कैलाली, जेठ ३० गते
शान्तिनगर कृषि सहकारी संस्था लिमिटेड, घोडाघोडी नगरपालिका–१ सुखड, कैलालीले मसिना तथा बास्नादार धान प्रवद्र्धन ब्लक कार्यक्रम अन्तर्गत कृषि सामग्री वितरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
आज सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा घोडाघोडी नगरपालिका–१ का वडा सदस्य अमन चौधरीको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता शान्तिनगर कृषि सहकारी संस्थाका अध्यक्ष दिनेश सापकोटाले गर्नुभएको थियो।

उक्त कार्यक्रममा धानको बिउ जिङ्क ,स्प्रे टंकी,सिचाई मिटर,पाइप,लगाएतको सामग्री ५० प्रतिशत लागत अनुदानमा किसानहरूलाई कृषि सामग्री वितरण गरिएको थियो। कुल लागतमध्ये कृषकहरूको लगानी रकम रु २ लाख ३१ हजार २ सय ५० रहेको छ भने घोडाघोडी नगरपालिकाबाट अनुदान स्वरूप रु २ लाख ५० हजार उपलब्ध गराइएको छ।
कार्यक्रममा नगरपालिकाको कृषि शाखाबाट कृषि प्राविधिक गणेश बहादुर शाहीको प्राविधिक सहजीकरण रहेको थियो। कार्यक्रममा सहभागी किसानहरूले बास्नादार धान प्रवद्र्धनले स्थानीय कृषि उत्पादन वृद्धि र आम्दानीमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
सार्वजनिक सुनुवाइका क्रममा कार्यक्रम पारदर्शी र कृषक हितमै केन्द्रित रहेको सहभागीहरूको प्रतिक्रिया आएको थियो। कार्यक्रम सफल बनाउन सहकारीका सम्पूर्ण पदाधिकारी, कर्मचारी, स्थानीय किसान र नगरपालिकाको सहकार्य रहेको संस्थाले जनाएको छ ।

