सहदेव बस्नेत
जाजरकोट, साउन ५ गते । जाजरकोटमा बालबालिका दुर्व्यवहारका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सबै निकायवाट बालबालिका सम्बन्धी काम गर्दे आएको भएता पनि दुर्व्यवहारका घटना बढ्दै जानु चुनौती रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी बसन्त कुमार शर्माका अनुसार विगत तीन वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७९/०८० मा १३ वटा घटना घटेको पाइएको छ । जसमा जवरजस्तीकरणीका ७, अभद्र व्यवहार ३ र ज्यान मार्ने उद्योग १ रहेका छन् । त्यस्तै २०८०/०८१ मा जवरजस्ती करणीका १३ वटा घटना घटेका छन् ।
यसैगरी २०८१/०८२ मा १६ वटा घटना घटेको पाइएको छ जसमा जवरजस्ती करणीका ९ वटा, जवरजस्तीकरणी उद्योगका ६ र अभद्र व्यवहारका एक घटेका छन् । यो तथ्याङ्क हेर्दा बढी जसो बालिकामाथि जवरजस्ती करणीका घटनाहरु बढ्दै गएको पाइएको छ ।
त्यस्तै, विगत तीन वर्षमा जाजरकोटमा ७२ जना बालबालिकाहरु हराएको र सबै जना फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७९/०८० मा १० जना बालक र १७ जना बालिका गरी २७ जना हराएका थिए । ०८०/०८१ मा १० जना बालिक र ६ जना बालिका गरी १६ जना हराएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा सात जना बालक र २२ जना बालिका गरी २९ जना हराएको छन् । तर हराएका सबै बालबालिकाहरु फेला पारी अभिभावकहरुलाई बुझाई सकिएको डिएसपी शर्माले जानकारी दिनुभएको छ । हराउने बालबालिकाहरुमा भागेर काला पहाड जाने तथा देशकै अन्य जिल्लाहरुमा जाने गरेको प्रहरीको भनाइ रहेको छ ।