खरबुजा बेच्न भ्याइनभ्याइ

धनगढी समाचारदाता

धनगढी, जेठ ५ गते । कैलालीको धनगढी बजार आसपास खरबुजा खेती गरेका किसानलाई आफ्नो उत्पादन बेच्न भ्याइनभ्याइ भएको छ । उत्पादन राम्रो भएपछि धनगढी बजार क्षेत्रमा खरबुजा बेच्न भ्याइनभ्याइ भएको हो । मोहना, खुटिया नदीको बगरमा खरबुजा खेती गरेका किसान बयलगाडा (डल्लप) मा ल्याएर आफ्नो उत्पादन धनगढी बजार क्षेत्रमा बेच्ने काम गरिरहेका छन् ।

उत्पादन बढेकाले खरबुजा बिक्रीका लागि दौडधुप बढेको धनगढी उपमहानगरपालिका–१७, पथरीका कृषक हरिराम चौधरीले बताउनुभयो  । उहाँले डल्लपभरि खरबुजा ल्याएर धनगढीका टोल टोलमा बिक्री गर्ने कार्य गरिरहेको जनाउनुभयो । चौधरीले १७ कट्ठा जमिनमा खरबुजा खेती गर्नुभएको छ । अहिले खरबुजा धमाधम पाकिरहेकाले बिक्रीका लागि दौडधुप बढेको उहाँको भनाइ छ । धनगढी उपमहानगरपालिका–९, बङ्गरा, वडा नम्बर १० घुइयाघाट, वडा नम्बर ११ जुगेडाका किसानले मोहना नदीको बगरमा खरबुजा र तरकारी खेती गरेका छन् । यसै गरी पथरी, धुरझन्ना, बेलीका किसानले खुटिया नदीको बगरमा खरबुजा खेती गरेका छन् ।

गर्मी याममा खरबुजा निकै उपयुक्त हुने गरेका कारण हरेक वर्ष आफूले खेती गर्दै आएको पथरीकै बठुवा रानाले बताउनुभयो । यस वर्ष तीन कट्ठा जमिनमा खरबुजा खेती गर्नुभएका उहाँले दैनिक एक डल्लप खरबुजा बिक्री गरिरहेको जानकारी दिनुभयो । खरबुजा खेती गरेका किसानबिच होडबाजीका कारण खरबुजाको मूल्य घटेको छ । सुरुवातमा प्रतिकेजी ५० रुपियाँमा खरबुजा बेचेका किसानले उत्पादन बढेपछि अहिले मूल्य घटाउँदै प्रतिकेजी २० रुपियाँमा बिक्री गरिरहेका छन् ।

तराईको गर्मीमा फल्यो लटरम्म स्याउ

ईन्द्रा कुुमारी केसी

घोडाघोडी कैलाली ः तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन्।

किसान ओलीले फलाएका (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ । उनले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेका छन्। कैलालीमा उनले पहिलोपटक व्यावसायिक रुपमा नै स्याउखेती गरेका छन्। विसं २०७८ माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन्। रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उनले भने, ’अहिले फुलेको स्याउलाई औषधि हालेर झारेको छु, अघिल्लो वर्ष पनि परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ, अहिले पनि तीस–चालीस बोटमा मात्र फलाएको छु ।’
उनका अनुसार बिरुवा लगाएको दुई वर्ष पूरा भएको छ, अर्को वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ । बिरुवा लगाएको तीन वर्षपछि मात्रै आम्दानी गर्न सकिन्छ भने पॉच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ ।
तराईका क्षेत्रमा नौलो मानिएको स्याउखेतीका लागि हालसम्म ८० लाख लागत लागिसकेको ओलीले बताए। ओलीले स्याउसँगै अम्बा र बयर पनि रोपेका छन्। एक हजार दुई सय स्याउ, पाँच सय अम्बा र एक सय बयर उनले लगाएका छन्।

तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको बताउँदै ओलीले भने, ’कृषि निर्देशक यज्ञराज जोशीको सल्लाहले मैले यो खेती गर्ने हौसला पाएँ र मलाई काम गर्न सहयोग मिल्यो ।’

हाललाई अम्बा र बयर बेचेर आम्दानी गरिरहेका ओलीले स्याउको बेर्नाबाट पनि आम्दानी लिइरहेका छन्। प्रतिबेर्ना तीन सयका दरले बेचेको बताउँदै उनले भने, ’हालसम्म एक हजार आठ सय बेर्ना बेचिसकेको छु ।’

ओलीका अनुसार सिरहा, सप्तरीलगायत तराई क्षेत्रबाट र सिन्धुपाल्चोकबाट पाँच सय बिरुवा किन्न किसान आएका थिए तर पहाड क्षेत्र भएकाले बेर्ना बेचिएन । ओलीले प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कैलालीबाट रु १५ लाख अनुदानसमेत पाएका छन्। स्याउखेती गर्दाको सुरुआतमा नै बिरुवा खरिदका लागि प्रदेश कृषि निर्देशनालयले चार लाख दिएको बताउँदै उनले भने, ’कृषि ज्ञान केन्द्र कैलालीले तारबारका लागि रु ११ लाख पचास हजार अनुदान दिएको थियो र हाल सिँचाइका लागि ज्ञान केन्द्रले रु चार लाख २८ हजार अनुदान दिएको छ ।’

विगतमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासीमा बस्दै आएका ओली स्याउखेती गर्नका लागि कैलालीको प्रतापपुरमा आएका हुन्। उनले रु एक करोड ४६ लाखमा जमिन खरिद गरी स्याउखेती थालेका हुन्। सुरुमा तराईमा स्याउ लगाउनेभन्दा छिमेकीले विश्वास नगरे पनि अहिले बगैँचामा फलेको स्याउ हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् । आफूले गरेको खेती सफल भएमा त्यसलाई बढाउँदै लैजाने उनले भने।

