकारी उहाँले दिनुभयो। चाडबाडका बेला भारतलगायत विदेशबाट आउने लुटिने, सीमानाकामा समस्या हुने, यातायातको समस्या हुने, अनावश्यक दुःख र हैरानी पाउने जस्ता समस्यालाई ध्यानमा राखेर शान्ति सुरक्षाको व्यवस्था गरिएको उहाँले बताउनुभयो।

सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, अनावश्यक सामान लैजाने, मदिरा सेवन गरी सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरी झैझगडा गर्ने र जुवातास खेल्नेलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको चेतावनीसमेत उहाँले दिनुभयो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख बोहराले लागुऔषध ओसारपसार, कारोबार, विभिन्न सामानको तस्करी र महिला हिंसा नियन्त्रण यो क्षेत्रका मुख्य चुनौती रहेको चर्चा गर्दै उक्त क्षेत्रमा उल्लेखनीय सुधार गरेर छोड्ने प्रतिबद्धता जनाउनुभयो।

सामान्य नागरिकको दुःखसुखको साथीका रूपमा सहयोग गर्न आफू मातहतका प्रहरी निकाय तथा कर्मचारीलाई निर्देशन दिएको उहाँले बताउनुभयो। आफूले पनि छिटोछरितो प्रहरी सेवा दिन हरप्रयास गरेकाले मातहतकालाई पनि सोही अनुसार निर्देशन दिएको उहाँले स्पष्ट पार्नुभयो।

चाडबाडका बेला तराईबाट पहाडी जिल्लामा जाने यातायातका सवारीसाधन दुर्घटना हुने जोखिम चुनौतीपूर्ण भएकाले त्यसको नियन्त्रणका लागि प्रत्येक जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई  क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र मदिरा सेवन गरी सवारी चलाउनेविरुद्ध कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको उहाँले बताउनुभयो।

चालु आर्थिक वर्षको यो दुई महिनामा अवैध गतिविधि, तस्करी रोक्न र लागुऔषध नियन्त्रणमा उल्लेख्य काम भएको दाबी पनि उहाँले गर्नुभयो। उहाँका अनुसार दुई महिनामा १९२ जनालाई लागुऔषध कारोबारी समातिएका छन्। १२६ जनाविरुद्ध मुद्दा चलाइएको छ।

यस्तै २३५ एम्पुलभन्दा बढी लागुऔषध र ३६ किलो चरेस समातिएको छ। तस्करी नियन्त्रणका क्रममा दुई करोड ७७ लाख ७० हजार बराबरको सामान बरामद गरिएको छ । धनगढी, टीकापुर, महेन्द्रनगरलगायतका सहरमा लागुऔषधको प्रयोग चुनौतीपूर्ण बन्दै गएकाले त्यसको नियन्त्रणका लागि विशेष अभियान नै चलाइएको प्रहरी नायब महानिरीक्षक बोहराले बताउनुभयो।

“कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान निरन्तर भइरहेको छ,” उहाँले भन्नुभयो, “अदालतबाट सजाय पाएर पनि कैद भुक्तान नगरेकालाई खोजी गरी पक्राउ गर्ने कार्य जारी रहेको छ।” सुदूरपश्चिम प्रदेशमा हुने अवैध गतिविधि नियन्त्रणमा प्रहरी सशक्त र सक्रिय भएको भनाइ उहाँको छ।

माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

भित्रिमधेश क्षेत्र आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लाग्दा आलिताल गाउँपालिका–७ राउजाली बस्ने बर्ष २२ का राजेन्द्र विष्टको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार विद्युतको मेन लाइनबाट तार तानेर सुन खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर भाटको मृत्यु भएको हो ।

शनिवार साँझ करिब ६ः०० बजेको समयमा विष्ट करेन्ट लागेर बेहोस भएपछि उपचारका लागि लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लागुऔषधविरुद्ध प्रहरी घरदैलो अभियानमा

लागुऔषधविरुद्ध जनचेतना जगाउन प्रहरीले घरदैलो अभियान थालेको छ । लागुऔषधको जालोमा किशोरकिशोरी तथा युवाहरु फस्न थालेपछि ‘लागुऔषधविरुद्धको महाअभियान २०८०’ अन्तर्गत प्रहरी घरदैलोमै पुग्न थालेको हो ।

अभियानअन्तर्गत कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीले लागुऔषधविरुद्ध गोदावरी नगरपालिकामा घरदैलो अभियान थालेको छ । इलाका प्रहरी कार्यालय मालोखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बरालले अभियान अन्तर्गत बिहीबार बास्कोटा र शुक्रबार ३ नम्बर वडाको बिजौरा टोलमा लागुऔषधविरुद्ध घरदैलो गरिएको बताउनुभयो ।

उहाँकाअनुसार पछिल्लो तीन दिन यता १३ सय जनाको घरदैलोमा पुगेर लागुऔषधविरुद्ध सचेत गराउँदै १५ सय पर्चा पम्पलेट वितरण गरिएको छ । लागुऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दैगएपछि प्रहरीले घरदैलो अभियानमार्फत यसको नियन्त्रणका लागि अभियान सुरु गरेको छ ।

लागुऔषधको जालोमा किशोर तथा युवाहरु फस्न थालेपछि पछिल्लो समय दैनिकजसो पक्राउ पर्ने क्रम पनि बढेको छ । कैलाली प्रहरीको तथ्याङ्कअनुसार दैनिकजसो लागुऔषधका मुद्दा प्रहरीमा दर्ता हुनेगरेको छ । प्रहरीले साउन यता दुई महिनाको अवधिमा ८४ ओटा लागुऔषधका मुद्दा दर्ता गरेको जनाएको छ ।