 

पाँच सयलाई रोजगारी

मालिका ग्रुप एन्ड होल्डिङ कम्पनी र त्यसका सञ्चालक टीकाराम जैसीको व्यावसायिक इतिहास लामो छैन । २०५६ सालमा सिमेन्टको टायल बनाएर सुरु भएको व्यावसायिक यात्रामा २०५८ सालमा एके ट्रेडर्स दर्ता गरेर खाद्यान्न र मलको कारोबार थपियो । २०६० सालमा सिमेन्ट सरिया बिक्री, २०६७ मा धनगढीस्थित रोशनी इन्टरप्राइजेजबाट एसिई ब्रान्डको ट्याक्टर, मोटरसाइकल, सिमेन्ट, छड, कर्कटपाताको व्यापार, २०७६ सालमा वीरगन्जबाट तार ल्याएर लम्कीचुहा नगरपालिकाको गुलरामा मालिका तारजाली उद्योग सञ्चालनमा किला र ग्याबिन बनाउने काम सुरु भएको थियो । बजारको माग बुझ्दा उद्योग नै चल्ने सम्भावना देखिएपछि २०७७ मा जिआई प्लान्ट स्थापना र २०७९ सालबाट मालिका स्टिल र मालिका तारजाली उद्योग एकै ठाउँबाट सञ्चालनमा ल्याउनुभएको छ ।

२०६१ सालमा नेपालगन्जमा सिमेन्ट सरियाको व्यापार, २०६२ सालमा काठमाडौँको अनामनगरमा चामल, तोरीलगायतको किराना पसल, २०६४ मा पथरैयामा आरएस सः (काठ) मिल, कुलेश्वर काठमाडौँमा तोरी तेल बेच्ने व्यवसाय भने समय अभावमा बन्द गर्नुभयो ।

मालिका ग्रुप एन्ड होल्डिङ अन्तर्गत मालिका स्टिल, मालिका तारजाली उद्योगका साथै विभिन्न जिल्लामा पाँच वटा शाखा भएको रोशनी इन्टरप्राइजेज, कैलालीका विभिन्न बजारमा नौ वटा शाखा रहेको एके ट्रेडर्स, मालिका इन्भेस्टमेन्ट कम्पनी, मालिका इन्कर्पोरेट, मालिका इलेक्ट्रोनिक्स काठमाडौँ, ग्यालेक्सी रेस्टुरेन्ट धनगढी सञ्चालनमा छन् । कुनै कुनै कम्पनीमा पाँच देखि २० प्रतिशतसम्म अन्य व्यक्तिलाई साझेदार बनाए पनि ८० प्रतिशत लगानी र सम्पत्ति जैसी एक्लैको रहेको छ । छ वटा कम्पनीको आफ्नै घरजग्गा छन् । स्टिल उद्योगको जग्गा मात्रै साढे चार बिघा छ ।

दुई अर्बको उद्योग

मालिका ग्रुप एन्ड होल्डिङ कम्पनीको सबैभन्दा कान्छो उद्योगका रूपमा मालिका स्टिल र मालिका तारजाली उद्योग हुन् । यी दुवै उद्योग सुदूरपश्चिमको जानकी गाउँपालिका–८, पहाडीपुरमा छन् । पूर्वबाट पश्चिमसम्म तारजाली पु¥याउन भाडा नै महँगो पर्ने तर पश्चिममा नै उत्पादन गरे बजार पाइने भएकाले मालिका स्टिल र मालिका तारजाली उद्योग खुलेका हुन् । मालिका स्टिलले चीन, मलेसिया, इन्डोनेसिया, भारतबाट कच्चा पदार्थ ल्याई तीन वटा मेसिन प्रयोग गरेर तारलाई ग्याल्बनाइज गरी कोटेड र अनकोडेड तार बनाउँछ भने मालिका तारजाली उद्योगका २० प्रकारका ग्याबिन बक्स, २० प्रकारका चेन लिङ्क (एयरपोर्ट, सरकारी कार्यालयको पर्खालका रूपमा प्रयोग हुने तार), सात एमएमसम्मका सरिया, काँडेतार, वाइडिङ तार, किला गरी १० प्रकारका उत्पादन छन् । स्टील उद्योगमा जग्गा उपकरण खरिदमा एक अर्ब, सञ्चालन खर्च ५० करोड रुपियाँ छ भने तारजाली उद्योगमा ५० करोड रुपियाँ लगानी भएको छ । यस उद्योगले दैनिक ४० टन तारजालीलगायतका सामग्री उत्पादन गर्छ । उत्पादन हुने र बेच्ने सिजन माघदेखि असार भएकाले उद्योग परिसर भरिभराउ छ । यसको उत्पादन सुदूरपश्चिम, कर्णाली प्रदेशका सबै जिल्ला र लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पुग्ने गरेको छ । उत्पादन अनुसार पारिश्रमिक पाइने भएकाले कामदारले काम गरे/नगरेको निगरानी गर्नु पर्दैन, राम्ररी काम गर्ने कामदार १२ घण्टाको दुई हजार रुपियाँसम्म कमाउँछन् । उद्योगमा ७५ प्रतिशत कामदार नेपाली छन् ।

सामाजिक उत्तरदायित्व

मालिका गु्रप एन्ड होल्डिङ्सले सामाजिक उत्तरदायित्व अन्तर्गत स्टिल उद्योगबाट उत्पादन हुने रसायनमा आवश्यक अन्य रसायन मिलाएर ट्वाइलेट क्लिनर र अन्य क्लिनर उत्पादन गरिरहेको छ । क्लीनर बिक्रीबाट आएको आम्दानीले खर्च कटाई बाँकी मालिका कृपा फाउन्डेसनका नामबाट सामाजिक क्षेत्रमा खर्च गर्ने गरिएको छ । एक वर्षअघि मात्रै स्थापना भएको फाउन्डेसनले स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । विपन्न बालबालिकालाई शिक्षामा सहयोग गर्न थालेको छ ।

टीकापुरस्थित १८ बिघाको हवाई मैदान मुक्त कमैयाको कब्जामा थियो । त्यहाँ चार सय जति मुक्त कमैया टहरा बनाएर बसेका थिए । टीकापुर विमानस्थल अध्ययन सञ्चालन तथा व्यवस्थापन गर्न २०६६ सालमा नागरिक तहबाट एउटा समिति बन्यो । यसको संयोजकको भूमिका जैसीले गर्नुभएको थियो । यो समितिले पहल गरी हवाई मैदानमा रहेका मुक्त कमैयालाई नगर विकासको जग्गामा पुनस्र्थापना गरी सोबापत नगर विकासले सरकारबाट छ करोड रुपियाँ पाएको थियो भने हवाई मैदान खाली भई व्यवस्थित र सुरक्षित भएको छ । यद्यपि धावनमार्ग कम भएकाले ठुला जहाज बस्न नसक्दा पुरानै अवस्थामा सञ्चालनमा आउन सकेको छैन । भारतको नैमिसारन्यदेखि चीनको मानसरोवर जाने मार्गका रूपमा रहेको टीकापुरलाई विश्वनाथधामका रूपमा विकास गर्ने धार्मिक पर्यटन प्रवर्धन गरी टीकापुर क्षेत्रको विकास गर्ने अभियान थाल्नुभएको छ । हिन्दु धर्मावलम्बीका लागि महाकुम्भ र धामको महत्व भएकाले अहिलेका स्थापित धामहरू र त्यहाँ भइरहेका महाकुम्भ, कुम्भ मेलाहरूलाई सकेसम्म नछुटाई अवलोकन गरिरहेको जैसी बताउनुहुन्छ ।

किसानको पीडा : आगोले गहुँबाली खायो, अब हामी के खाने ?

बेदकोट (कञ्चनपुर), वैशाख १४ गते । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौ मिहेनत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा हुनुहुन्थ्यो । त्यही बेला गत साता एक्कासी आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो ।

महिनौको मिहेनत आगोको लप्काले क्षणभरमै खरानी भएपछि मगर अहिले निकै चिन्तित हुनुहुन्छ । “महिनौ मिहेनत गरेर उब्जाएको गहुँको एक दाना पनि जोगाउन सकिएन । आगोले क्षणभरमै सबै खरानी बनायो,” मगर भन्नुहुन्छ, “घरभित्रको अन्नपात पनि सकियो, भित्र्याउनै आँटेको गहुँबाली पनि खरानी भएपछि अब के खानुर कसरी बाँच्नु ?”

मगर परिवारले १२ कठ्ठा जमिनमा गहुँबाली उब्जाएको थियो । त्यही अन्नले १५ जनाको परिवारको छाक टार्नुपर्ने थियो । विगतका वर्षभन्दा यस वर्ष पर्याप्त सिंचाइ तथा उन्नत जातको बीउ प्रयोग भएकाले मगर परिवारले तुलनात्मकरुपमा विगतभन्दा बढी गहुँ हुने आशामा थियो । उहाँ भन्नुहुन्छ,“यो वर्ष तीन-चार पटक सिंचाइ गर्यौँ । उन्नत जातको बीउ र पर्याप्त मल खादको प्रयोग भएकाले अघिल्लो वर्षभन्दा राम्रो उत्पादन हुने आशा थियो तर आगोले गहुँमात्रै होइन हाम्रो आशा पनि खरानी बनाइदियो ।”

बाबास्थानकै नरेश कुमालको पनि सोही दिनको आगलागीले एक बिघा जमिनको गहुँबाली जलेर नष्ट भयो । यतिबेला कुमाललाई सात जनाको परिवारलाई के खुवाउने र गोठमा रहेका बीस बाख्रा र तीन भैँसीलाई वर्षभरी कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । “गहुँ काटेर मुठा बाँधिसकेका थियौँ । आगोले पूरै जलेर राख भयो । अहिलेसम्म यस्तो विपत्ति कहिल्यै भएको थिएन,” उहाँ भन्नुहुन्छ, “घरभित्रको अन्न पहिल्यै खाएर सकिसक्यो । अब खानलाई अन्न छैन, कसरी गुजारा गर्ने ?” कुमाल परिवारले कृषिलाई नै मुख्य उद्यम बनाएर यहीँबाट आएको पैसाले घरखर्च चलाउने गरेको थियो ।

“विगतमा त्यही खेतमा उब्जेको गहुँ वर्षभरीलाई राखिन्थ्यो र बाँकी बिक्री गरेर घरखर्च चलेको थियो । यो वर्ष भने आगोले सखाप बनाएपछि आफूलाई मात्रै होइन छिमेकीबाट सापटी लिएको गहुँ पनि फिर्ता गर्न पाइएन”, उहाँले दुखेसो पोख्नुभयो । गत बिहीबार रुखको हागा टुटेर बिजुलीको तारमा परेपछि त्यसैबाट गहुँबालीमा आगो सल्केको स्थानीय भनाइ छ । आगलागीबाट बाबास्थानका १५ किसानको करिब ११ बिघा जमिनको गहुँबाली जलेर नष्ट भएको थियो ।