महाभियान अन्तर्गत लागुऔषधविरुद्ध जनचेतना जगाउने, कानूनको कार्यान्वयन गर्ने र दुर्व्यसनमा फसेकालाई सुधार्ने लक्ष्य नेपाल प्रहरीले लिएको छ । लागुऔषध नियन्त्रण गर्न सर्वसाधारणमा जनचेतना फैलाउन प्रहरी कार्ययोजनासहित प्रदेशका सवै स्थानीय तहका वडामा पुगेर क्रियाशील रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताउनुभयो ।

“अहिले स्कूलका विद्यार्थीमाझ लागुऔषधविरुद्ध जनचेतना जगाउन कक्षा लिइरहेका छौँ । हामी यसरी नै समुदायमा पनि जान्छौँ” उहाँले भन्नुभयो, “नेपाल प्रहरीको केन्द्रीय कार्यालयले पनि कार्ययोजना बनाएको छ । प्रदेशमा पनि योजना बनाएर हामी लागुऔषधविरुद्ध महाअभियानमा गाउँसम्म पुग्दैछौं, यसमा हामी सबै पक्षसँग सहकार्य गर्छौँ ।”

प्रहरीको एकल प्रयासले मात्रै लागुऔषधको कारोबार रोक्न नसकिने भन्दै उहाँले समुदायले सहयोग गर्नुपर्ने प्रहरीको अपेक्षा रहेको बताउनुभयो । सुदूरपश्चिमका कैलाली–कञ्चनपुरसहित पहाडी जिल्लामा समेत लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेकाले लागुऔषधको कारोबार र ओसारपसार रोक्न सरकारी निकाय र समुदायको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

समुदायबाट कारोबारीलाई अलग्याएर सख्त कारवाही गर्न अहिले कारोबारीलाई कानुन कारबाहीको पाटो अगाडि बढाइएको भन्दै प्रदेश प्रहरी प्रमुख बोहराले जनचेतना र कानुन कारवाहीले मात्रै हुन्न भनेर दुर्व्यसनीहरूलाई सुधार्न सुधारगृह सञ्चालनमा ल्याइने बताउनुभयो ।

हुलाकी राजमार्ग स्तरोन्नतिले लियो गति

 कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्यले गति लिएको छ । चालु आर्थिक वर्षभित्रै बाँकी कार्य सक्ने गरी स्तरोन्नति कार्यलाई गति दिइएको हो । गएको आवमा राजमार्ग स्तरोन्नतिको कार्य सुस्तगतिमा भएपछि स्थानीयले विरोध जनाएका थिए । अब मेसिनले गर्ने काम मात्रै बाँकी रहेकाले निर्माण कम्पनीले कामलाई गति दिएको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले बताउनुभयो । “मान्छेबाट हुने काम सकिएको छ,” उहाँले भन्नुभयो, “अब मेसिनले गर्ने काम मात्रै बाँकी छ ।”

चालु आवभित्रै स्तरोन्नतिको काम सकिने अपेक्षा गरिएको छ । राजमार्ग स्तरोन्नतिको अवधि भने आउँदो पुससम्म मात्रै रहेको छ तर पुसमा काम सम्पन्न हुने सम्भावना कम देखिएको छ ।

आवश्यक बजेट समयमै उपलब्ध भएमा चालु आर्थिक मसान्तभित्र काम पूरा हुन सक्ने जनाइएको छ । यो वर्ष कामले गति लिएको बेला बजेट कम रहेको इन्जिनियर सुनारले जानकारी दिनुभयो ।

हुलाकी राजमार्ग स्तरोन्नतिका लागि सङ्घीय सरकारले ३८/३९ करोड रुपियाँ मात्रै बजेट विनियोजन गरेको छ । गत आव ७५ करोड रुपियाँ रहेको थियो । “यस वर्ष हुलाकी स्तरोन्नतिको काम पूरा हुन सक्दैन भने कम बजेटको कारणले मात्रै त्यस्तो हुने छ,” सुनारले थप्नुभयो ।

आव २०७७/७८ बाट कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । जस अन्तर्गत धनगढीको गुरही चौक (क्याम्पस रोड) देखि मनेहरासम्म चार किलोमिटर खण्डलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य सकिएको छ । आगामी पुससम्म निर्माण म्याद रहेको यो खण्डमा वर्षाअगावै स्तरोन्नतिको काम सकिएको थियो ।

यसै गरी मनोहरादेखि पूर्वमा सत्तीसम्म दुई लेनको र टीकापुरदेखि लम्कीसम्म चार लेनको सडक स्तरोन्नतिको कार्य जारी छ । विभिन्न सात प्याकेजमा विभाजन गरेर स्तरोन्नतिको कार्य भइरहेको आयोजनाले जनाएको छ । आव २०६४/६५ देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु गरिएको थियो । सुरुमा भारत सरकारको सहयोगमा भारतीय निर्माण कम्पनीले हुलाकी राजमार्ग बनाउने काम गरेको हो ।

तर सो कम्पनीले राजमार्ग निर्माण अधुरो नै छोडेर नेपाल सरकारलाई हस्तान्तरण गरेर गएपछि बाँकी रहेको काम नेपाल सरकारको लगानीमा भइरहेको छ । धनगढीको त्रिनगर भन्सारनजिक करिब एक सय मिटर क्षेत्रमा सडक बन्न बाँकी छ ।

सो क्षेत्रमा निर्माण कम्पनीले गत वर्ष नै कालोपत्रेको काम गरेर सकिसकेको छ । यसै गरी निर्माण अवधि सकिएको छ । अब अर्को ठेक्का गरेर मात्रै बाँकी रहेको एक सय मिटरमा कालोपत्रेको काम हुने बताइएको छ ।