पसिना चुहाउँदै महिनौ मेहनत गरेर लगाएको बाली खरानी भएपछि पीडामा रहेका तिनै किसान अहिले वस्तुभाउका लागि जलेको गहुँ संकलन गरिरहेका छन् । तीन विघा जमिनको गहुँबाली जलेपछि पीडामा रहेका स्थानीय लालबहादुर पुनमगर भन्नुहुन्छ,“बाख्रा, बङ्गुरलगायत वस्तुभाउका लागि होला भनेर खरानीसहितको जलेको गहुँ बटुलिरहेका छौँ । अघिल्लो पटक ४० क्विन्टल गहुँ बिक्री गरेकामा यो पटक वस्तुभाउका लागि खरानी बटुलेर बस्नु परेको छ ।” आगलागीबाट जोगिएको एक विघा जमिनबाट मात्रै यो वर्ष ३० क्विन्टल गहुँ उत्पादन भएको उहाँको भनाइ छ ।

लालबहादुरले बाख्रा, भैँसी र बङ्गुरपालन पनि गर्नुभएको छ । तीन विघा जमिनको गहुँ खरानी बनेपछि बाख्रा, भैँसी र बङ्गुर पालनमा पनि धक्का लागेको उहाँको गुनासो छ । “गहुँ त जल्यो, जल्यो, वस्तुभाउका लागि भुसा पनि रहेन । चौपायालाई कसरी पाल्ने भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो, “आगो लागेको दस मिनेटमै पूरै बाली जलेर खरानी भयो । दमकल नआएको भए बाबास्थान बजार पनि जल्थ्यो”, लालबहादुरको बुझाइ छ । बाली भित्र्याउने समयमा विपत्ति परेपछि पीडामा रहेका किसान क्षतिको मूल्याङ्कन गरी सरकारले राहत उपलब्ध गराउने अपेक्षामा छन् । पीडित किसानले स्थानीय पालिकामा क्षतिको विवरण पनि बुझाइसकेका छन् । दोधारा चाँदनी नगरपालिकाले राहतस्वरुप प्रत्येक किसानलाई तत्काल पाँच हजार वितरण गरेको छ । रासस 

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी (कैलाली), वैशाख ११ गते । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने बताएको छ । अहिले मलको आपूर्ति सहजरूपमा भइरहेकाले मल अभाव नहुने केन्द्रको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशभर मागको ७० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडसँग हाल एक हजार दुई सय ६६ मेट्रिकटन युरिया र ३४४ मेट्रिकटन डीएपी मल मौज्दात रहेको कार्यालय प्रमुख नवलसिंह बोगटीले बताउनुभयो ।

उहाँले कृषि सामग्री कम्पनीमा केही मल मौज्दात रहेको र बाँकी मल केही दिनमै आइपुग्ने भएकाले यस वर्ष मल अभाव हुने अवस्था नरहेको उहाँको भनाइ छ । अन्य वर्षको तुलनामा गत वर्षबाट किसानले सहजरूपमा मल पाइरहेको उहाँले बताउनुभयो ।

सुदूरपश्चिममा विगतका वर्षमा विभिन्न कारणले मल आपूर्ति हुन नसक्दा अभाव हुने गरेको थियो । तर गत वर्षबाट मल आपूर्तिमा सहज भएकोले यो वर्ष रासायनिक मल अभाव नहुले प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।

कृषि सामग्री कम्पनीले सहकारीमार्फत रासायनिक मल विक्री वितरण गर्दै आएको छ । सहकारीमार्फत रासायनिक मल वितरण गरिन थालेपछि यहाँका किसानले सहजरुपमा मल पाइरहेको कार्यालय प्रमुख बोगटीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिकटन मलको आवश्यकता पर्ने गरेको जनाइएको छ ।

प्रदेशभर कूल मागको ३० प्रतिशत मल आपूर्ति गर्दै आएको साल्टट्रेडिङ कर्पोरेसन धनगढीसँग मल मौज्दात नरहेपनि भैरहवाबाट मल आउन थालिसकेकाले जनाइएको छ । सुदूरपश्चिममा एक लाख ७९ हजार नौ सय १७ हेक्टरमा धान खेती र एक लाख ४९ हजार हेक्टरमा गहुँखेती गरिँदै आएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ । रासस

अदुवा किन्न बारीमा व्यापारी

 लामो समयदेखि व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका बडीकेदार गाउँपालिका–३ का उपेन्द्र मल्लले उत्पादन गरेको ६० क्विन्टल अदुवा खरिद गर्न झापादेखि एक जना व्यापारी उहाँको बारीमा नै पुग्ने गरेको पाइएको छ ।

सडक यातायातको सहज पहुँच र वार्षिक रूपमा अदुवाको उत्पादन वृद्धिसँगै कृषक मल्ल जस्तै व्यावसायिक रूपमा अदुवा खेती गर्दै आउनुएका किसानको खेतबारीबाटै व्यापारीले अदुवा खरिद गरेर लैजाने गरेका छन् ।

स्थानीयस्तरमा व्यावसायिक रूपमा अदुवा उत्पादन गर्दै आएका कृषक मल्लले भन्नुभयो, “काठमाडौँ, पूर्वमा विराटनगर, झापासँगै छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत अदुवा खरिद गर्न गाडी लिएर व्यापारीहरू घरसम्मै पुग्छन् ।”

स्थानीयस्तरमा उत्पादन भएको अदुवा बिक्रीका लागि बजारको समस्या नभएपछि अदुवा उत्पादन गर्ने किसानको सङ्ख्या पनि बर्सेनि बढ्दै जान थालेको छ । डोटीमा सबैभन्दा बढी अदुवा उत्पादन हुने क्षेत्रका रूपमा बडीकेदार गाउँपालिकालाई लिइएको छ ।

बडीकेदारसँगै बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिकामा अदुवा उत्पादन हुने गरेको छ । अदुवा उत्पादनका क्रममा किसानले रासायनिक मलको प्रयोग गर्दैनन् । प्राङ्गारिक मलको प्रयोग गरेर यस क्षेत्रमा अर्गानिक हिसाबले अदुवा उत्पादन हुँदै आएको कृषकले बताएका हुन् ।

बोगटान फुड्सिल गाउँपालिका–२ मा अदुवा उत्पादनमा संलग्न स्थानीय कृषक पुष्कर बोहराले भन्नुभयो, “त्यसै पनि आवश्यक परेको समयमा स्थानीय बजारमा रासायनिक मल पाइँदैन, हामीले पहिलेदेखि नै घरमै पाइने गोठेमल प्रयोग गर्दै आएका छौँ । हामीले उत्पादन गर्ने अदुवालाई उपभोक्ताले अर्गानिक अदुवाका रूपमा लिने गरेका छन् ।”

अदुवाका लागि मल धेरै चाहिने भएकाले वर्षैपिच्छे जमिन फेर्नुपर्ने हुन्छ । उत्पादनका क्रममा किसानले प्राङ्गारिक मल मात्रै प्रयोग गरेका कारण यस क्षेत्रमा उत्पादन हुने अदुवालाई उपभोक्ताले अत्यधिक मन पराउने गरेको धनगढीका अदुवा व्यापारी पुष्कर जोशीले बताउनुभयो ।

व्यवसायी जोशीले भन्नुभयो, “डोटीमा उत्पादन हुने अदुवाको माग बजारमा राम्रो छ । धनगढीदेखि देशका विभिन्न स्थानका साथै भारतमा समेत यहाँको अदुवा बिक्रीका लागि पठाउने गरेका छौँ ।”

जिल्लाका ग्रामीण क्षेत्रसम्म सहजै यातायात र ढुवानीको व्यवस्था, बजारसम्मको सहज पहुँच र आम्दानी पनि राम्रै हुने गरेका कारण डोटीमा किसानले बर्सेनि अदुवा खेतीलाई व्यावसायिक रूपमा गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीका अनुसार यस जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ८५० हेक्टर जमिनमा अदुवा खेती गरिएकामा १३ हजार २४६ मेट्रिक टन अदुवा उत्पादन भएको छ ।

त्यस्तै आव २०७८/७९ मा ८४५ हेक्टर जमिनमा अदुवा खेती गरिएकामा १३ हजार एक सय मेट्रिक टन र आव २०७७/७८ मा ७८० हेक्टरमा अदुवा खेती गरिएकामा ११ हजार सात सय मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

अदुवा बढी उत्पादन हुने विभिन्न क्षेत्रलाई अदुवा पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारी भइरहेको छ । किसानले गत वर्ष प्रतिकिलो ७० रुपियाँदेखि १३० रुपियाँसम्ममा अदुवा बिक्री गरेका थिए ।

उत्पादन बढ्दै गए पनि भण्डारणको व्यवस्था हुन नसक्दा अदुवा उत्पादनलगत्तै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । अदुवा भण्डारणको उचित व्यवस्थापन हुन सकेमा बेमौसममा आफूले मागेको मूल्य लिन सकिने किसान बताउँछन् ।

झापामा बिक्रि हुदै डोटीमा उत्पादन भएको मकैको बीउ

डोटी : डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले मङ्सिरदेखि किसानबाट मकै सङ्कलन गर्न सुरु गरी चैतसम्म प्रमाणीकरणसहित ‘प्याकिङ’ गरेर पुनः बीउ किसानसम्म पुर्याउने गरेको छ ।

यस वर्षको अहिलेसम्म १४ हजार एक सय ७० किलो मकैको बीउ बिक्री भइसकेको सहकारीका व्यवस्थापक ठक्करबहादुर कठायतले बताउनुभयो । पचपन्न हजार पाँच सय १८ किलो मकैबीउ बिक्रीका लागि तयारी अवस्थामा छ । सहकारीले प्रतिकेजी रु ८० का दरले बीउ बिक्री गर्दछ । सहकारीले अरुण–२, अरुण–४, मनकामना–३, पोषिलो, रामपुर, कम्पोजिटलगायतका विभिन्न उन्नत जातका बीउ बिक्री गर्दै आइरहेको छ ।

सहकारीले विभिन्न एग्रोभेटमार्फत बीउ आपूर्ति गर्दै आएको छ । डोटीको जोरायलमा उत्पादन भएको मकैको बीउ झापा जिल्लासम्मै पुग्ने गरेको सहकारीले जनाएको छ । सहकारीले बिक्री गर्ने बीउबाट उत्पादन भएको मकै विशेष गरेर पोलेर खान, कुखुराका लागि दाना बनाउनलगायतका विभिन्न प्रयोजनमा आउने गर्छ । सहकारीले गत वर्ष ५४ लाख ४० हजार बराबरको ६८ टन मकैको बीउ बिक्री गरेको थियो । रासस

डोटीमा विस्तार हुँदै चैते धानखेती

डोटीको शिखर नगरपालिका-३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उहाँ चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउनुहुन्छ । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्की बताउनुहुन्छ ।

यो वर्षका लागि उहाँले चैते धानको बेर्ना छरिसक्नुभएको छ । “गहुँ काटिसकेपछि जमिन बाझो छोड्नुभन्दा चैते धान रोप्नु उत्तम हुन्छ”, कार्कीले भन्नुभयो, “यसरी एकै वर्ष दुई वटा धान बाली भित्र्याउँदा दोब्बर फाइदा हुन्छ ।” उहाँले धानबाट मात्रै नभएर पराल पनि फाइदा लिन सकिने बताउनुहुन्छ । चैते धानको भात अरू धानको चामलभन्दा स्वादिलो हुनुका साथै धानको पराल गाईबस्तुका लागि उपयोगी हुने र बेच्न पनि सकिने उनको भनाइ छ ।

चैते धानखेतीका लागि अन्य धानखेतीको तुलनामा अलि बढी मेहनत चाहिने उहाँ बताउनुहुन्छ । सुरुमा बीउ उमार्न गाह्रो हुने र रोपेपछि पानी बढी चाहिने हुन्छ । चैत वैशाखमा आकाशको पानी नपर्ने हुँदा नदीको पानी धेरै चाहिने र नदीको पानी सुक्ने अवस्था भयो भने फरल लिन नसकिने उहाँ बताउनुहुन्छ । यो वर्ष कार्कीले जस्तै शिखर नगरपालिका-२ कालागाडका अन्य किसानले पनि चैते धान रोप्ने भएका छन् ।

गालागाडका करिब ३० परिवारले चैते धानका लागि फागुन पहिलो साता बिउँ राखिसकेका छन् । स्थानीय किसान राने धामीका अनुसार यहाँका किसानले प्रतिकिसान पाँच केजीदेखि १५ केजीसम्म बिउँ राखेका छन् । कृषि ज्ञान केन्द्र डोटीबाट चैते धानको बीउ उपलब्ध भएपछि धान रोप्ने तयारी गरेको धामीले बताउनुभयो । उहाँहरूले पहिलो पटक चैते धान रोप्न लागेकाले ढुक्क भने नरहेको धामीले बताउनुभयो । “धान रोप्ने भनेर बिउँ राखेका छौँ मौसमले साथ दिएन भने धान र मेहनत खेर जान्छ होला ।”

कृषि ज्ञान केन्द्र र किसानका बिचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी शिखर नगरपालिका-२ का वडाध्यक्ष गणेश बोगटीले बताउनुहुन्छ । ज्ञान केन्द्रकै सल्लाहअनुसार बिउँ राखेको बताउँदै वडाध्यक्ष बोगटीले आफू किसानहरूका साथमा रहेको उहाँले बताउनुभयो । उहाँले किसानलाई आवश्यक समयमै मल उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । रासस  

टीकापुरमा : शीतभण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

भजनी (कैलाली), फागुन ११ गते । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीतभण्डार निर्माण गर्न थालेको छ ।

एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीतभण्डार निर्माण हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । संयुक्त प्रयासमा शीतभण्डार निर्माण थालिएको भन्दै किसानले उत्पादन गरेका वस्तु टाढाका बजारसम्म पुर्‍याउनुपर्ने बाध्यताको अन्त्य हुने रामबहादुर चौधरीले विश्वास व्यक्त गर्नुभयो ।

“बीउका लागि उत्पादन भएका वस्तु घरमा राखेर सम्भव हुँदैन । यसअघि शीतभण्डारमा लगेर राख्दा निकै महँगो हुने गरेको थियो”, उहाँले भन्नुभयो, “टीकापुरमै शीतभण्डार निर्माण भएपछि यहाँका किसानलाई फाइदा पुग्नेछ ।” योसँगै उत्पादन भएका तरकारीले राम्रो बजार पाउने विश्वास बढेको उहाँको भनाइ थियो ।

टीकापुरका लक्ष्मण चौधरीले सिजनमा उत्पादन भएका भण्डारण गरी बजारीकरण गर्न सकिने भन्दै यसबाट सिजनमा उत्पादित तरकारी तथा फलफूलले राम्रो बजार पाउने बताउनुभयो । “सिजनमा ३०–३५ क्विन्टल आलु उत्पादन हुन्छ । प्याज पनि त्यस्तै उत्पादन हुने गरेको छ”, उहाँले भन्नुभयो, “त्यो समयमा बजारको मूल्य निकै कम हुँदा लागत उठाउन समस्या हुन्छ । शीत भण्डारमा भण्डारण गरेर पछि बिक्री गर्दा प्रशस्त आम्दानी लिन सकिन्छ ।”

एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि २५ प्रतिशत किसानले लगानी गर्नेछन् भने बाँकी ७५ प्रतिशत कार्यान्वयन एकाइले गर्ने जनाएको छ । टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिका किसानले यसबाट लाभ लिन सक्ने छन् । करिब सात करोड छ लाख ६९ हजार छ सय को लागतमो रानीजमरा कुलरीया मूल कुलो समितिको मातहतमा रहने गरी शीत भण्डार निर्माण गरिने समितिका अध्यक्ष कुमारराज शाहीले जानकारी दिनुभयो ।

“यस आयोजनामा अधिकांश किसानको लगानी छ । किसानको लगत सहभागितामा शीतभण्डार निर्माण हुँदा त्यसको बढीभन्दा बढी फाइदा किसानले लिन सक्छन्”, अध्यक्ष शाहीले भन्नुभयो, “अधिकांश किसानको लगानी भएकाले यसको संरक्षण र संवर्द्धनमा किसान स्वयमं अग्रसर रहन्छन् ।” उहाँका अनुसार शीतभण्डारमा केही कृषि सहकारीले पनि शेयर लगानी गरेका छन् । किसानबाट समयमा लागत सङ्कलन हुन नसक्दा तीन वर्ष एकाइले विनियोजन गर्दै आएको करिब छ करोड बजेट फ्रिज हुने गरेको थियो ।

अहिले किसानको पूर्ण सहयोगमा शीतभण्डार निर्माणले सार्थकता पाउन लागेको कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख कलशराम चौधरीले बताउनुभयो । “शीतभण्डारको ठेक्का सम्झौता भइसकेको छ । विश्व बैंकका प्रतिनिधिले यसको अनुगमन समेत गरिसक्नुभएको छ”, उहाँले भन्नुभयो, “अनुगमनबाट आएको प्रतिवेदन अध्ययन गरेर बाँकी काम अगाडि बढाउने तयारी भएको छ ।” प्रमुख चौधरीका अनुसार आगामी डिसेम्बर १५ भित्र शीतभण्डार निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । शीतभण्डार निर्माण भएपछि व्यावसायिक कृषि गर्दै आएका किसानलाई सहज हुने उहाँको भनाइ थियो ।

“राज्यले कृषि क्षेत्रका लागि अर्बौको लगानी गरेको छ । उत्पादनका लागि ठूलो खर्च हुँदा बजारीकरणमा शीतभण्डारले सहजीकरण गर्नेछ”, प्रमुख चौधरीले भन्नुभयो, “किसानले मौसममा उत्पादन गरेका वस्तु बेमौसममा राम्रो मुल्यमा बिक्री गर्न शीत भण्डारले मद्दत गर्नेछ ।” किसानबाट लागत रकम सङ्कलन हुन नसक्दा अपुग रकम टीकापुर नगरपालिकाले उपलब्ध गराएपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो ।

कृषि र पर्यटन क्षेत्र प्रमुख स्रोतका रुपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा नगरपालिकाको सदैव सहयोग रहने नगर प्रमुख रामलाल डगौरा थारुले बताउनुभयो । “हाम्रो प्राथमिकता कृषि र पर्यटन क्षेत्रमा छ । कृषिबाट टीकापुर नगरपालिकालाई समृद्ध बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसमा रानी जमरा कुलरीया सिँचाइ आयोजनाको अर्बौ लगानी छ । अन्य क्षेत्रले पनि समन्वय गरिरहेका बेला पालिकाले किसानलाई उत्साहित बनाउने कार्यक्रम ल्याएको हो ।”

उन्नत बीउ उत्पादनका लागि कार्यान्वयन एकाइ र नगरपालिकाको सहजीकरणमा संयुक्त योजना बनाएर काम गर्ने सहमति भएको छ । साथै किसानलाई चाहिने उन्नत जातका बेर्ना उत्पादन गरेर वितरण गरिने नगर प्रमुख थारुले जानकारी दिनुभयो । “टीकापुर क्षेत्रमा उत्पादन राम्रो भए पनि बजारीकरणको समस्या थियो”, उहाँले भन्नुभयो, “शीतभण्डार निर्माण भएपछि बजारीकरणको समस्या पनि हट्दै जानेछ ।” रासस  

चिसोबाट किसानलाई पशु जोगाउन समस्या

कैलाली : गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ ।  चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ । “एकातिर घाम लागेको छैन, अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ”, किसान पर्शु धामीले भन्नुभयो, “एक महिनादेखि भैँसीलाई गोठबाट बाहिर निकाल्न पाइएको छैन । भैँसीले चार लिटर दूध दिन्थ्यो, घटेर दुई लिटर भएको छ ।”

घाम नलाग्नुका साथै शीतलहरका कारण पशुलाई चरनको समेत समस्या भएको छ । पशुलाई गोठ बाहिर बाध्न, चराउन लैजान पनि कठिन भएको किसानको गुनासो छ । जानकी गाउँपालिकाका किसान रमेश विकका दुई बाख्रा चिसोले मरेका छन् । “बाख्रालाई चिसो लागेपछि जोगाउन सकिएन, चिसोले तीन दिनसम्म आगो बालेर आगोको छेउमा बाधेर राख्यौँ, औषधि पनि खुवायौँ”, उहाँले भन्नुभयो, “तर पनि बचाउन सकिएन । जाडो सिजनमा बाख्रालाई आहाराको समेत समस्या हुने गर्छ ।”

उहाँका अन्य बाख्रा पनि घाँस तथा पानी राम्ररी नखाएर दुब्लाएका छन् । चिसो बढ्दै गएपछि पशुलाई आहारा व्यवस्थापन र न्यायो पार्न कठिनाइ भएको केमन व्यावसायिक गाई फार्मका सञ्चालक किसान चक्र बटालाले बताउनुभयो । “चिसोले हामीजस्ता व्यावसायिक रुपमा पशुपालन गर्नेलाई हैरानी भएको छ । मसँग ५० बढी गाईभैँसी छन्, यतिखेर दूध उत्पादन घटेको छ”, उहाँले भन्नुभयो, “लामो समय घाम नलागेका कारण लगाएको घाँस पनि वृद्धि भइरहेको छैन, जसले गर्दा पशुलाई पहिलेको तुलनामा आधा आहारामात्र खुवाउनुपर्ने बाध्यता हामीलाई छ ।”

किसान बटालाका अनुसार चिसोमा कामदारलाई पनि गाह्रो हुने, पशुमा स्वास्थ्य समस्या देखिने, मर्नेलगायतका समस्या हुने गरेका छन् । “चिसोले एउटा बाख्रा बिरामी भएर म¥यो”, उहाँले भन्नुभयो, “घाम नलागेका कारण गोठ सरसफाइमा समेत समस्या भइरहेको छ ।” मोहन्याल भैँसी फार्मका सञ्चालक दुर्गाप्रसाद जैसीले पनि चिसोले गर्दा दूध उत्पादनमा कमी भएको र पशुलाई आहारा उत्पादनमा समेत समस्या भइरहेको बताउनुभयो । “चिसो मौसम पशुपालनका लागि उपयुक्त समय हैन, यस वर्ष अत्यधिक चिसो भएकाले हामीलाई त हैरानी भएको छ”, उहाँ भन्नुहुन्छ, “दिउँसो घाम लागेको भए यति कठिन हुने थिएन, एक महिना पुग्न लाग्यो । पशुले घाम ताप्न पाएका छैनन्, आहारा घटेको छ । चिसोमा पानी कम पिउने हुँदा उनीहरुलाई कुपोषणको समस्या हुन थालेको छ ।”

टीकापुर गौशालामा समेत चिसोले पशु जोगाउन समस्या भएको छ । सयौँ पशुचौपाया रहेको गौशालामा गोठ अभावमा समेत समस्या भएको छ । चिसोबाट पशु जोगाउन ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको र टहरा निर्माण कार्य सुरु गरेको सामुदायिक पशु चौपाया तथा प्रवद्र्धन समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले बताउनुभयो । “हामीले करिब पाँच ठाउँमा रातदिन आगो बालिरेहका छौँ, नत्र पशु जोगाउन सकिँदैन”, उहाँले भन्नुभयो, “महायज्ञबाट उठेको रकमबाट गाई बस्ने गोठ निर्माण कार्य पनि सुरु भएको छ ।”

जाडोको समयमा चरनका लागि बाहिर नलगी लामो समयसम्म बाँधेर घाँस खुवाइन्छ । “दुधालु गाईबस्तुमा प्रोटिन, ऊर्जा र कुपोषणसम्बन्धी समस्या देखिने जोखिम हुन्छ”, पशु सेवा शाखा टीकापुरका प्रमुख श्यामराज पाण्डेले भन्नुभयो, “चिसोबाट जनावरलाई जोगाउन उचित प्रबन्ध गर्नुपर्छ ।” उहाँले चिसो मौसममा उत्पादनमा ह्रास आउने, पशु बिरामी हुने समस्या हुने भएकाले न्यायो पार्ने, तातोपानी खुवाउने, पोषणयुक्त आहारामा ध्यान दिन सुझाव दिनुभयो । रासस

बेलौरीमा भारतबाट भित्र्याइदै गरेको उखु बरामद

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकामा प्रहरीले भारतबाट नेपाल भित्र्याइदै गरेको उखु बरामद गरेको छ।

बुधवार राति जिल्लाको दक्षिणी सिमा क्षेत्र बेलौरी नगरपालिका–१ बैशाखीबाट भे१ त ३२८६ नम्बरको ट्याक्टरसहित दुई ट्राली उखु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगिले बताए। उनका अनुसार राति प्रहरी देख्दा चालक भागेका थिए। नियन्त्रणमा लिएको ट्याक्टरसहितको उखु आवश्यक प्रक्रियाका लागि त्रिनगर भन्सार कार्यालय पठाएको छ। यस अघि पनि बेलौरी प्रहरीले १ ट्राली उखु नियन्त्रणमा लिइ भन्सार कार्यालय पुर्याएको थियो।

 

प्राकृतिक खेतीप्रति बढ्दो आकर्षण

पछिल्लो समय बाजुराका अधिकांश किसान प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित बन्दै गएका छन् । यो प्रविधिले खेती गर्दा स्वास्थ्यलाई फाइदा हुनुका साथै जमिनको उर्वराशक्ति बढ्दै जाने भएकाले किसानहरू प्राकृतिक खेती प्रणालीमा उत्पे्ररित बन्दै गएका छन् । पहिला यहाँका अधिकांश किसानले खेती लगाउँदा त्यसमा रासायनिक मल प्रयोग गर्दै आएकाले बर्सेनि माटोको उर्वराशक्ति कम हुँदै गएको बुढीगङ्गा नगरपालिका–७, बायलका कृषक दुर्गादेवी विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले यो प्रविधिबाट खेती गर्दा माटोको उर्वराशक्ति बढ्ने र यसमा फलाएको खाद्यान्न बाली तथा तरकारी मानव स्वास्थ्यका लागि प्रभावकारी हुने भएकाले आकर्षण बढेको छ ।”पर्यावरणलाई कम असर पार्ने र नयाँ तथा परम्परागत रूपमा प्रयोग भएका कृषि विधिको प्रयोग गर्दै उत्पादन गर्ने प्रणाली भएकाले यतिबेला बाजुराका अधिकांश कृषक प्राकृतिक खेती प्रणालीमा उत्पे्ररित बन्दै गएको उहाँले बताउनुभयो । गिप्ट नेपालका कृषि प्राविधिक कृष्णबहादुर रावतले गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र गिफ्ट नेपालको साझेदार तथा प्राविधिक सहयोगमा एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत बुढीगङ्गा र बडीमालिकामा यो कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

रासायनिक मलको प्रयोगले खेतीको उर्वराशक्ति कम हुँदै गएकाले त्यसलाई जोगाउन तथा त्यहाँ उत्पादित तरकारीले मानव स्वास्थ्यमा फाइदा हुने गरी २०८० साल जेठदेखि यहाँका कृषकलाई प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित गर्दै आएको रावतले बताउनुभयो ।